Comments Add Comment
कोभिड-१९ का योद्वा :

आपतकालका जब्बर डाक्टर अनुप

३ कात्तिक, काठमाडौं । लगातार आठ महिना कोरोना महामारीविरूद्ध ‘फ्रन्टलाइन’मा बसेर काम गर्दा तपाईंले सबैभन्दा बढी ‘मिस’ गरेको कुरा के हो ?

प्रश्न पूरा हुन नपाउँदै उनले भने, ‘मेरो बच्चा…।

‘कोभिड- १९ सुरु हुँदा ऊ ६ महिनाको थियो, अहिले १५ महिनाको पुगिसक्यो । यो बीचको उसको विकासक्रम मैले देख्न, भोग्न र महसुस गर्न पाइनँ’ केही क्षण रोकिएर उनी बोले, ‘उसले बाबा, बाबा भनेर बोलाउन सिक्दा म टाढा हुन पुगें ।’

एउटा बाबुले ‘मिस’ गर्नलाई योभन्दा ठूलो कुरा अरू के हुन सक्छ ? डा. अनुप बास्तोला यसका भुक्तभोगी हुन् ।

महामारीअघि छोरो उनको काखमा खेल्दा बोल्न सक्दैनथ्यो, अहिले बोल्न थालेको छ । खाना खाँदैनथ्यो, खान थालेको छ । यसबीचमा छोराको शारीरिक-मानसिक विकासक्रम डा. बास्तोलाले हेर्न पाएनन् ।

उनी ड्युटी सकेर घर गए पनि छुट्टै रिभर्स क्वारेन्टिनमा बस्छन् । घरमै भए पनि परिवारबाट बिल्कुलै अलग छन् । परिवारले ल्याएर अलग्ग राखिदिएको खाना खाएर ड्युटी जान्छन् या सुत्छन् ।

‘कहिलेकाहीँ अति हुँदा उसलाई टाढैबाट हेरेर चित्त बुझाउँछु’, उनी भन्छन्, ‘यस्तो भोग्ने अरू धेरै स्वास्थ्यकर्मी छन् । उनीहरूमध्ये कतिपयको कष्टका अगाडि मेरो दुःख केही होइन !’

डा. बास्तोला टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एउटा कोठामा हामीसँग बोलिरहेका छन् । उनको आवाज घरि उत्साही, घरि भावुक सुनिन्छ ।

उनले कुनै पनि बेला संक्रमित हुने जोखिमसँगै बेतुकका अफवाहहरूसँग निरन्तर जुझ्नुपरेको छ । उनको बोली कर्तव्य पालना गर्दाको सन्तुष्टि र निराशाको ‘ककटेल’ बनेको छ ।

टेकु अस्पतालका एकजना कर्मठ ‘कोरोना फ्रन्टलाइनर’ हुन्, डा. बास्तोला । उनी महामारी सुरु भएयता अविच्छिन्नरूपमा मोर्चा सम्हालिरहेका छन् ।

महामारी सकिएपछि तपाईंले गर्ने पहिलो काम के हुन्छ ? उनले तत्काल भने, ‘बच्चालाई काखमा लिएर धित मरुञ्जेल खेलाउँछु । त्यसपछि अरू कुरा सोच्ने हो ।’

आपतमा अब्बल सेवा

चीनको वुहान सहरमा डिसेम्बर ३१ (पुस १५) मा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । त्यही वुहानबाट आएका एकजना नेपाली विद्यार्थी आफूलाई संक्रमण भएको शंका गर्दै २८ पुसमा टेकु अस्पताल पुगे ।

त्यतिबेला टेकु अस्पताल अन्य मौसमी सरुवा रोगको बिरामी भरिभराउ थिए । चीनबाट चाँडै नै कोरोना भाइरस नेपाल नछिर्नेमा अस्पतालका चिकित्सकहरू ढुक्क थिए ।

ज्वरो, खोकी र श्वास-प्रश्वासको समस्या भएका ती युवकलाई मौसमी रूघाखोकी लागेको हुन सक्ने ठानेर सरुवा रोगका अन्य बिमारीसँगै राखियो । उनी चीनको वुहानबाट आएको कुरा भोलिपल्टमात्र चिकित्सकहरूले थाहा पाए ।

कोरोना शंकास्पद भनेर थाहा पाएपनि सतर्कता अपनाउन अस्पतालमा ‘सुरक्षा कवच’ थिएन । अस्पतालले उक्त बिमारी बारेको सूचना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएओ), ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयलाई दियो । सबैको छलफलपछि उनको स्वाब झिकेर हङकङ पठाइयो ।

१० माघ, २०७६ मा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर पहिलोपटक एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदा ती युवक निको भएर फर्किसकेका थिए । उनको सम्पर्कमा आएका ६० जना ‘कन्ट्याक ट्रेसिङ’मा परे, जसमध्ये उनको उपचारमा खर्टिका डा. बास्तोला पनि थिए ।

उनका अनुसार पहिलो केस भेटिँदा अस्पतालको माहोल केही खलबलिए पनि डरको वातावरण बनेन । किनकि, चीनमा प्रकोप सुरु भए पनि कोरोना भाइरसले विध्वंस मच्चाइसकेको थिएन ।

टेकु अस्पतालका चिकित्सक, कर्मचारी सबै कोरोना भाइरस र सतर्कताकै कुरा गर्थे । यसले विश्वलाई नै त्राहीमाम पार्नेवाला छ भन्ने अनुमान कसैले गरेका थिएनन् ।

पहिलो केस भेटिएको ठीक ५८ दिनपछि फ्रान्सबाट दुबई हुँदै आएकी १९ वषर्ीया युवतीमा कोरोना संक्रमण पुष्टि भयो । स्वाब दिएर गएको चारदिनमा संक्रमण पुष्टि भएपछि उनलाई राति १२ बजे टेकु ल्याइयो । उनलाई जाँचबुझ र काउन्सिलिङ गरेर आइसोलेसनमा राख्ने डा. बास्तोला नै थिए । त्यसबेला ‘एक्सपोज’ भएपछि उनको टिम नै केही दिन ‘आइसोलेट’ हुन पर्‍यो ।
पहिलोपटक ‘एक्सपोज’ हुँदा डर कति लाग्यो ?’

कोरोनाका केस भेटिन थालेपछि सुरुवाती चरणमा यो प्रश्न धेरै उत्तर दिनेमा डा. बास्तोला नै भए । ‘डरभन्दा बढी सतर्क भइयो’, उनको उत्तर हुन्थ्यो, ‘सीमित स्रोतसाधनले लामो समयसम्म काम गर्नुपर्छ भन्ने आभास भइसकेको थियो ।’

भयो त्यस्तै । उनी दिनको १८ घण्टा र हप्ताको सातै दिन अस्पतालमा रहन थाले । जुनियर डाक्टरहरू सातदिन काम गरेर सातदिन आराम गर्दा उनी लगातार संक्रमितको बीचमा बसेर खट्नुपर्ने भयो । आठ महिनायता लगातार एउटै दिनचर्यामा रहेका उनी निको भएका बिरामीहरूको प्रतिक्रियाले बलियो बन्ने गरेको बताउँछन् ।

नेपालमा दोस्रो केस देखिँदा कोरोनाले युरोपमा विध्वंस मच्चाइसकेको थियो । विदेशबाट आउनेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ-डेस्कले सामान्य जाँचबुझ गरेर शंका लागे सिधै टेकु अस्पताल पठाउँथ्यो । दैनिक सरदर आधा दर्जन मानिस एअरपोर्टबाट टेकु आउन थालेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको रिपोर्ट दिन एक साताभन्दा बढी लगाउथ्यो । त्यति लामो समय थुनिएर बस्न परेकाहरू चिकित्सकहरूसँग झोक्किन्थे, कति त आइसोलेसनबाट भागे पनि । त्रासको माहोल पनि यस्तो बनिसकेको थियो कि टेकु अस्पतालको बाटो भएर हिँड्नेहरू हृवातै घटेका थिए ।

मानिसहरू गम्भीर अवस्था नभई अस्पताल जाँदैनथे । अस्पताल पुगेकालाई पनि ज्वरो र सामान्य खोकी छ भन्नासाथ गेटबाटै फर्काउँथे । उनीहरु पनि टेकु नै पुग्थे ।

टेकु अस्पताललाई ‘भाइरस केन्द्र’ र यहाँका स्वास्थकर्मीलाई ‘भाइरस वाहक’ ठानिन्थ्यो । सबै अस्पतालले रूघाखोकी लगायत रोगका बिरामीलाई पनि टेकु पठाउँदा थामिनसक्नु भीड बढेको थियो । हुँदाहुँदा संक्रमित, शंकास्पद संक्रमित सबैलाई एउटै वार्डमा राखेर उपचार गर्नपर्ने स्थिति आयो ।

‘त्यतिबेला अहिलेजति कोरोनासम्बन्धी ज्ञान थिएन, बाहिर अफवाहसँगै डर बढेकाले भर्ना नगर्नु पर्ने मानिसलाई पनि भर्ना गरेका थियौं’, डा. बास्तोला सम्झन्छन्, ‘महामारीको सामना हामीले नै गर्नुपर्छ भन्ने मनस्थिति बनाएका थियौं ।’

दुबईबाट आएका धादिङका एक युवक नेपालको तेस्रो संक्रमित थिए । फ्रान्सबाट आएकी काठमाडौंकी युवती २७ दिन आइसोलेसनमा बस्दा ती युवक पनि थिए । उनीहरूको नियमित निगरानी डा. बास्तोलासहितकै टिमले गरेको थियो ।

सुरुवाती केस भएकाले स्वास्थ्यकर्मीहरु उनीहरूलाई धेरै समय दिए । खानपान, आइसोलेसन र निगरानीदेखि काउन्सिलिङसम्म उनीहरूले अब्बल सेवा पाए । उनीहरू निको भएर जाँदा ठूलो सन्तोष मिलेको डा. बास्तोला बताउँछन् ।

कहिल्यै नभुल्ने सकस

संक्रमण निको भएका धेरै बिरामीले सञ्चार माध्यममा अन्तर्वार्ता दिएका छन्, तीमध्ये कतिपयले डा. बास्तोलाको काउन्सिलिङको खुलेर प्रशंसा गरेका छन् ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बास्तोलालाई अत्यन्तै परिश्रमी, सहयोगी र बिरामीसँग घुलमिल हुने डाक्टर भन्छन् । ‘उहाँले संक्रमण सर्ला भनेर बिरामीलाई कहिल्लै टाढा पार्नुभएन’, उनी भन्छन्, ‘बिरामीलाई धेरै समय दिने हुनाले उहाँ सबैको पि्रय डाक्टर बन्नुभएको छ ।’

उपचारको क्रममा बिरामीसँग एक किसिमको भावनात्मक सम्बन्ध बनाउने डा. बास्तोलाको मान्यता छ । बिरामीको मनस्थिति बुझेर उपचार गर्दा गुनासोको ठाउँ नरहने उनी बताउँछन् ।

उनको अनुसार, संक्रमितहरूमा हुने रोग र समाजको डर हटाउन डाक्टरको हाउभाउले महत्त्वपूर्णर् भूमिका खेल्छ । यस्तोमा एकसाथ ‘क्लिनिकल’ र ‘साइकोलोजिकल’ विधि अपनाउनपर्ने उनी बताउँछन् । एचआइभी/एड्सको उपचारमा खट्दा यो उपचार विधि सिकेको उनले बताए ।

बलियो मनस्थितिविना टेकुमा टिक्न गाह्रो छ । यो अस्पतालमा कार्यरत दुई सयभन्दा बढी स्वास्थ्यकर्मीसँग कोभिडकालको कुनै न कुनै कठोर कथा छ । घरबेटीले कोठामा पस्न नदिएको अनुभव धेरैसँग छ । स्वास्थ्यकर्मीले भोगेको दुर्व्यवहारको असर अस्पतालको सेवामा पर्न थालेपछि नर्सिङ स्टाफलाई बस्ने-खाने व्यावस्था हुनपर्ने प्रस्ताव लिएर प्रशासनमा जानेमा डा. बास्तोला समेत थिए ।

‘अस्पतालबाट आफ्नै घर जाने हुनाले मैले अहिलेसम्म दुर्व्यवहार भोग्न परेको छैन’, उनी भन्छन्, ‘तर, संक्रमित भइने भन्दा बढी दुर्व्यवहारमा परिने डर छ ।’

महिनाको तीसै दिन अस्पतालमा खटिरहेका उनलाई कतिले सोध्छन्- ‘थकान हुँदैन ?’

घरपरिवार र आफन्तजन भन्छन्, ‘अब त अति नै भयो, केही दिन आराम गर्नुस् ।’

सबैलाई उनको एकमुष्ट जवाफ हुन्छ, ‘डाक्टरसँग थाक्ने अधिकार हुँदैन ।’

अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला, डा. बास्तोलाको समर्पणलाई सलाम गर्छन् । ‘आईसीयूमा बेड मिलाउनदेखि प्लाज्माथेरापीको लागि डोनर खोज्नसम्म दौडधुप गर्नुहुन्छ’, कोइराला भन्छन्, ‘उहाँको परिश्रम र अरू अस्पतालसँग समन्वय गर्ने दक्षताले धेरै बिरामीको ज्यान जोगाउन सकिएको छ ।’

टेकु अस्पतालमा आईसीयू संख्या दुईबाट बीस पुर्‍याउन पनि डा. बास्तोलाको उल्लेख्य भूमिका छ । विभिन्न फ्याकल्टी र जनशक्ति जुटाउन उनले धेरै मेहनत गरेका छन् । संक्रमितको उपचारमा आवश्यक पर्ने अनेक ‘लजिस्टिक’ जुटाउँदा भोग्नुपरेको समस्या उनका लागि सम्झनलायक विषय बनेको छ ।

‘कहिले यो हुँदैन, कहिले त्यो पुग्दैन । रातरात काम गर्नुपर्दाको सकस कहाँ भुल्न सकिन्छ र ?’ डा. बास्तोला भन्छन्, ‘यहाँ जे जति सम्भव भयो, सामूहिक प्रयासमा भयो, जीवनको आशा मारेका बिरामीहरूलाई निको पार्यौं ।’

सिकिस्त बिरामी निको भएर जाँदा अस्पतालको माहोल भावुक हुन्छ । दीर्घरोगी र वृद्धवृद्धाले ‘बाँच्छुजस्तो लागेको थिएन, बचाइदिनुभयो’ भनेको सुन्दा कानमा चाँदीको घन्टी बज्छ । मेहनतले सम्मान पाउँदा अझ मेहनत गर्न प्रेरणा मिल्छ । ‘यी सब कारणले टेकु अस्पतालको महत्त्व र प्रतिष्ठा बढेको छ’, डा. बास्तोला भन्छन्, ‘यसमा हामी सबै स्टाफ गर्व महसुस गर्छौं ।’

योखालको एकमात्र अस्पताल भएकाले कहिले मध्यरातमा बिरामी ल्याइन्छ । कहिले आईसीयू खाली नभएको बेलामा बिरामी आइपुग्छन् । ‘कुनै बिरामीलाई राति गाह्रो पर्‍यो भने दौडिँदै आउनुपर्छ’, भन्छन्, ‘यो सब गर्न गतिलो ‘टिम स्पि्रट’ चाहिन्छ । गतिलो ‘टिमवर्क’ भएकैले हाम्रो अस्पतालले बिरामीहरूको आशिर्वाद पाएको छ ।’

टेकु अस्पतालमा रातबिरात काम गर्ने बास्तोला एक्लो स्वास्थ्यकर्मी भने होइनन् । यहाँको अनेक विभागसँग जोडिएका मेडिकल र अन्य स्टाफहरू छन् । ज्यादा कामको दबाबले मेडिकल स्टाफहरूको व्यवहारमा आएको परिवर्तन डा. बास्तोलाले देखेका छन् ।

उनका कतिपय सहकर्मीलाई निदाउन नसक्ने समस्या भएको छ । आफूमा पनि केही परिवर्तन देखियो कि भनेर बेलाबखत आफैंलाई पनि नियाल्ने गरेको बताउँदै डा. बास्तोला भन्छन्, ‘यो भन्दा कहालीलाग्दो अवस्था आउँछ भनेर मानसिकरूपमा तयार हुनको विकल्प छैन ।’

डा. बास्तोलाहरूलाई मानसिक रूपमा बलियो बन्न टेकु अस्पतालको भौतिक तयारीले पनि सघाएको छ । महामारीले जति सकस दिएको छ, त्यति नै अस्पताल विकासमा सघाएको छ, जनशक्ति थपिएका छन् । नर्सदेखि एमडी गरेका डाक्टरहरू सेवा गर्न यहाँ आएका छन् ।

निजी अस्पतालमा खर्च धान्न नसक्नेहरूले टेकु आएर ज्यान बचाएका छन् । सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने आमधारणा परिवर्तन हुँदै गएको छ । ‘अहिलेको टेकु अस्पताल सरकारी अस्पतालका लागि उदाहरण हो’, डा. बास्तोला भन्छन्, ‘यहाँ उपचार गराएर जाने कुनै पनि संक्रमितले नराम्रो प्रतिक्रिया दिनुहुन्न भन्ने मेरो विश्वास छ ।’

महामारीमा खटिरहेको बेलामा आफू र टेकु अस्पताल चुक्दै नचुकेको भनेर दाबी गर्ने पक्षमा छैनन् उनी । टिमको एक सदस्यको कमजोरीले बिरामीको उपचारमा सकस भएको यथार्थ लुकाउन चाहन्नन् उनी । विभिन्न स्रोत-साधन समयमै नआइपुग्दा अहिले पनि समस्या हुने गरेको उनको स्विकारोक्ति छ । विभिन्न समस्या भोग्दै, चुक्दै, सिक्दै यहाँसम्म आइपुगेको उनी बताउँछन् ।
‘तर, त्यही कारणले दुर्घटना भएको छैन’, डा. बास्तोला भन्छन्, ‘सरकारी अस्पतालले प्राइभेटले जस्तो व्यवस्थापन गर्न त नसक्ने रहेछ, तर उपचारमा हामी कोहीभन्दा कम छैनौ ।’

कोहीकोही बेला दिमाग खराब !

कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र न्याम्सबाट छाला तथा यौन रोगका एमडी गरेका छन् । सँगै पढेका उनका धेरै साथी विदेशका अस्पतालमा कार्यरत छन् । विदेशमा अवसर नपाएर वा नसकेर टेकुमा काम गरिरहेका छैनन् उनी ।

आफ्नै देशको सेवा गर्नमा जति सन्तुष्टि अरूमा छैन भन्ने लाइनका डाक्टर हुन्, बास्तोला । तर, नेपालको पारा अहिले बेग्लो छ, जसले बेलाबखत उनको दिमाग खराब गराउँछ ।

उनी टेकु अस्पताल आएपछि विश्व स्वास्थ्य संगठनले यो अस्पतालको विकासमा आर्थिक अनुदानको लागि प्रस्ताव पठाउन भनेको थियो । त्यसले उनलाई निकै उत्सुक बनाएको थियो । तर अस्पताल प्रशासनले त्यत्तिकै समय गुजारिदियो । त्यसले निकै लामो समयसम्म डा. बास्तोलाको दिमाग खराब गरिदियो ।

‘यस्ता अनुभवहरू छन्, एक तहको परिणामको अपेक्षा गरेर परिश्रम गर्‍यो, तर सोचेजस्तो भइदिँदैन’, उनी भन्छन्, ‘मानिस पूर्ण रूपमा स्वस्थ रहन शरीरका सबै अंगले दुरुस्त काम गर्नुपर्छ । अस्पताल पनि त्यस्तै हो, बेलाबेला एकाध अंग फेल हुँदा पीडा भोगिरहेका छौं ।’

स्वाइन-फ्लू, डेगुं र एड्स रोगविरूद्व काम गरेका डा. बास्तोला टेकु अस्पताल विकासका लागि कोरोना महामारीलाई एउटा अवसरको रूपमा देख्छन् । ‘यो अस्पताललाई सरुवा रोग अनुसन्धान केन्द्र बनाउने गरी काम थाल्ने उपयुक्त समय यही हो’, उनी भन्छन्, ‘यो बेला एउटा स्रोत-साधन र जनशक्तिसम्पन्न केन्द्रीय सरुवा रोग अस्पताल बनाउन सकेनौं भने हाम्रो अवस्था कहिल्यै सुध्रन्न ।’

(नोट : महायोद्धा त्यही हो, जसले जस्तोसुकै महाविपत्तिमा पनि लडाइँबाट पीठ फर्काउँदैन र कर्तव्यमा आफूलाई अविचलित राख्छ । नेपालमा कोरोना भाइरसको महासन्त्रास बढिरहेका बेला फ्रन्टलाइनमा खटिएका हरेक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीहरु तिनै महायोद्धा हुन्, जसले विगत ८ महिनादेखि आफ्नो ज्यानको परवाह नगरी अरुको ज्यानको उपचार गरिरहेका छन् ।

अग्रमोर्चाका उभिएका यिनै योद्धाहरुको सम्मानार्थ अनलाइनखबरले ‘कोभिड-१९ का महायोद्धा’ श्रृंखला सुरु गरेको छ । यो श्रृंखलामा हामीले डाक्टर, नर्स र सुरक्षाकर्मीदेखि सफाइकर्मीसम्म फ्रन्टलाइनमा खटिएका प्रतिनिधिमूलक पात्रहरुलाई समावेश गर्ने नीति लिएका छौं – सम्पादक)

तस्वीर तथा भिडियो : शंकर गिरी र चन्द्रबहादुर आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment