Comments Add Comment

कोभिड अस्पतालका डाक्टर भन्छन् : हाम्रो पीडा कसले बुझ्ने ?

२९ कात्तिक, काठमाडौं । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत सात जना करार चिकित्सकले बुधबार सेवा रोकेपछि धेरैलेे प्रश्न गरे, महामारीको बेला आन्दोलन ?

तर आन्दोलनमा उत्रिएका चिकित्सकहरु भन्छन्, हाम्रो पीडा कसले सुनिदिने ?

बुटवल उपमहानगरपालिका र लुम्विनी प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालित कोभिड अस्पतालमा १८ वटा आईसीयू, सात वटा भेन्टिलेटर र ३६ वटा अइसोलेसन बेड छन् । थुप्रै संक्रमितले यहीँ उपचार पाए र कोरोनालाई जितेर घर फर्किए । केहीले कोरोनालाई जित्न सकेनन् र मृत्युवरण गरे ।

तर स्वास्थ्यकर्मीहरु दिनरात खटिएका छन् । अस्थायी संरचना, त्यसमाथि जनशक्ति कम भएकाले निरन्तर खट्नको विकल्प छैन । करारमा नियुक्त गर्दा हप्तामा ४० घण्टा ड्युटी भने पनि धेरैले लगातार ७२ घण्टासम्म ड्युटी गर्नु परेको छ ।

चिकित्सक अभाव हुँदा मेडिकल अफिसरहरुले जोखिम मोलेर निरन्तर सेवा दिनु परेको छ । १८ बेडको आईसीयू एक जना मेडिकल अफिसरे समेत धान्नु परेको छ ।

‘म ड्युटीमा रहँदा एकजना विरामी सिरियस भएपछि एनेस्थेसियाकाका डाक्टर र मैले भेन्टिलेटरमा राख्दै थियौं । त्यहीबेला अर्का विरामीको हर्ट विट एक्कासी कम भयो । भेन्टिलेटरमा राख्ने ठाउँ छैन । त्यस्तो अवस्था हेण्डल गर्न निकै गाह्रो हुन्छ’ अस्पतालकाएक डाक्टर भन्छन्, ‘राति डाक्टर हुँदा एकै पटक सात वटा विरामीको अक्सीजन कम भयो । लक्कीली कोही एक्सपायर हुनुभएन ।’

रहेक स्वास्थ्यकर्मीहरुले यसरी नै काम गरेका छन् । आन्दोलनरत एक चिकित्सकले भने, ‘हामीले त्यसै आन्दोलन गरेका गरेका होइनौं । हाम्रो पीडा कसले बुझ्ने ?’

चिकित्सकहरुलको व्यथा शुरु हुन्छ, तलवबाटै । ‘जोखिम भत्ता त परको कुरा, प्रशासनले तलव पनि घटाएर कहिले २६ दिनको त कहिले २८ दिनको हालिदियो’ एक चिकित्सक भन्छन्, ‘हामीले पुरा तलबका लागि नै आन्दोलन गर्नुपर्ने भयो ।’

एक चिकित्सकका अनुसार सहकर्मीलाई कोरोना संक्रमण भएका ेबेला दुई मेडिकल अफिसरले नै अस्पताल धानेका थिए । ‘कन्सलट्यान्ट डाक्टरहरु राउण्डमा आउनुहुन्छ, जानुहुन्छ । सम्पूर्ण भार हाम्रो टाउकामो हुन्छ’ उनले भने, ‘साथीहरुलाई कोभिड भएको बेला म आफैले लगातार ४८ घण्टा ड्युटी गरेको छु ।’

विरामीहरुको उपचारकै क्रममा केही स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । उनीहरु पनि रिपोर्ट नेगेटिभ भएकै दिनबाट फेरि ड्युटीमा फर्किएका छन् ।

विना नियुुक्तिपत्र कोरोना संक्रमितको उपचारमा यसरी दिनरात काम गरेको उनीहरुको तलब दसैंमा तीन हजार घटेर आयो । बोनस त उनीहरुका लागि सपना थियो । ‘तलब दिनुस्भन्दा अपराधी जस्तो भइयो’, उनले गुनासो सुनाए ।

उनीहरुले भत्ता पनि पाएका छैनन् ।

उनीहरुले अर्को माग छ, जनशक्ति थप गर्नेपर्ने । जनशक्ति निकै कम भएकाले चाहेर पनि एक दिन विदा बस्ने अवस्था नभएको चिकित्सकहरुको गुनासो छ ।

एउटा सिफ्टमा कम्तिमा दुई मेडिकल अफिसर चाहिने भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । ११ भदौमै कोभिड भत्ता, नियुक्तिपत्र र सही कार्यविभाजन गर्नुपर्ने भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

‘२४ गते अस्पताल प्रशासन, प्रदेशका सामाजिक विकासमन्त्री र सचिवलाई मागपत्र पनि बुझायौं’, आन्दोलनरत एक डाक्टर भन्छन्, ‘कतैबाट सुनुवाइ नभएपछि हामी २६ गते एक दिन अस्पताल आएनौं । फोनबाट दिनसक्ने परामर्श भने दियौं ।’

सेवा नै रोकेपछि चिकित्सकहरुको मागबारे अस्पताल प्रशासनले पनि चासो देखाएको छ । बिहीबार उनीहरुलाई तीन महिनाका लागि नियुक्ति पत्र दिइएको छ । एक चिकित्सक भन्छन्, ‘कोभिड भत्ता दिने आश्वासन पाएका छौं ।’

लुम्विनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पनि समस्या समाधान भएको बताउँछन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिड भत्ता उपलब्ध गराउने भएपछि समस्या समाधान भएको डा. खनाल बताउँछन् ।

जनशक्ति थप गर्न अस्पतालले दुई पटक मेडिकल अफिसरका आवेदन खुलाएको तर एउटा पनि आवेदन नपरेको समेत अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment