Comments Add Comment

प्रधानमन्त्री ओलीमाथि दबाव बढाउँदै प्रचण्ड-माधव समूह

पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का नेताहरुको भेलामा जाँदै प्रचण्ड ।

३ पुस, काठमाडौं । पार्टी स्थायी कमिटी बैठक चलिरहेका बेला सत्तारुढ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले आफू निकट प्रदेश १ का नेताहरुको भेला गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाडाँमा जिल्ला अध्यक्ष, सचिव र उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुलाई भेला गरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरे ।

भेलालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पुस १ को स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार संवैधानिक परिषद्को अध्यादेश फिर्ता नलिइएकोमा आपत्ति मात्र जनाएनन्, थप एक्सनको चेतावनी दिएका छन् ।

सम्भवतः पार्टी एकीकरण यता पहिलोपटक ओलीविरुद्ध चेतावनीको भाषामा प्रचण्डले बोलेका छन् । के हो त त्यो एक्सन ? प्रचण्ड निकट एक स्थायी कमिटी नेता भन्छन्, ‘सायद, अनुशासनको विषय हो । स्थायी कमिटी बैठकले गरेको निर्णय कसैले पनि उल्लंघन गर्न मिल्दैन । अझ यो त असंवैधानिक र अराजनीतिक कदम सच्याउने निर्णय हो ।’

सरकारले मंगलबार अध्यक्ष र बहाल रहेको बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यसमा आपत्ति जनाएको प्रचण्ड–माधव नेपाल समूहले संसदको विशेष अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पुर्‍याएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भए ।

बुधबार स्थायी कमिटी बैठकले अध्यादेश र हस्ताक्षर दुबै फिर्ता लिने निर्णय गर्‍यो । राष्ट्रपति कार्यालय पुगेका नेताहरु फर्किए तर अध्यादेश अझै फिर्ता भएको छैन । उल्टो बिहीबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र ठूलै हलचल ल्यायो । यद्यपि प्रचण्डसहित नेताहरुको आपत्तिपछि प्रधानमन्त्रीले परिषदको बैटक स्थगित गरेका छन् ।

तर यो घटनाले ओली–प्रचण्डबीच अविश्वास बढेको छ । ओली पक्षले भने प्रचण्डले सचिवालयका नेताहरुसँग गठबन्धन गरेको, गुट भेला राखेको र पार्टीलाई विभाजन तर्फ धकेलेको तर्क गर्दै आएको छ । तर, प्रचण्ड पक्ष (प्रचण्ड सहित सचिवालयका पाँच नेता) ले भने भेला तथा छलफल पार्टी विभाजनलाई जोगाउँदै अहिलेको रुपान्तरण तर्फ लैजाने (विभाजन नभएर ओलीलाई सच्याउन दबाब) प्रयास भइरहेको दावी गरेका छन् ।

पेरिसडाडाँको भेलामा पनि वरिष्ठ नेता खनालले आफूहरुको संघर्ष कुनै पदका लागि नभएर पार्टीलाई विधि र पद्धतिमा लैजानु भएको तर्क गरे । ‘कतिपयले पद पाउनु असन्तुष्टि भन्ने टिप्पणी गरेको सुन्छु, तर त्यस्तो होइन । नेकपा विधि र पद्दतिमा हिँडे हाम्रो जित हुनेछ’, खनालको भनाइ थियो ।

यसमा प्रचण्ड र माधव पक्ष दुई विधि अपनाएको छ– अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टीको बैठकको फेस गर्न लगाउने र दबाव अभियान चलाउने ।

मंगलबार पार्टी कार्यालयमै भेला राखेको यो पक्षले बागमतीको भेला गरिसकेको छ । बाँकी प्रदेशमा पनि भेला गर्ने योजना छ । प्रदेश र जिल्ला तहका नेताहरुको भेला भइरहेकै छ । युवा तथा विद्यार्थीहरुको भेला पनि रोकिएको छैन ।

ओलीकै गृह जिल्ला झापामा मंसिर २३ मा प्रदेश स्तरीय विद्यार्थी भेला गरेको प्रचण्ड र माधव पक्षका विद्यार्थी नेताहरुले राजधानी उपत्यकाको भेला थापाथाली क्याम्पसमा राखेका थिए । भेलालाई प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र स्थायी कमिटी सदस्य पम्फा भुसालले सम्बोधन गरेकी थिइन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षको भेला पनि भइरहेको छ । यो समूहले पार्टीभन्दा मदन भण्डारी फाउण्डेसनको ब्यानरमा भेला तथा छलफल बढी गर्ने गरेको छ छ । युवा–विद्यार्थीको भेला विराटनगरमा गरिसकेको छ भने अन्य प्रदेशमा पनि भेलाको योजना बनाइएको छ ।

रक्षात्मक ओली समूह

सचिवालय हुँदै स्थायी कमिटीको बैठकमा पुग्दासम्म नेकपाको दुबै समूह आआफ्नो अडानमा थिए । यतिसम्म कि कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूमाथि फैजदारी अभियोग लगाइएकाले त्यसबारे छलफल गर्ने भए बैठकमा नै नआउने भन्दै अध्यक्ष ओली गएनन् । त्यही कारण स्थायी कमिटीको एजेण्डामा दुबै अध्यक्षको प्रस्तावमाथि छलफल नभनेर पार्टीमा देखिएको संकटबारे छलफल भनिएको थियो ।

तर आफैंले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रधानमन्त्री ओलीलाई पार्टीभित्र रक्षात्मक बनाएको देखिन्छ । नेताहरु खुलेर अध्यादेशको बचाउ गर्न सकिरहेका छैनन् । अर्कातर्फ ८३ सांसदको हस्ताक्षर बोकेको प्रचण्ड–नेपाल समूहसँग संसदीय दलमा पनि बहुमत पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment