Comments Add Comment

काठमाडौंमा दयनीय कन्ट्याक्ट ट्रेसिङ – प्रतिसंक्रमित दुईजना !

२२ भदौ, काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकामा १३६ जना कोरोना संक्रमित थपिए । यससँगै संक्रिय संक्रमितको संख्या यहाँ २ हजार ३६२ पुगेको छ । उनीहरुमध्ये १२२२ जना होम आइसोलेसनमा छन् भने ११४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको महानगरको शहरी स्वास्थ्य महाशाखाले जनाएको छ ।

महानगरका २७ जना संक्रमितको मृत्यु भएको छ भने ९६० जना कोरोनाबाट मुक्त भएका छन् । यो सबै जोड्दा महानगरमा संक्रमितको संख्या ३ हजार ७६३ हुन्छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा कति जनाको नमुना संकलन भयो होला ?

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार एकजना संक्रमितको कट्याक्ट ट्रेसिङमा १० देखि १२ जनासम्म पर्नुपर्छ । त्यसअनुसार काठमाडौं महानगरका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा ४०/४५ हजार मानिस पर्नुपर्ने हो । तर, महानगरको शहरी स्वास्थ्य महाशाखाको तथ्यांकले भन्छ, ३७६३ संक्रमितको ७५६१ कन्ट्याक्ट ट्रेसिङ भएको छ ।

यसअनुसार औषतमा एक संक्रमित बराबर जम्मा २ जनाको मात्र कन्ट्याक्ट ट्रेसिङ भएको देखिन्छ ।

योभन्दा कमजोर अवस्था पनि छ । कतिपय वडामा कुल संक्रमितको संख्या भन्दा कम मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेको पाइएको छ । त्यसमध्ये एक हो वडा नम्बर ३ महाराजगञ्ज ।

महानगरको तथ्यांकअनुसार यस वडामा हालसम्म २२९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १२२ जना संक्रिय संक्रमित नै छन् । तर, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा जम्मा १७६ जना परेका छन् ।

वडा नम्बर ८ जयबागेश्वरीको अवस्था पनि त्यस्तै छ । ७६ जना संक्रमित भएको यो वडामा हालसम्म जम्मा ४८ जना कट्याक ट्रेसिङमा परेका छन् । वडा नम्बर ९, गौशालामा ६४ जना संक्रमित हुँदा ५१ जना मात्र कट्याक ट्रेसिङमा परेका छन् ।

वडा नम्बर १५ स्वयम्भूको अवस्था झन दयनीय छ । यो महानगरभित्र सबैभन्दा धेरै संक्रमित भएको वडा हो । हालसम्म २९९ जना संक्रमित भएका छन् । उनीहरुध्ये २२८ जना अस्पताल तथा आइसोलेसन सेन्टर र ४५ जना होम आइसोलेसनमै छन् । एकजनाको मृत्यु भएको छ भने २५ जना निको भएका छन् । तर, महानगरको कन्ट्याक्ट ट्रेसिङमा यस वडाबाट जम्मा ९० जनामात्र परेका छन् ।

वडा नम्बर १ नक्साल, वडा नम्बर १२ टेकु, वडा नम्बर १७ खुशिबु र वडा नम्बर ३० ज्ञानेश्वरको अवस्था पनि यो भन्दा फरक छैन । सबैभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङ वडा नम्बर १३ ले गरेको छ । त्यहाँ १७१ जना संक्रमित भेटिँदा १३६३ जना महानगरको कन्ट्याक्ट ट्रेसिङमा परेको पाइएको छ । तर, त्यसका पनि कारण कालीमाटी तरकारी बजारमा गरिएको परीक्षण भएको पाइएको छ । जब कि यो पनि अपर्याप्त हो ।

जनस्वास्थ्य विज्ञ डा. किरणराज पाण्डेका अनुसार सामान्य अवस्थामा एउटा मानिसले औषतमा २० जनासम्म भेट्छन् भन्ने मानिन्छ । २/३ दिनमा २० देखि ३० जनालाई भेटेको मान्न सकिन्छ । ‘त्यसमा लकडाउन वा निषेधाज्ञाले कति असर गरेको होला भन्ने प्रश्नमा छ’ डा. पाण्डे भन्छन्, ‘निकै कम मान्छेलाई भेट्दा पनि ४/५ जना त क्लोज कन्ट्याक्टमा हुन्छन् ।’ तर महानगरले के आधार यति कम मानिसको कन्ट्याक्‍ट ट्रेसिङ गर्‍यो भन्ने बुझ्न नसकेको जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउँछन् ।

महानगरका कोभिड फोकल पर्सन ज्ञानु ओली पनि कन्ट्याक्ट ट्रेसिङमा कमजोरी भएको स्वीकार गर्छन् । उनले भनेका छन्, ‘जनशक्तिको अभाव, दैनिक थपिने संक्रमितको चाप जस्ता कारणले कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन सकेन ।’

कन्ट्याक्ट ट्रेसिङको मुख्य स्रोत संक्रमित हो । तर, कतिपय संक्रमित सम्पकमै आउँछन् । महानगरमा मात्र त्यस्ता संक्रमितको संख्या ४१४ जना छन् ।

यस्तै नक्सालस्थित नेपाल प्रहरीको हेडक्वार्टरमा भेटिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ महानगरले गर्नुपरेन । ‘परिवारको एकजनामा संक्रमण देखिएपछि अरु सदस्य आइसोलेसन बसे, उनीहरुमा पनि संक्रमण देखियो भने दोस्रो तेस्रो संक्रमितको कन्ट्या‍क्ट ट्रेसिङ गर्नु परेन । यसले पनि संख्या कम गराएको छ’ उनले भने ।

यद्यपि पछिल्लो समय धेरै सुधार भएको उनको दाबी छ । ७ हजार ५६१ मध्ये ४ हजार ४ जनाको कन्ट्याक्ट ट्रेसिङ निषेधाज्ञाको २२ दिनमा भएको उनले बताए ।

महानगरको शहरी स्वास्थ्य महाशाखासँग ७६ जना कर्मचारी छन् । हरेक वडामा एकजना मात्र स्वास्थ्यकर्मी छन् । स्थानीय जनप्रतिनिधि र स्वास्थ्य स्वयंमसेविकाहरुको सहयोगमा उनीहरुले नै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दै आएका छन् ।

सोमबार (ईडीसीडी) र जिल्ला जनस्वास्थ्य कार्यालयले १५ जना जनस्वाथ्य स्वयंमसेवक पठाएको छ भने महानगर आफैंले पनि स्वाब संकलनका लागि ५ जना र जनस्वास्थ्यका ३ जनालाई राख्न लागेको ओलीले बताए ।

तर, जनस्वास्थ्य विज्ञहरुले भने अब कन्ट्याक्ट ट्रेसिङ र पहिचान भएका संक्रमितलाई आइसोलेट मात्र गरेर संक्रमणलाई नियन्त्रण गर्न गाह्रो हुने बताउँछन् । कोभिड अस्पतालका एक चिकित्सक भन्छन्, ‘समुदाय स्तरमा संक्रमण फैलिसकेपछि कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको परीक्षण गरेर अर्थ राख्दैन । लक्ष्मण भएका, दीर्घरोगीहरुलाई खोजीखोजी परीक्षण गर्नुपर्ने हुन्छ ।’

डा. पाण्डे पनि त्यसमा सहमत छन् । संक्रमण सुरुवाती चरणमा हुँदा नै प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ गर्न सक्नुपर्ने बताउँदै उनले भने, ‘समुदायमा संक्रमण पुगिसकेपछि गाह्रो हुन्छ । तैपनि हामीले कन्ट्याक्ट ट्रेसिङ नै गर्न छोड्नु भने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment