Comments Add Comment

उपत्यकाभरि पेट्रोल पम्परुपी ‘बमगोला’

सुरक्षा मापदण्ड पालनामा जहिल्यै बहनावाजी

१ पुस, काठमाडौं । आइतबार साँझ ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्यांकरमा आगलागी हुँदा पार्किङ गरिएका चारवटा मोटरसाइकल समेत जले । बस्तीबीचको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो ।

नेपाल आयल निगमका अधिकारीहरुका अनुसार पम्पले न्युनतम् सुरक्षा मापददण्ड पुरा नगरेको पाईएको बताउँछन् । पेट्रोल पम्पको भण्डार र ट्यांकरको पेट्रोल चेम्बरसम्म आगो सल्किएको भए संगैका घरहरु स्वतः जोखिममा पर्ने उनीहरुको ठहर छ । निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई त्यस घटनालाई ‘खतराको घण्टी’ भन्छन् ।

उपत्यकाका अधिकांश पेट्रोल पम्पहरु दुर्घटनाको दिन कुरिरहेका छन् । अति प्रज्वलनशील पदार्थ वितरण गर्ने पम्पका संरचना मात्रै हैन, वितरण प्रणाली पनि मापदण्ड बिपरित र असुरक्षित छन् ।

महानगरीय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख रहिसकेका अग्नि नियन्त्रणविज्ञ किशोरकुमार भट्टराई पेट्रोलियम पदार्थमा सल्किएको आगो उच्च गतिमा फैलिने बताउँछन् । घना बस्तीबीचमा रहेका पम्पमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसकिए पुरा सहरमा विनास निम्तिने बताउँछन् ।

‘ग्वार्कोमा आइतबार समयमै अग्नि नियन्त्रक पुगेर ट्यांकर विष्फोट हुनबाट जोगाए,’ उनी भन्छन्, ‘तापक्रम बढ्न पाएर ट्यांकर विष्फोट भएको भए के हुन्थ्यो भनेर आकलन नै गर्न सकिन्न ।’

‘काठमाडौंका पम्पहरुलाई हामी बमको गोला भन्छौं,’ उनी भन्छन्, ‘यो विषयलाई सामान्य ठानेकाहरुले आइतबार ग्वार्कोको पम्पमा भएको आगलागीको भिडियो हेर्दा हुन्छ ।’उनका अनुसार, पेट्रोलमा लागेको आगो पानीले नियन्त्रणमा लिँदा अन्यत्र फैलिने खतरा हुने भएकाले ‘फम’ (आगो निभाउने रसायन) हाल्नुपर्ने कुरामा आयल निगम र सरकारको पर्याप्त ध्यान जानुपर्छ ।

दुर्घटनाको ‘प्रतिक्षा’

नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा १५० पेट्रोल पम्प छन् । तीमध्ये १२५ वटा मुख्य शहरी क्षेत्रमा छन् । उपत्यकाका अधिकांश पम्प दुर्घटनाको दिन कुरिरहेको अग्नि नियन्त्रणविज्ञ भट्टराई बताउँछन् ।

उनका अनुसार अति प्रज्वलनशील पदार्थ वितरण गर्ने पम्पहरुमा सुरक्षाका मापदण्डहरु पालना भएका छैनन् । पम्पहरुको संरचना मात्रै हैन, वितरण प्रणाली पनि असुरक्षित छन् ।

काठमाडौंका कुनैपनि पेट्रोल पम्पले तोकिएका सबै मापदण्ड पुरा नगरेको निगमकै अधिकारीहरु बताउँछन् । तर, मापदण्ड नमान्ने पम्पलाई निगमले न कुनै कारवाही गरेको छ न त पेट्रोलियम व्यवसायीले जोखिम मूल्यांकन गरेर सम्भावित दुर्घटना रोक्ने पूर्वतयारी गरेका छन् ।

निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई यो बिषयमा विगतदेखि नै पर्याप्त ध्यान पुग्न नसकेको बताउँछन् । निगमका प्रवक्ता समेत रहेका इन्जिनियर विनितमणि उपाध्याय अत्यन्तै प्रज्वलनशील पेट्रोलियम पदार्थको कारोबार गर्ने पम्पहरु पर्याप्त सचेत नरहेको बताउँछन् ।

आइतबारको घटनालाई लिएर निगमले उनकै संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।


मापदण्ड मिच्नेको बोलवाला

निगमका अधिकारीहरु पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को पालना भए दुर्घटनाको जोखिम घट्ने बताउँछन् ।

विनियमावलीमा नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तिमा २ रोपनी ६ आना  (७ सय ५० वर्ग मिटर) क्षेत्रफलको जग्गा आवश्यक पर्ने उल्लेख गरेको छ । त्यस्तै, दुई पेट्रोलपम्प बीचको दूरी ३०० मिटरभन्दा बढी हुनुपर्छ । त्यस्तै सडक र पम्पबीचको दूरीको २० मिटर हुनुपर्ने व्यवस्था छ ।

सडक किनारमै चलेका पम्पमा कतिबेला सवारी आएर ठोकिन्छन् भन्ने पत्तो छैन । बटुवाले ननिभाई फालेको चुरोटको ठुटाबाट पनि आगो सल्किएर सहरमा जुनसुकै बेला विनास निम्तिने जोखिम छ ।

काठमाडौंका धेरैजसो पम्पले यो नियम उलंघन गरेका छन् । त्रिपुरेश्वर, टेकु, चक्रपथ लगायत क्षेत्रमा सँगसँगै जोडिएका पेट्रोल पम्पहरु सडक पेटीमै खडा छन् । कतिपय पम्प त घरभित्रै चलेका छन् ।

काठमाडौं महानगरपालिकाको अध्ययन अनुसार भद्रकालीदेखि सोल्टीमोडसम्मको डेढ किलोमिटरमा ७ वटा पेट्रोल पम्प चलेका छन् । पेट्रोल स्टोरेज गर्दाको मापदण्ड, आगलागी नियन्त्रण लागि राख्नुपर्ने पूर्वाधार, सुरक्षा पर्खाल लगायत मापदण्ड कुनै पम्पले पालना गरेका छैनन् ।

उपत्यकाभित्र सञ्चालित पम्पहरुले १ दशमलव २० मिटर अग्लो पर्खाल लगाएर त्यसमाथि ०.९० अग्लो चेनलिंक फेन्सिङ गर्नुपर्ने नियम छ । त्यस्तै बिक्री स्थलका सबै उपकरणमा अर्थिङ गर्नुपर्छ । ६ थान फायर इक्सटिङग्विसर, १ हजार लिटरको पानीट्यांकी, १० लिटरको ४ थान बाल्टिमा बालुवा भरेर तयारी अवस्थामा राख्नुपर्छ । खन्ने कोदालोदेखि साबेलसम्म तयारी अवस्थामा राख्नुपर्छ ।

अग्नि नियन्त्रणविज्ञ किशोरकुमार भट्टराई ग्वार्कोमा आइतबार भएको घटनाले मापदण्डमा तोकिएको फायर इक्सटिङग्विसर पनि कम भएको देखाएको बताउँछन् । अधिकांश पेट्रोल पम्पमा म्याद गुज्रिएको फायर इक्सट्रिङविसर भेटिने गरेको उनले बताए ।

पम्पका कर्मचारीले फायर इक्सटिङग्विसर चलाउन पनि नजानेको पाइएको उनले बताए । उनीहरुले फायर इक्सटिङग्विसर आगोको स्रोतमा हान्नुपर्नेमा लप्कामा हानेको भट्टराई बताउँछन् । उनी भन्छन्, ‘आयल निगमले पम्पका कर्मचारीलाई तालिम अनिवार्य गरेको छैन ।’ पम्पमा आगो लाग्दै गर्दा केही व्यक्ति स्याउलाले निभाइरहेको देखिएको थियो । जुन शैलीले पम्पमा लागेको आगो नियन्त्रण गर्न कुनै हालतमा सम्भव हुँदैन ।


एउटा पम्पमा घटीमा २०  हजार डिजेल र १२ हजार लिटर पेट्रोल भण्डारण हुन्छ । यस हिसाबले उपत्यकामा करिब ३० लाख लिटर डिजेल र १८ लाख लिटर पेट्रोल भण्डारणमा हुन्छ । यत्रो ज्वलन्सिल पदार्थ भण्डारण गर्ने पम्पहरुमा सुरक्षा संवेदनशीलाता भने शून्य छ ।

सडक किनारमै चलेका पम्पमा कतिबेला सवारी आएर ठोकिन्छन् भन्ने पत्तो हुदैन । बटुवाले ननिभाई फालेको चुरोटको ठुटाबाट पनि आगो सल्किन सक्छ । निगम र गुणस्तर तथा नापतौल विभागका अधिकारीहरुको ‘चित्त बुझाएर’ सुरक्षाका मापदण्ड उलंघन गरिएको ‘ओपन सेक्रेट’ छ ।

पुरा गर्नै नसकिने कतिपय कतिपय मापदण्डमा निगमका अधिकारीले आफूहरुबाट अनुचित लाभ लिने गरेको पेट्रोलियम व्यवसायीहरु बताउँछन् । ‘एक दुई-दिन तेल दिन रोकेर छलफलमा बोलाउँछन्,’ एक व्यवसायी भन्छन्, ‘उनीहरुको चित्त बुझाएर कारवाही फुकुवा गराउनपर्ने वाध्यता छ ।’

मापदण्ड मिच्ने पम्प बन्द गरे उपत्यकामा तेलको आपूर्ति व्यवस्था भताभुंग हुने बहाना बनाएर वर्षौंदेखि उन्मुक्तिको श्रृंखला चलेको छ ।


प्रधानमन्त्रीको निर्देशन पनि पच्यो

सरकारले उपत्यकामा असुरक्षित रुपमा सञ्चालित पेट्रोल पम्पबाट हुनसक्ने दुर्घटनाको आकलन नगरेको हैन ।

दुर्घटनाको जोखिम उच्च भएको र ट्राफिक व्यवस्थापनमा बाधा पुर्‍याएको भन्दै गत माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयल निगमसहित ट्राफिक प्रहरीलाई १८ वटा पेट्रोल पम्प अन्यत्र सार्न निर्देशन दिएको थियो । मुख्य सवारी आवगमन हुने सडक किनार र घना वस्तीमा रहेको पम्प मापदण्ड विपरित भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयको निर्देशन पालना भएको भए काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु अन्यत्रै सरिसक्थे । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु र ललितपुरको जाउलाखेल, चापागाउँ लगायत क्षेत्रमा सञ्चालित मापदण्ड विपरितका पम्पहरु अहिले पनि असुरक्षित रुपमै सञ्चानमा छन् ।

कालीमाटीको कनक पेट्रोल पम्प, बालाजुको कोत थुकु पेट्रोल पम्प, थापाथलीको जयन्ती र  मायाराम भोलाराम पेट्रोल पम्प, कलंकीको बाबा पेट्रोल पम्प, श्यामा पेट्रोल पम्प, त्रिशुल पेट्रोल पम्प, कोटेश्वरको भ्याली रिकेश पेट्रोल पम्प तथा कामाख्या, बौद्धको जुबी र बराल पेट्रोल पम्प र महाराजगञ्जको सीता पेट्रोल पम्पलाई तुरुन्त हटाउनुपर्ने किटान गरिएको थियो ।

जाउलाखेलको साझा पेट्रोल पम्प, एचपी इन्टरनेश्नल, गायत्री पेट्रोल पम्प, चापागाउँको बज्रबाराही पेट्रोल पम्प, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर पनि हटाइहाल्नुपर्ने पम्पको रुपमा सिफारिस भएको थियो ।

तर, सम्बन्धित पेट्रोल पम्प सञ्चालकलाई पम्प सार्न आग्रह गर्दै पत्र लेख्नेबाहेक काम भएन । यी पम्प हटाउँदा शहरभित्र पेट्रोलियम आपूर्ति प्रभावित हुने तर्क गरेर निगम पन्छियो । ट्राफिक प्रहरीले पम्प हटाउन पहल गर्दा ‘पैसा उठाउन खोजेको’ आरोप लगाइयो ।


आयल निगम भन्छ : कडाइ गर्छौं

निगमका नायव कार्यकारी निर्देशक भट्टराई आइतबारको घटनापछि उपत्यकाका पम्पहरुको सुरक्षाबारे छलफल सुरु गरिसकेको बताउँछन् ।

‘असुरक्षित पम्पहरु हटाउन व्यवसायीहरुले उपयुक्त ठाउँमा जग्गा पाइएन भन्नुभएको छ,’ उनी भन्छन्, ‘शहरभित्रबाट धेरै बाहिर पम्प लैजाँदा आपूर्तिको पक्षलाई पनि विचार गर्नुपर्ने हुन्छ । त्यसैले अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर भएर गृहकार्य गर्दैछौं ।’

निगमका प्रवक्ता विनितमणि उपाध्याय शहरभित्र मापदण्ड विपरित सञ्चालनमा रहेको पम्प सार्नका लागि अब दबाव बढाइने बताउँछन् । ‘व्यवसायीहरुसँग छलफल थालेका छौं,’ उनले भने, ‘शहरलाई सुरक्षित राख्ने सन्दर्भमा निगमले प्रभावकारी कदम चाल्छ ।’

तस्वीरः विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment