Comments Add Comment

शुक्रबार एउटा, शनिबार अर्को गाडीमा बलात्कार !

१८ साउन, काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका चालक २२ वर्षीय निरकुमार खड्का र सह–चालक २१ वर्षका सूर्य श्रेष्ठ छन् ।

भक्तपुरको लिवालीमा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्का र सह–चालक श्रेष्ठसहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ । जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत, भक्तपुरले ७ दिनको म्याद दिएको छ ।

कसरी भयो घटना ?

रत्नपार्कमा बसिरहेका वेला एक जना व्यक्तिले नसालु पदार्थ खुवाएपछि लठ्ठिएको पीडित युवतीको बयान छ । गाडीमा राखेर तिनै व्यक्तिले उनलाई भक्तपुरको चाँगुनारायाण नगरपालिका–८, लिवाली पुर्‍याएको उनी बताउँछिन् । त्यहाँ एउटा गाडीमा राखिएर आफूमाथि बलात्कार गरिएको उनको बयान छ ।

भक्तपुर प्रहरीका डीएसपी केशव थेबेका अनुसार शनिबार बिहान ११ बजेसम्म युवती उनीसँगै बसेको पाइएको छ ।

त्यसपछि युवतीलाई बा ३ ख २६१२ नम्बरको बसका चालक खड्का र सह–चालक श्रेष्ठको जिम्मा लगाए । उनीहरुले गाडीमै पटकपटक युवतीलाई जबरजस्ती करणी गरेको पाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापा बताउँछिन् ।

स्थानीयले देखेपछि राति ९ बजे महानगरीय प्रहरी वृत्त, जगातीमा खबर गरेको उनले बताइन् । ‘खबर आएलगत्तै प्रहरी गएर चालक र सह–चालकलाई पक्राउ गरेको छ, अर्का व्यक्तिको खोजी जारी छ’, एसपी थापाले नलाइनखबरसँग भनिन् ।

परिवार खोज्दै प्रहरी

डीएसपी थेबेका अनुसार पीडित युवतीको जिल्ला अस्पताल, भक्तपुरमा स्वास्थ्य परीक्षण भइसकेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार युवतीले हालसम्म घटनाबारे स्पष्ट विवरण बताइसकेकी छैनन् । ‘धेरै तनाव भएर हुनसक्छ, हामीले प्रेसर पनि गरेका छैनौं’, एक अधिकृत भन्छन्, ‘परिवारसँग सम्पर्क गर्ने कोशिस गरिरहेका छौं ।’

उनलाई काउन्सिलिङ गरेर थप अनुसन्धान थाल्ने प्रहरी तयारी छ । रत्नपार्कबाट उनलाई ल्याउने तेस्रो व्यक्तिको पीडित युवतीसँग चिनजान थियो/थिएन भन्ने विषयमा हालसम्म खुलिसकेको छैन । एसपी थापा भन्छिन्, ‘उनी पक्राउ परेपछि घटनाबारे विस्तृत विवरण खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment