Comments Add Comment

लकडाउनले ५ महिना रोकिएका बेलायती पाहुनाको आत्मीय बिदाइ

बिदाइको बेला तस्वीर खिच्दै बेलायतका नागरिक पिटर (ढाका टोपीमा) । तस्वीर : नगरकोट सामुदायिक होमस्टे

२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर ।

कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । बेलायती नागरिक जोली जुक पिटर आफ्ना दुई साथीसँगै नेपाल भ्रमणमा आएका थिए । नेपाल आएको एक साता पनि नबित्दै यात्रामा प्रतिवन्ध लाग्यो ।

लकडाउन शुरु भएको तीन दिनपछि नेपाल पर्यटन बोर्डले नेपालमा अड्किएका विभिन्न मुलुकका पर्यटकललाई सम्बन्धित मुलुकको दूतावाससँग समन्वयमा घर फर्काउन शुरु गर्‍यो । झण्डै एक महिना चलेको ‘उद्धार उडान’का दौरान करिब ५ हजार पर्यटक आफ्नो मुलुक फर्किए । तर, बेलायती नागरिक पिटरलाई तत्काल घर फर्कन मन लागेन ।

पिटरलाई नेपाली ढाका टोपी लगाइदिएर बिदा गर्दै स्थानीय

होमस्टेका अध्यक्ष सुरज बास्तोला भन्छन्, ‘उनी घरको सदस्य जस्तै गरी बसे, आज सकुशल उनको बिदाइ गर्‍यौं ।’ भर्खरै बिदा मनाउन नेपाल आएका उनको नेपाल घुम्ने धोको त पूरा भएको थिएन नै, यूरोपमा बढ्दो कोरोना भाइरसको संक्रमणले पनि उनलाई नेपाल छाड्न मन लागेको थिएन । सोही कारण उनीसँगै आएका दुई जना साथीलाई घर फर्काएर नेपालमै रमाउन थाले पिटर ।

कोरोना महामारीले विश्व आक्रान्त बनेका बेला पिटरले नेपाललाई सुरक्षित ठाने र धैर्यसाथ बसे ।

बास्तोला भन्छन्, ‘खेत र बारीको काममा हामीसँगै खटिए, घरको काममा सघाए, उनले यो पाँच महिनामा नेपाल बुझेर घर फर्किएका छन् ।’

उनका अनुसार पिटरको अडान चार्टर्ड उडानमा घर नफर्कने थियो । बरु त्यसमा लाग्ने महँगो खर्च उनले नेपाली गाउँमै खर्च गर्न रुचाए । सोहीकारण प्रतिमहिना ४५ हजार रुपैयाँ होमस्टेमा भुक्तानी गरी घर फर्किए ।

‘उनी आफ्नै रहरमा नेपाल रोकिएका हुन्,’ बास्तोला भन्छन्, दूतावासले सोधेको पनि थियो, उनका साथी पनि फर्किए, तर पिटरले यो अवसरलाई नेपाल चिन्ने मौकाका रुपमा उपयोग गरे ।’

पिटरले नगरकोटमा रहँदा योगा सिके । घरगाउँमा पाक्ने नेपाली मौलिक परिकारमा अभ्यस्त भए । खेतबारीको काममा रमाए र गाउँलेमा समेत उत्साह थपे । बास्तोला भन्छन्, ‘उनलाई कहिले पनि हामीले पर्यटक भन्ने अनुभूति हुन दिएनौं, परिवारको सदस्य सरह नै सम्मान र आदर दियौं ।’

 

शुक्रबार फ्लाइ दुबईको नियमित उडानबाट बेलायत फर्कनु अघि गाउँलेले पिटरलाई ढाका टोपी र ढाकाकै गलबन्दीले चिटिक्क सिंगारे । फूलका माला र थुंगो उपहार दिए । आफ्नो दाजु–भाइ विदेश जानलागेजस्तै गरी गाउँलेले पनि उनलाई आत्मियताका साथ बिदाइ गरे । पिटरले नेपाल पटक–पटक आइरहने बचन दिएका छन् ।

गाउँप्रतिको भरोसा

उच्च जनघनत्व र शहरी कोलाहलबाट पर आइपुगेका पिटर महामारीको समयमा पनि गाउँसँग डराएनन् । अझ उनलाई गाउँसँग बढी भरोसा पाइएको बास्तोलाको अनुभव छ । उनी यहाँ बस्दा आफू सुरक्षित रहेको ठान्थे ।

त्यसो त, शुरुमा महामारी र बन्दाबन्दी यति लम्बिन्छ भन्ने अनुमानसमेत कसैले गरेको थिएन । पिटरलाई पनि यो महामारी दुई–तीन महिनामा सामान्य हुन्छ भन्ने लागेको थियो । तर, महामारी लम्बिदै जाँदा पनि उनले विश्वास र धैर्य भने गुमाएनन् ।

नेपाल पर्यटन बोर्डका अनुसार पिटरजस्तै सयौं पर्यटक महामारीमा पनि नेपाललाई भरोसा गर्दै यतै बस्न रुचाए । उनीहरुले महँगो चार्टर्ड उडानबाट आफ्नो देश जानुभन्दा नेपालमै सहुलियत पाएको अनुभव गरे । पोखरा, लुक्ला र काठमाडौंमा समेत पर्यटक रोकिएका थिए ।

रोकिएका नागरिक अब नियमित उडान खुलेपछि क्रमशः नेपालबाट बाहिरिन थालेका छन् । अहिले विदेशबाट नेपाल आउने हवाई भाडा महँगो छ, तर नेपालबाट विदेश फर्कनेहरुका लागि भाडा तुलनात्मक रुपमा सस्तो पर्छ । संकटमा नेपाली माया पाएका यी पर्यटकले अवस्था सामान्य बन्दै जाँदा विदेशबाट थप साथी लिएर आउने गाउँलेले आशा गरेका छन् ।

तस्वीरहरु : नगरकोट सामुदायिक होमस्टे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment