Comments Add Comment

स्तरोन्नतिका लागि चित्लाङ–थानकोट सडकखण्ड बन्द

१९ कात्तिक, वीरगञ्ज । मकवानपुरको पर्यटीकय गाउँ चित्लाङ जाने चित्लाङ–थानकोट सडकखण्ड (गणेशमान सिंह मार्ग) मा बुधबारदेखि आवागमन बन्द गरिएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर निर्माणाधिन सडकखण्ड अनिश्चितकालिन बन्द गरिएको जनाएको हो ।

चन्द्रागिरि–थानकोट सडकखण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको छ । त्यही क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको स्थानीय बुद्धरत्न मानन्धरले जानकारी दिए ।

‘गणेशमान मार्गको चन्द्रागिरि नगरपालिका थानकोटतर्फ डीपीआर अनुसार नयाँ मोडको ट्र्याक र सेतो पहराको कठिन ढुङ्गे चट्टान कटान सुरु भएको छ,’ उनले भने, ‘सेतो पहरामा काम चल्दासम्म सडक बन्द गर्ने निर्णय भएको छ ।’

सेतो पहरा भन्दा तलको आधा बाटो डिपिआर अनुरुप सम्पन्न भई पिचयोग्य बनेको उनले जानकारी दिए ।

यसअघि सडक स्तरोन्नतिको काम भइरहेको भएपनि सवारी आवागमन रोकिएको थिएन । तर सेतो पहरा कटिङ गर्दा भासिन सक्ने भएकोले सवारी आवागमन रोक्नै पर्ने स्थिति बनेको सरोकार समितिले जनाएको छ । वि.स.२०७१ मा सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । पछिल्ला दिनमा स्थानीयले सरोकार समिति बनाएर दबाव दिनुको साथै प्रत्यक्ष निगरानीमा चन्द्रागिरि–थानकोट सडकखण्डमा स्तरोन्नति काम गराइरहेका छन् ।

यो सडकखण्ड थाहा नगरपालिकालाई राजधानी काठमाडौं जोड्ने मुख्य मार्ग पनि हो । थाहा नगरपालिकाको टिष्टुङ, पालुङ, टौखेल, विसिंखेल र चित्लाङ क्षेत्र तरकारी खेतीका लागि प्रसिद्ध छन् । साथै पर्यटकीय गाउँ चित्लाङमा दर्जनौंको संख्यामा होम स्टे र रिसोर्टहरु सञ्चालनमा छन् । सडक नबन्दा किसानको बारीमा उब्जिएका तरकारी बजार लैजान समस्या छ भने होम स्टे र रिसोर्टमा आउने पाहुनालाई आउन जान समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment