Comments Add Comment

६ करोडभन्दा धेरै भारतीयमा हुन सक्छ कोरोना संक्रमण : अध्ययन

१४ असोज, काठमाडौं । भारतमा ६ करोड मानिसहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको हुन सक्ने एक अध्ययनले देखाएको छ । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले दिएको जानकारी अनुसार भारतभरका मानिसहरुमा गरिएको एन्टिबडी परीक्षणको क्रममा यस्तो पाइएको हो ।

एक अर्ब ३० करोड मानिसको बसोबास भएको भारतमा अहिलेसम्म ६२ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । अमेरिकापछि भारत विश्वमा सबैभन्दा धेरै कोरोनाबाट प्रभावित भएको मुलुक हो । भारतमा अहिलेसम्म कोरोनाबाट ९७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यद्यपि मंगलबार प्रकाशित रिपोर्टअनुसार भारतमा कोरोना संक्रमितको संख्या सरकारले उल्लेख गरेकोभन्दा १० गुणाले बढी हुन सक्ने देखिएको हो । यो अध्ययन मध्य अगष्टदेखि सेप्टेम्बरको मध्यसम्ममा गरिएको थियो । भारतका विभिन्न २१ राज्यका २९ हजार मानिसमा गरिएको परीक्षणको क्रममा यस्तो पाइएको हो । अध्ययनको क्रममा १० वर्षभन्दा माथिका १५ मध्ये एक जनामा कोरोना एन्टिबडी पाइएको थियो । एन्टिबडीको परीक्षणले उक्त व्यक्तिमा कुनै समय कोरोना संक्रमण थियो भन्ने बुझ्न सकिन्छ ।

सन् २०११ को जनगणनाअनुसार भारतमा १० वर्ष उमेर नाघेका ९६ करोड ६० लाख मानिसहरु छन् । जसमध्ये १५ मध्ये एकजनामा कोरोना संक्रमण हुँदा ६ करोड ३७ लाखभन्दा धेरैमा कोरोना सक्रमण भइसकेको देखिन्छ । यसअघि पनि भारतमा सरकारी तथ्यांकभन्दा धेरै गुणा बढी मानिसहरुमा कोरोना संक्रमण भइसकेको विज्ञहरुले बताएका थिए । पर्याप्त मात्रामा कोरोना परीक्षण नहुनु, सरकारले सहीरुपमा कोरोनाको तथ्यांक राख्न नसक्नुलगायतका कारणले पनि भारतमा वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकको तुलनामा धेरै हुन सक्ने देखिएको हो ।

भारतमा भीडभाडयुक्त बस्ती, सरसफाइको कमी र सफा खानेपानीको अभावजस्ता कारणले भारतमा उल्लेख्यमात्रामा कोरोना संक्रमण बढेको हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment