Comments Add Comment
पार्टी एकता, नेपाली क्रान्ति र नेकपाको कार्यभार–२ :

हाम्रो विचारधारात्मक एवं राजनीतिक कार्यदिशा

कुनै पनि राजनीतिक पार्टीको लक्ष, उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण उसको विचारधारात्मक एवं राजनीतिक कार्यदिशाले निर्धारण गर्दछ । “कार्यदिशा सही हुनु र नहुनुले नै अन्ततः सबै कुराको फैसला गर्दछ ।’’ स्पष्ट छ, हाम्रो पार्टीको सम्बन्धमा पनि यही कुरा सत्य हो ।

विसं.२००६ सालमा स्थापित पार्टीको सामन्तवादविरोधी जनवादी वा लोकतान्त्रिक क्रान्तिको कार्यदिशा २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलन र २०७२ को संविधान घोषणासम्म आउँदा कार्यान्वयन भइसकेकाले त्यसपछि हामी नयाँ कार्यदिशाको आलोकमा अघि बढ्ने प्रकृयामा छौँ ।

नयाँ कार्यदिशाको पूर्ण स्पष्टता, संश्लेषण एवं विकासको कार्यभार हामी मूलतः आगामी एकता राष्ट्रिय महाधिवेशनबाट पूरा गर्नेछौँ । त्यसबेलासम्मका लागि हामीले अन्तरिम कार्यदिशा तय गरेका छौँ र अन्तरिम राजनीतिक प्रतिवेदनमार्फत त्यसलाई प्रस्तुत गरेका छौँ । अन्तरिम कार्यदिशा भनिए पनि त्यसको कतिपय पक्षले हाम्रो नयाँ ऐतिहासिक चरणको क्रान्तिको कार्यदिशाको महत्वपूर्ण अन्तरवस्तुका रुपमा लामो समयसम्म दिशानिर्देश गर्नेछ ।

उक्त अन्तरिम कार्यदिशाको मुख्य पक्षलाई यहाँ संक्षेपमा स्पष्ट पार्न प्रयत्न गरिएको छ ।

१. विचारधारात्मक कार्यदिशा :

(क) मार्क्सवाद–लेनिनवाद : हाम्रो पार्टीले मार्क्सवाद– लेनिनवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको छ । यो नै हाम्रो विचारधारात्मक कार्यदिशा हो । यसले मूलतः चार पक्षलाई आत्मसात गर्दछ ।

एक– विश्व दृष्टिकोण र पद्दति : यसको मूल पक्ष विश्व विज्ञान (वल्र्ड आउटलुक र मेथोडोलोजी) हो । यसले प्रकृति र मानव समाज अर्थात जीवन र जगतलाई हेर्ने, बुझ्ने र फेर्ने बैज्ञानिक दृष्टिकोण र पद्दति प्रदान गरेको छ । यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण र भौतिकवादी द्वन्द्ववादको पद्दति हो । यो बैज्ञानिक, सही र क्रान्तिकारी छ ।

मार्क्सवाद–लेनिनवादका कैयौँ महत्वपूर्ण सैद्धान्तिक निष्कर्षहरु पनि छन् । तर मार्क्सदेखि माओसम्मका पुस्तकहरुमा लेखिएका सबै कुराहरु सत्यका प्रमाण होइनन् र ती सबै सिद्धान्तहरु पनि होइनन् । सैद्धान्तिक महत्वका निष्कर्षहरु पनि सदाकालका लागि र सवै समाजका लागि सही भइरहन्छन् भन्ने पनि छैन । त्यसैले मार्क्सवादको केन्द्रीय गुदीतत्व दृष्टिकोण र पद्दति नै हो भन्ने कुरालाई नै गम्भीरताका साथ आत्मसात गर्नु पर्दछ । दृष्टिकोण एवं पद्दतिलाई सही ढंगले ग्रहण गरिएमा मात्र अन्य सैदान्तिक निष्कर्षहरुको अर्थ एवं महत्व रहनेछ र त्यसको सार्थक प्रयोग सम्भव हुनेछ ।

दुई– आलोचनात्मक र क्रान्तिकारी : मार्क्सवाद–लेनिनवादका रुपमा हाम्रो विचारधारा र सिद्धान्तको अर्को मुख्य गुणचरीत्र विशेषता हो, यो आलोचनात्मक र क्रान्तिकारी दुबै छ । एउटा सच्चा मार्क्सवादीले मार्क्सवाद स्वयंलाई पनि आलोचनात्मक दृष्टिले हेर्छ र सत्यको अन्वेशण गर्दै अघि बढ्छ । अन्धविश्वास, अन्धसमर्थन वा अन्धविरोध मार्क्सवाद नभएर मार्क्सवादको शत्रु हो । यो तथ्यबाट सत्य पत्ता लगाउने विधिमा विश्वास गर्दछ । फेरि, वैज्ञानिक र आलोचनात्मक दृष्टिकोणबाट सत्य पत्ता लगाउनु मात्र मार्क्सवादीहरुका लागि पर्याप्त हुँदैन, त्यो सत्यको पक्षमा परिवर्तनको निम्ति हुनुपर्छ । त्यसैले, क्रान्तिकारी तत्व मार्क्सवादको अन्तरनीहित विशेषता हो ।

तीन– पथप्रदर्शक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद पथप्रदर्शक सिद्धान्त हो, यो जडसुत्र होइन । मार्क्सवाद –लेनिनवादका सार्वभौम सिद्धान्तहरुलाई आ–आफ्नो देशको विशिष्टतामा सिर्जनात्मक ढंगले लागु गर्नु पर्दछ । विभिन्न परिस्थिति तथा परिवेशमा यो फरक–फरक ढंगले मौलिकरुपमा लागु हुन्छ । सिद्धान्तलाई देश र कालको सापेक्षताविना यान्त्रिक ढंगले लागु गर्न खोज्नु वा अन्य कुनै मुलुकमा भएको क्रान्तिको अन्धानुकरण गर्न खोज्नु मार्क्सवाद–लेनिनवाद पथप्रदर्शक सिद्धान्त मात्र हो भन्ने आधारभूत मान्त्यताको विरोधी कुरा हुन्छ । त्यसरी क्रान्ति प्रकृया सफलताको दिशामा अघि बढ्नै सक्दैन । यो पथप्रदर्शक सिद्धान्त मात्र हो भन्ने सत्यलाई आत्मसात गर्नुको अर्थ यसको सैद्धान्तिक महत्वका निष्कर्षहरुबाट विचलित हुनु होइन भन्ने बारेमा पनि सजगताको आवश्यकता छ।

चार– विकासवान सिद्धान्त : मार्क्सवाद बैज्ञानिक सिद्धान्त भएकाले यो विकसित हुँदै अघि बढ्छ । त्यसैले लेनिनले जोड दिनुभएको हो, यो पूर्ण सत्य छैन र यो पूर्ण अनुलंघनीय पनि होइन । मार्क्सवादलाई वस्तुगत पक्षको विकास र आत्मगत पक्षको फेरबदलअनुसार अर्थात समग्र परिस्थितिमा आएको परिवर्तनअनुसार परिमार्जन र विकास गर्दै जानु पर्दछ । कतिपय पक्षमा मार्क्सवादको ध्यान गएको छैन भने वा यसले पर्याप्त प्रकाश पारेको छैन भने त्यसलाई विकास गर्नु पर्दछ । कतिपय पक्ष गलत प्रमाणित भएमा त्यसलाई फेर्दै अघि बढ्नु पर्दछ । कतिपय नयाँ परिघटना वा पक्ष बिकास भएको छ भने त्यसलाई सम्वोधन गर्ने गरी विकास गर्नु पर्दछ । त्यसैले मार्क्सवादलाई धर्मसुत्र जस्तो पूर्ण र अनुलंघनीय ठान्नुहुँदैन । यस सन्दर्भमा हामीले यसअघि स्थापित भई पुँजीवादमा पतन भएका समाजवादी क्रान्तिका अनुभवहरुबाट पनि शिक्षा लिनुपर्दछ । त्यसैले आजको मार्क्सवादलाई प्रतिक्रान्तिको शिक्षासहितको मार्क्सवादका रुपमा बुझ्नु पर्दछ ।

मार्क्सवादी वा कम्युनिष्ट आन्दोलनभित्र प्रारम्भदेखि नै जडतावादी वा यान्त्रिकतावादी धाराले यसलाई तोडमरोड एवं विकृत पार्न थालेको देखिएपछि स्वय मार्क्सले ‘मार्क्सवाद’ यही हो भने म ‘मार्क्सवादी’ होइन भन्नुपर्ने विचित्रको स्थिति समेत उत्पन्न भएको थियो । मार्क्स मुख्यत ः यान्त्रिक भौतिकवाद र आर्थिक नियतिवादलाई मार्क्सवादका रुपमा लिने गलत प्रवृतिका विरुध्द्ध संघर्ष गर्नुपर्ने महत्वलाई बोध गराउन यसरुपमा प्रस्तुत हुनु भएको थियो ।

हाम्रो पार्टी र आन्दोलनमा एकातिर मार्क्सवादको उच्चारण गर्न पनि नरुचाउने प्रवृत्ति गम्भीररुपमा देखा पर्दैछ भने अर्कोतिर मार्क्सवादलाई गैरमार्क्सवादी ढंगले बुझ्ने यान्त्रिक, संकीर्ण एवं जड प्रवृत्ति पनि विद्यमान छ । हाम्रो विचारधारात्मक कार्यदिशाले मार्क्सवाद– लेनिनवादलाई वैज्ञानिक एवं क्रान्तिकारी जीवन दृष्टिकोण, सिद्धान्त र मुल्यका रुपमा आत्मसात गर्न र सामाजिक क्रान्ति एवं स्वरुपान्तरणका निम्ति यसलाई सिर्जनात्मकरुपमा प्रयोग गर्न दिशानिर्देश गरेको छ।

(ख) मतभेद स्थगन : हाम्रो पार्टीले मार्क्सवाद–लेनिनवादलाई विचारधारात्मक कार्यदिशाको रुपमा ग्रहण गर्ने क्रममा पूर्वपार्टीहरुले फरक–फरक रुपमा अंगीकार गर्दै आएको “माओवाद’’ “एक्काइसौँ शताब्दीको जनवाद’’ र “जनताको बहुदलीय जनवाद’’ लाई हालका लागि स्थगित गरेको छ । एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने क्रममा नै यसबारेमा व्यवस्थित बहस शुरु गरिनेछ र महाधिवेशनबाट उचित संश्लेषणसहित एउटा निष्कर्ष निकालिनेछ ।

यस सम्बन्धमा राजनीतिक प्रतिवेदनमा भनिएको छ, “नेकपा (एमाले) ले अवलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने. क. पा. (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको ‘माओवाद’ र ‘एक्काइसौँ शताब्दीको जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ । (राजनीतिक प्रतिवेदन पृ. ४२)

यी विषयहरुलाई छलफल, बहस गर्दा र निष्कर्ष निकाल्दा कुनै अमूक पूर्वपार्टीका नेता वा कार्यकर्ताका रुपमा नभएर एकीकृत नेपाल कम्युनिष्ट पार्टीको निष्ठावान सदस्यका रुपमा सत्यलाई आत्मसात एवं स्थापित गर्ने कोणबाट अभिप्रेरित हुनुपर्दछ ।

(ग) जबज र एसजको साझा अन्तरवस्तु ग्रहण : ‘जनताको बहुदलीय जनवाद’ (जबज) वा ‘एक्काइसौँ शताब्दीको जनवाद’ (एशज) र ‘माओवाद’लाई अन्तरिम कार्यदिशामा समावेश नगरी पछि छलफल, बहस एवं निष्कर्ष निकाल्ने गरी थाती राख्नुको अर्थ तिनीहरुमा अन्तर्निहित अन्तरवस्तुलाई हाम्रो वर्तमान कार्यदिशाले विल्कुल ग्रहण नगरेको हो त ? त्यस्तो होइन । त्यसका महत्वपूर्ण साझा अन्तरवस्तुलाई अहिलेदेखि नै पार्टीको विचारधारात्मक कार्यदिशाले गम्भीरतापूर्वक आत्मसात गरेको छ । ‘‘नेकपा (एमाले) ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र नेकपा (माओवादी केन्द्र) को पनि शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता हासिल गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट पारिएको छ ।’’ (राजनीतिक प्रतिवेदन पृ. ४२)

त्यसमध्ये “जबज’’ र “एशज’’ को मुख्य चर्चा हुने गरेको छ । क. मदन भण्डारीले तत्कालीन नेकपा (एमाले) को पाचौँ महाधिवेशनमार्फत प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ र क.प्रचण्डले तात्कालीन नेकपा (माओवादी) मा छलफलका लागि प्रस्तुत गर्नुभएको ‘२१औँ शताब्दीमा जनवादको बिकासबारे’ प्रस्तावको उठान सन्दर्भ एउटै छ । तात्कालीन नेकपा (एकता केन्द्र) ले पारित गरेको ‘अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन र प्रतिक्रान्तिका शिक्षाहरु’ भन्ने दस्तावेजको सन्दर्भ पनि उही हो । अर्थात यी विषय सोभियत संघलगायत पूर्वी युरोपीय मुलुकहरुमा पहिले स्थापित समाजवादी सत्ता एवं समाजवाद पूँजीवादमा पतन भएका कारणको पहिचान गर्ने र समाधानको उपाय खोजी गर्ने क्रममा अगाडि आएका हुन् । सबै प्रस्तावको सारतत्व हो– त्यतिबेला सत्ता सञ्चालन गरिरहेका कम्युनिष्ट पार्टी र सत्ता संरचना तथा त्यसको सञ्चालनमा देखिएका आत्मगत कमजोरीहरुले पुँजीवादी प्रतिक्रान्तिका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ । त्यो जनवाद वा लोकतन्त्रको अभ्यासमा रहेको कमजोरी हो । ती कमजोरीहरुलाई नसच्याई मार्क्सवाद, कम्युनिष्ट आन्दोलन र क्रान्तिलाई सही ढंगले अघि बढाउन सम्भव छैन । त्यस अवस्थामा या त क्रान्ति नै सम्भव हुनेछैन, या प्रतिक्रान्तिका लागि क्रान्ति गर्ने जस्तो विडम्बनापूर्ण स्थिति पैदा हुनेछ ।

जोडकोण एवं प्रस्तुतिमा केही अन्तर भए पनि ‘जबज’ लगायत सबैको निचोड एउटै छ–पहिलेका समाजवादी मुलुकहरुमा भित्री पार्टी जनवादको अभ्यास, आम जनसमुदायमा जनवादी अधिकारको प्रयोग र सत्ता सञ्चालनमा सर्वहारा श्रमजीवी वर्गलगायत आम जनसमुदायको संस्थागत प्रतिनिधित्व एवं सहभागिता जस्ता पक्षहरुमा गम्भीर कमजोरी रहे । अझ मुख्यत: सत्ता सञ्चालनमा आम जनताको संस्थागत प्रतिनिधित्व र सहभागिता शुन्यप्रायः रहयो । जब कि लेनिनले यसैका निम्ति ‘सोभियत सत्ता’ को अवधारणा अघि सार्नुभएको थियो । त्यो अवाधारणा थियो– पार्टी नै राज्यसत्ता होइन र पार्टीले नै प्रत्यक्ष सत्ता सञ्चालन गर्ने होइन । जनताले चुनेका (जनताले चाहेमा पछि फिर्ता बोलाउन सक्ने अधिकारसहित) प्रतिनिधिको संस्था ‘सोभियत’ ले सत्ता चलाउने र कम्युनिष्ट पार्टीले नेतृत्व र मार्गनिर्देशन गर्ने । त्यस्तो ‘सत्ता’ लाई ‘सोभियत सत्ता’ भनिएको थियो ।

तर, लेनिनले त्यो प्रयोगको नेतृत्व गर्न पाउनुभएन र अन्ततः ‘सोभियत’ ‘कठपुतली सोभियत’ मा परिणत भयो । सत्ता सञ्चालनमा सम्पूर्णरुपमा कम्युनिष्ट पार्टी नै प्रत्यक्षरुपमा हावी भयो । यो नै गतकालमा समाजवादी सत्ताहरुको पराजयको मुख्य आत्मगत कारण रहयो । त्यसका साथै कम्युनिष्ट पार्टीभित्र वास्तविक व्यवहारमा भित्री पार्टी जनवादको अभ्यास अत्यन्त कमजोर रह्यो । आलोचनात्मक चेत, स्वतन्त्र छलफल, बहस, क्रान्ति केन्द्रित विवाद, अन्तरविरोध एवं रुपान्तरणकारी अन्तरसंघर्षलाई पूरै निरुत्साहित गरियो । करिब निषेधको तहमा पुर्‍याइयो । नेता नै सर्वेसर्वा र आम कार्यकर्ता तथा पार्टी पंक्ति ‘यस म्यान’ भए । त्यसको परिणामस्वरुप पार्टीलाई विचलनबाट बचाउन र क्रान्तिकारी बनाइराख्न आम पार्टी पंक्तिको भूमिका देखिएन । पार्टीको वैचारिक सांस्कृतिक स्खलन एवं पुँजीवादीकरणका कारणबाट सत्ता र समाजवाद पतनको बाटोमा जाँदा त्यसलाई जोगाउन आम जनताको सकृय भूमिका पनि देखा परेन ।

यसरी मूलतः राज्यसत्ता सञ्चालनमा आम जनताको संस्थागत प्रतिनिधित्व तथा सहभागिताको अभाव र कम्युनिष्ट पार्टीको नोकरशाही केन्द्रीकरण तथा विचलन नै समाजवादी सत्ताहरुको पराजयको मुख्य आत्मगत कारण रहयो । यसलाई सच्याएर मात्र कम्युनिष्टहरुले अबको क्रान्ति प्रकृयाको नेतृत्व गर्न र सफलता हासिल गर्न सक्नेछन । यो नै ‘जबज’ र ‘एशज’मा अन्तर्निहित साझा निष्कर्ष हो । यो असाधारण महत्वको निष्कर्ष हो र हाम्रो पार्टीको कार्यदिशाले यसलाई आत्मसात गरेको छ । यस क्रममा बहुदलीय प्रतिस्पर्धामै जानुपर्ने निष्कर्ष भने क मदन भण्डारीले नै जोडका साथ अघि सार्नु भएको हो ।

तर, उपरोक्त गम्भीर निष्कर्षहरुलाई पार्टीभित्र र राज्य संरचनाको चुनावमा भाग लिने अर्थमा मात्र गिराउनु ‘जबज’, ‘एशज’ वा प्रतिक्रान्तिको शिक्षाका बारेमा हामीले निकालेको निष्कर्षको चरम अवमूल्यन एवं भ्रष्टीकरण हो । हामीले यसलाई पार्टीमा भित्री जनवाद, आम जनसमुदायको क्षेत्रमा जनवाद र सत्ता सञ्चालनमा आम जनताको वास्तविक प्रतिनिधित्व एवं सहभागिताको संस्थागत प्रणालिको सुनिश्चिततासहित क्रान्तिकारी कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवाद निर्माणको अभियानसँग जोडेर बुझ्नुपर्छ ।

‘जबज’ र ‘एशज’ को उपरोक्त साझा अन्तरवस्तुलाई हाम्रो कार्यदिशाले महत्वकासाथ आत्मसात गरिसकेको अवस्थामा यस सम्बन्धमा बाँकी छलफल, बहस वा मतभेद के हो त ? हामीले गर्नुपर्ने बहस हो, आजको नेपाली क्रान्तिको कार्यक्रमसँग यसको सम्बन्ध के हो ? (अर्थात के ‘जबज’ आजको चरणको क्रान्तिको कार्यक्रम हुन सक्छ ? ‘एशज’ त कुनै खास ऐतिहासिक चरणको क्रान्तिको कार्यक्रमको रुपमा प्रस्तुत गरिएको नै होइन) र प्रतिक्रान्तिका कारणहरुलाई सच्च्याउँदै नयाँ ढंगले क्रान्ति अघि बढाउनेसम्बन्धी अन्तरवस्तुको कुनरुपमा सैद्धान्तीकरण गर्ने ? यसबारेमा राष्ट्रिय महाधिवेशनमा समग्रतामा नै छलफल गरी उपयुक्त निष्कर्ष निकालिने छ ।

(घ) वैचारिक कार्यदिशाको विकास : पार्टीले विश्व वस्तुगत जगतमा देखा परेको नयाँ यथार्थ र कम्युनिष्ट आन्दोलन एवं क्रान्तिका अनुभवहरुको आत्मगत पक्षलाई सम्बोधन गर्ने गरी विचारधारात्मक कार्यदिशालाई अझ समृद्ध तथा विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । यस सन्दर्भमा राजनैतिक प्रतिवेदनमा भनिएको छ “विश्वमा बिकास भएका नयाँ वस्तुगत पक्षहरु – भूमण्डलीकरण एवं भूमण्डलीकृत पुँजीवाद, सूचना प्रविधिको असामान्य एवं अभूतपूर्व विकास र उत्पादन प्रविधिमा देखापरेका नयाँ आयाम– लाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुमा भएको प्रतिक्रान्तिबाट शिक्षा लिनु पनि जरुरी छ । यसअघि स्थापित अधिकांश समाजवादी सत्ताहरुको अवसानका पछाडि कम्युनिष्ट पार्टीहरुको के–कस्ता नीति, योजना, कार्यक्रम, आचरण र कमजोरीहरुले काम गरेका छन्, त्यसलाई संश्लेषण गरेर सच्याउने प्रकृयामा अघि बढ्न आवश्यक छ । त्यसलाई आत्मसात् गरेर हामी नयाँ निश्कर्षका साथ अघि बढि पनि रहेका छौँ । त्यसबारेमा थप अध्ययन र संश्लेषण अपेक्षित छ । उपर्युक्त वस्तुगत र आत्मगत पक्षहरुलाई सम्बोधन र समाधान गर्ने गरी गहन अध्ययन, अनुसन्धान, छलफल, बहस विश्लेषण र संश्लेषणद्वारा मार्क्सवाद र विचारको विकास गर्नु समाजवाद निर्माणको सन्दर्भमा अबको हाम्रो एक मुख्य वैचारिक कार्यभार हुनेछ ।’’ (राजनीतिक प्रतिवेदन पृ. २१)

२. राजनीतिक कार्यदिशा

कुनै पनि क्रान्तिकारी पार्टीका लागि सही राजनीतिक कार्यदिशा उसको सफलताका लागि अनिवार्य शर्त हो । किनकि राजनीतिक कार्यदिशाले उद्देश्य, लक्ष, कार्यक्रमको निर्धारण गर्दछ । त्यसलाई हासिल गर्न संगठन एवं संघर्षका आवश्यक रुपहरुसहित रणनीति तथा कार्यनीति तय गर्दछ र समग्र राजनीतिक आचरणलाई दिशा निर्देश गर्दछ । रणनीतिक लक्ष एवं कार्यक्रम र रणनीतिको कुल योग नै आम राजनीतिक कार्यदिशा हो । त्यस्तो राजनीतिक कार्यदिशाको निर्धारणका लागि हामीले माथि चर्चा गरेको विचारधारात्मक कार्यदिशाले पथ प्रदर्शन गर्दछ । तर, त्यसका लागि निर्णायक मुख्य पक्ष भने सम्बन्धित समाजको ऐतिहासिक विकासको चरण र राज्य एवं सामाजिक आर्थिक संरचनाको चरित्र हुन्छ । हाम्रो पार्टीले मार्क्सवाद–लेनिनवादको पथप्रदर्शनमा नेपाली समाजको आजको ऐतिहासिक चरण र सामाजिक आर्थिक संरचना तथा अन्तरविरोधलाई अगाडि राखेर राजनीतिक कार्यदिशा तय गरेको छ । राजनीतिक कार्यदिशाको आधार र अन्तरवस्तु निम्नानुसार रहेका छन् ।

(क) जनवादी क्रान्ति सम्पन्न : नेपालमा सामन्तवाद र सामन्ती निरंकुशतन्त्र विरोधी (सामन्तवादलाई रक्षा गर्न वा टिकाउन भूमिका खेल्ने साम्राज्यवादी– विस्तारवादी उत्पीडन विरोधीसमेत) पुँजीवादी जनवादी क्रान्ति (लोकतान्त्रिक क्रान्ति) सम्पन्न भइसकेको छ । नेपाली कम्युनिष्ट शक्तिको मूल नेतृत्वमा जनयुद्धसँगको संयोजनमा भएको २०६२/२०६३ सालको ऐतिहासिक जनआन्दोलनको सफलता र २०७२ सालमा संविधानसभाबाट नयाँ संविधानको घोषणासँगै लोकतान्त्रिक क्रान्तिले पूर्णता पाएको छ । जनवादी क्रान्तिको परिणामस्वरुप संविधानतः राजनीतिक प्रणालीका रुपमा बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र र क्रान्तिको सामाजिक सारतत्वको हिसाबले समाजवाद उन्मुख समावेशी लोकतन्त्र स्थापित भएको छ । हाम्रो पार्टीले यसलाई समाजवाद उन्मुख जनताको जनवादका रुपमा परिभाषित गरेको छ ।

(ख) पुँजीवादी समाज : नेपाली समाज अहिले पुँजीवादी चरणमा छ । यद्यपि नेपालमा राष्ट्रिय पुँजी अझै सशक्त भइसकेको छैन । दलाल पुँजीवाद (संशयकारी नोकरशाही पुँजीवादसहित) बलशाली भूमिकामा छ । तर, स्पष्ट छ, नेपाली समाजको मूल प्रवृत्ति पुँजीवाद हो ।

(ग) समाजवादी क्रान्तिको आम कार्यदिशा : नेपाली क्रान्ति पुँजीवादविरोधी समाजवादी क्रान्तिको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको छ । हाम्रो क्रान्तिको रणनीतिक लक्ष समाजवाद हो । आधारभुत कार्यक्रम समाजवादी कार्यक्रम हो र रणनीति समाजवाद निर्माण गर्नु वा समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । त्यसैले नेपाली क्रान्तिको आम राजनीतिक कार्यदिशा (जनरल पोलिटिकल लाइन) कम्युनिष्ट शक्तिको नेतृत्वमा पुँजीवाद विरोधी समाजवादी क्रान्ति सम्पन्न गर्नु हो । (राजनीतिक प्रतिवेदन पृ. १८–२०)

(घ) समाजवादउन्मुख जनताको जनवाद– कार्यनीतिक कार्यदशा : समाजवादी क्रान्तिको आम कार्यदिशाले समाजवाद निर्माणलाई केन्द्र भागमा राखेको कुरा स्पष्ट छ । तर, राज्य र समाजको पूर्ण समाजवादी रुपान्तरण तत्काल सम्भव नभएकाले पार्टीले मूल राजनीतिक कार्यनीति वा तात्कालिक विशिष्ट वा कार्यनीतिक कार्यदिशाका रुपमा समाजवादउन्मुख जनताको जनवादलाई प्रस्तुत गरेको छ । राजनीतिक प्रतिवेदनले स्पष्ट भनेको छ, “समाजवादउन्मुख राष्ट्रिय पुँजीको विकास र सामाजिक न्याय सहितको समृद्धि हाम्रो तात्कालिक दिशा, कार्यभार र लक्ष हुनेछ । अझ ठोसरुपमा भन्ने हो भने संविधानको कार्यन्वयन र विकास, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत सरकार निर्माण, राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मूल राजनीतिक कार्यनीति हो । (राजनीतिक प्रतिवेदन पृ. २३)

यस सन्दर्भमा केही कुरामा स्पष्टताको आवश्यकता छ । कार्यदिशालाई छ्यासमिस गरेर नबुझौँ । हाम्रो मूल राजनीतिक कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा नै हो । समाजवाद उन्मुख जनताको जनवाद उक्त मूल कार्यदिशालाई सेवा गर्ने कार्यनीतिक कार्यदिशा हो । समाजवादी क्रान्तिको हाम्रो कार्यदिशाले सम्भव भएसम्म समाजवादी कार्यक्रमको अन्तरवस्तु अहिलेदेखि नै लागु गर्न निर्देश गर्दछ । त्यसैले समाजवादउन्मुख जनताको जनवादलाई तात्कालिक कार्यदिशा बनाउनुको अर्थ अहिले सम्भव समाजवादी कार्यक्रम पनि लागु नगर्ने भनिएको होइन । तर, नेपाली समाजको उत्पादक शक्तिको विकासको स्तर आज जहाँ छ, त्यसले के निर्देश गर्दछ भने राज्य र समाजको चरित्रमा गुणात्मक रुपान्तरण गरी समाजवादी समाज तत्कालै निर्माण गर्ने स्तरको पूर्ण समाजवादी कार्यक्रम अहिले नै लागु गर्न सकिने स्थिति भने बनिसकेको छैन । समाजवादी कार्यक्रम लागु गर्दै जाने भन्नु र समाजवादमै गुणात्मकरुपले फडको मार्नु एउटै कुरा होइन । सम्भव समाजवादी कार्यक्रम लागु गर्दै राष्ट्रिय औद्योगीकरण, राष्ट्रिय पुँजीको विकास र सामाजिक न्यायसहितको समृद्धिले समाजलाई समग्रमा समाजवाद उन्मुख बनाउँछ र अन्ततः समाजवादी फडकोको विन्दुमा पुर्‍याउने आधार तयार पार्दछ । समाजवाद उन्मुख जनताको जनवादका नाममा अहिले सम्भव समाजवादी कार्यक्रम पनि लागु नगर्ने र अझ अहिलेको समृद्धिको तात्कालिक लक्षलाई समाजवादसँग पूर्णरुपमा अलग एवं स्वतन्त्र गराउने सोच गलत तथा घातक हुन्छ । किनकि भूमण्डलीकृत साम्राज्यवादको आजको युगमा समाजवादउन्मुख दिशामा अभिमुखीकरण नगरी राष्ट्रिय पुँजीको पनि विकास सम्भव हुँदैन । त्यसका साथै समाजवादी क्रान्तिको कार्यदिशाको अवलम्वन र संभव समाजवादी कार्यक्रम लागु गर्दै जाने नीतिको अर्थ तत्कालै अनिवार्यतः समाजवादमा गुणात्मक फडको मार्ने भनिएको होइन र त्यो सम्भव पनि छैन भन्ने कुरालाई पनि बुझ्नुपर्छ ।

चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि शुरुदेखि नै सम्भव समाजवादी कार्यक्रम लागु गर्दै जाने प्रक्रिया थालियो । त्यहाँ त्यसो नगरी पुँजीवादलाई नै सुदृढ गरेर जानुपर्दछ भन्ने पक्ष पनि पार्टीभित्र थियो । तर त्यसलाई अस्वीकार गरी समाजवादी कार्यक्रमका अन्तरवस्तुलाई पनि क्रमशः लागु गर्दै लगियो र अन्ततः सन् १९५६ मा समाजवादी संक्रमण पूरा गरियो । यसरी सन् १९४९ बाट नै सम्भव समाजवादी कार्यक्रम लागु गर्दै लगियो र सन् १९५६ मा समाजवादमा गुणात्मक फड्को आधारभूतरुपले पूरा भयो । न सन् १९४९ देखि समाजवादको कार्यक्रम लागु गर्न रोकियो, न सन् १९५६ को गुणत्मक फड्कोमा नपुगी चीन समाजवादी नै बन्यो । यो सन्दर्भले हाम्रो समाजवादी क्रान्तिको कार्यदिशाको संक्रमणकालीन प्रक्रियासम्बन्धी उपरोक्त समझदारीलाई बुझ्न सहयोग पुर्‍याउन सक्नेछ ।

समानान्तर कार्यदिशा होइन : अन्तरिम राजनीतिक प्रतिवेदनले मूल कार्यनीति वा तात्कालीन कार्यनीतिक कार्यदिशाका रुपमा समाजवादउन्मुख जनताको जनवाद प्रस्तुत गरेकोमा त्यसले दुई समानान्तर कार्यदिशाजस्तो रूप लिन गई समाजवादी क्रान्तिको मूल कार्यदिशालाई ओझेलमा पार्ने काम गरेको छ र पार्टीको कार्यदिशाका बारेमा नै अन्योल एवं भ्रम उत्पन्न गरेको छ भन्ने तर्कसहितको वहश पनि हाम्रो पार्टीभित्र उठेको छ । यो तर्क र बहस निश्चय नै अर्थपूर्ण एवं सान्दर्भिक छ । त्यसैले मूल कार्यनीति वा तात्कालिक कार्यदिशालाई सरलरुपमा समाजवाद उन्मुख समृद्धि मात्र भने हुन्छ । यसबारेमा राष्ट्रिय महाधिवेशनमा निर्णय लिनु उपयुक्त हुनेछ ।

अधिकतम र न्यूनतम कार्यक्रम हुँदैन : कतिपयले समाजवादी क्रान्तिको आम राजनीतिक कार्यदिशा र समाजवाद उन्मुख जनताको जनवादको तात्कालिक कार्यनीतिक कार्यदिशालाई गलत ढंगले लिई समाजवादलाई अधिकतम कार्यक्रम र जनताको जनवादलाई न्यूनतम कार्यक्रमका रुपमा व्याख्या गर्ने गरेको पनि पाइन्छ । हाम्रो पार्टीको अन्तरिम विधानमासमेत शुरुमा यसरी राखिएको थियो । पछि स्थायी कमिटीले यसलाई हाम्रो कार्यदिशासँग मेल नखाने ठहर गर्दै सच्यायो र पार्टी विधानबाट त्यसलाई हटायो ।

के कुरामा स्पष्टताको आवश्यकता छ भने अधिकतम र न्यूनतम कार्यक्रम समाजको फरक–फरक ऐतिहासिक चरणको रणनीति र आधारभुत कार्यक्रमसँग सम्बन्धित रहन्छ । सामन्तवादविरोधी क्रान्ति सम्पन्न भई नसकेको समाजमा जनताको जनवाद क्रान्तिको आधारभूत कार्यक्रम र रणनीति हुन्छ । त्यस्तो समाजको निम्ति समाजवाद अधिकतम कार्यक्रम र जनताको जनवाद न्यूनतम कार्यक्रम हुन्छ । तर, हाम्रो समाजको क्रान्तिको आधारभूत कार्यक्रम र रणनीति समाजवाद भइसकेकाले यो सँगसँगै समानान्तररुपमा क्रान्तिको कुनै अर्को रणनीति र आधारभूत कार्यक्रम हुँदैन । त्यसैले नेपाली क्रान्तिको आजको चरणमा क्रान्तिको अधिकतम र न्यूनतम गरी दुई कार्यक्रम हुँदैन ।

(ङ) शान्तिपूर्ण बाटो : हाम्रो कार्यदिशाले शान्तिपूर्ण बाटोलाई क्रान्तिकारी बाटोका रुपमा अंगीकार गरेको छ । “हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिष्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्न चाहन्छौँ ।’’ (राजनीतिक प्रतिवेदन पृ. १९) हाम्रो विशिष्ट सन्दर्भमा त्यो सम्भव रहेको निष्कर्ष निकाल्दै पार्टीले भनेको छ, ‘‘शान्तिपूर्ण प्रतिस्पर्धा एवं शान्तिपूर्ण जनआन्दोलनको बाटोबाट अघि बढ्ने हाम्रो ढृढ चाहना र प्रतिवद्धता छ।’’ (राजनीतिक प्रतिवेदन पृ. १९)

जननेताका रुपमा स्थापित नेपाली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली व्यक्तित्व क. मदन भण्डारीले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्दै गर्दा पनि क्रान्तिकारी फड्कोद्वारा क्रान्ति सम्पन्न गर्नका लागि बल प्रयोगको आवश्यकता र सम्भावनाका बारेमा आफ्नो ‘जबज’ प्रस्तावमार्फत गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो । तर हाम्रो पार्टीले अहिलेको अन्तरिम राजनीतिक प्रतिवेदनमा प्रस्तुत कार्यदिशामा शान्तिपूर्ण बाटोमा नै जोड दिएको छ । यद्यपि हाम्रो कार्यदिशाले क्रान्तिको बाटोको सन्दर्भमा यससम्बन्धी सजगताका बारेमा यतिसम्म ध्यानाकर्षण भने गराएको छ, ‘‘अन्तराष्ट्रिय परिस्थिति, भूमण्डलीकृत साम्राज्यवाद एंव भूराजनीतिक परिवेश र उक्त परिस्थितिजन्य सीमाले हामीलाई सजगता, व्यवहार कुशलता एंव नेतृत्व कुशलताको प्रदर्शन र तदनुरुपको पहल एंव तत्परताका निम्ति तयार हुन निर्देशित गरेको छ ।’’ (राजनीतिक प्रतिवेदन पृ. १९)

(च) संघर्षको रुप : शान्तिपूर्ण बाटोबाट अघि बढ्ने हाम्रो नीतिले बहुदलीय निर्वाचन, संसद र सरकारलाई संघर्ष र कामको मुख्य मोर्चाका रुपमा लिएको छ । त्यस अतिरिक्त जनपरिचालन र जनआन्दोलनमार्फत उत्पीडित वर्ग एवं आम जनसमुदायको हितहरुको पक्षपोषण गरिरहने छौँ र उनीहरुको जायज एवं न्यायपूर्ण आवाजहरुको अगुवाइ गरिरहने छौँ । जनपरिचालन र जनमत निर्माणद्वारा सरकारलाई जनमुखी कार्य गर्ने बातावरण निर्माण गर्नेछौं ।

(छ) समाजवादको मोडेल : हामीले निर्माण गर्ने समाजवाद कस्तो हुने छ ? यसबारेमा पनि हाम्रो कार्यदिशाले मोटो खाका प्रस्तुत गरेको छ । हाम्रो राजनैतिक प्रतिवेदनले भनेको छ,

‘‘पहिलो, कम्युनिष्टहरुको नेतृत्वमा विश्वस्तरमा समाजवादी आन्दोलनको ज्वारभाटा तीब्र बनेपछि त्यसलाई रोक्न पुँजीवादीहरुले पुँजीवादभित्रका सीमित सुधारलाई ‘प्रजातान्त्रिक समाजवाद’ को नारा र आवरणमा प्रस्तुत गरे । यतिबेला त्यो नउवदारवादी पुँजीवादको एउटा अंगका रुपमा निकम्मा र अकर्मण्य बनेको छ । हाम्रो समाजवाद त्यसप्रकारको ‘प्रजातान्त्रिक समाजवाद’ होइन । दोस्रो, हाम्रो समाजवाद सोभियत संघ र त्यसलाई अन्धानुकरण गरेर आमरुपमा पूर्व समाजवादी देशहरुमा लागु गरिएको ‘सोभियत मोडेल’को समाजवाद पनि होइन । त्यसले कतिपय सकारात्मक पक्ष र योगदानका बाबजुद समाजवादलाई एकदलीय राज्य प्रणाली र निजी सम्पत्तिको औपचारिक उन्मूलन, राष्ट्रियकरण तथा राज्य नियन्त्रित समाजवादी आर्थिक प्रणालीका रुपमा सीमित गरी गलत ढंगले प्रस्तुत गर्ने काम गर्‍यो र अन्ततः त्यो आफैँमा अन्तरनिहित कमजोरीका कारण समेतले समाप्त भयो। हामीले निर्माण गर्ने समाजवाद त्यसबाट शिक्षा लिँदै आजको युगका विशेषताहरु समाविष्ट भएको बैज्ञानिक समाजवादको मान्यतामा आधारित नयाँ मोडेलको समाजवाद हुनेछ ।’’ (राजनीतिक प्रतिवेदन पृ. १९–२०)

तर स्पष्ट छ, समाजवादको नयाँ मोडेलको सन्दर्भमा यतिमात्र पर्याप्त हुँदैन । यसको राज्य प्रणाली, अर्थतन्त्र र विकासको ढाँचाका वारेमा थप छलफल र संश्लेषणको आवश्यकता छ ।

अबको समाजवादमा लोकतान्त्रिक अभ्यासलाई सुनिश्चित गरिनेछ । ‘आम जनसमुदायका बीच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यतः संगठन, अभिब्यक्ति, आलोचना वा विरोध र ब्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ । साथै, राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एंव निर्णायक भूमिकालाई सुनिश्चित गरिनेछ । (राजनीतिक प्रतिवेदन पृ.२०) पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाको नीति अवलम्बन गरिनेछ । तर हामीले लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन वहुदलीय चुनावको आजको अवस्थामा नै सिमित नभई यसलाई थप परिमार्जन गर्न र यस अतिरिक्त पुरक अन्य विधि एंव स्वरुपहरुको विकास गर्न पनि ध्यान दिनुपर्ने आवश्यकता छ । अन्यथा हाम्रो लोकतन्त्र औपचारिक लोकतन्त्रमा सिमित हुने र जनताको वास्तविक प्रतिनिधित्व कमजोर हुने स्थिति पैदा हुन सक्नेछ ।

हाम्रो पार्टीले यसतर्फ सजग गराएको छ । ‘‘पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिइनेछ ।’’ (राजनीतिक प्रतिवेदन पृ.२०)

पार्टी एकता गर्दा निर्धारित गरिएको उपरोक्त राजनीतिक कार्यदिशालाई आत्मसात गरी कार्यान्वयन गर्दै अघि बढ्नु आजको आवश्यकता हो। राष्ट्रिय महाधिवेशनबाट यसलाईआजको आवश्यकता अनुसार परिमार्जन र बिकास गरिनेछ ।

३. संगठनात्मक कार्यदिशा

नेपाल कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवी वर्ग, सम्पूर्ण शोषित पीडित समुदाय र आम जनताको हितको प्रतिनिधित्व गर्ने नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टी हो । यो सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो । त्यसैले यो जनआधारित कार्यकर्ता पार्टी हो ।

संगठनात्मक सिद्धान्त–जनवादी केन्द्रीयता : हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो । वास्तविक तथा व्यापक जनवादको जगमा वैचारिक केन्द्रीयता र वैचारिक केन्द्रीयतामा आधारित संगठनात्मक केन्द्रीयता नै जनवादी केन्द्रीयता हो । जनवाद र केन्द्रीयताको अन्तरघुलनबाट मात्र यो कार्यकारी हुन्छ । पार्टी संगठनको मूल आधार वैचारिक केन्द्रीयता हो । वैचारिक केन्द्रीयता व्यापक जनवादी छलफल एवं बहसका वीचबाट पैदा हुन्छ । वैचारिक केन्द्रीयता जति सुढृढ हुँदै जान्छ, पार्टी संगठनको एकता पनि त्यति बलियो हुँदै जान्छ । त्यसैले वैचारिक केन्द्रीयताको पक्षलाई उपेक्षा गरेर जनवादी केन्द्रीयताको वास्तविक अभ्यास हुनै सक्दैन ।

तर, जनवादी केन्द्रीयताले सम्पूर्ण सदस्य (संगठित सदस्य ) पार्टी संगठन मातहत, सम्पूर्ण संगठन तथा सदस्य केन्द्रीय कमिटी मातहत, तल्लो कमिटी माथिल्लो कमिटी मातहत र अल्पमत बहुमत मातहत भन्ने संगठनात्मक केन्द्रीयताका नियमहरुलाई पनि कडाइका साथ पालना गर्ने माग गर्दछ । योविना पनि पार्टी एउटा संगठनका रुपमा टिक्न सक्दैन र परिचालन पनि हुन सक्दैन ।

छलफलको स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता : जनवादी केन्द्रीयताले छलफलको स्वतन्त्रता र काम कार्वाहीमा एकरुपताको माग गर्दछ । आलोचनात्मक चेतका साथ निर्भिकतापूर्वक छलफलमा सहभागी हुने, आफूलाई सही लागेको विचारका पक्षमा तर्कपूर्ण बहस गर्ने, प्रस्ताव पेश गर्ने, अरु कमरेडहरुको विचारमा पनि सत्य वा सत्यको अंश छ कि भनेर खुला तथा ग्रहणशील हुने र अन्ततः पार्टीले जे निर्णय गर्छ, त्यसलाई कार्यान्वयन गर्ने कार्यद्वारा नै जनवादी केन्द्रीयताको अभ्यास हुन सक्छ । त्यसले मात्र स्वतन्त्रता र अनुशाशनलाई सही ढंगले व्यवस्थित र सुनिश्चित गर्न सक्छ ।

यस सम्बन्धमा अर्को एक कुरालाई पनि महत्वका साथ आत्मसात गर्नुपर्दछ : आम नेता, कार्यकर्ता एवं पार्टी पंक्तिको वैचारिक–सांस्कृतिक स्तर र जनवादी केन्द्रीयताको अभ्यास अनिवार्यरुपमा एकअर्कासँग जोडिन्छ । वैचारिक–सांस्कृतिक स्तर उन्नत भयोे भने जनवादी केन्द्रीयताको अभ्यास उच्च प्रकारको हुँदै जान्छ । अन्यथा, जनवादी केन्द्रीयता वास्तविक अर्थमा कार्यकारी हुनै सक्दैन । त्यसले वैचारिक बहसमा निष्कृयता या नेतृत्वको पिछलग्गुपन सिर्जना गर्दछ भने अन्य आम विषयमा निजी स्वार्थ केन्द्रित व्यक्तिवाद र गुटवादमा पुर्‍याउँछ । त्यसबेला सत्य र ठीक कुनै सरोकारको विषय हुन जाँदैन ।

अन्तरविरोध र अन्तरसंघर्ष : जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तले पार्टीभित्रको अन्तरविरोध एवं अन्तरसंघर्षलाई स्वाभाविक प्रकृयाका रुपमा ग्रहण गर्दछ र त्यसलाई पार्टीको विचारको विकास र संगठनात्मक जीवनको सुढृढ एकता एवं गतिशीलताको साधन ठान्दछ । अन्तरविरोध र अन्तर्संघर्षलाई सहजरुपमा स्वीकार्न नसक्ने र शत्रुतापूर्णरुपमा लिने प्रवृत्तिले पार्टी निर्माणलाई सकारात्मक दिशामा अघि बढाउनै सक्दैन । त्यसैले पार्टीभित्रको अन्तरविरोध र अन्तर्संघर्षलाई पार्टीको रुपान्तरण तथा अग्रगतिको औजार ठान्दै मैत्रीपूर्ण ढंगबाट सञ्चालन गर्नु पर्दछ ।

यो पनि त्यत्तिकै सत्य हो कि वैचारिक–सांस्कृतिक स्तर जति उन्नत भयो, त्यति नै जनवादी केन्द्रीयताको अभ्यास प्रभावकारी हुन्छ र अन्तरविरोध तथा अन्तर्संघर्ष पनि मैत्रीपूर्ण, स्वस्थ, सत्योन्मुख एवं रुपान्तरणमुखी हुन्छ । तसर्थ जनवादी केन्द्रीयताको उन्नत अभ्यास र अन्तर्संघर्षको सकारात्मक परिचालन एवं रुपान्तरणमुखी भूमिकाका लागि पार्टीमा वैचारिक–सांस्कृतिक स्तर उन्नत बनाउने अभियान पार्टी जीवनको अभिन्न अंगका रुपमा निरन्तर चलाइरहनुपर्दछ ।

जबसको जालो : जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा सञ्चालित हुने हाम्रो पार्टी संगठनको वरिपरि विभिन्न जनवर्ग संगठन र समुदाय (जबस) लाई प्रतिनिधित्व गर्ने जनवर्गीय, सामुदायिक र पेशागत संगठनको जालो निर्माण गरिने छ । त्यस्तो संगठनहरुलाई सापेक्ष स्वायत्तताको नीतिअन्तर्गत सञ्चालन गरिनेछ र संगठनको प्रकृति हेरी साझा संयुक्त मोर्चा संगठनमा पनि सक्रिय भूमिका खेल्ने नीति लिइने छ ।

लेनिनवादी अवधारणा र विकास : आजसम्मको हाम्रो पार्टी निर्माण र संगठन सञ्चालनसम्बन्धी अवधारणा मूलतः लेनिनले विकास गर्नुभएको उपरोक्त अवधारणा वा लेनिनवादी अवधारणामा आधारित छ । हाम्रो संगठनात्मक कार्यदिशाले त्यसैलाई अंगीकार गरेको छ । आगामी दिनमा पार्टी निर्माणसम्बन्धी अवधारणालाई आजको समग्र परिस्थिति र हाम्रो आफ्नै आन्दोलनको विशेषताअनुरुप विकास गर्ने दिशामा पनि हामीले छलफल, बहस अघि बढाउनुपर्ने आवश्यकता छ । गत कालका प्रतिक्रान्तिका अनुभवहरुले वैचारिक–सांस्कृतिक अभियानलाई पार्टी जीवनको अभिन्न अंग बनाउनुपर्ने र अन्तरपार्टी जनवादलाई सुनिश्चित गर्नुपर्ने शिक्षा त दिएकै छन्, त्यस अतिरिक्त आजको हाम्रो संदर्भमा निश्चित एउटा वर्गको मात्र अग्रदस्ताको पार्टीको अवधारणा, अनिवार्य उम्मेदवार सदस्य बनाउने वा बन्नुपर्ने धारणा, नेतृत्व निर्माण एवं चयनसम्बन्धी परम्परागत वा अहिले अभ्यास गरिएको धारणा आदि सबै पक्षको समीक्षा गर्दै आजको आवश्यकताअनुरुप के कसरी अघि बढ्ने भन्ने बारेमा पनि छलफल गर्न जरुरी भएको छ ।

कार्यदिशा कार्यान्वयन र विकास–निकास र अग्रगति : उपरोक्त विचारधारात्मक, राजनीतिक एवं संगठनात्मक कार्यदिशाअनुरुप हाम्रो पार्टी अघि बढ्नु पर्दछ । यो हाम्रो एकीकृत पार्टीको अन्तरिम विधान र राजनीतिक प्रतिवेदनको दिशानिर्देश हो । यसबारेमा पार्टीभित्र एकरुप समझदारीका साथ स्पष्टताको आवश्यकता छ । जहाँ–जहाँ बुझाइमा अस्पष्टताका समस्याहरु छन्, त्यहाँ स्पष्ट पार्दै अघि बढ्नु आवश्यक छ । यो अन्तरिम कार्यदिशा भएकाले एकातिर हाम्रावीचमा रहेका मतभेदहरुलाई खुला ढंगले छलफल गर्दै महाधिवेशनबाट हल गरिनेछ भने अर्कोतिर महाधिवेशनबाट कार्यदिशालाई आजको क्रान्ति प्रकृयाले माग गरेअनुरुप आवश्यकताअनुसार परिमार्जन र विकास गरिनेछ । तर, आज निर्धारित यो कार्यदिशालाई स्वीकार नगर्ने, लागु नगर्ने र अझ समग्रतामै यसको विरोधमा जाने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई हुने छैन ।
संगठनात्मक आवद्धता, अझ विभिन्न नेतृत्वदायी भूमिकामा, तर विचारमा विचलन वा विच्छेदको स्थितिले हाम्रो पार्टीको क्रान्तिकारी चरित्रलाई त ध्वस्त पार्ने नै छ, अन्ततः सिंगो संगठनलाई नै विसर्जनमा धकेल्ने छ । त्यसैले पार्टीको कार्यदिशालाई गम्भीरतापूर्वक आत्मसात गर्न र त्यसैअनुरुप पार्टी निर्माण, सञ्चालन र समग्र राजनीतिक कार्यक्रम एवं गतिविधि परिचालन गर्न अहिलेदेखि नै ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसो भएमा पार्टीमा अहिले देखापरेको संकटको सकारात्मक समाधान र पार्टी एकताको उद्देश्य पूरा हुने निश्चित छ ।

(श्रेष्ठ नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य हुन् ।)

यो पनि पढ्नुहोस पार्टी एकता : किन, केका लागि र कता जाने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment