Comments Add Comment

अहं ब्रह्मस्मि

घाँटीसम्म निहुरिएर उसले नमस्कार गर्‍यो । दुई हातको संयोजनमा औँलाहरु टपक्क मिलेका थिए । छाति नजिक टाँसिएका हातभन्दा मतिर अटल रहेका उसका नयनबाट मैले आफूलाई नतमस्तक बनाइ रहेको छु । झुक्दा उसको दुईओठ गालासम्मको चौडाइमा फराकिएको थियो । उसले ओठसँगै आफ्नो आँखालाई पनि मुस्कान दिलाउन सिकेको रहेछ।

म किंकर्तव्यबिमूढ् उभिएरै नमस्कार विनिमय गर्छु।उसकै चालमा मुस्कुराउँछु । तर किन हो, मेरो नमस्कार र मुस्कानको सूत्र उसकोझैँ मिलेको पटक्कै हुन्न । यो बेमेलले मलाई आत्मग्लानीकासाथ पगाल्न सुरु गरिसकेको थियो । सूर्यको ताप सहन गर्न नसकेर जुगलबाट हिउँ पग्लेजस्तै म पग्लदै झर्छु तल-तल बलेफीसम्म । यसरी अवाक् उसलाई ट्वाल्ल नियाली रहेको हुन्छु म ।जसरी जुगलबाट पग्लिएको हिउँ वहन्छ । म चेतनास्तरबाट ब्रह्मायणीझैँ चिसिँदै बहन्छु अनन्त समुद्रसम्म । तर म समुद्रजस्तो विशाल कहाँ हुन सक्नु र !

म ‘पृथ्वी’ ।

उसले नमस्कारवत् रुपमै आफ्नो परिचय दियो।तर मिलाउन हात दिएन । बरु भन्न थाल्यो, ‘हात मिलाउँदा आत्मियता बढ्छ भन्ने पाश्चात्य शैलीको विरोध हैन, हाम्रो आफ्नै सनातन नमस्कार संस्कृति त्यागेर ‘ह्याण्डचेकमा’ रमाउने र राष्ट्रिय चिह्नमा लालीगुराँसयुक्त मालाको बीचमा हात मिलाएको राष्ट्रिय चिन्ह तर्जुमा गर्नेहरुको बिरोधी हुँ ।’

उसले यति भन्दासम्म म नमस्कारमै मूर्तिवत छु । मैले नमस्कारबाट एउटा हात झिकेर उसलाई दिने हिम्मत गर्न नसकेपछि ऊतर्फ हात लम्काउने कोसिस रोकेँ।अब सिर्फ उसलाई देख्नु मेरो कर्तव्य बनेजस्तो हेरिरहेँ र केही निमेषपछि परिचय दिएँ ।

‘म रिक्त ।’

‘वा कस्तो मिठो नाम !’

उसले आफ्नो मुस्कानलाई शान्त चेष्टामा राखेर मेरो नामको प्रशंसा गरेपछि भने म पुलकित हुनबाट बच्न सकिनँ।

म त फगत रिक्त हुँ । बस् रिक्त । शून्यता । जो पूर्णताहीन छ, ज्ञानहीन छ । विलीनताको प्रतीक्षामा पृथ्वीको चलायमान संरचनाको बस एक कण् । तपाई त पृथ्वी ! जोसँग परम्ब्रह्मको मेल छ।आदि अस्तित्वको रुप । पृथ्वी त भरपूर हो।सबथोक हो । पृथ्वीमा रिक्तता रहन सक्ला तर रिक्ततामा पृथ्वी अटाउन सक्ला ?

यसो भनिरहँदा मेरा आँखाले उसका आँखा एकटक् देखिरहेका थिए । यतिखेर ऊ मलाई कसरी असल श्रोता बन्न सकिन्छ भनेर सिकाइरहेको थियो।

मबाट हामीद्वयको नामरुपी व्याख्या घुलित् सवाल सुनेपछि भने बल्ल ऊ निस्वर मुस्कानबाट सश्वर मुस्कानमा उक्लिएको थियो ।

उसको हाँस्य रसले मलाई पनि तान्यो । ऊ मेरो अल्पज्ञानमा हास्यो या कथनलाई मजाक ठानेर हास्यो मैले ठम्याउनै सकिनँ । र पनि मलाई उसँगै हास्न केहीले रोक्न सकेन ।

हामी दुवै सश्वरका साथ हास्न थालेपछि छेवैको बुट्यानमा बसिरहेको एक जोडी भँगेरा भुर्रर रुखभन्दा माथि उड्यो उचाइ-उचाइको खगोलतिर।

****

भुइँभरि ढुङ्गाका मसिना दानाहरु पोखाइएका थिए । पोखिएका थिएनन् । साथमा थिए, छ-आठ बिरुवाहरु । नाइलनका पञ्चरङ्गी डोरीबाट बनाइएका वेतका बाटुला पिर्काहरुले हामीलाई भुइँमा बस्नबाट रोकेर आफूमा बिराजमान गराएका थिए । छेवैमा फलामको झूलन थियो । एकजोडी प्रेमी खुट्टाको सहाराले मस्त हल्लिदै थिए, झूलनमा । एउटा पुलिङ्गी दायाँ हात अर्को स्त्रीलिङ्गी बायाँ हातबाट टमक्क कस्सिएको थियो । र झूलन नवयौवन यामका मधूजोडीकासाथ झूलिरहेको थियो, चुईँ-चुईँ आवाज गरेर तिनै आवाजमा मस्त थिए मधूजोडी ।

म ती प्रेमीलाई कम पृथ्वीलाई ज्यादा हेरिरहेको थिएँ । ऊ अझ पनि मुस्कुराउन छोडेको थिएन । श्वास फेर्नु जस्तै मुस्कुराउनु पनि जीवनको अपरिहार्यता हो भनेर पटक-पटक सिकाउदै थियो सायद । म उसको मुस्कानप्रति स्निग्ध थिएँ । ऊ शान्त थियो । सौम्य । तर म उसलाई देखेपछि विचलित थिएँ । चेतनाको स्तरबाट बिल्लिबाठ भएको थिएँ ।

‘रिक्तजी’

मेरो नाम उच्चारण गरेर उसले आफ्ना दुई आँखा मेरा दुई आँखामा जुधायो । र भन्न थाल्यो, ‘मनुष्यलोक आदर्शको लेपनले आफूलाई समाहित गर्न चाहन्छ । देखाउन चाहन्छ- म सच्चा छु, म अच्छा छु । स्ववादको भयङ्कर डरलाग्दो चित्र मान्छेमा अमिट बन्दो छ । स्ववादले पूर्ण हि पूर्णमिदमलाई स्वीकार गर्न सक्दैन । बहुजन् हिताय, बहुजन् सुखायमा स्ववाद तगारो बन्दै छ ।’

उसले यत्ति भन्यो र आफ्नो दुई परेला शान्तसँग चलायो ।

उसलाई सुनेपछि म झल्यास्स ब्यूँझिएको थिएँ । फेरि पनि ऊ शान्त थियो । सौम्य थियो । फेरि पनि म विचलित थिएँ । म आफैँले नभेट्टाउने गरी हराएको जस्तो भएँ ।

झन् ऊ मसँग नाम र ठेगानाको परिचयमा अल्मलिन चाहिरहेको थिएन ।

‘सायद मान्छेको परिचय नाम र ठेगाना होइन । मान्छे पञ्च भौतिकतत्वको योजनमात्र होइन, सूक्ष्मातिसूक्ष्म मान्छे विचार हो । उसको चेतना उसको परिचय हो । उसको व्यवहार उसको परिचय हो ।’

उसले यति भनेपछि काँचको गिलासको चिया सुरुप्प पार्‍यो र टायरमाथि अड्डिएको सिसाको टेबलमा शान्तसँग राखिदियो । उबाट पोट्रेट भएपछि वाचालित शब्दहरुले पनि छुट्टै चित्र बन्ने मौका पाएको भान लागिरह्यो मलाई ।

उसले भनेको थियो, ‘मान्छेको शरीरमा आत्माको बास छ । आत्मा त शक्ति हो, ब्रह्मस्वरुपको शक्ति । शरीरमा मात्र हैन रिक्तजी, आत्मा चराचर जगतका हर कणमा बिराजमान छ ।’

भगवानको लीलामा सजीव ठहरिएका प्राणीहरुमा भन्दा बाहेक अरुमा आत्मा हुन्छ भनेर कल्पनासमेत गर्न सक्दिनथेँ म । उसले मेरो कल्पनामाथि विजय प्राप्त गरेर तर्क थपिरहेको थियो । म एकोहोरो दृष्टिमा अलमलिएको बेला उसले उदाहरणको फेहरिस्त सुरु गर्‍यो।

‘जस्तो कि सूर्य एउटै छ । जताबाट हेरे पनि एउटै । तपाई सूर्यले परावर्तन गरेको आकृति आफ्नो पानी भरिएको घडामा हेर्नुस्, सूर्य त्यहीँ देखिन्छ । अर्कोमा त्यसैगरी हेर्नुस् फेरि देखिन्छ । त्यस्तैगरी हजारौँ घडा खडा गरेर हेर्नुस् हजारौँ सूर्य देखिन्छन् । लाखौँमा त्यसरी हेर्नुस्, लाखौँ देखिन थाल्छन्, अनगिन्तिमा । आधुनिक विश्वले रेखाङ्कन गरी व्याख्या गरेका मुलुक जस्तो की- नेपाल, अमेरिका, जापान, चाइना, नर्वे, पेरू संसारको जुनसुकै कुनाबाट त्यसरी घडा बनाएर हेरे पनि त्यति थान सूर्यको परावर्तन स्वरुपको आकृति देखिन्छ । तर वास्तवमा सूर्य त एउटै हुन्छ । त्यसैगरी परमात्मा पनि एउटै हुनुहुन्छ । यतिबेला यो नभुल्नुस् कि रिक्तजी, आत्माको अन्तिम गन्तव्य भनेको परमात्मासम्म जोडिनु हो । र परमात्मा भनेको परमब्रह्माको शक्ति हो ।’

किन ? सोध्नु अगाडि नै उसले थप्यो, ‘आत्माको न सिर्जना हुन्छ न त नाश हुन्छ । आत्मा एकबाट अर्कोमा सर्दैन पनि । बस् आत्मा जताततै हरेकमा व्याप्त छ ।

जस्तो की-

हावामा छ, प्राण बन्छ ।

मनुष्यमा छ, चेतना बन्छ ।

ढुङ्गामा छ, अस्तित्व बन्छ ।

मन्दिरमा छ, आस्थामा पुजिन्छ ।

नदीमा छ, चाल बन्छ ।

फूलमा छ, सुन्दरता भैदिन्छ ।

समुद्रमा छ, शान्त र विराट देखिन्छ ।

भौतिक वस्तुमा पनि छ र त मूल्य हुन्छ ।

यसैले रिक्तजी, आत्मा परम्ब्रह्मको स्वरुप हो, परमशक्ति हो । आत्मा नाश हुने हो भने त यो जगत् नाश हुन्छ । सृष्टि नाश हुन्छ । त्यसैले आत्मा विनाको ब्रह्माण्ड नै हुन सक्दैन । ब्रह्माण्ड विनाको ब्रह्मा हुन सक्दैनन् । ब्रह्मा विनाको परमब्रह्मा हुन सक्दैनन् । परमब्रह्माविना केही-कोहि हुन सक्दैन । परम्ब्रह्माले ज्ञान सिर्जना गर्छन् र तिनै ज्ञानीले विज्ञान ।

जसरी घडाको पानीमा सूर्यको आवर्तित आकृति नदेखिनेबित्तिकै सूर्य नै छैन भनेर भन्न सकिन्न, त्यसैगरी हामीले नदेख्दैमा आत्मा छैन भन्न सक्दैनौँ । आत्मा छैन भन्दैमा परमात्मा छैन भन्न मिल्दैन, परमात्मा छैन भनेर परम्ब्रह्मा छैन भन्न कहाँ सकिन्छ र ? परम्ब्रह्मा छैन भनेर सृष्टी छैन भन्न सकिने त कुरै भएन ! यद्यपि, परम्ब्रह्मासम्मको यात्रा बहुत कठिन छ। उसैगरी परमात्मासम्मको यात्रा पनि। हाम्रो स्थूल शरीरले त्यो भीमकाय यात्रा तय गर्न कठिनतम् तपमा लीन हुनुपर्छ । आफूलाई सूक्ष्म शरीरमा ढाल्नको लागि मनुष्यजनले हाम्रा ऋषीहरुबाट दिव्यज्ञान प्राप्त गर्न सक्छन् ।’

यतिविघ्न मिहीन कुराको अर्थ बुझ्नलाई मेरो सामर्थ्यले भ्याइरहेको थिएन । र पनि उसले आफूलाई नरोकि ब्याख्यामा बगाइरह्यो । पोतिरह्यो शब्दको पोट्रेट ।

****

मैले उसलाई दोस्रो पटक भेट्ने उत्कट इच्छा जगाएको थिएँ । अपरिचयाक खण्डको भेटमा हामीले नेपाली राजनीति र साहित्यका एक सिद्धहस्त बिपिबारे छलफल गरेका थियौँ, अनि पूर्वीय दर्शनबारे ।

बिपिलाई सारांशमा म चिन्दछु । तर पूर्वीय दर्शनमा मेरो कमजोरीले सगरमाथा जत्तिकै उचाइ ग्रहण गर्छ । म पूर्वीय वाङ्मय र वेदान्त दर्शनमा चाख राख्दछु । तर मेरो अल्छीपनले मलाई यो विधामा अगाडि नबढ्न सदैव साथ दिइरह्यो । म झन्-झन् कमजोर बनिरहेँ ।

म पृथ्वीतिर केही जिज्ञासाको भावले आँखा तन्काउछु । जसरी निराकार वायु वरिपरि हुन्छ, उसको मुहारमा मुस्कानले वरिपरि साथ दिएको देखेर मलाई स्वानन्दको अनुभूतिले मात दिलाइरहेको थियो।

हाम्रो औपचारिक परिचयसँगै केही विषयको उदघाटन भैसकेका थिए । पूर्वीय दर्शनबारे केही सिक्नु थियो मलाई । उसले संस्कृत भाषाबारे केही बताइदिए जाति हुन्छ भनेर मैले भनिसकेको उसको स्मरणमा होला भनेर उसका बाँकी कुरा सुन्न तयार थिएँ ।

उबाट केही जान्नुपर्ने परनिर्भरपथको याचनामा लिप्त थिएँ म । नितान्त ज्ञान रिक्तताको खल्लोपनमा आफूलाई घोलेर उदाङ्गो बनेको जडवस्तु भन्दा अर्थोक हुन नसक्नु मेरो जीवनको कमजोरी थियो ।

यो कमजोरीबारे मैले मुख खेलेपछि ऊ भन्न थाल्यो, ‘हुन त, मान्छे आफ्नो कमजोरी लुकाउन चाहन्छ । र दुनियालाई भएनभएको फोस्रा आडम्वर थपथाप पारी पस्केर अह्लादित् हुन श्रेयष्कर ठान्दछ । म अलिक भिन्न  छु यो मानेमा । मलाई आफ्नो कमजोरीमा अरु होइन, पहिला आफू हाँसेको मन पर्छ ।’

उसले यत्ति भनेपछि  मुसुक्क हास्यो । यसपटक ऊ मेरो कमजोरीमा हाँसेको होला भनेर लाजले तातो मुहार बनाएँ ।

ऊ पुनः चुपचाप सौम्यता प्रदर्शन गरेर मलाई हेरिरहन्छ । सायद उसले आफ्नो मस्तिष्कबाट सञ्चारित भावबाहेक मेरो नतमस्तकता मात्र नियाल्छ जस्तो ठान्दछु म !

बानेश्वरको कोलाहल वातावरणबाट अलिक तल बाग्मती सततः बगिरहेछिन् शङ्खमूलतिर।आफूमात्र नबगि, किनार छेउछाउका फोहोरका डङ्गुर लिएर बग्छिन् र त नेपालीकण बाग्मतीप्रति अनुग्रहीत बन्दो छन् । तसर्थ न बाग्मती गङ्गावतारमा पूजिन्छिन्।

बाग्मती किनारमा रहेको चिया दोकान् हो मेरो र पृथ्वीको शब्द वाचालको थलो । चियाको चुस्कीको भन्दा उसको आवाजको मिठासमा भुल्नमा छुट्टै मजा लागिरहेको थियो । चिया त फगत बहाना हो । भेट्नुमा मज्जा त उसलाई छ । सुन्नुमा आनन्द छ त उसका रङ्गिन शब्दहरु ।

बाग्मतीतर्फ हेरेरै ऊ बोल्न थाल्छ, ‘बाग्मती आफैँमा निरन्तरताको बिम्ब हो रिक्तजी ।’

म उसलाई सुन्न अजपा गायत्री मन्त्र जप्न थाल्छु । २२ हजार ६ सय पटक पुर्‍याउनु त छँदै छ स्वहंश  !

ॐकारको शक्तिले हाम्रो लीला सञ्चालनमा छ । परमब्रह्मको श्रृष्टिबाट उत्पन्न छन् चराचर जगत् । वेद रचयिता ब्यास यहीँका हुन् । व्याकरणका आदिज्ञाता हाम्रै पाणिनी हुन् । बुद्ध शान्ति खोज्न यही भूमिबाट हिँडेका थिए ।’

लघुताभाषले थलिएको देखेर होला उसले मलाई हाम्रो महत्त्वबारे शब्द-शब्दको माला उनेर पहिर्‍याउँदै थियो ।

‘बाग्मती जस्तै हौँ हामी । आफैँमा विकृत होइनौँ । तर बग्ने क्रममा शहरबाट फालिएका सबचिज बोकेर बग्नुको नीयति बाग्मतीले झेल्दछ । मान्छेले भए सक्थे होलान् ?’

सायद आफैँलाई यो प्रश्नले हिर्काएको थियो उसले, या मलाई अथवा हामीलाई म नितान्त रनभुल्लमा पर्छु।

‘एभालाञ्जा’ पछि सोहोरिएको हिउँको डल्लो लिएर समुन्द्रको यात्रामा लम्केको नदीको गतिमा ऊ पुनः बगिरहन्छ, शब्दका साथ ।

‘बाग्मतीले जस्तै निरन्तरता र धैर्य राख्ने हो भने हामी पनि शुद्ध हुन सक्छौँ । नत्र चोभार कटेर केही तल पुग्नेबित्तिकै पुनः सङ्ग्लो बनेर बग्न हामीलाई कसले सिकाउछ र ! जीन्दगी र नदी उस्तै लाग्छ रिक्तजी मलाई ।’

यति भनेर उसले आफ्नै गतिमा मुख बन्द गरेर लामो श्वास फेर्छ र चोभार मुनि पुगेको बाग्मती जस्तै सङ्ग्लिन्छ । शब्दका रङ्गहरु सकेपछि फेरि मुसुक्क मुस्कुराउँछ । त्यस बखत किन हो उसले आकास नियालेको देख्छु म । मेरा अकिञ्चन रहरको क्यानभास रङ्गिएर उसका शब्दले नूतन ज्योति प्राप्त गरको अनुभूतिमा म पनि मुस्कुराउँछु । यतिबेला उसको र मेरो मुस्कानको सूत्र मिलेको आभाष हुन्छ मलाई र बिस्तारै आँखाको दुई परेला चलाउँछु ।

यो वाचलताको अन्तमा मैले उसको छातीसम्म निहुरिएर नमस्कार गर्छु अनि, ‘अहं ब्रह्मस्मि’कासाथ मुस्कुराउँदै बिदा हुन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment