Comments Add Comment

बल्खु पुलमुनिको ‘हिट एण्ड रन’ : काठमाडौंबाट समातियो मध्यराति ठक्कर दिने ट्रक

२० असोज, काठमाडौं । मंगलबार बिहान साढे ५ बजेतिर महानगरीय प्रहरी परिसर, ललितपुरलाई बल्खु खोलाको पुलमुनि एकजना पुरुषको शव भेटिएको खबर आयो । लगत्तै बल्खु प्रहरी प्रभागबाट एक टोली घटनास्थलमा पुग्यो ।

टाउकोबाट गिदी निस्किएको अवस्थामा शव देखेपछि प्रहरी अधिकृतहरुले उनलाई कुनै गाडीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरे । छेउछाउमा रहेको पसलका सञ्चालकसँग प्रहरीले सोधपुछ गरे । ललितपुरका एसएसपी टेकप्रसाद राई पनि घटनास्थलमा पुगे ।

वरपरको क्लोज सर्किट (सीसी) क्यामरा पनि कुनै दृश्य कैद भएको थिएन । घटनास्थलमा क्यामरामा कैद हुने क्षेत्रमा छैन । त्यसपछि ‘म्यानुअल’ अनुसन्धानको भर पर्नुको विकल्प रहेन ।

नजिकै रहेको एक कटेरोका सञ्चालकले मध्यराति एउटा १२ चक्के ट्रक घटनास्थल नजिकै रोकिराखेको देखेको सुनाए । उनले राति अबेरसम्म सवारीसाधनका मजदुरलाई खाना खुवाउने गरेका थिए, उक्त ट्रकका चालक पनि आफ्नै पसलमा खाएर निस्किएको उनले बताएका थिए ।

त्यही आधारमा प्रहरीले ट्रकको खोजी थाल्यो । त्यसक्रममा बल्खुबाट उत्तरतिर लागेका अनुसन्धान अधिकृतले काठमाडौंमा पर्ने एक गोदाममा रोकिराखेको अवस्थामा शंकास्पद ट्रक फेला पारे ।

सोधपुछ गरेर गाडी हेर्ने क्रममा एउटा चक्कामा रगत समेत देखियो । लगत्तै प्रहरीले लु २ ख २८६ नम्बरको ट्रक र चालक शेरबहादुर बिकलाई पक्राउ गरेर अनुसन्धान थाल्यो ।

बिकले कसूर समेत स्वीकारे । प्रारिम्भक अनुसन्धानमा उनले मादक पदार्थ समेत सेवन गरेर गाडी कुदाएको हुनसक्ने देखिएको छ ।

हाल घटनामा ज्यान गुमाएका व्यक्ति नुवाकोटका २० वर्षीय टोपबहादुर तामाङ भएको समेत खुलेको छ । उनको राति २ देखि ३ बजेको समयमा मृत्यु भएको हुनसक्ने आशंका प्रहरी अधिकारीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment