Comments Add Comment

निहारिकाको योगमायामाथि टिप्पणी

रुग्ण समाजका अनेका अप्ठ्यारा झेल्दै आत्मदाहको साहसिक र ऐतिहासिक निर्णय लिन्छन् महिलाहरूले । राज्य सञ्चालकको अविवेकीपन र समाजको उत्पीडनविरुद्ध विद्रोहको हुङ्कार बोल्छन् ।

माथिको घटना योगमायाको जीवन–चित्र हो । नीलम कार्की ‘निहारिका’को ५ सय ३ पृष्ठको उपन्यास ‘योगमाया’ले समाजको यही यर्थाथलाई गहिरो चित्रण गरेको छ । उपन्यासले प्रत्येक व्यक्तिलाई संघर्ष र जीवनप्रति आशाको दीप जगाउने प्रेरणा दिएको छ ।

कुनै पनि कृतिको उठान, निरन्तरता र निष्कर्षले पाठकका मनमा तरह–तरहका भाव सृजना गर्ने/नगर्ने निर्धारण गर्दछ । यस सवालमा योगमाया र उनको जीवन वृत्तान्तका कयौं आयामलाई विशेष ढंगले प्रस्तुत गरेकी छन् लेखिकाले ।

सामान्य पाठक दृष्टिबाट भन्नुपर्दा, हरेक घटनाको विस्तृत अनि सुक्ष्म व्याख्याले उपन्यासलाई रोचक बनाएको छ ।पुराना घटनाक्रम आँखैअघि आइपुग्छन् । जसरी उपन्यासकी पात्र तथा वक्तागङ्गाले आफ्ना अमाजू ‘ठूलीहजुर’का बारेमा बोलेकी छन्, दुखुनाले पनि सबै विवरण क्रमीक ढंगले टिपेर भविष्यलाई इतिहास छोडेकी छन् । काव्यको भाषाको प्रयोगले गद्य सरल र सहज बनेको छ । पढ्दै जाँदा अन्यायप्रति पाठकको आक्रोश बढ्दै जान्छ ।

उपन्यासको सेरोफेरो जहाँ घुमेको छ– त्यस समाजमा रहेको सामाजिक कुरीति, सामान्ती चलखेल, वर्ग विभेद र नारीमाथिको एकोहोरो सामाजिक उत्पीडनविरुद्ध योगमायाले जेहाद छेड्छिन् ।

बेलाबखतमा आइपर्ने प्राकृतिक विपत्ति, सरकारको निरंकुशता र आसेपासेका विभेदपूर्ण चलखेलका आँधीलाई उनले शान्त तवरले सामना गर्दै जान्छिन् । यसरी उपन्यासमा विभिन्न विषयलाई श्रृङ्खलावद्ध प्रस्तुति दिई समाजको सम्पूर्ण आयाम दर्शाइएको छ । ती सम्पूर्ण विपत्ति र घटनालाई योगमायाले दिएको चुनौतीको साहसिक वर्णन गरिएको छ ।

समाजमा ‘रामराज्य’को कल्पना गरिन्छ वा भनौं समुन्नत राज्यको आशा राखिन्छ । योगमायाले पनि धर्मराज्यको लागि आवाज उठाउँदा, सत्तामा रहेका राजा–राजौटाको आँखी बन्नुपर्छ । उनले समाजकै लागि भनेर गरेका हरेक सकारात्मक प्रयास पटकपटक तुहाइन्छ । यद्यपि, योगमायाको धीरतासँग शासनसत्ता डगमगाउन थाल्छ । उनको चुनौतीलाई सामना गर्न नसकी बन्दुक, जेलनेल र हत्कडीले आवाज दबाउन खोजिन्छ ।

योगमाया एउटा साहासिक, ऐतिहासिक र सन्त नारिको कथा भनेर मात्र व्याख्या गर्न मिल्दैन । यसलाई समाजमा रहेका हरेक योगमायाको विम्बात्मक कृतिका रुपमा लिनु पर्छ । ‘योगमायालाई के नारि र पुरुषको कित्ताकाट गरेर व्याख्या गर्न मिल्ला ?’ यो प्रश्न उठाउन सार्थक लाग्यो । किनभने, कसैको योगदानलाई नारि र पुरुष भनेर परिभाषित गर्न खोजियो भने त्यसले योगदानलाई छायामा पारिदिन्छ । अनि समाज रुपान्तरणका लागि आफ्नो ज्यानको आहुती दिनेहरुको शालिकले पनि हामीलाई गिज्याउने गर्छ । तसर्थ यस कृतिमार्फत् योगमायाले सुक्ष्मरुपमा फेरि एकपटक समाजलाई समदृष्टि दिन खोजेको प्रष्ट हुन्छ ।

अझै हाम्रो समाज कहाँ अड्किरहेको छ ? अनि हामी कस्ता समस्याबाट युगौंयुग ग्रसित छौं भन्ने कुरा आजको प्रमुख प्रश्न हो ।

निस्पट अन्धकार, सानी बालकी अनि बाघको त्रास । एक रात त आफु रुखमाथि अनि तल बाघ रहेको घटना सुनाउँदै गर्दाको प्रसंगले योगमायाको सानैदेखिको निडरतालाई प्रष्ट देखाउँछ । उनले त्यही समयदेखि नै धर्मका नाममा गरिबमाथि हुने शोषणबारे बोलेकी थिन् । जुन विषय उपन्यासमा सशक्त ढंगमा प्रस्तुत भएको देखिन्छ ।

जब उनका भाइको मृत्यु हुन्छ, बैतरणी तार्ने भन्दै घरमा पुराण पाठ चल्दै थियो । सारा समाजका बीच उनले ठाडै त्यसको विरोध गर्छिन् । अझ त्यो कार्य नै बन्द गराउँछिन् । यो झन्डै सय वर्ष अघिकै घटना हो । जब समाज यसखालको विरोध त परै जाओस्, एक शब्द पनि विमति राख्न सक्दैनथ्यो त्यतिबेला योगमायाले बोलिन् । आजपर्यन्त यो चलन हाम्रोमा कायमै छ कि नारी हरसम्भव मौन बस्नुपर्छ । तर संस्कारका नाममा रहेका विकृतिलाई योगमायाले सधैँ खरो उत्रेर विरोध गरिन् । यसर्थ उनको धर्मराज्यको स्थापनाको मूल लक्ष्य नै समानता र वैज्ञानिक समाजको स्थापनाका लागि थियो । जुन विषयमा उपन्यासले विभिन्न घटना क्रम र अभिव्यक्तिका माध्यमबाट प्रष्ट्याउन खोजेको छ ।

मानव जीवनमा संगत महत्त्वपूर्ण हुन्छ । योगमायाकै सहयात्रामा गाउँका धनी भनिएका महिला पनि सत्कार्यमा लाग्छन् । धनको मातले धनी भनिएका गाउँका महाजनहरु गरिबको शोषण गर्ने मात्र गर्दैन्, यदि सत्मार्ग देखाउन सक्ने व्यक्ति भए उनीहरु पनि सबैको भलोका लागि आफ्नो श्रीसम्पत्ति लगाउन सक्छन् ।

योगमायाको छत्रछाया खोज्दै मन्झुबेसी आउने सबैमा दृढता, अधिकारका लागि आवाज उठाउने संकल्प र सतविचार फलित हुन्छ । जसकारण समाज रुपान्तरणका लागि सबैको साथ मजबुद हुन सफल रह्यो । हैन भने एकैसाथ सबै शरीर त्यागका लागि ६८ जनाको सामुहिक विद्रोह सम्भव थिएन । समाजको परिवेशले पनि त्यो त्यति सजिलो काम थिएन ।

अब योगमायालाई वर्तमान समाजले कहाँ राख्ला ? सामाजिक अभियानता, महिला अधिकारवादी वा सामन्तविरोधी ? गरिब र निमुखाको उद्दारकर्ता, तपस्वी र सन्त, निरंकुश सत्तालाई ढाल्न अग्रणी नारी पात्र ?

घरको बुर्हातन, समाजको अपहेलनार राष्ट्र सञ्चालकको अत्याचारको श्रृङ्खलाले अन्ततः विद्रोह जन्मायो । तर विद्रोह शालीन थियो । अरुको कुनै पनि क्षति नहुने गरी सबैको इच्छाबमोजिम ६८ जनाले आत्मदाह गरे । निरङ्कुशताको कीलो उखेल्न योजस्तो सचेत क्रान्ति के होला ?

यही सचेतनाले नै उनी घरकी माया हुँदै, ठूलीहजुर बन्दै, हामी आम पाठकसम्म निर्भीक, स्वाभीमानी ‘योगमाया’ बनिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment