Comments Add Comment

वीरगञ्जका नेकपा नेताको वयान : मुकेश चौरसियाको हत्या कसरी भयो ?

मुकेशको मृत्यु भएपछि सार्वजनिक भएको झडपको तस्वीर । यसरी मुकेशको हत्या भएको प्रदर्शनमा उत्रिएकाहरूको दाबी छ ।

कात्तिक ६ गतेको घटना हो- पर्साको बिन्दवासिनी गाउँपालिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रमभन्दा धेरै पहिले को अध्यक्ष, को सचिव भन्ने टुङगिसकेको थियो ।

साविक एमालेबाट अध्यक्ष विक्रम चौरसिया र साविक पूर्वमाओवादीबाट सचिव स्व. मुकेश चौरसिया पर्नुभएको थियो । ६ गते उहाँहरुसहित कमिटीका सदस्यहरुको सपथग्रहण कार्यक्रम राखिएको थियो ।

केही अराजक व्यक्तिहरु पूरा प्लानिङका साथ भाटा, बाँस लिएर कार्यक्रम बिथोल्न आए । मुकेश चौरसिया त्यहीँ हुनुहुन्थ्यो । अचानक भाटा चलाउन थाले । मुकेश चौरसियाको टाउकोमा हानिदिएछन् । मुकेश त्यहीँ ढल्नुभयो । मुकेशलगायत अरुले आफूलाई बचाउन जे भेटिन्छ, त्यसैले प्रतिकार गर्न खोज्दा सकेनन् । उनीहरु पूरा प्लानिङका साथ आएका थिए ।

सोधीखोजी भयो । मुकेशलाई नारायणी अस्पतालमा कुदाइयो । मुकेशलाई अस्पतालमा कुदाएपछि यो अवस्था त्यति गम्भीर होइन, भन्ने त्यहाँ भएकाहरुमा भयो र कार्यक्रम निरन्तर चल्यो ।

सपथ ग्रहण चल्दाचल्दै अलि ढीला खबर आयो- मुकेशको अवस्था ठीक छैन । उनलाई नारायणी अस्पतालबाट न्युरोमा रिफर गरियो भनेर । मुकेशको ब्रेनको, टाउकाको हड्डीहरु सबै भाँचिएको देखिएको भनियो । उहाँ बाँच्नुहुन्न भन्ने कुरा भयो । अस्पतालका अनुसार त्यस दिन राति नै ब्रेन डेथ भयो । अर्को दिन डिक्लियर गरे -मृत्यु भयो भनेर ।

कमिटी चयनमा सर्वसम्मति थियो तर, …

विन्दावसिनी गाउँ कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्दा कुनै समस्या थिएन, सर्वसम्मति नै थियो । अध्यक्ष र सचिव धेरै अगाडि चयन भइसकेका हुन्, ६ गते सदस्यहरुको सपथ ग्रहण गराएर कमिटीलाई पूर्णतामात्रै दिएको हो । अध्यक्ष र सचिव एउटै पृष्ठभूमिका हैनन् । एउटा साविक एमाले र अर्का माओवादीका हुन् । त्यहाँबिना सहमतिको सपथ ग्रहण हुनै सक्दैनथ्यो नि ।

तर, मैले बुझेअनुसार केपी ओली पक्षका नेता राजकुमार गुप्ताले आफ्ना ६/७ जना मान्छेलाई गाउँपालिका कमिटीको सदस्यमा हालिदिन भनेर एकदम दबाव दिएका रहेछन् । गुप्ता ओली पक्षका मान्छे हुन् । पूर्वसभासद पनि हुन् । तिनले आफ्ना व्यक्तिगत पक्षका मान्छेलाई कमिटीमा राख्न दबाव र धम्की दिएका रहेछन् । कमिटीमा सदस्यता दिने धेरै प्रक्रियाहरु हुन्छन् । कहिलेदेखि कहिलेसम्म काम गरेको भन्ने लगायत ।

गुप्ताको पृष्ठभूमि पनि त्यति राम्रो होइन । पहिला पनि पार्टीमा तीनचार चोटि झगडा सगडा गरिसकेको, तोडफोड यताउति गराएको, अलिअलि दादागिरी गर्ने खालको मान्छे । नत्र त त्यत्रो घटना कसरी हुन्छ ?

यो घटनालाई मोड्न खोजिएको छ । एकजना जिल्ला कमिटीको सदस्यको हत्या भएको छ । त्यसको कारबाहीको माग गर्नु के गलत कुरा हो र ? कुनै पनि व्यक्तिको हत्या हुन्छ भने हामी कारबाहीको माग गर्छौं । तिनी पार्टीकै डिसियम परे, हामीलाई त थाहा थिएन नि त यस्तो हुन्छ भनेर । भयो, भएपछि कारबाहीको माग गर्छौं नि त ।

गुप्ताकै घरबाट अपराधी पक्राउ परे, तर जाहेरी लिइएन

६ गते जुन घटना भयो, त्यही दिन बेलुकी सभासद राजकुमार गुप्ताको घरबाट मुकेशमाथि आक्रमण गर्ने अपराधीहरु समातिए । उनकै घरमा अपराधी फेला परेपछि गुप्तालाई पनि प्रहरीले उठाएर लगे । गुप्तालाई भेट्न जो नेताहरु गएका थिए, उनीहरुसामु अपराध भएको र त्यसमा संलग्नलाई कारबाही गर्छु भने । तीन/चार घण्टा राखेपछि प्रहरीले गुप्तालाई छाडिदिए । तर, तिनै अपराधीहरुमध्ये दुईजनालाई अस्पताल भर्ना गर्ने बाहनामा नेशनल मेडिकल कलेजबाट भगाए । नेशनल मेडिकल कलेजका सञ्चालकले दुईजना भगाएका हुन् भन्ने छ ।

प्रदर्शनका क्रममा नेकपा वीरगञ्जका इञ्चार्जका रहवर अन्सारी लगायत

मृत्यु भएको भन्ने डिक्लियर भएपछि ७ गते जाहेरी लिएर प्रहरीकोमा पीडितहरु पुगे । मुकेशका आफन्तजनले जबसम्म जाहेरी दर्ता हुँदैन, तबसम्म शव लिन्नौं भने । एसपीले आफैँले जाहेरीमा राजकुमार गुप्ताको नाम राखिदिनुभएन भने । उनको तर्क थियो- गुप्ता घटनास्थलमा नै छैनन् । तर, उजुरी दिन गएकाहरुले डिफेन्स गरे- यो मान्छे (गुप्ता) ले पटक-पटक धम्की दिएका हुन्, त्यहाँका सचिव, पार्टीका जिम्मेवार व्यक्तिहरुलाई । म ठीक पारिदिन्छु भनेर गुप्ताले सुरुदेखि नै धम्की दिइराखेका रहेछन् । एसपीले फेरि गुप्ता घटनास्थलमा छैनन् भने । पीडितहरुले घटनाको सम्पूर्ण टिम तिनकै घरबाट समातिएको छ भनेर डिफेन्स गरे ।

कुनै पनि बहस हुन सक्छ । झडप पनि हुन सक्छ बहसका क्रममा । तर, ठूलो ठूलो बाँसका भाटाहरु लिएर पूरा तयारीका साथ जानु भनेको हान्नै गएको भन्ने देखिन्छ । भूगोल किल्यर छ, भिडियो आएको छ, अपराधीहरु तिनै गुप्ताकै घरबाट समातिएका छन् । तर, कहीँबाट प्रेसर आयो एसपीलाई कि गुप्ताजीलाई बचाइदिनुपर्‍यो भनेर ।

त्यही दिन नेकपा स्थायी कमिटी सदस्य मातृका यादव पनि आउनुभयो । मातृका यादव आएपछि हामी जिम्मेवार नेताहरु प्रहरीकोमा गयौं । मातृकाजीले जाहेरी दर्ता गर्न आग्रह गर्दा एसपीले ‘होइन मन्त्रीज्यू, मलाई पनि अप्ठ्यारो छ’ यस्तो उस्तो कुरा गर्नुभयो । तपाईं आधिकारिक निकाय हो, अनुसन्धान गर्नुस् भन्दा मान्नुभएन । जाहेरी त दर्ता गर्नु पर्‍यो नि भन्ने हाम्रो कुरा थियो । जाहेरी पीडित परिवारहरुले, गाउँलेहरुले जे देखे, जे थाहा पाए, त्यो कुराअनुसार दर्ता गर्न खोजेका हुन् ।

मातृका यादवले आग्रह गर्दा पनि जाहेरी दर्ता गर्न मानेनन् । त्यसपछि काठमाडौंबाट कमरेड सुरेन्द्र पाण्डे (पूर्वमन्त्री एवं पूर्वएमाले) नेता आउनुभयो । उहाँले पनि अपराधी त्यहीँबाट समात्नुभएको छ भने जाहेरी लिनुस् भन्दा एसपीले हामीले समातेकै होइन भनेर ढाँटे । गुप्ता आफैं आउनुभएको भने । गुप्ता प्रहरीमा आफैँ आउनुभएको होइन, पुलिसले लगिरहेको फोटो नै छ । त्यो सबै कुरा हुँदाहुँदै, जान्दा जान्दै पनि बुझ पचाएर एसपीले नेगेटिभ रोल खेलिदिए ।

प्रहरीले जाहेरी नलिएपछि आन्दोलन हुन थाल्यो । जति गर्दा पनि प्रहरीले नमानेपछि बिहीवार सरकारी वकिलको कार्यालयबाट आदेश गराएर जाहेरी दर्ता गरियो ।

रौतहट घटनामा मोहम्मद आफताब आलम ईंटाभट्टामा थिए कि थिएनन् ? यस कुरामा के भन्नुहुन्छ ? थिए त ? थिएनन् नि । आफताब आलमलाई भट्टीबाट समातेको त होइन ।

पर्सा घटनामा पनि त्यहाँको वस्तुस्थिति, त्यहाँको मान्छेहरुको कुरा सुन्दा, हामीलाई कता लागेर बोल्यो भन्छन्, तर, स्थानीय आम मान्छेलाई सोध्नुभयो भने तिनले भन्न सक्छन् के भएको भन्ने कुरा । औंलो उठाउनुपर्ने कहाँ छ भने, ती अहिले सम्पूर्ण समातिएका मान्छेहरु घटना भएको दिन बेलुका तिनै गुप्ताको घरमा थिए, त्यहाँबाट समातिएका छन् । रौतहट घटनामा मोहम्मद आफताब आलम मेन योजनाकार हुन् भनेर आज उनी त्यही सजायँ भोगिरहेका छन् नि होइन र ! रामचन्द्र प्यासी आफैँ गोली हान्न गएका त होइनन् ।

जाहेरी नै नलिएर अनुसन्धानको बाटै बन्द गर्नु गलत हो भन्ने हाम्रो माग हो । हाम्रो मात्रै होइन, यहाँदेखि केन्द्रसम्मको माग हो । केही इन्ट्रेस्ट ग्रुपहरु लागेका हुन्, अरु केही होइन ।

प्रहरीको अनुसन्धानमा शंका छ

प्रहरीले सिधै जाहेरी दर्ता गर्नुपर्दथ्यो, गर्दै गरेन । संविधानले दिएको अधिकार हो नि त त्यो । जाहेरी दर्ता नगर्नु पनि अपराध हो । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर जाहेरी दर्ता नगरेको हो, त्यसो गर्न पाइन्न । जाहेरी नलिने प्रहरीलाई हामीले कारबाहीको माग गरेका छौं । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका छौं त्यसमा पनि कारबाहीको माग राखिएको छ । र अगाडि पनि यसमा लाग्छौं । जाहेरी दर्ता नगर्ने प्रहरी पनि दोषी छन् भन्ने हाम्रो बुझाइ छ ।

यो पनि पढ्नुहोस चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

अनुसन्धानमा हामी शंका गर्छौं । पर्सा प्रहरीको अनुसन्धान बायस हुन्छ कि हुन्न भन्ने कुरामा हामी शंका गर्छौ । किनभने, जसले जाहेरी लिन मानेनन्, तिनले अनुसन्धान एकदम इमानदारीपूर्वक गर्छन् भन्ने कुरा म चाहिँ भन्न सक्दिनँ ।

पर्सा प्रहरीको अनुसन्धान निश्पक्ष हुँदैन भन्ने सबैको मनमा आशंका छ । एसपीसहित प्रहरीको सम्पूण टिममाथि शंका छ । जाहेरी लिनबाट रोक्ने उनै हुन् त । भनेपछि यिनले के अनुसन्धान गर्छन् ?

तर, हामीलाई एउटा चित्तबुझ्दो कुरा- अब जाहेरी दर्ता भएर एउटा प्रक्रियामा गएको छ ।

(अनलाइनखबरकर्मी रघुनाथ बजगाइँसँग गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment