Comments Add Comment

एभरटनको लगातार चौथो जित, सिटी बराबरीमा रोकियो

१८ असोज, काठमाडौं । नयाँ सिजनको प्रिमियर लिगमा गज्जबको प्रदर्शन गरिरहेको एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ ।

घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । ४१औ मिनेटमा नि मउपेले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको अन्तिम मसमया येरी मिनाले गोल गरेपछि एभरटनले २-१ को अग्रता बनायो ।

यसै सिजन एभरटनमा अनुबन्ध भएका रोड्रिगेजले उत्कृष्ट प्रदर्शनलाई जारी राख्ने क्रममा ५२औं र ७०औं मिनेटमा गोल गर्दै एभरटनलाई ४-१ को अग्रता दिलाए । उनले प्रिमियर लिगमा एकै खेलमा दुई गोल गरेको यो पहिलो पटक हो ।

ब्राइटनका लागि खेलको अन्त्यतिर बिसोउमाले गोल गरेका थिए ।

लगातार चौथो जितपछि १२ अंक जोडेको एभरटन अंक तालिकामा शीर्ष स्थानमा छ । ४ खेलबाट ३ अंक मात्र रहेको ब्राइटन १४औं स्थानमा छ । एभरटनसहित लेस्टर सिटी साविक विजेता लिभरपुल र एस्टनभिल्ला मात्र यस सिजन अपराजित छ ।

चेल्सीको चार गोल

जर्गिन्होको दुई गोल मद्दतमा क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गर्द चेल्सीले सिजनको दोस्रो जित हात पारेको छ । घरेलु मैदानमा शनिवार भएको खेलमा जर्गिन्होले दुई गोल गर्दा बेन चिलवाल र कुर्ट जुमाले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चेल्सीले चार गोल गर्‍यो । ५०औं मिनेटमा चिलवालले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६६औं मिनेटमा जुमाले गोल गर्दै अग्रता दोब्बर पारे । जर्गिन्होले ७८औं र ८२औं मिनेटमा पेनाल्टार्फत दुई गोल गरेपछि चेल्लसीले शानदार जित हात पारेको हो ।

दोस्रो जितपछि ४ खेलबाट ७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । समान खेलबाट ६अंक रहेको प्यालेस नवौ स्थानमा छ ।

सिटी रोकियो

म्यानचेष्टर सिटी नवप्रवेशी लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । खेलमा सिटीले अग्रता लिएपनि लिड्सले सिटाई १-१ को बराबरीमा रोक्यो । लिड्सको मैदानमा भएको खेलको १७औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा सिटीको अग्रता कायम रहेपनि दोस्रो हाफमा लिड्सले बराबरी गोल फर्कायो । ५९औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

बराबरीपछि ४ खेलबाट चेल्सी समान ७ अंक जोडेको लिड्स पाँचौ स्थानमा छ ।

म्यानचेष्टर सिटी भने ३ खेलबाट ४ अंकसहित ११औं स्थानमा छ । यस्तै बर्नलीलाई ३-१ ले पराजित गर्दै न्यूकासल युनाइटेड छैटौं स्थानमा उक्लेको छ ।

लिगमा आज अपराजित दुई टोली लिभरपुल र एस्टनभिल्ला भिड्दैछन् । यस्तै म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरसहित अन्य ५ खेल पनि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment