Comments Add Comment

बेलायतमा भेटियो नयाँ प्रकारको कोरोना भाइरस

भ्याक्सिनले पनि काम नगर्न सक्ने

३० मंसिर, काठमाडौं । बेलायतका केही स्थानहरुमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ । हालसम्म यो भाइरस ६० वटा स्थानमा भेटिएको र तीव्र गतिमा फैलिरहेको स्वास्थ्यमन्त्री म्याक हैंककले बताएका छन् ।

बेलायतका वैज्ञानिकहरुले यो भाइरसको विस्तृत अध्ययन सुरु गरेको र विश्व स्वास्थ्य संगठनले पनि जानकारीमा लिएको हैंकको भनाइ छ । कोरोनाविरुद्धको भ्याक्सिनले यो भाइरसमा काम नगर्न सक्ने उनी बताउँछन् ।

स्वास्थ्यमन्त्री हैंककले भने, ‘हालसम्म यसप्रकारको भाइरसका १ हजारभन्दा बढी केसहरु हामीले भेटेका छौं । हामीले यसको नियन्त्रणका लागि तत्काल कडा कदम चाल्ने तयारी गरेका छौं ।’

पछिल्ला दिनहरुमा लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डसायरका विभिन्न क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । बेलायतका प्रमुख मेडिकल अफिसर प्रोफेसर भिटीले हाल भइरहेकोे स्वाब टेस्टमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको बताए ।

सम्भावित खतरालाई मध्यनजर गर्दै बेलायतमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा गरिएको छ । लन्डन, एसेक्स तथा हर्टफोर्डसायरका केही भागहरुमा बुधबारबाट नयाँ नियम लागू हुने अधिकारीहरुले बताएका छन् । यी शहरहरुमा रेस्टुरेन्टहरुले टेकअवे र डेलिभरी सेवा मात्र दिन पाउनेछन् । सिनेमा हल र थियटरहरु बन्द हुनेछन् । यद्यपि, लकडाउनका विषयमा केही संघ–संगठनले असन्तुष्टि पनि जनाएका छन् । खासगरी, पर्यटन सम्वन्ध संगठनहरुले यसबाट हजारौंको रोजगारी संकटमा पर्ने चेतावनी दिइरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार भाइरसमा आउने परिवर्तन तिनीहरुभित्र हुने स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ । यो भाइरसको त्यो अंश हो, जसले कोशिकाहरुलाई संक्रमित गर्न सहयोग गर्छ र कोरोना भ्याक्सिन यसैलाई ध्यानमा राखेर बनाइएको छ ।

बर्मिंघम युनिभर्सिटीका विशेषज्ञ प्रोफेसर एलन म्याकनलीले बीबीसीलाई भने, ‘हामी धेरै चिन्तित हुनु पर्दैन । यो नयाँ प्रकारको भाइरस पुरानो भन्दा बढी संक्रामक वा खतरनाक हो भन्ने ठहर भएको छैन । तथापि हामीले सचेत भने हुनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment