Comments Add Comment

कोरोनाबाट ४ हजार सुरक्षाकर्मी संक्रमित, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता

सेना र सशस्त्रको हालत पनि उस्तै, आइसोलेसनबाटै कमाण्ड !

२४ भदौ, काठमाडौं । मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएका छन् ।

उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् ।

उपत्यकाका एक युनिटका कमाण्डरले आइसोलेसनबाटै मातहतका प्रहरीलाई निर्देशन दिने गरेको अनलाइनखबरलाई बताए । ब्यारेकमै आइसोलेसनमा बसेका उनले सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।

कार्यालयका झण्डै आधा जनशक्ति संक्रमित भएपछि नजिकै रहेका प्रहरी कार्यालयले पनि उनलाई सहयोग गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गरे । तर, संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।

हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ

देशभर २३ सय संक्रमित

–पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयबासी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरी जवान कमल घिमिरे निर्घात कुटिए ।

कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले २० जनालाई पक्राउ गर्‍यो । तीमध्ये ६ जनाको कोरोना भाइरसको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । दश जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

झडपमा खटिएका एक जना प्रहरी निरीक्षकसहित ललितपुरका १८ जना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको निकट सम्पर्कमा रहेका सुरक्षाकर्मीलाई अहिले क्वारेन्टिनमा राखिएको छ भने केही दिनमा परीक्षण गर्ने तयारी छ ।

– मनमैंजुको एक खाजा घरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण तामाङको ३० साउनमा हत्या भयो । म्याद थप गर्नुअघि हत्याका मुख्य आरोपितको पिसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।

कन्ट्याक ट्रेसिङका आधारमा थप प्रहरी अधिकृतको परीक्षण गर्दा वृत्तका प्रमुख डीएसपी रोशन खड्कासहित कम्तिमा ३० जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भयो ।

– महाबौद्धमा जतिवेला व्यवसायीहरुमा दैनिक संक्रमण देखिइरहेका थियो, त्यतिवेला महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रहरी निषेधाज्ञाको कार्यान्वयनमा खटिएका थिए ।

व्यवसायीको पसल खोल्ने हठ र जसरी पनि बन्द गराउने प्रहरीको नीतिका कारण घम्साघम्सी समेत भयो । त्यसमा खटिएकासहित ५५ जना प्रहरी अहिले संक्रमित छन् ।

– महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत ९७ जना प्रहरी कोभिड–१९ बाट संक्रमित छन् । तीमध्ये अधिकांश प्रहरी कन्ट्रोलमा कार्यरत छन् ।

एक जना कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा जाँच गर्दा अन्यलाई पनि संक्रमण देखिएको प्रहरीले जनाएको छ ।

उपत्यकाका महानगरीय प्रहरी वृत्तमा कार्यरत थप केही प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि कन्ट्याक ट्रेसिङमा परेका छन् । केहीलाई लक्षण पनि देखिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

– मंगलबार प्रदेश नं. १ प्रहरीका प्रमुख ईश्वरबाबु कार्कीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ प्रहरीमा यसअघि कम्तिमा ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

गण्डकी प्रदेशका प्रमुख डीआईजी घनश्याम अर्याल पनि संक्रमित छन् । स्याङ्जा गएर आएको टोलीका प्रहरीमा पहिले संक्रमण देखिएको थियो । त्यसपछि भएको कन्ट्याक ट्रेसिङमा अन्य व्यक्तिमा पनि संक्रमण पाइएको थियो ।

प्रस्तुत घटनासहित हालसम्म मुलुकभर २३ सय १७ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भइसकेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । संक्रमणको बढ्दो दरसँगै प्रहरी मुख्यालयले संक्रमित प्रहरीको संख्या सार्वजनिक नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

हाल मुख्यालयले पनि सक्रिय संक्रमितको विवरण मात्र दिइरहेको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा मात्रै ८४ र उपत्यकामा ६६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । प्रदेश १ मा २१६, २ मा ६८, बागमतीमा ६९, गण्डकीमा ८३, ५ नं. प्रदेशमा १०८ र सुदुरपश्चिममा १७ प्रहरी गरी एक हजार ३ सय ५० जना सक्रिय संक्रमित प्रहरीमा छन् । कुल संक्रमितमध्ये ९६७ जना निको भइसकेको एक तथ्यांकले देखाउँछ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ ।

यो पनि पढ्नुहोस प्रहरी हेडक्वार्टर कसरी बन्यो कोरोनाको ‘हटस्पट’ ?

बढ्दो संक्रमणसँगै सेवा प्रभावित

नेपाल प्रहरीका एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का अनुसार संक्रमण दर बढेसँगै सेवा समेत प्रभावित भएको छ । एकातिर ठूलो संख्याको क्वारेन्टिनमा बसेका कारण जनशक्ति अभाव छँदैछ, अर्कातिर अभियुक्तको पक्राउ र बयानमा पनि डर मान्नुपर्ने अवस्था सिर्जना भएको छ ।

‘अहिले प्रहरी आफैं पनि व्यक्ति पक्राउ गर्न जाँदा डराउनुपर्ने अवस्था छ’, उनले सुनाए, ‘यस्तै स्थिति रहिरहे परिणाम झनै भयावह आउन सक्छ ।’ प्रहरीले सुरुमा व्यक्ति पक्राउ गर्न सनासोको प्रयोग गरे पनि त्यो पर्याप्त र व्यवहारिक नभएको प्रहरी अधिकृतहरु बताउँछन् ।

मुलुकका विभिन्न स्थानमा महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका वेला चोरी, लुटपाटका घटना पनि सार्वजनिक भइरहेका छन् । यही अवस्था रहिरहे घरेलु हिंसासहितका अपराध बढ्ने सुरक्षाविद्हरुको विश्लेषण छ ।

यस्तो वेला महत्वपूर्ण इकाइका जनशक्ति क्वारेन्टिनमा बस्नुपर्दा मुलुकको समग्र शान्ति, सुरक्षामै असर पर्नसक्ने चिन्ता व्यक्त गर्न थालिएको छ । प्रहरीमा संक्रमितको संख्या बढिरहेका वेला महानगरीय ट्राफिक प्रहरी कार्यालयले भने ट्राफिक व्यवस्थापनमा नयाँ जुक्ति निकालेको छ । सडकमा बग्गिखानाले डमी ट्राफिक राखेर जनशक्ति घटाएको छ ।

हालसम्म महाशाखामा २२५ जनालाई संक्रमण देखिएको छ ।

सेना र सशस्त्रको हालत पनि उस्तै

नेपाल प्रहरीको तुलनामा नेपाली सेना र सशस्त्र प्रहरी बलमा संक्रमण दर कम छ । तर, कुनै पनिबेला भयावह स्थिति नआउला भन्न सकिन्न ।

हाल तीनवटै सुरक्षा निकायले सरुवाअघि क्वारेन्टिनमा बसेर मात्र कार्यालयमा प्रवेश गराउने नीति लिएका छन् । विदालाई निषेध गरेका छन् । अत्यावश्यक विदामा गए पनि फर्किँदा क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर जाँचलाई अनिवार्य गरिएको छ ।

यसका बाबजुद पनि नेपाली सेनामा हालसम्म ८८६ जना संक्रमित छन् । तीमध्ये २६१ जना निको भइसकेका छन् ।

सबैभन्दा बढी पूर्वी पृतनाअन्तरगत धरानस्थित सैनिक विद्यालयमा ११७ जनामा संक्रमण देखिएको छ । मध्यपूर्वी पृतना धनुषामा १६० जना संक्रमित छन् । मध्यपश्चिम पृतना बुटवलमा १५० जना संक्रमित छन् ।

सेनामा शव व्यवस्थापन, क्वारेन्टिन, आइसोलेसन सुरक्षा र विदा गएर फर्किएका व्यक्तिमा संक्रमण देखिएको प्रवक्ता सहयाक रथी सन्तोष वल्लभ पौडेल बताउँछन् ।

सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालका अनुसार प्रदेश १ मा २४, २ मा १२३, ३ मा १५१, ४ मा ७, ५ मा ४५, ६ मा ३ र ७ मा १ जना सशस्त्र प्रहरी कोभिड–१९ का सक्रिय संक्रमित छन् । निको भएकासहित हालसम्म सशस्त्र प्रहरीका ७४३ अधिकारी संक्रमित छन् । अधिकांश संक्रमित नेपाल–भारत सीमा क्षेत्रमा खटिएका व्यक्ति छन् ।

यो पनि पढ्नुहोस भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

प्रहरीले न भत्ता पाउँछन्, न मास्क

महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने सरकारले घोषणा गरेको थियो । हालसम्म भत्ता त आएको छैन नै, एक महिनादेखि तलब पनि रोकिएको छ । यसबारे अनलाइनखबरमा समाचार प्रकाशित भएपछि केही प्रहरी अधिकारीले भने तलब पाएका छन् ।

नेपाली सेनामा पनि केही युनिटका सैनिकले तलब पाएका छन् । तर, भत्ता नदिँदा आम सुरक्षाकर्मीको मनोबल गिरेको अधिकृतहरु बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गेटमा खटिएका अधिकारी अहिले पनि कपडाको मास्कको भरमा छन् ।

उपत्यकाको सडकमा पनि अधिकांश सशस्त्र प्रहरी कपडाकै मास्कमा छन् । सिंहदरबारकै आँखा अगाडि रहेको महामारीको हटस्पटमा सुरक्षाकर्मीको यो स्थितिले उपत्यकाबाहिर झनै विकराल स्थिति हुनसक्ने संकेत गर्छ । एक प्रहरी अधिकृतले तलबबाट किनेर समेत मास्क लगाउने गरेको अनलाइनखबरसँग सुनाएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कडायत भने आवश्यकता र कार्यक्षेत्रको संवेदनशीलताका आधारमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), पञ्जालगायतका सामग्री दिइएको बताउँछन् ।

सशस्त्र प्रहरीले पनि सीमा र क्वारेन्टिन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सावधानीका सामग्री दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment