Comments Add Comment

ब्रह्माण्डीय ऊर्जा र मान्छेको जीवनमा वास्तुको प्रभाव

काठमाडौं । आदिकालदेखि सुरु भएको वास्तु कला कति विज्ञान सम्मत होला ? पछिल्लो समय नास्तिक समाजमा समेत जरो गाढेको वास्तु विज्ञानमा कसरी दिशा र कोणको अध्ययन गरिन्छ होला ?

सामानयतया मान्छेले घर बनाउँदा पूर्व र पश्चिमी भागमा घरको झ्याल राख्ने गर्छन् । पश्चिमतर्फभन्दा पूर्वतर्फ त झ्याल या ढोका बनाउनु अनिवार्य जस्तै मानिन्छ किन होला ? यसमा एउटा विज्ञान लुकेको छ ।

जतिबेलासम्म सूर्यको किरण पृथ्वीमा आउँछ त्यतिबेलासम्म मान्छेको जीवन चलिरहन्छ भन्ने सर्वस्वीकार्य विषय हो । पूर्वीय शास्त्रले प्राणवायु जब शरीरबाट निस्किन्छ सिधै सूर्यमा विलीन हुन पुग्छ भन्ने सर्वव्यापी मान्यता रहेको पाइन्छ । त्यसपछि मान्छेको शरीर निष्प्राण हुने गर्छ ।

शरीरको अन्तिम आशा सूर्यमा आधारित हुने भएकोलेसूर्यको किरणलाई हेरेर नै घरको झ्याल र ढोका कता राख्ने भनेर यकिन गर्ने गरिन्छ । त्यही बिहानको सूर्यको किरण घरभित्र प्रवेश गरोस् भन्नको लागि नै पूर्वतर्फ झ्याल या ढोका राख्ने गरिन्छ ।

वास्तुशास्त्रको मूल मर्म भनेको नै मान्छेको हरेक गतिविधि प्रकृतिसम्मत बन्यो भने मात्रै उसलाई कुनै पनि हानिनोक्सानी हुँदैन भन्ने हो ।

वास्तु शास्त्र अनुसार घरको पूर्व–उत्तरी क्षेत्रमा धेरै खुल्ला हुँदा भवनमा वायुको बेगबिना हावा प्रवेश गर्न सहज हुन्छ भन्ने मान्यता छ । पृथ्वीमा चुम्बकीय आकर्षणको हिसाबले हेर्दा पनि उत्तरबाट दक्षिण दिशातर्फ जे कुरा पनि बहने गर्छ, जुन हामी पानी बग्ने दिशाको आधारमा पनि देख्न सक्छौं । त्यसैले हावा पनि उत्तरबाट दक्षिणतर्फ बहन्छ भन्ने मान्यता राखिन्छ । अर्काेतर्फ वास्तुशास्त्रले दक्षिण र पश्चिमतर्फ रहेको सानासाना झ्यालबाट वायु सर्कुलेसन हुन्छ भन्ने कुरालाई विश्वास गर्छ । दक्षिण र पश्चिमतर्फ झ्याल हुँदा घरमा सधैं अक्सिजनको मात्रा सन्तुलित हुन्छ भन्ने मान्यता रहेको छ ।

वास्तुले दक्षिण–पश्चिमी भागमा धेरै गह्रुँगो सामान राख्नु उपयुक्त मान्छ । अर्थात् भारी मेसिनरी सामान वा स्टोर यो दिशामा बनाउने गरिन्छ । यसको प्रमुख कारण यो हो कि जब पृथ्वी सूर्यको परिक्रमा दक्षिणी दिशातर्फबाट घुम्ने गर्छ । अतः यस क्षेत्रमा अधिक भार राख्दा सन्तुलिन मिल्छ भन्ने शास्त्रीय मान्यता छ ।

आग्नेय कोणमा भान्सा बनाउनु वास्तुशास्त्रीय हिसाबले महत्वपूर्ण मानिन्छ । बिहान सूर्यको किरणमा प्रचुर मात्रामा भिटामिन पाउन सकिन्छ । त्यो सूर्यको किरणलाई दक्षिण क्षेत्रबाट आएको वायुले घरघरमा लैजाने गर्छ । किनकि पृथ्वी सूर्यको परिक्रमा दक्षिणायन दिशाबाट गर्ने गर्छ । अतः आग्नेय कोणमा सूर्यको किरणमा रहेको भिटामिन धेरै प्राप्त गर्न सकिन्छ भन्ने शास्त्रीय मत छ ।

यसबाहेक उत्तरपूर्वी भाग ईशान कोणमा आराधना स्थल या पूजा स्थल बनाइन्छ । किनकि बिहान पूजा गर्ने समयमा मान्छे उध्र्ववस्त्रविहीन हुने गर्छ । प्रातः कालमा निर्वस्त्र शरीरमा सूर्यको किरण परेर शरीरमा भिटामिन मिलोस् भन्नको लागि यो कोणमा पूजा कोठा राख्ने गरिन्छ ।

यसबाहेक उत्तर पूर्वमा पानीको स्रोत राख्ने गरिन्छ । इलेक्ट्रो म्याग्नेटिक सिद्धान्त अनुसार समेत सूर्यको ताप प्राप्त हुँदा पानी शुद्ध हुन्छ भन्ने मान्यता छ ।

जसरी चुम्बक उत्तरी ध्रुवबाट दक्षिणी धु्रवतर्फ चल्ने गर्छ त्यसरी नै मानिसको शरीरमा रहेको चुम्बकीय किरण शिरबाट पैताला तिर जान्छ भन्ने मान्यता छ ।

कसैसँग व्यापारिक विषयमा चर्चा गर्नुछ भने आफू उत्तरतर्फ मुख फर्र्काएर कुरा गर्नु उत्तम हुन्छ भन्ने वास्तुशास्त्रीय मत छ । माथि उल्लेख गरिएजस्तै ताजा हावा उत्तरबाट दक्षिणतर्फ बहने गर्छ । उत्तरतर्फ फर्किएर कुराकानी गर्दा शुद्ध अक्सिजन सहजै प्राप्त गर्न सकिन्छ । मस्तिष्कको कोशिकाहरू तुरुन्त सक्रिय हुने  हुँदा उसको मस्तिष्कको कोषिकाले तत्कालै याद गर्ने शक्ति प्राप्त गर्न सक्छ । त्यसैले व्यावसायिक वार्ताको क्रममा उत्तर मुख गरेर बस्नु उपयुक्त हुन्छ ।

वास्तुशास्त्रको पञ्चतत्वसँगको सम्बन्ध

पृथ्वीमा चुम्बकीय प्रवाह, दिशाहरू, वायुको प्रभाव, गुरुत्वाकर्षण आदिको नियमलाई ध्यानमा राख्दै वास्तु शास्त्रको रचना गरिएको हुन्छ । यो ठाउँ अनुसार फरक हुने गर्छ । सो शास्त्रको आधारमा बनाइएको घर यी सबै सम्भावित समस्याका स्रोतहरूबाट मुक्त हुन्छन् भन्ने मान्यता छ ।

वास्तु वस्तुतः पृथ्वी, जल, आकाश, वायु र अग्नि यी पाँच तत्वको समानुपातिक सम्मिश्रणको नाम हो । यसको सही सम्मिश्रणबाट बायोइलेक्ट्रिो म्याग्नेटिक इनर्जीको उत्पत्ति हुने गर्छ । जसबाट मनुष्यको उत्तम स्वास्थ्य धन एवं ऐश्वर्यको प्राप्ति हुन्छ ।

मानव शरीर पञ्चतत्वबाट निर्मित हुने गर्छ र अन्ततः पञ्चतत्वमा नै विलीन हुने गर्छ । सोही पाँच तत्वमा शरीरको समीकरण निर्माण र ध्वस्त हुने गर्छ । त्यो प्रक्रिया निम्नानुसार छ ।

आकाश+अग्नि+वायु+जल पृथ्वी=निर्माण प्रक्रिया

देह या शरीर+वायु+जल+अग्नि+पृथ्वी+आकाश=ध्वंश प्रक्रिया

मस्तिष्कमा आकाश, काँधमा अग्नि, नाभीमा वायु, घुँडामा पृथ्वी र खुट्टामा जलको बास हुन्छ भन्ने शास्त्रीय मान्यता हुन्छ । त्यो साकार रूपसँगै आत्मा र परमात्माको पनि मानव शरीरमा निवास हुन्छ । आत्मा र परमात्मा दुवै निराकार स्वरूपमा हुन्छन् ।

सूर्यबाट निस्कने प्राकृतिक ऊर्जाले नै पृथ्वीमा चराचर प्राणीहरूको बसोबार सम्भव भएको छ । सूर्यको प्रातःकालीन किरणहरूमा भिटामिन डी धेरै मात्रामा पाउन सकिन्छ । जसको प्रभावले शरीरमा सहज हिसाबले रक्तसञ्चार हुने गर्छ ।

त्यस्तै, मध्याह्नपछिको सूर्यको किरणमा रेडियोधर्मिता धेरै हुने हुँदा त्यसपछिको सूर्यको किरणले नराम्रो असर गर्ने गर्छ । त्यसैले घर बनाउँदा बिहान सूर्यको किरण पर्ने र साँझ नपर्ने गरी बनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment