
पर्यङ्क आसनमा (विभिन्न आसनमध्येका एक) बसेका विश्वकर्माको चार हातमध्ये मुष्ठी मुद्रामा देब्रेतर्फको एउटा हात छ । मूर्तिमा आयुधहरू राख्नै बाँकी छ । आयुध राख्नुभन्दा पहिले नै मूर्तिमा रंग लगाउने ध्यानमा छन् सिराहाका ६१ वर्षीय चाम नारायण पण्डित । उनलाई आयुध, मुद्रा, आसन आदिको बारेमा केही पनि जानकारी छैन । तर आफ्नो पूर्खाले जस्तो मूर्ति बनाए त्यसैको सिको गरेर मूर्ति बनाउने गरेका छन् । यस्तै विभिन्न आसन र मुद्राका कैयौं मूर्तिले उनको घर यतिबेला भरिभराउ छ । मूर्ति बनाउन र भण्डार गर्नको लागि खाली ठाउँको भाडा तिरेर एउटा टहरो बनाएका छन् । दुईवटा कोठामध्ये एउटामा मूर्ति बनाउने र अर्काेमा मूर्ति सुरक्षित राख्ने गरिन्छ ।
साउनको पहिलो साता सरकारले लकडाउन पूर्ण रूपमा अन्त्य भएको घोषणा गर्नेबेलामा चाम नारायण सामु दुई विकल्प थिए । काठमाडौंमा चार महिनादेखि थुनिएर बस्नु परेको पीडा भुल्न आफ्नै पुख्र्याैली घर सिराहा जाने या त फेरि हुन सक्ने सम्भावित लकडाउन सहेर काठमाडौंमा नै बस्ने । उनले सोचे अब मूर्ति बनाउने सिजन पनि सुरु हुन थाल्यो, अरू समय त फुर्सदै हुने हो, यो समय त काम गर्नैपर्छ भन्ने सम्झिएर उनी घर गएनन् ।
उनलाई एउटा त्रासले साउनको पहिलो सातादेखि नै गाँजिरहेको थियो । कोरोना भाइरसका कारण सबै व्यवसायमा मन्दी छाएको छ, मेरो व्यवसाय मात्रै त्यसबाट माथि उठ्न सक्ला र ? फेरि अर्काे मनले सोच्यो मेरो व्यवसाय आस्थासँग जोडिएको हो, यसमा अरू व्यवसायसँगको कुनै साइनो नै छैन भने यसमा असर नपर्न पनि सक्छ । अघिल्लो वर्ष मूर्तिको हारालुछ भएको सम्झिएर उनले पहिले जति नै मूर्ति बनाउनको लागि साउनको मध्यतिरबाट काम सुरु गरे ।
सुरुमा भक्तपुरका कुमालेहरूसँग दुई ट्रक माटो ल्याए । एक टिपको १२ हजार तिर्नुपरेको थियो । भाडा ३ हजार सहित गर्दा माटोको मात्रै ३० हजार तिर्नुपरेको थियो ।
साउन महिनापछि मूर्ति बिक्री हुने नजिकको चार्ड भनेको असोज १ गते मनाइने विश्वकर्मा पूजा थियो । यदि लकडाउन थिएन भने उनलाई राम्रै फाइदा हुने चाड पनि हो यो । उनी सहितको छ जनालाई यो डेढ महिना भ्याइनभ्याइ भयो । कुपण्डोलमा मूर्ति बनाउने कामको रेखदेख उनी आफैँ गर्थे भने सात दोबाटोमा रहेको मूर्ति बनाउने ठाउँको जिम्मा श्रीमतीलाई लगाएको उनी बताउँछन् । यसरी दुई ठाउँबाट झण्डै १०० मूर्ति बनाएपछि अन्तिममा निष्कर्ष निस्कियो– ‘यो वर्षको सबै व्यापार घाटामा गयो ।’
पछिल्लो डेढ महिनामा एक सयवटा मूर्ति बनाएर सकेपछि मंगलबारदेखि पण्डितले यो वर्षको विश्वकर्माको मूर्ति बनाउने काम रोके । गन्दै जाँदा मूर्ति एक सयवटा बनाएका रहेछन् । बुधबारसम्म जम्मा ४० वटामात्रै मूर्ति बिक्यो भन्दै पण्डित सुनाउँछन् ‘आखिर घाटा लाग्छ भन्ने निश्चित नै थियो, लागेरै छाड्यो । यो साल त लागत खर्च पनि नउठ्ने भयो ।’
गुसिंगालको डेरामा बस्न थालेको ४ वर्ष भएको पण्डित बताउँछन् । ‘हाम्रो त घरै यही जस्तो भइसक्यो, पहिले सातदोबाटो बस्थेँ, त्यहाँ पनि मूर्तिको काम हुन्छ । बस्नचाहिँ यतै बस्छौं अहिले’ अनलाइनखबरसँग उनले भने ‘मूर्ति बनाउने बाहेक केही गर्ने गरेको छैन । विश्वकर्मा पूजा सकिएपछि दूर्गापूजा र छठको लागि मूर्ति बनाउन सुरु गर्छु ।’
यो साल उनले विश्वकर्माको मूर्ति बनाउनको लागि ५ लाख रुपैयाँ खर्च गरेका थिए तर विश्वकर्मा पूजाको अघिल्लो दिनसम्मको कमाइ केवल साढे ३ लाख मात्रै भयो । ‘मूर्ति त अर्काे वर्ष पनि बिक्छ केही छैन तर हाम्रो गुजाराको सवाल हो, त्यसमा भने असर प¥यो ।’
सामान्य अवस्था थियो भने विश्वकर्माको १०० वटा मूर्ति बेच्दा ८ लाखदेखि १० लाखसम्म कमाइ हुन्थ्यो । उनले ५ हजारदेखि २० हजार रूपैयाँसम्ममा मूर्ति बेच्ने गरेका छन् । यसबाट पण्डितले आफ्नोसहित अरू तीनजना कामदारको परिवार पालिरहेका थिए । ‘तर यो वर्ष कोभिडले डुबायो’ उनी भन्छन् ‘अहिलेसम्म साढे ३ लाखभन्दा उठेको छैन । डेढलाख त लागतबाटै घाटा ब्यहोर्नुपर्ने देखिएको छ ।’
सरकारले अहिले कोरोना भाइरसका कारण धार्मिक गतिविधिलाई पनि सामाजिक रूपमा मनाउन प्रतिबन्ध लगाएको छ । विश्वकर्मापूजा पनि विशेषगरी सामूहिक रूपमा नै मनाउने पूजा हो । सरकारले धुमधामसँग पूजा मनाउन प्रतिबन्ध लगाएका कारण पनि यो वर्ष मूर्ति धेरै बिक्री नभएको हुन सक्ने उनी बताउँछन् ।
पुस्तान्तरणले बनाएको आत्मनिर्भर
पण्डितको यो पेसा पुस्तान्तरणबाट आएको हो । उनको कुन पुस्ताले यो पेसा अँगाल्यो भन्ने कुरा उनलाई नै थाहा छैन । ‘धेरै पुस्ता भइसक्यो, मेरा बुबाले पनि भन्न सक्नुभएन कि कुन समयबाट हामी यो पेसामा लाग्यौं भनेर । मेरा छोराबुहारी पनि यही पेसामा छन् । जेहोस् यो पुख्र्याैली पेसाले हाम्रो गुजारा टारिरहेको छ । उनले मूर्तिकला सिक्नको लागि बाहिर जानु नपरेको समेत बताएका छन् । अहिले उनको परिवारमा चाम नारायणका जहान, छोरा बुहारी र नाति नातिना समेत छन् ।
प्रतिक्रिया 4