+
+
Shares

कर्मका कारखाना : वासुदेव लुईंटेल

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७७ मंसिर ६ गते ११:२३

नेपाली साहित्यमा उपनामधारी साहित्यकारहरु प्रशस्त छन् । यो फेसनको रुपमा आयो । कतिपय अवस्थामा फरक चिनारीका लागि आयो । कतिपय सन्दर्भमा आफ्नो नाम गोप्य राख्नका लागि आयो । यसरी राखिएका उपनाम कतिपय पछि खुले, कति सदाको लागि रहस्यमय भए । यसरी रहस्यमा रहेको नाममध्ये शंकर लामिछानेलाई चोरीको आरोप लगाउने ‘कुमुदिनी’ नेपाली साहित्यमा सदा चासोको रुपमा रह्यो ।

यौटा साहित्यकारको एउटा उपनाम हुनु, दुईटा हुनु त स्वाभाविकै हो । तर अनेक उपनाम हुनुचाहिँ त्यति स्वभाविक होइन । सम्भवत: नेपाली वाङ्मयमै सर्वाधिक उपनामधारी साहित्यकार वासुदेव लुईंटेल हुन् । उनका अनेक उपनाम थिए । तर, भूतको भिनाजुचाहिँ बढी चर्चित र उनको नामको पर्याय बनेको उपनाम हो ।

भूतको भिनाजुबाहेक उनका बाउँटे बाजे, म, नैकापे काका, वरवोटे वाहुन, काका कुईंकेल, बुध्दीबहादुर घर्ती, शिवभक्ति, लम्फू, ताहाचलको स्याल, एकतारे, सिताराम, मिष्टर भक्त, ढाडे विरालो, डेड अक्कली, अढाई अक्कली, भूतपूर्व जुँगेदाई, धुपौरे काका, बतासे, जम्बु मन्त्री, सुदर्सनाचार्य, उम्मेदवार मन्त्री, ज सेक्रेटरी, सुव्वा माउसुली, मिष्टर ए-जेड, श्री महाप्रभु बेा, भेना, रामकृष्ण खत्री, अनाथ, टेकनाथ, टपरीनाथ, खत्री, कान्छाकाजी, भिनाजु, ओमकारनाथ उपाध्याय, ओममणि आचार्य आदि हुन् ।

गोविन्द गिरी प्रेरणा

वासुदेव लुईंटेल हास्यव्यङ्ग्य विधाका चोटिला, झर्रा शब्दका खानी भएका प्रतिभा थिए । उनको योगदान आफ्नो लेखनमा मात्र सीमित थिएन । उनी साहित्यकारलाई लेखनमा हौस्याउने, प्रकाशनमा हौस्याउने काममा रुचि राख्थे ।

लामो समयसम्म मदन पुरस्कार पुस्तकालयमा काम गरे उनले । उनी आफूलाई मदन पुरस्कार पुस्तकालयको कारिन्दा भन्न रुचाउँथे । उनी कमल दीक्षितका दाहिने हात नै थिए । कतिपय ठाउँमा कमल दीक्षित वासुदेव लुईंटेललाई आफ्नो साथमा लिएर जाने गर्थे । कमल दीक्षित र वासुदेव लुईंटेल एक–अर्कालाई सम्मानित व्यवहार गर्ने गर्थे । त्यति हुँदाहुँदै पनि वासुदेव आफूलाई मदन पुरस्कार गुठीका कारिन्दाको परिचय दिन मन पराउँथे ।

पछि विष्णुकुमारी वाइवाले स्वास्थ्यको कारण स्कूलबाट राजिनामा गरिन् । अनि २०२२ सालको मदन पुरस्कार ‘शिरिषको फूल’ले पाउने निर्णय भएपछि कमल दीक्षितको साथमा वासुदेव लुईंटेल पनि विष्णुकुमारी वाइवाको साहित्यिक अवतार पारिजातको पुतलीसडकस्थित डेरामा पुरस्कारको निर्णय सुनाउन जाने क्रममा पुगेका थिए ।

उनी मदन पुरस्कार गुठीमा मात्र होइन ‘मदन मेमोरियल स्कूल’मा पनि संलग्न थिए । भविष्यकी मदन पुरस्कार पाउने प्रथम लेखिका पारिजातलाई विष्णुकुमारी वाइवाको रुपमा शिक्षिकाको अन्तरवार्ता लिने उनै थिए । उनकी छोरी सुष्मा पारिजातको प्रिय छात्रा थिइन् । उनको घरमा दार्जीलिङ्की एक शिक्षिका डेरा गरेर बस्थिन् र पारिजात उनलाई भेट्न वासुदेव लुईंटेलको घरमा गइरहने गर्थिन् ।

वासुदेव लुईंटेल पेशेवर पण्डित्याईं गरेर जीविकोपार्जन गर्ने त थिएनन्, तर सनातनी परम्पराको विज्ञता उनमा थियो र परेको बेला पण्डित्याईं पनि गर्थे । ख्यातिप्राप्त आधुनिक नेपाली साहित्यका चम्किला तारा शंकर लामिछानेको विवाह यिनले नै पण्डितको काम गरेर सम्पन्न गरिदिएका थिए ।

विसं २०३६ सालको सडक कविता क्रान्तिमा सहभागी भएपछि मदन पुरस्कार गुठीमा कमल दीक्षितलाई भेट्न जाने क्रममा मैले उनलाई सेक्रेटरीको रुपमा भेटेको हुँ । त्यसपछि जतिपल्ट म मदन पुरस्कार पुगें, प्राय: उनलाई भेट्दथें । कमल दीक्षितलाई सधैं भेट्न सकिन्नथ्यो । कहिले बाहिर गएका बेला पर्थ्यो , तर वासुदेव लुईंटेल भने सधैंजस्तो नै भेटिन्थे । पछि त म कमल दीक्षित भेट भएपनि नभएपनि, वासुदेव लुईंटेल भेटिहालिन्छ भनेर पनि जान्थें । त्यसको कारण पनि थियो । उनले मलाई मोहनी लाएका थिए । त्यो मोहनी थियो, नि:शुल्क किताब ।

उनी लेखनमा पनि नयाँ–नयाँ प्रयोग रुचाउँथे । मूल विधा हास्यव्यङ्ग्य भएपनि उनले यौटा महाकाव्य लेखे, व्यङ्ग्यात्मक, तीन शब्दमा तीन हरफको

खासमा जो पनि साहित्यकार, विशेषगरी काठमाडौं बाहिरका र नेपाल बाहिरका काठमाडौं आउँदा, एकपल्ट मदन पुरस्कार पुस्तकालय पुग्थे । मदन पुरस्कार पुस्तकालय र कमल दीक्षितलाई पुस्तक पत्रिका उपहार दिनु उनीहरुको उद्देश्य हुन्थ्यो । त्यस्ता साहित्यकारहरु वा साहित्यिक पत्रिकाका सम्पादकसँग छ भने पाँच–सात प्रति अतिरिक्त पुस्तक लिन्थे र आफ्नो घर्रामा राख्थे । अनि म जस्तो जिज्ञासु पाठकलाई उनी वितरण गर्दथे । त्यसरी मैले कैयन् राम्रा र महत्त्वपूर्ण पुस्तक उनको हातबाट पाएको थिएँ ।

उनी यसरी कतिपय लेखकका कृतिहरुलाई सुयोग्य पाठकको हातमा पुर्याउने काम गर्थे भने कतिपय लेखक–पाठक उनबाट कृति पाएर त्यसको सदुपयोग गर्थे । एक प्रकारको अघोषित पुलको काम गर्थे उनी ।

उनको आफ्नो सहस्र उपनाम त थिए नै, उनी अरुलाई ‘नाम राख्न’ अर्थात् उपनाम राख्न खप्पिस थिए । मलाई देखेपछि उनी ‘गिरी पुरी हलुवा स्वारी’ भन्थे । ठाडो, तिक्ष्ण, बेढङ्गको सबै प्रकारको नाम उनले धेरै साहित्यकारको राखेका थिए । झर्रो र ठेट शब्द र भाषामा भन्नु उनको खुबी नै थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तत्कालीन कार्यकारी निर्देशक डा.भीष्मराज प्रसाईंले गीताको नेपाली अनुवाद गरेर किताव प्रकाशित गरेका थिए । शुरुमा उनले तिनलाई ‘गु जाँच्ने डाक्टरले गीता लेख्ने ?’ भनेका थिए, तर पछि उनीहरूबीच अन्तरङ्ग सम्बन्ध भएको थियो । किताबका शिर्षक पनि ‘तँलाई हरियो बाँस’ जस्तो राख्न सुझाउने उनको स्वभाव नै विचित्रको थियो । शुरुमा भेट्नेहरु, उनको मन नबुझ्नेहरु त उनीबाट तर्सिन्थे । तर बोलीमा त्यस्तो भए पनि साहित्यकारलाई माया गर्ने उनको आफ्नै शैली थियो । उनले नछोएका भए अलि मियाको जुन नाम र महत्त्व भयो त्यो हुने थिएन । अलि मियाँलाई उजिल्याउने र व्यापक बनाउन उनको ठूलो योगदान छ ।

अलिमिया स्वयमले लेखेका थिए– ‘हाम्रा विद्वान् वासुदेव लुईंटेलज्यूको यत्ति गहकिलो यस्तोचाहीं विद्वानको आशिर्वाद मैले पाउनु पनि साह्रै ठूलो मेरो भाग्य हो । खासचाहिँ चिनाइदिनु भयो, खास ठाउँमा ल्याएर पुर्याईदिनुभयो– हाम्रा वासुदेव लुईंटेलज्यूबाट नै । उहाँको र मेरो सामुन्ने दर्श-भेट नभए तापनि मैले मेरो आत्मामा नै सामुन्ने राखेर मेरो मुख्य परम गुरु सम्झेको छु ।’

अलि मियाँ त दृष्टान्तमात्र हुन् । उनको संलग्नतामा कौवा प्रकाशन, संग्रह प्रकाशन, हाम्रो प्रकाशन, भैरव प्रकाशन, नयाँ नैकाप भञ्ज्याङ प्रकाशन स्थापना भएको थियो । उनी पुराना र राम्रा लेखकहरुलाई आत्मकहानी लेख्न उत्साहित गर्थे, मान्छे लगाएर लेख्न लगाउँथे । तिनका गुह्य कुरा जीवनसँगै नासिएर नजाउन्, अक्षरमा रुपान्तरित होउन् भन्ने उनको मनसाय हुन्थ्यो । शंकर लामिछाने, शंकर कोइराला, दमनराज तुलाधर, भरतराज पन्त आदिका पुस्तकहरु यसै मेसोमा लेखिएका र प्रकाशित भएका थिए ।

उनी लेखनमा पनि नयाँ–नयाँ प्रयोग रुचाउँथे । मूल विधा हास्यव्यङ्ग्य भएपनि उनले यौटा महाकाव्य लेखे, व्यङ्ग्यात्मक, तीन शब्दमा तीन हरफको ।

हजुर ?

हजुर!

हस् ।

यसलाई नेपाली साहित्यको लघुत्तम महाकाव्य मानिन्छ । यो महाकाव्य विश्वमा विख्यात् लघुत्तम विधा मानिएको हाइकुभन्दा लघु आकारको छ ।

उनले लेखनमात्र नगरेर सम्पादन पनि गरेका थिए कतिपय पुस्तकको । अनुवाद पनि गरे । त्यस्तै दिवङ्गत साहित्यकारलाई कार्यक्रममा सभापति बनाउने अनौठो प्रचलनको सूत्रपात गर्ने उनै थिए । उनकै सक्रियता र आयोजनामा ३० साल जेठ ४ गते काठमाडौंमा आयोजना गरिएको कवि सम्मेलनमा अध्यक्षको आसनमा स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीर राखिएको थियो ।

उनी खरा कुरा गर्न खप्पीस, निर्भीक एवम् निडर थिए । केही घटना थाहा छन्, जसले यो कुरालाई पूष्टि गर्दछन् । जब ‘युवा वर्ष मोती पुरस्कार’ किशोर पहाडी र नरेन्द्रराज प्रसाईंलाई संयुक्त रुपमा दिने घोषणा भयो, राजनैतिक आस्था फरक परेकोले किशोर पहाडीले सो पुरस्कार अस्वीकार गर्ने निर्णय गरे । यसले काठमाडौंको साहित्यिक वृत्तमा तरङ्ग ल्याइदियो । पक्ष–विपक्षमा समाचारहरू, हल्लाहरू आए । एक साँझ किशोर पहाडीको घरको टेलिफोनको घण्टी बज्यो । यौटा पुरुष स्वरले भन्यो- ‘मोती पुरस्कार बहिष्कार गर्ने बाउको छोरा’ रहेछौ । क्याबात् ।’

भैरवले आत्महत्या गरेपछि वासुदेव मर्माहत भए । भैरव र आफ्नो नाममा उनले ‘भैरव वासुदेव’ छात्रवृत्तिको स्थापना गरे । पछि त उनले हास्य व्यङ्ग्यको क्षेत्रमा सर्वाधिक ठूलो राशीको पुरस्कार स्थापना गरे ‘भैरव वासुदेव पुरस्कार’

त्यति भनेर ती ब्यक्तिले फोन राखिदिए । त्यतिखेर कस्को फोन आएको हो पत्ता लगाउने प्रविधि सुलभ थिएन । किशोर रनभुल्ल परे, को होला त्यसो भन्ने मान्छे । पछि रोचक घिमिरेले त्यो फोन वासुदेव लुईंटेलको थियो भनेर खुलाए । तर, पनि त्यसको कुनै प्रमाणित गर्ने ठाउँ थिएन । उनले वासुदेव लुईंटेललाई सोध्ने काम पनि गरेनन् ।

साझा प्रकाशनको सञ्चालक पदमा उम्मेदवार हुँदा भोट माग्न घर दैलो गर्दै किशोर पहाडी वासुदेव लुईंटेलको निवासमा पुगे । उनलाई देख्ने बित्तिकै ‘बाउको छोरा’ भनेर उनले सम्बोधन गरे, अनि किशोरलाई पक्का भयो, त्यो साँझ फोन गर्ने वासुदेव लुईंटेल नै रहेछन् ।

एकदिन उनलाई भेट्न म मदन पुरस्कार गुठीको अफिस पाटन ढोका पुगें । उनीसँग भेट भो । सामान्य साहित्यिक गफगाफ भयो र उनले केही पुस्तक, पत्रिका मलाई दिए । कुराको प्रसङ्ग चल्दै जाँदा उनले आत्मकथा लेखाउने, प्रकाशनको चाँजो–पाँजोको विषयमा पनि चर्चा चल्यो ।

सोही सिलसिलामा नेपाली साहित्यका प्रतिष्ठित दिवङ्गत एक साहित्यकारको लेखिका छोरीको नाम लिंदै उनले भने, ‘भाई साहेव, तिनको पिताजीको अधूरो पुस्तक रहेछ, ल्याउनोस् छापौं भनेको त, कति पैसा आउँछ पो भन्छे । मेरो त कन्पारो तात्यो र मैले सिधै भन्दिएँ, तँ तेरो बाउको बिउले जन्माएकी छोरी नै रहिन्छस् । भो त, बाबुको कृति छापिदिउँ भन्दा कति पैसा पाउँछु भन्ने ?’

यसो भनिरहँदा उनको अनुहारमा साँच्चैको आक्रोस झल्केको थियो ।

वासुदेव लुईंटेल अलिअलि लहडी पनि थिए । एकदिन उनलाई भेट्न जाँदा मलाई आफ्नो मेचमा बस्न लगाए र फोन उठाउन लगाए अनि आफ्नो क्यामेराले फोटो खिचे । अनि हामी दुईको फोटो पनि खिच्न लगाए । पछि जाँदा उनले फोटो प्रिण्ट गरि सकेका रहेछन्, मलाई ती फोटो दिए । उनले त्यसरी खिचेका फोटोहरुको सङ्कलन गर्न लागेका रहेछन् । यो साँच्चैको रमाइलो लहड थियो उनको । थाहा छैन उनले कति त्यस्ता फोटो सङ्कलन गरे अनि तिनको प्रयोजन के भयो ।

उनी सभा समारोहमा जाँदैनथे, तर ती सभा समारोहमा केके भयो, त्यसको खोजिनीति गर्ने, सूचना संकलन गर्ने काममा भने खुबै दिलचश्पी हुन्थ्यो । मान सम्मानबाट पनि उनी चारकोश टाढा थिए । हाउस अफ राजकर्णीकारले बर्सेनि दशैं मेला गर्थ्यो भृकुटी मण्डपमा । त्यहाँ मनोरञ्जनका प्रस्तुतिहरु हुन्थे । एकसाल मेरा मित्र अशोक पाण्डेले सो मेलामा हास्य–व्यङ्ग्यात्मक साहित्यिक प्रस्तुति गर्ने जिम्मेवारी लिएका थिए । मसँग त्यसका लागि सहयोग मागे, त्यो कार्यक्रममा मेरो संलग्नताको आग्रहसहित । मैले नकार्ने कुरै थिएन । म त्यस कार्यक्रमको संयोजक भएँ । सो कार्यक्रममा अग्रज हास्य व्यङ्ग्यकारलाई सम्मान गर्ने कुरा भयो र त्यसरी सम्मान गरिनेहरुमा वासुदेव लुईंटेलको नाम पनि थियो ।

उनलाई निम्तो गर्न म अग्रसर भएर निम्तो बोकेर गएँ । उनले त्यसलाई मिठोसँग ठाडै नकारे । मैले लगेको निम्तोपत्रमा उनले यस्तो टिप्पणी लेखेर दिए– ‘माया गरेर सम्झेकोमा धेरै–धेरै धन्यवाद छ । यो पूजापाठको विधितिर ज्यूँदोको त कुरै छैन, मरेपछि पनि नगर्न बिन्ती गर्छु है । वासुदेव शर्मा लुईंटेल, २०५४।५।२८

अनि उनले यसको फोटोकपि गरेर रोचक घिमिरेलाई दिनू है पनि भने । उनी चाहन्थे, उनले लेखेको टिप्पणी रचनामा छापियोस् । उनमा त्यो प्रचार मोहचाहिँ थियो ।

वासुदेव लुईंटेल, भैरव अर्याललाई निकै स्नेह गर्थे । उनीहरुले हास्य ब्यङ्ग्यका पुस्तक संयुक्त रुपमा सम्पादन पनि गरेका थिए । भैरवले आत्महत्या गरेपछि वासुदेव मर्माहत भए । भैरव र आफ्नो नाममा उनले ‘भैरव वासुदेव’ छात्रवृत्तिको स्थापना गरे । पछि त उनले हास्य व्यङ्ग्यको क्षेत्रमा सर्वाधिक ठूलो राशीको पुरस्कार स्थापना गरे ‘भैरव वासुदेव पुरस्कार’ जसको राशी तत्कालीन समयको मदन पुरस्कारकै हाराहारी थियो ।

(भर्जिनिया, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?