Comments Add Comment

चक्रपथ विस्तार गर्दा स्वयम्भूको कति क्षेत्र मिचिन्छ ?

१५ मंसिर, काठमाडौं । चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका क्रममा स्वयम्भू क्षेत्रभित्रका केही संरचना हटाउनपर्ने भएको छ । यसलाई सम्पदा प्रेमीहरुले ‘विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना’ भनेका छन् ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रको सीमा छुट्याउने स्तम्भ, हातले घुमाउने माने, हजार मूर्तिसहतिको स्तुप (साङ्गे तोङ्कु) भत्काउने तयारी गरेपछि स्थानीयले विरोध थालेका छन् ।

विरोध चर्किन थालेपछि सडक विभाग र विभाग मातहतको काठमाडौं चक्रपथ विस्तार आयोजनालाई संकट परेको छ । विवाद समाधान गर्न प्रयास गरेपनि विभाग सफल भएको छैन ।

चक्रपथको यो खण्ड चीन सरकारको सहयोगमा विस्तार हुँदैछ । यसका लागि चीन आफैंले ठेकदार पठाउने तय छ । शतप्रतिशत ‘साइट क्लियर’ नभई ठेकेदार नआउने चीनले स्पष्ट गरेको छ । रुख काट्ने, पोल सार्ने लगायतका काम सकेको विभागलाई स्वम्यभू क्षेत्रको संरचना हटाउने काम फलामको चिउरा बनेको छ ।

के–के भत्किन्छन् ?

सडक विभाग अन्तरगतको चक्रपथ विस्तार आयोजनाका अनुसार चक्रपथबाट दायाँ–बायाँ ३१–३१ मिटर सडकको ‘राइट अफ वे’ हो । विभागले २०३१÷०३२ सालमै चक्रपथको दुबैतर्फ २५–२५ मिटरको ‘राइट अफ वे’ तोकेको थियो ।

२०४८ सालमा सरकारले मुख्य सडकमा थप ६ मिटरको ‘सेट ब्याक’ पनि तोक्यो । सेट ब्याक क्षेत्रभित्र संरचना बनाउन निषेध गरिएको थियो । तर, ०५६/५७ सालपछि स्वयम्भू डाँडातर्फको भागमा सडक क्षेत्रभित्र विभिन्न धार्मिक संरचना थपिए ।

त्यसक्रममा हजार बुद्धसहितको ७५ फिट अग्लो नमूना बौधि चैत्य बनेको चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवाल बताउँछन् । सडक विभागसँग छलफल नगरी ती संरचना बनाइएको उनको भनाइ छ ।

पहिलो २५ मिटरलाई आधार मान्दा सो संरचनाले १.१५ मिटर सडक मिचेको देखिन्छ । त्यसमा ६ मिटर सेट ब्याक जोड्ने हो ७.८५ मिटरभित्रका संरचना भत्काउनुपर्छ । सडक विभागले अतिक्रमित क्षेत्र मानेर ७.८५ मिटर नै खाली गर्न खोजेको छ । ७.८५ मिटर खाली पार्दा हजार मूर्तिसहितको स्तुप पुरै हटाउनुपर्छ ।

स्वम्यभू डाँडाको अर्को साइडमा पनि विवाद छ । त्यहाँ बनाइएको गुम्बाको पर्खालले ३१ मिटरभित्र १ं.५ मिटर मिचेको छ ।

सम्पदाप्रेमीको विरोध

सरकारले स्वयम्भू क्षेत्रको विवाद समाधान गर्न काठमाडौं महानगरपालिकाको साथ खोजेको छ । तर, सम्पदाप्रेमी र स्थानीयबासीले ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ नै गठन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

सडक विस्तारका लागि विश्वसम्पदामा सूचीकृत क्षेत्रमा अतिक्रमण हुन लागेकाले सरकारलाई घच्घचाउन अभियान थालिएको बताउँछन् संयोजक आचार्य नुर्बु शेर्पा । विरोध होइन, सरकारलाई अनुरोध गर्न यो अभियान थालेको उनले बताए ।

‘युनेस्कोले विश्व सम्पदा क्षेत्र भनेर तोकेको सीमाभित्रका संरचना हटाएर सडक विस्तार गर्न हुँदैन, यसले स्वयम्भू विश्व सम्पदा क्षेत्रबाट बाहिरिने जोखिम हुन्छ,’ उनले भने ।

२०५७ सालमा पुरातत्व विभागसहित विभिन्न सरकारी निकायसँग अनुमति लिएरै यि संरचना बनाइएको उनको दावी छ । ‘विकासको विरोध गरेका होइनौं,’ उनले भने, ‘तर धार्मिक आस्थाको केन्द्रमै दख्खल र विश्व सम्पदा क्षेत्रलाई असर पुर्‍याउने गरी सडक बन्न हुँदैन ।’

आयोजना प्रमुख सुवाल स्वयम्भू क्षेत्रका स्थानीय र सम्पदाप्रेमीलाई साथ लिएर काम अघि बढ्ने बताउँछन् । तथ्यमा आधारित भएर सडक विस्तार गर्न स्वयम्भू क्षेत्रमा भत्काउनुपर्ने संरचनाबारे अध्ययन र छलफल हुने उनले बताए ।

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि ९८ प्रतिशत ‘साइट क्लियर’ भएको भन्दै उनले स्वम्म्भू क्षेत्रको विवाद र महाराजगञ्ज चोकमा बनेका १९ वटा घरको मुआब्जाको वितरण सकिएपछि निर्माणको काम सुरु हुने बताए ।

‘महाराजगञ्जमा अधिग्रहण गर्नुपर्ने १९ घर रहेको जमिनको मुआब्जा तोक्ने काम अन्तिम चरणमा छ,’ आयोजना प्रमुख सुवाल भन्छन्, ‘भत्काउनुपर्ने भवनको मूल्याकंन शहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

दुलही केकी

Advertisment