Comments Add Comment

कुमार नगरकोटीको किताब किन्न अग्रिम पैसा तिर्नुपर्ने !

लेखक नगरकोटी र प्रकाशक भूपेन्द्र खड्कालाई  पाँच प्रश्न

३ मंसिर, काठमाडौं । नेपाली साहित्यको बजारमा एउटा अनौठो प्रयोगको घोषणा भएको छ । बुकहिल प्रकाशनले पहिलोपटक प्रि–अर्डर (अग्रिम भुक्तानी) को आह्वान गर्दै लेखक कुमार नगरकोटीका किताब किन्न पहिल्यै पैसा बुझाउनुपर्ने घोषणा गरेको छ ।

पाठकले अहिले अर्डर गरेर पैसा तिरेपछि नगरकोटीको पुस्तक आगामी चैत १४ गते हातमा पाउनेछन् । ‘कल्प–ग्रन्थ’ नाम दिइएको पुस्तकमा नगरकोटीका ६३ वटा प्रयोगशील कथा समेटिएको प्रकाशक बुकहिलले बताएको छ ।

पुस्तक खरिद गर्न प्रकाशन संस्थाको बैंक खातामा पाठकहरुले फागुन १ गतेभित्र २ हजार २१  रुपैयाँ बुझाइसक्नुपर्नेछ ।

साहित्यमा नौलो प्रयोग गर्न रुचाउने नगरकोटी आफू लेखकभन्दा बढी ‘फिक्सन डिजाइनर’ भएको बताउँछन् । २०६७ सालमा ‘मोक्षान्तः काडमाडौं फिभर’  कथा संग्रहसँगै चर्चामा आएका नगरकोटीको ‘फोसिल’,  ‘मिस्टिका’, ‘दोचा’, ‘ज्ञ’लगायत ८ वटा पुस्तक प्रकाशित छन् । उनी पूर्णकालीन लेखकका रुपमा चिनिन्छन् । आफ्ना सबै किताबको स्वामित्व बुकहिल प्रकाशनलाई दिएका नगरकोटीले रोयल्टी र पारिश्रमिक बुकहिलबाटै पाउँछन् । यसबाहेक अखबारी लेखन उनको नियमित कर्म हो ।

यस्तै, २०७१ सालमा स्थापना भएको बुकहिल प्रकाशनका अध्यक्ष हुन्, भूपेन्द्र खड्का । गीतकार र रेडियोकर्मीको परिचय बनाएका खड्काले प्रकाशनका क्रममा साहित्यका पुस्तकलाई बढी प्राथमिकता दिँदै आएका छन् ।

अग्रिम नगद भुक्तानी गरेर किताब किन्ने अफरबारे प्रकाशक भूपेन्द्र खड्का र लेखक कुमार नगरकोटीलाई सोधिएका पाँच प्रश्न –

१. ‘कल्पग्रन्थ’ (मूल्य रु. २०२१) आम नेपाली पाठकले त किन्न नसक्ने भए नि ?

भूपेन्द्र खड्का–  त्यस्तो हुँदै होइन । नेपाली पाठकको हैसियतलाई लिएर यो काम गरिएको होइन । यो त विशेष प्रयोग हो । जसले कुमार नगरकोटीको प्रयोग मन पराउँछ, उसका लागि हो । ‘साहित्यिक साक्षर’ जो छ, त्यसले मात्र यो किताब के हो भन्ने बुझ्छ । प्रि–अर्डर गर्दा हाम्रा कति पाठक साहित्यिक साक्षर भएका छन् भन्ने जान्न पनि सकिन्छ ।

कुमार नगरकोटी –  खासमा यो सीमित प्रति निकाल्ने सोचमात्र हो । साथै यो किताब अन्य किताबको तुलनामा बेग्लै किसिमले सार्वजनिक हुँदैछ । ‘एक्सक्लुसिभनेस’ले गर्दा कल्प–ग्रन्थको छुट्टै महत्त्व छ । ग्रन्थको साइज (७७७ पेज) पनि ठूलो छ र त्यहीअनुसार विशेष सज्जा गरेर छाप्ने काम हुँदैछ । किताबको क्वालिटीमा बढी ध्यान दिएका छौं ।

२. यो त नाइट बसको टिकट बुक गरेजस्तो भएन र ?

भूपेन्द्र खड्का–  संसारमा यस्ता प्रयोग धेरै भएका छन् । जसले पहिला खरिद गर्छ, त्यसले पाउँछ । ‘स्पेशल’ चिज एकचोटि छापिन्छ । धनीमानीले गाडी बुकिङ गर्ने चलनजस्तै हो यो ।

कुमार नगरकोटी –  नयाँ प्रयोग गर्दा कमेन्टहरू आइरहन्छन् । फेरि, सबैको आ–आफ्नै विचार हुन्छ, जसलाई म सम्मान गर्छु ।

३. नेपाली पाठकलाई १८ औं शताब्दीको सम्झनु उचित हुन्छ र ?

भूपेन्द्र खड्का–  पाठकको अपमान होइन, सम्मान गरेर प्रकाशन गर्न लागिएको हो । १८ औं शताब्दीको भन्ने कुरा नै आउँदैन । नगरकोटीको लेखनको गहिराइ थाहा पाएको मानिसका लागि यो ठूलो कुरा हो ।

कुमार नगरकोटी –  मानौं तपाईंले कल्पग्रन्थ पाउनुभयो, त्यसबेला तपाईंको साथीले भन्नेछ– ‘ओहो यो त मसँग पनि भएको भए !’ यो कुरामा मलाई धेरै विश्वास छ कि पुस्तक प्रकाशनपछि पढ्न चाहने पाठकले मिस गर्नेछन् ।

जसले कल्प–ग्रन्थ पाउने  छ उसलाई आफ्नो दराजमा एक पिस हुँदा एउटा सुन्दर किताब मसँग छ भन्ने आनन्दनबोध होस् । विदेशमा थुप्रै जीवित लेखकहरूले यस्तो प्रयोग गरेका छन् ।

४. यो ‘आइडिया’ प्रकाशकको हो कि कुमार नगरकोटीकोे  ?

भूपेन्द्र खड्का–  कुमार नगरकोटीको कर वा प्रकाशकको रहर केही होइन । भोलि अरु प्रकाशकले पनि ‘स्पेसिफिकेसन’ गर्लान् । यो मेरै दिमागबाट आएको हो । नेपालमा प्रिमियम संस्करण किताब अहिलेसम्म निस्केको होइन । फेरि, यो जोखिम मोल्न तयार नभए म र अन्य प्रकाशकमा के फरक भयो र ! आजैमात्र वीरगञ्जका एक लेखकले फोन गरेर नेपालमा चेतनशील प्रकाशक पाइयो भनेर खुसीसाथ भन्नुभयो । बुझ्ने मानिसले हाम्रो प्रयासलाई साथ दिएका छन् ।

कुमार नगरकोटी –  म कथा लेखनमा मात्र होइन, डिजाइन, लेआउटमा पनि ध्यान दिन्छु । थरिथरि प्रयोग गर्न रुचाउँछु । त्यही क्रममा मैले सोचेको आइडिया हो । मेरो मनसाय किताब सीमित कपि निकालौं भन्ने मात्रै हो ।

मेरो अनुभवले भन्छ, ‘अक्षरगञ्ज’को संस्मरण पढ्ने पाठकलाई ‘मिस्टिका’ उपन्यास  पढ्दा पक्कै केही नबुझेजस्तो हुन्छ होला । तर, यही विधामा रुची हुनेले पढ्ने छ । यसर्थ मेरो स्वैरकल्पनाको ‘फ्लेवर’ मन परेकाका लागि यो प्रयोग गरिएको हो ।

५. के कुमार नगरकोटीको विकल्प छैन ?

भूपेन्द्र खड्का– एकजना कुनै लेखक दिन सक्नुहुन्छ नगरकोटीको विकल्पमा ? ‘स्पेशिफिकेसन’ गर्ने अरु लेखक पनि चाहिन्छ, नत्र किन कुमार मात्रै भन्ने कुरा आउँदैन । मैले नगरकोटीबाट सुरु गर्दैछु भने भोलिका दिनमा अरु लेखक पनि आउँछन् ।

कुमार नगरकोटी –  निर्विकल्प भन्ने संसारमा छैन । यसैले विकल्प हरेक चिजको हुन्छ । ईश्वरको त विकल्प हुन्छ (इभन गड ह्याभ अल्सो च्वाइस) भने मेरो त भइहाछ नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment