Comments Add Comment

प्रस्तावित राजदूतलाई प्रश्न : भारत–पाकिस्तान सम्बन्ध सुधार्न के गर्नुहुन्छ ?

पाकिस्तानका लागि प्रस्तावित राजदूत तापस अधिकारी । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२५ भदौ, काठमाडौं । दुई–दुई वर्षमा हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना गरेयता भएको छैन । कारण–भारत र पाकिस्तानबीचको द्वन्द्व ।

यो विषय विहीबार पाकिस्तानका लागि प्रस्तावित राजदूत तापस अधिकारीको संसदीय सुनुवाईका क्रममा पनि उठ्यो ।

सुनुवाइका क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले नेपाल–पाकिस्तानको सम्बन्ध भारतीय विदेश नीतिमा भर पर्दै आएको बताए ।

नेपाल– पाकिस्तान सिधा हवाइ उडान समेत नभएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले भारतकै कारण पाकिस्तानी नागरिकको नेपाल आवतजावतमा कठिनाइ हुँदै आएको बताए ।

‘नेपाल–पाकिस्तान सम्बन्ध भारतीय विदेश नीतिमा निर्भर छ । नेपाल–पाकिस्तान सम्बन्धको मुख्य च्यालेन्ज भारतीय विदेश नीति हो’ गुरुङले भने, ‘भारतकै कारण सार्क अगाडि बढ्न सकेको छैन । यसका लागि शान्तिपूर्ण वार्ताबाटै अगाडि जानुपर्छ ।’

सार्कको अध्यक्षको हैसियतमा नेपालले दक्षिण एसियाली मुलुकका बीचमा प्रगाढ सम्बन्ध कायम गराउन पहल गर्नुपर्ने र त्यो वातावरण बनाउन राजदूतले भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपाकै सांसद सुरेन्द्र पाण्डेले प्रस्तावित राजदूत अधिकारीलाई प्रश्न गरे, ‘सार्क निष्क्रिय छ । भारत पाकिस्तानको तनावले सक्रिय बनाउन सकिएको छैन । यसमा तपाईंले के पहल गर्नुहुन्छ ?’
प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले पाकिस्तानमा आतंकवादी गतिविधि भइरहेका कारण अन्य देशसँग सम्बन्ध राम्रो हुन नसकेको बताए ।

उनले भने, ‘पाकिस्तान आतंकवादी गतिविधि भइरहेको देश हो । त्यसकारण कतिपय मुलुकसँग उसको राम्रो सम्बन्ध छैन । तर, नेपालले आफ्नो सम्बन्धलाई सही रुपमा कायम राखिराख्न आवश्यक छ ।’

पहल गर्ने अधिकारीको प्रतिवद्धता

जवाफमा पाकिस्तानका लागि प्रस्तावित राजदूत अधिकारीले सार्क सिखर सम्मेलनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । तथापि आफ्नो भन्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्तरको पहल प्रभावकारी हुने उनको जवाफ छ ।

‘सार्क शिखर सम्मेलनका लागि पहल अवश्य रहन्छ’ अधिकारीले भने, ‘तर, प्रधानमन्त्रीले, परराष्ट्रमन्त्रीले के भन्नुहुन्छ, मैले भनेर मात्रै त हुने होइन ।’

तर, भारत पाकिस्तान सम्बन्ध नै सुधार गर्नका लागि के गर्नुहुन्छ ? भन्ने प्रश्नको पनि उनले प्रष्ट जवाफ दिएनन् । ‘भारत–पाकिस्तान सम्बन्ध पाकिस्तान जन्मिएदेखि कै हो । तर, भारत र पाकिस्तान बिना सार्क हुन सक्दैन’ अधिकारीले भने ।

पाकिस्तान सार्कको संस्थापक सदस्य राष्ट्र भएको उल्लेख गर्दै उनले पाकिस्तानसँगको सम्बन्धलाई द्विपक्षीय सम्बन्धका साथसाथै क्षेत्रीय सहयोग बढाउने दृष्टिकोणले समेत अघि बढाउनतर्फ पहल लिने प्रतिवद्धता व्यक्त गरे ।

सार्कको १९ औं शिखर सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको छ । तर, भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने अडान राख्दा सम्मेलन हुन सकिरहेको छैन । र सार्क निष्कृय हुन पुगेको छ ।
पाकिस्तानले चिकित्सा शास्त्र, औषधि विज्ञान, इन्जिनियरिङ विषयमा नेपाली विद्यार्थीका लागि बार्षिक २५ वटा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

नेपाली विद्यार्थीका लागि छात्रवृति कोटा बढाउन पहल गर्ने, पाकिस्तानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, पाकिस्तानको कृषि, प्रविधि र ज्ञानलाई नेपालको कृषिमा जडान गर्न पहल गर्नेलगायतका प्रतिवद्धता अधिकारीको छ ।

सुनुवाइपछि संसदीय समितिले अधिकारीलाई राजदूतमा गरिएको सिफारिस सर्वसम्मत अनुमोदन गरेको छ । अधिकारीकाविरुद्ध कुनै उजुरी परेको थिएन ।

अधिकारीसहित सुनुवाई समितिले विहीबार सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारीको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ । उनीहरुले अब राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment