Comments Add Comment

प्रदेश १ मा भदौ महिनामा मात्रै ३ हजार संक्रमित थपिए, ३९ जनाको मृत्यु

३१ भदौ, विराटनगर । प्रदेश १ मा भदौ महिनामा तीन हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार भदौको ३१ दिनको अवधीमा ३ हजार ९० कोरोना संक्रमित थपिएका हुन् ।

बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार एक सय छ । जसमध्ये ५२ जनाको मृत्यु भएको छ । भदौमा मात्र ३९ जनाको मृत्यु भएको छ । बुधबारसम्म २ हजार १९४ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा संक्रमण बढ्दो क्रममा छ । प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको धरान, इटहरी इनरुवामा संक्रमण बढ्दो क्रममा छ ।

मोरङ जिल्लामा मात्र संक्रमितको संख्या २ हजार ३५४ पुगेको छ । सुनसरीमा १ हजार ४०५, झापामा ७६५ उदयपुरमा १२७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा दोहोरो अंकमा कोरोना संक्रमित छन् ।

चार महिनामा दुई हजार

प्रदेश १ मा वैशाख पहिलो साताबाट कोरोना संक्रमण देखिएको थियो । पहिलो पटक ४ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ४ भुल्केमा रहेको नुरी मस्जिदमा बस्ने १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

४ वैशाखदेखि ३२ साउनसम्मको अवधीमा प्रदेश १ मा २ हजार १० जनामा संक्रमण देखिएको थियो । ३२ साउनसम्म प्रदेश १ मा १३ जनाले संक्रमणका कारण ज्यान गुमाएका थिए । साउन मशान्तसम्म ६५ हजार ९३३ जनाको पीसीआर जाँच भएको थियो ।

भदौ महिनामा मात्र ४६ हजार १३० जनाको पीसीआर जाँच भएको छ । जसमा ३ हजार ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउने ५२ मध्ये १३ जना प्रदेश २ का हुन् । २९ जना मोरङका, ८ जना सुनसरीका र २ जना झापाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment