Comments Add Comment

नेप्सेको लापरबाहीले मर्कामा परियो

म पुँजी बजारको दोस्रो बजारमा लगानी गरी कारोबार गर्ने सर्ट–टर्म इन्भेस्टर हुँ । दोस्रो बजारको कारोबारमा छोटो अवधिमा शेयरको मूल्यमा हुने उचारचढावको आधारमा कारोबार गरी आफ्नो नाफा निकालिन्छ । नाफा लिँदा मूल्य घट्ने क्रममा कम मूल्यमा शेयर खरिद गर्ने र मूल्य बढ्दा उच्च मूल्यमा शेयर बिक्री गरिन्छ ।

यस्तो कारोबारमा एक माइक्रोसेकेन्डको निर्णयले पनि आफ्नो नाफा र घाटा प्रभावित बन्दछ । अहिले नेपालमा दैनिक औसत पचास हजारले शेयर कारोबार गर्छन् । लकडाउनपश्चात तीमध्ये लगभग ९९ प्रतिशत अनलाइन कारोबार गर्छन् ।

शेयरको सेकेण्डरी मार्केटमा कारोबार गराउने संस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) हो । नेप्सेको अनलाइन कारोबार टिएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) मार्फत गराइन्छ । टिएमएस वाईसिओ नेपालले तयार गरेको सफ्टवेयर हो ।

पछिल्लो समय बारम्बार टिएमएसमा समस्या आइरहेकोले नेप्सेको कारोबार स्थगित हुने र प्रभावित हुने भइरहेको छ । जसको प्रत्यक्ष असर आम लगानीकर्तालाई परिरहेको छ । टिएमएसमा आउने समस्याको कारणले लगानीकर्तामा पर्ने असरको जिम्मेवारी नेप्सेले लिनुपर्छ । नेप्सेको टिएमएसमा आएका यस्तै समस्याको कारणले मैले आफूले भोग्नुपरेको समस्याहरू यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

पहिलो समस्या : भाद्र १ गते अरूण भ्यालीको २०० कित्ता शेयर खरिद गर्न अर्डर राखेकी थिँए, मूल्यममा गिरावट आउन थालेपछि मैले अर्डर क्यान्सिल गरेँ टिएमएसले अर्डर क्यान्सिल भएको रेस्पोन्स गर्यो । डेली अर्डर बुकमा चेक गर्दा पाँच मिनेट सम्म पनि अर्डर थिएन । क्यान्सिल भइसकेको भन्ने ढुक्क भएर पुनः गिरावट आएको कम मूल्यमा २०० कित्ता खरिद गर्न अर्डर गरेँ । तर उक्त शेयर खरिद भए नभएको चेक गर्न डेली अर्डरबुकमा चेक गर्दा पहिले गरेको अर्डर पनि खरिद भएको देखायो । मैले २०० कित्तामात्र खरिद गर्न खोजेकोमा चारसय कित्ता शेयर खरिद भयो ।

दोस्रो समस्या : भाद्र ४ गते बैंकको शेयर खरिद गर्ने योजना अनुसार अर्डर रेन्जको न्युनतम मूल्यमा शेयर खरिद अर्डर गरेँ । तर केही छिनमै मैले कारोबार गर्ने ब्रोकरको टिएमएसमा समस्या आयो । मैले बजार को ट्रेन्ड हेरेर आफ्नो अर्डर क्यान्सिल वा रिप्लेस नै गर्न पाइन । उता बैंकिङको मूल्यमा लगातार गिरावट आइरहेको थियो । टिएमएस रिफ्रेस गर्दा टर्नओभर बढिरहेको देखियो । ब्रोकरलाई फोन गर्दा अन्य ब्रोकरबाट कारोबार भइरहेको जानकारी पाइयो । मैले केही गर्न नपाउँदा मैले क्यान्सिल गर्नुपर्ने शेयर पनि खरिद भयो ।

तेस्रो समस्या : अरूण भ्यालीको २०० कित्ता खरिद गर्न खोजेको तर ४०० कित्ता खरिद भएको थियो । नियमानुसार सोमबार खातामा उत्त शेयर आइपुग्नुपर्ने हो । शेयर खातामा आइसकेको थियो । तर उक्त शेयर बिक्री गर्न खोज्दा बिक्री गर्न पाइएन । टिएमएसले अनेवल टु प्लेस अर्डर ! सर्ट सेल नट अलाउडेड भन्ने रेस्पोन्स गर्यो । मैले आफ्नो खातामा भएको शेयर पनि बेच्न पाइनँ ।

अघिल्लो हप्ताको विहिबार अर्थात भाद्र १ गते अरूण भ्याली हाइड्रोपावरको चारसय कित्ता शेयर खरिद भएको थियो । उक्त शेयर टि–प्लस फोरको नियमअनुसार मेरो खातामा बिदाको दिन (शनिबार)लाई गणना नगरी सोमबार आउनुपर्ने थियो र सोही नियमअनुसार सोमबार मेरो शेयरको खातामा उक्त शेयर आयो पनि । मंगलबाट प्रिओपनिङ सेसनमा उक्त शेयर बिक्री गर्न खोज्दा टिएमएसले ‘अनेवल टु प्लेस अर्डर ! सर्ट सेल नट अलाउडेड’ भन्ने रिस्पोस्स दियो । यसको अर्थ तपाईको खातामा सो कम्पनीको शेयर नभएकाले त्यसलाई बिक्री गर्न सक्नुहुन्न भन्ने हुन्छ ।

नेपालमा हाल आफूसँग नभएको शेयर बेच्न पाइँदैन, अर्थात नेपालमा अहिले सर्टसेलको व्यवस्था छैन । तर मेरो खातामा सोमबार अर्थात, एकदिन अगाडि नै आइसकेको शेयर पनि मैले टिएमएसको समस्याले गर्दा बिक्रि गर्न पाइनँ ।

त्यसपछि यो समस्या सम्बन्धीत ब्रोकरलाई राखेँ । ब्रोकरले सम्पूर्ण विवरण चेक गरी, ब्रोकरमार्फत नै बिक्रीका लागि अर्डर गर्न खोज्दा उताबाट पनि सोही समस्या देखियो । ब्रोकर कम्पनीका यो समस्यासम्बधी हेर्ने व्यक्ति एकजना ‘राजेन्द्र सर’ रहेछन् । तिनलाई ल्याण्डलाइनमा फोन गर्दा कतिबेला फोन लाग्दैन कतिबेला फोन काट्छन्, कतिबेला फोन नै उठ्दैन । अनि मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाइल स्वीचअफ छ ।

जतिबेला अरूण भ्याली हाइड्रोपावर को बजार मूल्य रू. १७४ थियो । त्यसपछि मैले नेप्सेमा सम्पर्क गरेँ । दिनभरी जसो उनीसँग सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्भव भएन । एकजना अर्का कर्मचारीले फोन उठाएर सो समस्या राजेन्द्र सरलाई जानकारी गराइसकिएको र उहाँसँग सम्पर्क गर्न केही छिनपछि पुनः फोन गर्न सुझाइन् । चार पटकसम्म पुनःसम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् र अन्तिममा चारबजे फोन गर्नु भन्ने आदेशअनुसार चार बजे फोन गर्दा राजेन्द्र सर बिहान छिटो आउनुभएकाले छिटै निस्किसकेको जानकारी गराइन् ।

उता नेप्सेमा फोन गर्दा एकजना महिला कर्मचारीले फोन उठाई वाईसिओका प्राविधिकलाई फोन ट्रान्सफर गर्नुभयो । पटक–पटकको फोनको व्यस्तता अनि फोन नउठाउने लगायतको समस्यासँग लड्दै कैयौँ प्रयासपछि वाईसिओका प्राविधिकसँग कुरा भयो । आफ्नो समस्याभन्दा प्राविधिकले विवरण लिएर एकछिनपछि फोन गर्न भन्यो, त्यसपछि दश–पन्ध्र मिनेट पछि फोन गर्दा पुनः कहिले फोन नै नउठ्ने त कहिले व्यस्त भइरहँदा बल्ल बल्ल कुरा गर्न पाएकी थिएँ । त्यसपछि फेरी वाईसिओका प्राविधिकसँग कुरा गर्दा पुन विवरण मागेर समस्या समाधान हुने आश्वासन दिँदै एकघण्टा पछि फोन गर्नु भन्ने कुरा गर्यो ।

त्यसपछि एकघण्टापछि फोन गर्दा पनि फोन व्यस्त भएर समयमै सम्पर्क गर्न नपाउँदा करिब दुई घण्टापछि बल्ल कुरा भयो । तर मेरो समस्या जस्ताको तस्तै । अन्तमा साढेदुई बजे ‘मैले समस्या उता (?) पठाएको छु, रिस्पोन्स आएको छैन्’ भन्दै वाइेसिओका प्राविधिकले अब भोलि फोन गर्नु भन्ने आदेश दिनथाले ।

मैले अब मैले कसलाई फोन गर्ने सर ? अझै पनि बजार आधाघण्टा चल्छ समस्या कसलाई भन्ने भनि प्रश्न गरेँ । ती प्राविधिकले समस्या यतैबाट समाधान हुन्छ, फोन त यही गर्ने हो, तर आज अलि नभ्याइनेजस्तो छ । कर्मचारी सबै आउनुभएको छैन, एकजना मात्रै हुनुहुन्छ भन्दै कुरा मिलाउने प्रयास गरे ।

मैले आज समयमा बेच्न नपाएर बजार मूल्यमा गिरावट आउँदाको मलाई हुनजाने क्षतिको विषयमा के गर्ने भन्ने प्रश्न गर्दा त्यस विषयमा नेप्सेसँग नै कुरा गर्नुपर्ने सुझाव दिए । समस्या टिएमएसमा आउँछ । त्यसको जिम्मेवारी कसले लिने–लिने भन्दा टिएमएस सफ्टवेयर निर्माणकर्ता कम्पनी वाईसिओले पनि नेप्सेलाई भन्न भन्छ, ब्रोकरले पनि नेप्सेलाई नै भन्न भन्छन् ।

नेप्से भनेको को हो ? नेप्सेअन्तर्गत नै ब्रोकरहरूले टिएमएस मार्फत काम गरिरहेका त हुन । एकजना सामान्य लगानीकर्ताले आफुलाई आइपरेका समस्याका बारेमा नेप्सेको अध्यक्षसँग नै कुरा गर्ने हो कि ब्रोकरमार्फत तत्काल समाधान गराउने कुनै विधि–प्रक्रिया छ ? यस्तो समस्या तत्काल समाधान नभएमा लगानीकर्तालाई ठूलो क्षति पनि हुनसक्छ त्यसको जवाफदेहिता कसले लिने ? पीडितले क्षतिपूर्ति पाउने कि नपाउने ?

मंगलबार अरूण भ्यालीको शेयर कारोबार १७४ सम्म भइरहेको थियो । मैले १७४ मा, ४०० कित्ता शेयर ढुक्क भएर बेच्न पाउने अवस्था थियो, त्यसोहुँदा मैले कम्तीमा प्रतिशेयर १० रूपैयाँ नाफा प्राप्त गर्ने अवसर थियो । हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा गिरावट आइरहँदा पनि अरूण भ्याली लामो समय मूल्य बढेर कारोबार भइरहेको थियो । तर नेप्सेको लापरबाहीको कारण मैले नाफाको सट्टा आफ्नो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

मंगलबार उक्त कम्पनी १६४ मा क्लोज भएको छ । शेयर खरिद गर्दा मार्केट बुलिस भयो र शेयर बिक्री गर्दा मार्केट बियरिस भयो भने अनि सँगसँगै यस्तो प्राविधिक समस्या आएमा लगानीकर्तालाई दोहोरो मार पर्न जान्छ । यसको जिम्मा कसले लिने ?

मेरो शेयरको खातामा आइसकेको अरूण भ्याली हाइड्रोपावरको शेयर ।
शेयर कारोबारका लागि अर्डर राख्दा देखाएको समस्या ।

त्यसैगरी अर्को समस्याले पनि बेलाबेला लगानीकर्ता पीडित भइरहेका छन् । कुनै ब्रोकरबाट टिएमएस चल्ने र कुनै ब्रोकरबाट नचल्ने समस्याले लगानीकर्ता पीडित छन् । भाद्र ४ गते आइतबार टिएमएसमा आएको यही समस्याको शिकार म पनि भएँ ।

अघिल्लो आइतबार बैंकमा लगानी गर्ने पूर्वतयारीअनुसार आफूलाई अनुकूल लागेका बैंकको सूची तयार थियो । नेप्से प्रिओपन सेसनमा नै नेप्से १२ अंकले बढिसकेको थियो । ११ बजे नेप्से टिएमएस खुला भएसँगै बैंकिङको डिमाण्ड एकदमै बढेको थियो । सो अवस्थामा बैंकिङको अझै मूल्य बढ्न सक्ने अनुमानअनुसार अर्डर रेन्जको न्यूनतम मूल्यमा आफ्नो योजना अनुसार अर्डर राखेँ ।

पछि मूल्य घट्न लाग्दा पनि तुरून्त मूल्य घटाउन सकिन्छ वा अर्डर क्यान्सिल गर्न सकिन्छ भन्ने कुरामा शंका हुने कुरा थिएन । तर टिएमएसमा आएको समस्याले हो कि कुनै चलखेलले गर्दा हो स्वतन्त्र रूपमा ट्रेडिङ गर्न पाइएन । जुन मूल्यमा शेयर खरिदका लागि अर्डर राखेकी थिएँ, सोही मूल्यमा सम्पूर्ण शेयर खरिद भइसकेका रहेछन् । टिएमएसको अनौठो समस्याले बजार के भइरहेको छ हेर्न नै पाइएन् ।

तर, टिएमएस रिफ्रेस गरेर हेर्दा टर्नओभर बढिरहेको देखियो । त्यसपछि ब्रोकरलाई सम्पर्क गरेर बुझ्दा कुनै ब्रोकरबाट कारोबार भइरहेकोले टर्नओभर बढेको हो भन्ने जानकारी पाइयो । यदि टिएमएसमा समस्या छ भने सम्पूर्ण कारोबार स्थगित गर्न सकिन्छ, त्यो किन गरिएन । कसैको शेयर किनबेच भइरह्यो । अर्डर राखेको मान्छेले अर्डर रिप्लेस अथवा क्यान्सिल नै गर्न पाएको छैन तर उसको शेयर उसलाई जानकारी नै नभई किनबेच भइरहेको छ । यस्तो गम्भीर लापरबाही र अपराधको जवाफदेही संस्था हुनैपर्छ ।

अर्डर रिप्लेस गर्न नपाउँदा करिब ४ लाख बराबरको अतिरिक्त आर्थिक भार पर्न गयो । त्यसैगरी ‘मार्केट ट्रेन्ड’ हेर्न पाएको भए मैले अधिकांश अर्डर स्वभाविक रूपमा क्यान्सिल गर्ने थिँए । यसको जिम्मा कसले लिने ! त्यो अतिरिक्त रकम मैले ब्रोकरलाई कहाँबाट उपलब्ध गराउने ! समयमै ब्रोकरलाई पैसा तिर्न नसके ‘पेनाल्टी’ लाग्छ । त्यसैले मैले २० प्रतिशत ब्याज तिरेर ब्रोकरलाई रकम तिर्नुपरेको छ । म यसको क्षतिपूर्तीको माग गर्दछु ।

मार्केट बियरिस हुँदा पनि अर्डर क्यान्सिल गर्न नपाउँदा महंगोमा शेयर खरिद भयो । एउटा त्यो भार थपियो दोस्रो मंहगो ब्याज तिरेर ब्रोकरलाई रकम उपलब्ध गराउनुपरेको छ । यो गम्भीर समस्यालाई किन कसैले पनि गम्भीरतापूर्वक लिन सकिरहेका छैनन् ! मजस्ता कैयौंले यसरी नै पीडित हुनुपरेको छ ।

ब्रोकरले कारोबार गराएबापत प्रत्येक कारोबारको ०.६ प्रतिशतसम्म कमिसन लिन्छ । सेवोनले प्रत्येक कारोबारबापत ०.०१५ प्रतिशत लिन्छ र नेपाल सरकारले नाफामा पाँच प्रतिशतका दरले कर अशुल गरिरहेकै छ । नेप्सेले करौडौँ रूपैयाँ खर्च गरेर अनलाइन कारोबारप्रणाली ‘टिएमएस’ सञ्चालनमा ल्याएको हो ।

सामान्यतया हेर्दा यो सम्पूर्ण समस्या टिएमएसले गर्दा उत्पन्न भएको हो । तर, समस्या टिएमएसमा आएता पनि यसमा आएका समस्याका कारणले उत्पन्न हुने जोखिमको जिम्मा नेप्सेको उच्च व्यवस्थापन र सञ्चालक समितीले लिनुपर्ने हुन्छ । किनकि कुनै पनि संस्थामा आउटसोर्सिङ मार्फत् आइटि सम्बन्धि कार्य गराउनु भन्दा पहिले सो सफ्टवेयरको कार्यक्षमता, कार्यगत आवश्यकता, सुरक्षासम्बन्धी आवश्यकता, कार्यसम्पादन आवश्यकता र प्राविधिक विशिष्टिकरण सम्बन्धी सम्झौता मुख्य कम्पनी र करार कम्पनीबीच पहिले नै भएको हुन्छ ।

सफ्टवेयर निर्माणका हरेक चरणहरूमा नेप्से र वाईसिओका प्रतिनिधीले संयुक्त रूपमा काम गरेका हुन्छन् । सफ्टवेयर निर्माण भइसकेपश्चात पूर्ण सञ्चालनमा ल्याउनुपूर्व नमूना परिक्षण गरी आउनसक्ने सम्पूर्ण किसिमका समस्याहरू र त्यसको समाधानका उपायहरूको अध्ययन गरी अब सफ्टवेयर समस्यारहित छ भन्ने यकिन गरेपछि मात्रै सर्वसाधारणको लागि सञ्चालनमा ल्याइन्छ । यदि यो प्रक्रिया पुरा गरेर सञ्चालनमा ल्याइएको हो भने पटक–पटक यस्ता समस्या आइरहने सफ्टवेयर सञ्चालनको स्विकृती प्रदान गर्ने अधिकारीहरू यसका दोषी हुन् र उनीहरूमाथि कारबाही हुनुपर्छ ।

टिएमएस सफ्टवेयर निर्माण गर्ने कम्पनीले अर्थमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, लोकसेवा आयोग, नेपाल प्रहरी, नेपाल स्टक एक्सचेन्जलगायत दशभन्दा बढी सरकारी निकायको सफ्टवेयर निर्माण गरेको छ । यस्तो पहुँच भएको कम्पनीले बारम्बार लगानीकर्तालाई समस्यामा पारिरहेको छ । यसको अलिकती पनि जवाफदेहीता बोध उक्त कम्पनीसँग छ कि छैन !

त्यसैगरी नेप्सेले आफु मातहतमा कामगर्ने कम्पनीलाई जवाफदेही बनाउन किन सकिरहेको छैन । नेप्सेको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको जिम्मेवारी के हो ? केवल बेलाबेला निर्देशन दिइएको भन्ने सूचनामात्रै प्रवाह गर्ने कि कुनै वैकल्पिक उपाय यथाशीघ्र कार्यान्वयन गर्ने ? कम्तिमा समस्या भएको दिनको कारोबार रद्द गराउने र समस्या उत्पन्न भएमा कारोबार सम्पूर्ण रूपमा स्थगित गराउने कार्यमा किन कडाइ गर्न सकिरहेको छैन ?

वाईसिओ, नेप्से, सेवोन, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय कसैले केही गर्न सक्दैनन् ! केवल मुकदर्शक बनेर साना लगानीकर्तालाई डुबाउने षड्यन्त्र हेर्ने हो भने आम लगानीकर्तालाई स्पष्ट जवाफ चाहिन्छ । प्राविधिक समस्यामा सतप्रतिशत समाधान नहोला तर त्यस्तो समस्यामा भएका सम्पूर्ण कारोबार रद्द गर्न केले रोकेको छ ? एक माइक्रोसेकेण्डमा गरेको निर्णयले पनि लगानी प्रभावित हुने यस कारोबारमा एक दिनभरी मेरो समस्यालाई किन वेवास्ता गरियो ? पुँजीबजार पनि पहुँचवाला र इन्साइडर ट्रेडिङ गर्नेहरूको मात्रै हो ! अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका आधारमा आम जनताले स्वतन्त्र रूपमा लगानी गर्न नपाउने ?

बिहान सवा १० बजे पनि सोही समस्या समाधानका लागि भनेर नेप्सेमा फोन गर्दा प्रत्येकपटक दुईमिनेट जति फोन ट्रान्सफर भन्दै होल्ड गराइयो तर उता फोन उठेन । नेप्सेको कर्मचारीले पानी पर्दैछ आउँदै होलान् भन्ने जवाफ दिन्छन् । अहिले १०ः२५ भइसक्यो साढे दशमा कारोबार खुला हुन्छ मैले मेरो समस्याको समाधान नै पाइनँ । एउटा माइक्रोसेकेण्डले पनि लगानीकर्तालाई असर पर्ने अवस्थालाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दा वाईसिओका प्राविधिकलाई फोन ट्रान्सफर गरी पाँच मिनेटदेखि मलाई होल्डमा राखियो, तर फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment