काठमाडौं । १० खेलबाट केवल ६ अंक मात्र बटुल्न सफल भएपछि जारी आइपीएलमा चेन्नई सुपर किङ्सको यात्रा कठिन बनेको छ । भारतीय पूर्वकप्तान एमएस धोनीले नेतृत्व गरेको टिम अहिले अंकतालिकाको पुछारमा छ ।
अहिलेसम्मका आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका टिम हो चेन्नई । तर, यसपाली भने यो टिमको प्रदर्शन टिठलाग्दो छ । कप्तान धोनीले समेत टिमको प्रदर्शनलाई लिएर निराशा व्यक्त गरेका छन् ।
राजस्थान रोयलसँग सात विकेटको हार व्यहोरेपछि धोनीले भने, ‘यो सिजनमा हामीले आफ्नो स्तरअनुसार खेल्न सकेनौं ।’
टिमका युवा खेलाडीहरुलाई मौका दिएको भए नतिजा फरक आउँथ्यो कि भन्ने प्रश्नमा धोनीले सिधा जवाफ दिए, ‘हामीले त्यस्तो सम्भावना देखेनौं ।’
उनले थपे, ‘हामीले केही प्रयोगहरु गरेका हौं, तर कुनै पनि सफल भएनन् । टिममा धेरै बदलाव गर्दैमा राम्रो नतिजा निस्किने होइन । खेलिरहेका खेलाडीलाई यथेष्ट मौका दिनुपर्छ । उनीहरुलाई असुरक्षित महसुस भयो भने झन् राम्रो खेल्न सक्दैनन् ।’
चेन्नईले अहिलेसम्म १७ जना खेलाडीलाई मैदानमा उतारेको छ । नियमित खेलाडीहरु घाइते भएकाले केही नयाँले मौका पाएका हुन् । अबका खेलमा बाँकी खेलाडीले पनि मौका पाउने धोनीले बताए । चेन्नईले अब ४ वटा खेल खेल्न बाँकी छ । ती चारवटैमा जित हासिल गरे मात्र प्लेअफमा पुग्ने सम्भावना रहन्छ ।
यो आईपीएलमा धोनीको आफ्नै र्फम पनि राम्रो छैन । उनले ९ वटा म्याचमा जम्मा १ सय ६४ रन बनाएको छन् । उनको स्ट्राइक रेट १२५.१९ मात्र छ । चेन्नई तीनवटा आईपीएलको विजेता हो ।
टिमले अहिलेसम्म हासिल गरेको सफलतामा मुख्य भूमिका धोनीकै छ ।
 
                    










 २०७७ कात्तिक  ५ गते २१:३१
                        २०७७ कात्तिक  ५ गते २१:३१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4