Comments Add Comment
नेकपामा नेतृत्व हस्तान्तरणको बहस :

केपी ओलीको प्रस्ताव : नयाँलाई दिने, तर कसलाई ?

६० वर्षे हदम्याद लागू गर्दा को-को बाहिरिन्छन् ?

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चालु कार्यकाल पूरा भएपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदमा नदोहोरिने पटक-पटक बताउँदै आएका छन् ।

अब सरकार र पार्टी दुबैको नेतृत्व पुराना नेताहरुले नलिई ‘नयाँ’लाई दिनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले पार्टीका बैठक र सार्वजनिक फोरमहरुमा बताउने गरेका छन् ।

पहिल्यै प्रधानमन्त्री भइसकेका वा पार्टीको प्रमुख चलाइसकेका नेताहरुले अब नयाँ उमेर समूहको पिँढीलाई अवसर दिनुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यो प्रस्तावले नेकपाभित्र विस्तारै नयाँ ‘डिस्कोर्ष’ शुरु गराउन थालेको देखिन्छ ।

‘अब नयाँलाई दिऔं’ भन्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि छलफलमा प्रवेश गर्नुपूर्व उनले यसबारेमा व्यक्त गरेका सन्दर्भ सामग्रीहरु हेरौं-

प्रधानमन्त्रीले भन्न खोजेको के हो ?

प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमै आफूले अब प्रधानमन्त्री र अध्यक्ष दुबै पदमा नदोहोरिने बताइसकेको स्पष्ट पारेका छन् । कात्तिक २५ गते प्रचण्डलाई प्रेसित १० पृष्ठको पत्रमा ओलीले भनेका छन्, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिकरूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु ।’

यसका लागि आगामी महाधिवेशनबाट पार्टीको अध्यक्ष पद अरुमा हस्तान्तरण हुने र आगामी चुनावपछि प्रधानमन्त्री पद हस्तान्तरण हुने ओलीको बटमलाइन छ ।

प्रचण्डलगायतका नेताहरुलाई प्रधानमन्त्री ओली पत्रमार्फत प्रश्न गर्छन्, ‘मेरो मनमा एउटा गम्भीर प्रश्न छ- चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ?…. त्यसरी नै दुई वर्षपछि आमनिर्वाचन हुन्छ ….।’

अबको नेतृत्व नयाँलाई दिनुपर्छ भनिरहेका प्रधानमन्त्री ओलीको नेतृत्व हस्तान्तरणसम्बन्धी खास प्रस्ताव के हो त ? उनी भन्छन्-

‘पार्टी गतिशील संस्था हो र हुनुपर्छ । गतिशीलता दिनुपर्ने स्थानलाई नसकी नसकी ओगेटेर पार्टीलाई गतिहीन बनाउनुहुँदैन । आजीवन नेतृत्वमा टाँसिइरहने प्रवृत्तिले आन्दोलनमा नयाँ ऊर्जा, नेतृत्व र विचारलाई बन्ध्याकरण गर्छ भन्ने मान्यतामा म स्पष्ट छु । त्यसैले मेरो प्रस्ताव छ, अब प्रक्रियासम्मत ढंगले सहमतिका साथ अरू साथीहरूलाई जिम्मेवारी सुम्पिऔं । भइसकेका र पाइसकेकाहरूले लोभ नगरी यो हानथाप, दाउपेच, र लान्छनाको फोहरी खेल छाडौं । प्रक्रियासम्मत ढंगले आफूसँगै काम गरेका र मौका नपाएका वा आफूपछिका साथीहरूलाई सहमतिका साथ जिम्मेवारी सुम्पिऔं । देशले राम्रो संस्कार र उत्तराधिकार पाउनेछ । कोही ३०-३५ वर्षदेखि हातमा डाडुपन्युँ लिएर, आफू र आफ्नाहरूलाई पोसिरहने र कोही भान्सामा पस्न त के हेर्नसम्म पनि नपाउने परिपाटीलाई अझै कति निरन्तरता दिने ? भो, अब यो परिपाटी बदलौं ।’ (केपी शर्मा ओली, प्रचण्डलाई लेखेको पत्र, २०७७ कात्तिक २५)

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कात्तिक २२ गते साँझ अन्नपूर्णपोष्ट दैनिकलाई दिएको अन्तरवार्ता (कात्तिक २३ मा प्रकाशित) मा पनि नयाँ पिँढीलाई नेतृत्व हस्तान्तरणबारे केही सन्दर्भ उल्लेख गरेका छन् । सो अन्तरवार्तामा उनले नयाँ पिँढी भन्नाले कुन उमेर समूहलाई भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा ‘४०-६० उमेर समूहका नेताहरु’ भन्ने जवाफ दिएका छन् ।

प्रचण्ड, माधव नेपाललगायतका नेताहरुले नेतृत्वमा लोभ-लालच देखाएका कारण पार्टीमा समस्या आएको भन्ने संकेत गर्दै प्रधानमन्त्री ओली यसो भन्छन्-

‘अगस्त्य ऋषिलाई जतिले पनि पुग्दैनथ्यो भन्ने भनाइ छ । अगस्त्य ऋषिको चालमा सधैं आफैं अतृप्त हुने ? मैले यसपछि नेतृत्व छाड्छु भनेको छु, उहाँहरूको डर र त्रासको कारण त्यही हो । मैले छाड्दा अलिकति नयाँ पिँढीलाई हस्तान्तरण गर्ने हो कि ? आफूले नपाइने हो कि ? त्यो त्रास । नेताहरूले भन्न सक्नुपर्‍यो नि मलाई चाहिँदैन । मैले यति वर्ष पार्टी प्रमुख भएर चलाएँ, यतिपटक प्रधानमन्त्री भइसकें, अब नयाँ पिँढीमा सुम्पिन मलाई मञ्जुर छ भन्नुपर्‍यो नि । म नेताहरूलाई आहृवान गर्छु, मलाई मञ्जुर छ नयाँ पिँढीलाई सुम्पिन । अरू नेताहरू पनि भन्नुहोस् त, मलाई मञ्जुर छ । लोभ कसमा छ, कसमा छैन भन्ने त्यहीँ देखिन्छ ।’ (अन्नपूर्ण, कात्तिक २३)

त्यसो त गत बैशाख १७ गते बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका थिए । आफूले प्रधानमन्त्री नछाड्ने, छाड्नै परेमा प्रचण्ड वा माधव नेपाललाई भन्दा ‘बरु बामदेवलाई बनाऔं‘ भन्ने प्रधानमन्त्री ओलीको प्रस्ताव थियो । तर, प्रधानमन्त्रीको यो प्रस्ताव कार्यान्वयनै नभई गर्भमै बिलायो ।

बैशाख १७ गतेको बैठकमै ओलीले आगामी अध्यक्षका रुपमा माधवकुमार नेपाललाई प्रस्ताव गरेका थिए । तर, अहिले उनी नयाँ पिँढीलाई दिनुपर्ने लाइनमा आइपुगेका छन् । प्रधानमन्त्रीले भित्रीरुपमा भएका व्यक्तिगत भेटघाटहरुमा प्रचण्ड, माधव नेपाल, वामदेव गौतम आदि नेताहरुलाई भावी अध्यक्ष वा भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै आएको नेताहरु बताउँछन् । तर, कात्तिक अन्तिम सातादेखि चाहिँ उनी बाहिरीरुपमै खुलेर नयाँ पिँढीलाई नेतृत्व दिनुपर्ने पक्षमा उभिन थालेका छन् ।

‘नयाँ पिँढी’ कसलाई मान्ने ?

प्रधानमन्त्री ओलीको भनाइ छ-‘अब प्रक्रियासम्मत ढंगले सहमतिका साथ अरू साथीहरूलाई जिम्मेवारी सुम्पिऔं ।….प्रक्रियासम्मत ढंगले आफूसँगै काम गरेका र मौका नपाएका वा आफूपछिका साथीहरूलाई सहमतिका साथ जिम्मेवारी सुम्पिऔं ।… मैले यति वर्ष पार्टी प्रमुख भएर चलाएँ, यतिपटक प्रधानमन्त्री भइसकें, अब नयाँ पिँढीमा सुम्पिन मलाई मञ्जुर छ भन्नुपर्‍यो नि …. ।’

ओलीको यो भनाइको अर्थ के निस्कन्छ भने यसअघि प्रधानमन्त्री भइसकेका र पार्टी प्रमुख चलाइसकेका नेताहरुले अब प्रधानमन्त्री वा पार्टी अध्यक्षमा दाबी गर्न छाड्नुपर्छ । त्यसो गर्दा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले अध्यक्ष वा प्रधानमन्त्रीको दाबी गर्न मिल्दैन । सचिवालयका बाँकी ५ जना नेताहरु प्रधानमन्त्री बन्न बाँकी रहेता पनि उमेरका कारण उनीहरुले नेतृत्वको दाबी गर्न मिल्दैन ।

वामदेव गौतम पूर्वमालेको पार्टी प्रमुख भइसकेको हुनाले अब उनले पनि नेतृत्वको दाबी गर्न मिल्दैन भन्ने प्रधानमन्त्री ओलीको ‘क्राइटेरिया’ले भन्छ । किनभने, ओलीले अबको नेतृृत्व ‘४०-६० उमेर समूहका नेताहरु’ लाई दिनुपर्ने भनेका छन् । विसं. २००५ साल असार २६ गते जन्मेका वामदेव गौतम ७२ वर्ष पुगिसकेका छन् ।

सचिवालयमा रहेका ९ जना नेतामध्ये ओली, प्रचण्ड, खनाल, नेपाल र गौतमसमेत पाँचजनाले नेतृत्वमा दाबी नगर्ने हो भने सचिवालयका बाँकी चार जना, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र विष्णु पौडेललाई दाबेदार मान्न सकिन्छ त ?

विसं. २०१० साल माघ २२ गते ओखलढुंगामा जन्मेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेसम्म प्रधानमन्त्री वा पार्टी प्रमुख बन्ने अवसर पाएका छैनन् । तर, ओलीले भनेजस्तो ‘४०-६० उमेर समूहका नेताहरु’ को सूचीबाट पोखरेल बाहिर परिसकेका छन् । अर्थात्, उनी अहिले ६७ वर्ष पुगेका छन् ।

विसं २०१२ साल बैशाख १९ गते गुल्मीमा जन्मेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीले भनेको ‘४०-६० उमेर समूहका नेताहरु’ को मापदण्डमा पर्दैनन् । किनभने, बादल ६५ वर्ष पुगिसकेका छन् ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ नेकपा एकताकेन्द्र पार्टीको प्रमुख भइसकेका नेता हुन् । उमेरको हिसाबले पनि २०१६ सालमा गोरखाको जौबारीमा जन्मेका उनी ६१ वर्ष पुगेका छन् । यो हिसाबमा नेकपाका प्रवक्ता श्रेष्ठ पनि ओलीले भनेको मापदण्ड (४०-६० उमेर समूह) भित्र पर्दैनन्, जसले गर्दा उनले पार्टी प्रमुख वा प्रधानमन्त्रीको दाबी गर्न मिल्दैन ।

विसं. २०१६ सालमा स्याङ्जाको पुतलीबजारमा जन्मेका अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल गत शुक्रबार मात्र ६१ वर्ष पुगेका छन् । अर्थात् उनी पनि ६० कटिसकेका नेता हुन् ।

यसर्थ, नेकपामा केपी ओलीले भनेजस्तै ६० वर्ष उमेर समूहलाई ‘कट अफ डेट’ मान्ने हो भने सचिवालयका ९ जनाबाट हैन, स्थायी कमिटीबाट अबको नेतृत्व खोज्नुपर्ने हुन्छ ।

स्थायी कमिटीको उमेर समूह

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा पनि ६० कटेका नेताहरु धेरै नै छन् । नयाँ नेतृत्व हाँक्न सक्ने सम्भावना रहेका धेरै नेताहरु ६० वर्षे हदबन्दीबाट बाहिरिने स्थिति देखिन्छ । र, यो स्थितिमा केन्द्रीय कमिटीबाट नेतृत्व खोज्नुपर्ने हुन सक्छ ।

केपी ओलीले भनेजस्तै ४०-६० को उमेर समूहबाट नेतृत्व खोज्ने हो भने २०७८ सालतिर हुने महाधिवेशनमा सुवास नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसालहरुले समेत नेतृत्वमा चुनिन नपाउने अवस्था आउन सक्छ । प्रदीप ज्ञवाली र शंकर पोखरेलहरू पनि दुई वर्षपछि ६० वर्ष पुग्नेछन् । नेकपा स्थायी कमिटीमा ५८ वर्षे उमेर समूहका नेता ६ जना छन् ।

केपी ओलीको प्रस्तावअनुसार अगाडि बढ्ने हो भने पूर्वएमालेका योगेश भट्टराई, गोकर्ण विष्ट र पूर्वमाओवादीका जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन लगायतका नेताहरु ‘कम्फर्ट जोन’मा रहने छन् । विशेष गरी पूर्वएमालेका धेरै नेताहरुले बाहिरिनुपर्नेछ, त्यसमा पनि ओली पक्षका धेरै नेताहरु उमेर हदका कारण रिङआउट हुनुपर्ने अवस्था आउनेछ ।

स्थायी कमिटीका नेताहरुको उमेर समूह यस्तो छ-

गणेश साह (७१), अमृतकुमार बोहोरा (७१), मुकुन्द न्यौपाने (७०), सत्यनारायण मण्डल (६९), केशव बडाल (६८), सुवासचन्द्र नेम्वाङ (६७),  वेदुराम भुसाल (६७), युवराज ज्ञवाली (६७), अष्टलक्ष्मी शाक्य (६७), लीलामणि पोखरेल (६७), हरिबोल गजुरेल (६५), भीम रावल (६४), गिरिराजमणि पोखरेल (६३), रघुजी पन्त (६३), सुरेन्द्र पाण्डे (६२), पृथ्वीसुब्बा गुरुङ (६२), देव गुरुङ (६२), मात्रिकाप्रसाद यादव (६२), भीम आचार्य (६१), लेखराज भट्ट (६१), टोपबहादुर रायमाझी (६०),  घनश्याम भुसाल (५९), किरण गुरुङ (५९), मणि थापा (५९), रघुवीर महासेठ (५९),प्रदीप ज्ञवाली (५८), शंकर पोखरेल (५८), विष्णु रिमाल (५८), चक्रपाणि खनाल (५८), पम्फा भुसाल (५८), छविलाल विश्वकर्मा (५८), जनार्दन शर्मा (५७), देवेन्द्र पौडेल (५५) गोकर्ण विष्ट (५५), योगेश भट्टराई (५४), शक्ति बस्नेत (५१) र वर्षमान पुन (४९)

प्रधानमन्त्री ओलीले प्रस्ताव गरेजस्तो ‘४०-६० उमेर समूहका नेताहरु’ भन्ने मापदण्ड नराखेर ६५ वर्षलाई ‘कटअफ डेट’ मान्ने हो भनेचाहिँ सचिवालयका विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ बच्न सक्छन् । ७० वर्षे हदम्याद लगाउने हो भने सचिवालयमा रहेका भलनाथ खनाल र वामदेव गौतम मात्र रिङआउट हुन्छन् । अर्को वर्ष महाधिवेशन गर्दा केपी ओली पनि ७० वर्ष पुग्छन् । र, सचिवालयका वादल, ईश्वर पोखरेल, माधव नेपाल र प्रचण्ड बच्छन् ।

६५ वर्षे हदम्याद लगाउने हो भने सचिवालयको ‘कोर लिडरसीप’बाट केपी ओलीसँगै प्रचण्ड, माधव र ईश्वर पोखरेल पनि बाहिरिन्छन् । त्यसबेला सुवास नेम्वाङसहित स्थायी कमिटीका धेरै नेताहरु बाहिरिन्छन् ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा नेताहरुको प्रतिक्रिया

अब नेतृत्व नयाँ पिढीँलाई हस्तान्तरण गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको भनाइप्रति केही नेताहरुको प्रतिक्रिया यस्तो छ-

सत्यनारायण मण्डल : अध्यक्ष र प्रधानमन्त्रीका रुपमा असफल भएको आरोप लगाएपछि जवाफ दिइएको हो । अहिले नेतृत्व परिवर्तन र सरकार परिवर्तन गर्ने बेला होइन । तर, छोड्नैपर्छ भनेपछि प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको हो ।

हट्नुपर्छ भनेपछि विकल्प त चाहियो । त्यो विकल्प भनेको पार्टी र सरकारको नेतृत्व गरिसकेकाहरु हुनु भएन, नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ भनिएको हो । ओली त पहिलोपटक पार्टीको नेतृत्व गरिरहनुभएको छ । त्यसैले कुबेला चलाइएको नेतृत्व परिवर्तनको प्रशंगको जवाफका रुपमा यसलाई बुझ्नुपर्छ ।

देवेन्द्र पौडेल : नयाँ पुस्तालाई हस्तान्तरणकै लागि भनिएको हो भने यो राम्रो हो । तर, अहिले पार्टी संकटमा छ, प्राथमिकता संकट मोचन हो । संकट टारेर नेतृत्व परितर्वन गर्नु त राम्रो हो । अहिले त समस्या छ नि । पहिले पार्टीमा निकास चाहिएको छ । उहाँहरु दुई जना -ओली र प्रचण्ड) ले सम्हाल्नुपर्‍यो नि । एकता जोगाउनुपर्‍यो, त्यसपछि नेतृत्व परिवर्तनको उपयुक्त समय आउँछ । त्यसबेला को हुने भन्ने हुन्छ ।

वेदुराम भुसाल : यो प्रशंग मोड्ने कुरा मात्रै हो । युवालाई दिने चाहना हो भने पहिले छाडे भयो नि । पहिले छोड्नुपर्‍यो नि । त्यसपछि कसले नेतृत्व गर्ने भन्ने त कार्यकर्ताले चयन गर्छ । महाधिवेशनले आफ्नो पार्टीको नेतृत्व चयन गर्ने हो । कुनै व्यक्ति विशेषको चाहनाले मात्रै नेता बन्ने होइन ।

पार्टी नेतृत्व निजी विषय होइन । नेकपाको समस्या नै व्यक्तिवादी सोच हो । सारा मेरो हो, मैले दिने र लिने हो भन्ने मूल समस्या हो । जिम्मेवारी निर्वाह गर्न नसक्नेलाई पार्टीले हटाउन सक्छ र उचित पात्रलाई ल्याउन सक्छ ।

अहिलेको प्रस्ताव कसैलाई दिन होइन, म कसैलाई छोडिद्नँ भनेको मात्रै हो । यसको कुनै अर्थ छैन ।

लास्टमा ओलीले छाड्दैनन् !

झापा आन्दोलनका अगुवा एवं पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीको दाबीलाई पत्याउने हो भने केपी ओलीले आगामी महाधिवेशनमा आफैं अध्यक्षको दाबी गर्नेछन् । र, अर्को चुनावपछि प्रधानमन्त्रीमा पनि उनले दाबी गर्ने सम्भावना छ ।

मैनाली भन्छन्, ‘लास्टमा हेरिराख्नुहोला, महाधिवेशनमा केपी ओली कार्यकर्ताले आग्रह गरिहाले भन्दै आफैं अध्यक्षमा उठ्छन् । र, स्वास्थ्यले साथ दिइरह्यो भने अर्कोचोटि प्रधानमन्त्री पनि बन्छन् ।’

हुन पनि, पूर्वसहकर्मी मैनालीको दाबीलाई बल पुग्ने गरी अन्नपूर्ण पोष्टको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले त्यो सम्भावनाप्रति संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सोधिएको छ, ‘तपाईंले नेतृत्व छाड्ने कुरा अन्तरमनबाटै भन्नुभएको हो ?’ र, जवाफमा उनले भनेका छन, ‘मैले यसअघि नै छाड्ने ईच्छा व्यक्त गरेको थिएँ । परिस्थितिले गर्दा नेतृत्व गर्नुपर्‍यो ।’

प्रधानमन्त्री ओलीलाई फेरि सोधिएको छ, ‘फेरि पनि परिस्थितिले या भनौं, कथाले माग्यो भने के गर्नुहुन्छ ?’

जवाफमा उनले भनेका छन्, ‘कस्तो भइदिन्छ भने कहिले-कहिले परिस्थितिले आˆनो ईच्छाविपरीत पनि यस्ता प्रश्नहरूमा समूहका निर्णयहरू मान्नुपर्ने हुन्छ । समूहभन्दा पृथक म स्वतन्त्र मानव हुँ, स्वतन्त्र ढंगले चल्छु भन्ने हाम्रोजस्तो पृष्ठभूमि भएका मान्छेलाई कहिलेकाहीँ अधिकार हुँदैन । कहिलेकाहीँ समूहको, समग्रको र राष्ट्रको हित हेर्नुपर्छ । सामूहिक निर्णयलाई स्वीकार गरिदिनुपर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस नेकपामा चालको तेस्रो नियम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment