Comments Add Comment

गौशाला-चाबहिल सडक : धुलोले ज्यानै खाला जस्तो !

२१ कात्तिक, काठमाडौं । शुक्रबार चाबहिल चोकको धुलाम्मे सडक छेउमा उभिएकी एक महिलाले भनिन, ‘माइक यता नतेर्साउनस्, हामीलाई बोल्नु पनि छैन, बोलेर केही हुनेवाला पनि छैन ।’

गौशाला-चबहिल र चाबहिल-साँखुको पैदल यात्रा गर्नेहरू मात्रै हैन, सवारीमै यात्रा गर्नेले पनि एक पटक सरकारलाई सराप्छन् । किनभने घाम लागेका बेला धुलो उडेर कुहिरो मण्डल बन्ने र झरी पर्दा पानी जमेर ताल बन्नु यो सडक खण्डको विशेषता भइसकेको छ ।

यसबाट सडक आसपासमा कति प्रभाव परेको छ भन्ने पसलमा सजाइएका कपडा, किराना पसलका धुलोले ढपक्कै ढाकेका सामान हेरे पुग्छ ।

बेला-बेलामा पसलेहरू धुलो कपडाले टकटकाउँछन् । ट्यांकरले दिनमा एक-दुई पटक पानी हाले जस्तो पनि नगर्ने होइन । तर, ‘कच्ची’ सडकको धुलोे छम्केको पानीले कति बेरा रोक्न सक्छ र ?

स्थानीयवासी पानी हालेको केही बेरमै सडक धुलाम्मे बनेको गुनासो गर्छन् । उनीहरू बोलेर वा आवाज उठाएर पार लाग्दो रहेनछ भन्ने मानसिकतामा पुगिसकेका रहेछन् भन्ने ती महिलाको अभिव्यक्तिले नै देखाउँछ ।

हुन पनि सडकका ठाउँ-ठाउँमा डरलाग्दा खाल्डाहरू छन् । नजिकै डोजरले सडक किनाराको माटो निकालेर ट्रयाक्टरमा हालिरहेको पनि देखिन्छ ।

चावहिल चोकबाट बौद्धतर्फ जाने सडकको यस्तो दूरावस्था रैथानेहरूका लागि कहिल्यै निको नहुने घाउ भइसक्यो ।

संघीय राजधानी रहेको काठमाडौं शहरभित्रको यो सडक खण्डमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा होइन, नहुँदा अचम्म मान्नुपर्ने अवस्था बनेको छ ।

तर, यो दुरवस्थाको कथा चाबहिल चोकबाट गाौशालातर्फ पनि फैलिएको छ ।

पछिल्लो पाँच वर्षदेखि यो सडकका यात्रा निकै कष्टकर बनेको छ । निर्माणको काम समयमै नसकिएपछिको परिणमाम हो, यो ।

सरकारले यहाँ कालोपत्रे त पटक-पटक गर्‍यो, तर टिकेन । अर्थात् जति पटक कालोपत्रे गरे पनि टिक्ने गरी गरिएन ।

खानेपानीको पाइप फेरेर पिच गर्ने भनेर एउटै प्याकेजमा ठेक्का लगाइयो । राप्रपाका नेता विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले यसको जिम्मा लियो ।

तर, कहिले बिजुलीको तारको त, कहिले ढल र खानेपानीको पाइपको कारण देखाएर पिच गर्न ढिलाइ गरियो । लकडाउन सुरु भएको बेलामै काम सक्ने भनेर हल्ला गरियो, तर चाबहिलको धुलो हटाउन न सडक विभाग जिम्मेवार बन्यो, न निर्माण कम्पनी नै ।

अहिले निर्माण सामग्रीको अभावको कारण देखाएर गौशाला-चाबहिल खण्डको काम अल्झाएर राखिएको छ । चाबहिल-साँखु खण्डलाई त पूर्वर्यातायातमन्त्री रघुवीर महासेठले ‘सडकको निर्माणमा लागेको क्यान्सर’ नै भनेका थिए । अहिले पनि यो खण्डका विभिन्न भागमा अझै कालोपत्रे भएको छैन । पटक-पटक म्याद थप्दै ठेकेदारलाई थप रकम निकासा दिने काम मात्रै भइरहेको छ ।

‘यी सडक भएर यात्रा गर्ने र स्थानीय क्षेत्रमा बस्ने नागरिकको जीवन त नर्कमा परेजस्तै भएको छ,’ स्थानीय सुमन मकाजु ब्यंग्य कस्दै भन्छन्, ‘यो धुलो-हिलोको राज्य हो, यहाँ सरकार छैन ।’


जनताले राम्रोसँग सास पेर्न पनि नपाएको भन्दै उनले फोक्सोमा क्यान्सर होला भन्ने पीर गरेर बाँचनु परिररहेको बताए ।

एक स्थानीय महिलाले सरकारमा बस्नेले जनतालाई कसरी हेर्छ भन्ने बुझ्न यही सडकको अवस्था हेरे पुग्ने बताइन् । ‘ठेकेदार पनि कामचोर हो’ उनले भनिन्, ‘अर्थात् कामचोरलाई नै ठेक्का दिइन्छ ।’

सडकको धुलाकै कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यापारीहरूको गुनासो छ । स्वदेशमै केही काम गरौं भनेर व्यवसाय सुरु गरेको बताउने रामेछापका नदिस चौलागाइर्ं अहिले चावहिलको धुलोले पलायन हुनुपर्ने हो कि भन्ने चिन्तामा छन् । लामो समयसम्म यस्तो रहे व्यवसाय नै सञ्चालन गर्न नसकिने उनले बताए ।

धुलोकै कारण ग्राहकहरू पसलमा नपस्ने भन्दै उनले बेच्न राखिएका सामान बचाउन पनि गाह्रो भएको बताए । ‘धुलो र हिलोले ब्यापार चौपट छ,’ उनले भने, ‘सरकारले नै देशमा गरिखान्छु भन्दा पनि नदिने भयो ।’

स्थानीय सरकारले पनि समस्या नसुनेको उनको भनाइ छ । केहि साता पहिले काठमाडौंका मेयर विद्यासुन्दर शाक्य चावाहिलमा बनाइएको आकासे पुल उद्घाटन गर्न पुग्दा स्थानीयले गुनासो राखेका पनि थिए ।  तर, मेयर शाक्य पनि रमिते मात्रै बनेको चौलागाई बताउँछन् ।

गोठाटार घर भई चावाहिलमा व्यापार गर्दै आएका उज्जवल दाहाल सडकको धुलोले स्वास्थ्य र आर्थिक अवस्था दुबैलाई कमजोर बनाएको गुनासो गर्छन् । सरकारले बेवास्ता गरेका कारण पनि सडक निर्माणको गति कछुवाको गतिमा भएको उनको आरोप छ । उनी भन्छन्, ‘धुलोले त ब्यापार मात्र हैन, हाम्रो ज्यान नै खाला जस्तो भइसक्यो ।’

स्थानीय आकाश बलामी सडकमै उत्रिएर विरोध गर्दा पनि काम नहुनुलाई सरकारको बदमासी भन्छन् ।

तस्वीर/भिडियोः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment