Comments Add Comment

कस्तो क्यान्सर पूर्णतय निको हुन्छ ?

आम धारणा के छ भने, क्यान्सर लाग्नसाथ जीवन समाप्त भयो । अर्थात क्यान्सर हुनु भनेको मृत्युको मुखमा धकेलिनु हो । यहि कारण क्यान्सर लागेको थाहा पाउनसाथ धेरै जना एकदमै हतोत्साही हुन्छन् । डराउँछन् । तर, यर्थात फरक छ ।

क्यान्सर घातक रोग त आवश्य पनि हो । तर, कस्तो क्यान्सर ? कुन अंगको ? कुन चरणको ? धेरै कुरा यसमा निर्भर गर्छ ।

सबै क्यान्सर त्यती घातक हुँदैन, जति हामी सोच्र्छौं । साथै कतिपय क्यान्सर हामीले सोचेभन्दा भयानक पनि हुनसक्छ । ‘क्यान्सर’ भनेको सामन्यत सबैले बुझ्ने भाषा हो, जबकि यसको प्रवृत्ति, प्रकृति र अवस्थाहरु फरक हुन्छन् । सबै क्यान्सर एकै हुँदैन ।

यस्ता थुप्रै क्यान्सर हुन्छन्, जसलाई सुरुमै पहिचान गर्न सकियो र सही ढंगले उपचार गर्न पाइयो भने त्यो पूर्णतय निको हुन्छ । क्यान्सर उपचार भइसकेपछि उक्त व्यक्ति सामान्य अवस्थामा फर्कन्छन् । उनीहरुको दिनचर्या त्यस्तै हुन्छ, जस्तो तपाईं–हाम्रो छ ।

सुरुमा क्यान्सर रोग लागेर सही निदान र उपचार भइसकेपछि सामान्य जीवनयापन गरिरहेकाहरु थुप्रै भेटिन्छन्, हाम्रो समाजमा । उनीहरुको जीवन सामान्य मात्र हुँदैन, पूर्ण आयु पनि बाँच्छन् । साथै बाल्यकालमा क्यान्सर भएका र उपचार गराएकाहरु पनि सामान्य अवस्थामा फर्किएका उदाहरण छन् । मेरो भनाईको आशय के भने, क्यान्सर लाग्नसाथ त्यती आतंकित हुन जरुरी छैन । जरुरी छ, आवश्यक शारीरिक परिक्षण, स्वास्थ्य दिनचर्या, उपयुक्त खानपान र सक्रिय जीवनशैली ।

हाम्रो प्रवृत्ति फरक छ । हामी रोगले गलाएपछि मात्र अस्पताल धाउने गर्छौं । हुन त यसमा धेरै कारण छन् । हाम्रो स्वास्थ्य नीति, स्वास्थ्य पहुँच, जनचेतना, आर्थिक स्थिती, भौगोलिक विकटता । विकसित मुलुकहरुमा नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर परीक्षण र उपचार सहुलियत दिइन्छ । कुन उमेर चरणमा कस्तो स्वास्थ्य परीक्षण गर्ने भनी निर्धारण गरिन्छ । यसमा सरकारले नै आवश्यक व्यवस्था मिलाइदिएको हुन्छ । त्यसैले उनीहरु नियमित रुपमै स्वास्थ्य परीक्षण गराउँछन् । हामीकहाँ त्यस्तो स्थिती छैन ।

एक त, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने जनचेतनाको अभाव छ । कुनै रोग नलाग्दै किन परीक्षण गर्नुपर्छ र भन्ने धारणा पनि व्याप्त छ । त्यसमाथि स्वास्थ्य संयन्त्र र पहुँच सबैमा पुगेको छैन । चाहेर पनि स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन । यावत कारणले गर्दा हामी सही समयमा सही उपचारबाट वञ्चित भइरहेका छौं ।

यदि नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने संभावित रोगहरुको पहिचान गर्न संभव हुन्छ । जब संभावित रोगबारे पहिचान हुन्छ, त्यसका लागि उचित सर्तकता अपनाउन थालिन्छ । के खाने, के गर्ने भन्ने कुरा थाहा हुन्छ । क्यान्सर जस्ता घातक रोगबाट बच्ने खास उपाय यही हो ।

क्यान्सरको संभावित जोखिम भएको सुरुमै थाहा भए यस्तो रोगबाट बच्न सकिन्छ ।

मैले सुरुमै भनेको छु, कतिपय क्यान्सर पूर्णतय निको हुन्छ । जस्तो कि, ब्रेस्ट क्यान्सर । अर्थात स्तन क्यान्सर राम्ररी निको हुन्छ । यद्यपि चाडै पत्ता लगाउनुपर्छ । स्तन क्यान्सरको संभावित जोखिम अवस्था वा सुरुवाती चरणमा छ भने यसलाई पूर्ण रुपमा निको पार्न सकिन्छ ।

चरण एकदेखि चारसम्म हुन्छ । तर, सुरुवाती वा पहिलो चरणमा आउनुअघि पनि एउटा चरण हुन्छ, त्यसबेला पत्ता लगाइयो भने सत्प्रतिशत निको हुन्छ । पहिलो चरणमा पत्ता लगाइयो भने क्यान्सरको ९० प्रतिशत निको हुने दर छ । खासगरी स्तन र पाठेघरको क्यान्सर । यी दुबै किसिमको क्यान्सर पूर्णतय निको बनाउन सकिन्छ ।

सर्भाइकल क्यान्सर । अर्थात पाठेघरको मुखको क्यान्सरको सही उपचार भएमा सत्प्रतिशत निको हुन्छ । जबकि हाम्रो मुलुकमा महिलाहरुमा सर्वाधिक हुने समस्या हो, पाठेघरको मुखको क्यान्सर । यो क्यान्सर एक किसिमको भाइरसले गराउँछ । खासगरी असुरक्षित यौन सम्बन्ध वा धेरै पार्टनरसँग सम्पर्क गर्दा यसको जोखिम रहन्छ । यो भाइरसले सुरुमा पाठेघरको मुखमा आक्रमण गर्छ र त्यो क्रमस फैलदै  जान्छ । सुरुवाती अवस्थामै यो भाइरस छ वा छैन भनेर पत्ता लगाउने एकदमै  सजिलो विधी छ । जस्तो कि, प्याप स्मेयर । यो परीक्षण सेवा मुलुकको सबैतिर सहजै र थोरै खर्चमा उपलब्ध छ । निश्चित उमेर पार गरेका महिलाहरुले प्याप स्मेयर परीक्षण गरेमा पाठेघरको मुखको क्यान्सरबाट सतप्रतिशत बच्न सकिन्छ ।

विकसित मुलुकमा पाठेघरको मुखको क्यान्सरको जोखिम अत्यान्तै न्युन छ । किनभने त्यहाँ यस बिरुद्ध खोप दिइने गरिन्छ । साथै यौन स्वास्थ्यबारे उनीहरु सचेत पनि छन् । अहिले हामीकहाँ पनि केही जिल्लामा खोप दिइने क्रम सुरु भएको छ । यो एकदमै सकारात्मक कुरा हो ।

यसैगरी पेट एवं आन्द्राको क्यान्सर पहिलो चरणमै पत्ता लागेको अवस्थामा पूर्ण निको हुने संभावना हुन्छ । घाँटीको क्यान्सर पनि यस्तै हो । सुरुवाती चरणमा पत्ता लगाउन सकियो र सही उपचार गरियो भने पूर्ण निको हुन्छ ।

हुन त चरणले मात्र यसमा निर्भर गर्दैन । कस्तो प्रकृतिको क्यान्सर र कुन रुपमा फैलदैछ भन्ने कुरा पनि हुन्छ । त्यसैले पहिलो चरणभन्दा अघि नै संभावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट सतप्रतिशत जोगिन सकिन्छ ।

लेखक भक्तपुर क्यान्सर अस्पतालका रेडिएसन अन्कोलोजी विभाग प्रमूख हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment