+
+

कोरोनापछिको विद्यालय : एक प्रिन्सिपलको अनुभव

हरि ज्ञवाली हरि ज्ञवाली
२०७७ पुष ८ गते १४:४२
फाइल तस्वीर

कोरोना त्रासले गत वर्षको वार्षिक परीक्षासमेत ढुक्कसँग दिन नपाएका आफ्ना विद्यार्थीसँग ९ महिनापछि मात्र प्रत्यक्ष साक्षात्कार भयो । गत चैत्रको दोस्रो हप्तादेखि सुरु हुनुपर्ने वार्षिक परीक्षा कोरोना भित्रिएको भन्दै संघीय सरकारले चैत्र ५ गतेसम्म सम्पूर्ण परीक्षा सक्नुपर्ने परिपत्र जारी गरेको थियो । वार्षिक परीक्षाका लागि न विद्यार्थीहरू मानसिकरूपमा तयार थिए न त विद्यालयको आन्तरिक तयारी नै ! तैपनि हतार–हतार जसोतसो परीक्षा सम्पन्न गर्नु थियो ।

लकडाउनकै बीचमा त्यतिबेला मोबाइलबाट प्रकाशित गरेको वार्षिक नतिजाले विद्यार्थीमा कुनै उत्साह ल्याएन । त्यस्तो नतिजाले विद्यार्थीलाई न पर्याप्त खुशी दियो न त उत्साह र उमङ्ग नै । त्यस सुखद् क्षणमा न स्याबासी दिने शिक्षक नै थिए न त हौसलाको ताली बजाइदिने साथीहरू ! आफू सफल भएर अर्को कक्षामा पुगेको विद्यार्थीको मनको त्यो हर्ष र उमङ्ग फगत खल्लोपन र निरशतामा परिणत भयो । कोरोनाले त्यतिबेला सबैलाई सन्त्रस्त बनायो ।

गत चैत्र ५ गतेदेखि आफ्नै घरभित्रै कैदीजस्ता भएका बालबालिकाहरू ९ महिनापछि विद्यालय आए । उनीहरू पहिलो दिन आफ्नो विद्यालय र साथीहरूसँग भेट हुँदा अत्यन्तै खुशी र हर्षित देखिन्थे । निर्जन वा एकलास वनमा भट्किएको बटुवाले बाटो फेला पार्दा तीव्र उत्साह र उमङ्ग भएझैं अथवा निरपराध कैदी जेलबाट छुट्दा जुन हर्ष र आनन्द प्राप्त हुन्छ ठीक त्यस्तै अनुभूति हुन्थ्योे बालबालिकाहरूको उत्साह, खुशी र हर्ष देख्दा ।

बालबालिकालाई मानसिक तनाव

कोरोना प्रवेशका कारण गरिएको लकडाउनले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बाल–बालिकाहरूलाई सबभन्दा बढी मानसिक तनावमा पारिदिएको थियो । लामो समय घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु थिएन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव कुण्ठित र निरश बनेको थियो । मुस्कुराइरहने अनुहारहरूमा मलीनता छाएको थियो । साथीसँग भेटघाट गर्न, खेल्न, कुद्न र हाँसखेल गर्न नपाउँदाको त्यो पीडा हामी वयस्कहरूले केवल अनुमानमात्र गर्न सक्यौं । अनुभव, अनुभूति र महसुस भने गर्न सकेनौं ।

खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग त्यतिबेला न पुस्तक थियो, न त स्कुल नै । न साथी थिए, न खेल सामग्रीहरू । न मनमा रमाइलो थियो, न त शरीरमा स्फूर्ति । न अध्ययनमा लगाव थियो न भविष्यप्रतिको कुनै आकांक्षा र योजना । थियो त केवल कोरोनाको त्रास र लकडाउनको कोकोहल मात्रै । बाहिर ननिस्क, हात धोइरहू, मास्क लगाऊ र सेनिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दीबाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा उनीहरूले सुन्न पाएनन् ।

लामो समयसम्म घरमै कैदीजस्ता भएका बालबालिकाहरू ९ महिनापछि विद्यालय आउँदा अर्कै खालका भइसकेका रहेछन् । न उनीहरूमा पहिलेजस्तो चञ्चलता थियो न त जिज्ञासुभाव नै । हर्षित देखिए पनि मनमा अन्योल र आशंका भरिएजस्तो । शरीरमा कुनै स्फूर्ति थिएन । कताकता बालसुलभ हराएजस्तो । चञ्चलता र अबोध जिज्ञासापन लोप भएजस्तो । आफ्ना सहपाठीहरूसँग बोल्दा र नजिक हुन पनि सशंकित भएजस्तो । अध्ययनप्रति रूचि र उत्साह नै नभएजस्तो । निरीह र टिठलाग्दा जस्ता भएका थिए उनीहरू ।

विद्यार्थीहरूको मानसपटलमा अव्यक्तभाव,एकाङ्गीपन र हीनताग्रन्थी डम्म भरिएजस्तो लाग्थ्यो । उनीहरूको त्यो बाल अव्यक्त पीडाभाव वयस्क शिक्षकहरूले मुस्किलले मात्र बुझ्न सक्थे । न उनीहरूमा शिक्षकलाई केही सोध्ने हिम्मत नै विकसित भइसकेको थियो । न त शिक्षकले उनीहरूलाई स्पर्श गरेर सुम्सुम्याउने र ढाडस दिने वातावरण नै । गुरु र शिष्यको स्नेहपूर्ण वात्सल्यलाई भौतिक दुरीको बाध्यताले बलात् सन्त्रस्त र स्पर्शहीन बनाइदिएको थियो ।

वर्तमान महामारीको अवस्था र आफ्नो स्वास्थ्य सावधानीका बारेमा लगभग सबैजसो विद्यार्थीहरू घरबाटै सचेत भइसकेका रहेछन् । तर पहिरन, बोलीचाली र व्यवहारगत कुरामा भने विद्यार्थी पहिलेभन्दा एकाङ्गी, अटेरी र जिद्दी बन्दै गएको महसुस भयो । लामो समय घरभित्रै सीमित रहेका कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । मुलुकका भविष्यका कर्णधारमा आएको यो मनोदशा र दुर्दशाको मनोवैज्ञानिक उपचार अब विद्यालयले नै गर्नुपर्ने आवश्यकता महसुस भयो ।

कतिपय विद्यार्थीको कपालकटाइको ‘स्टाइल’, पहिरन र शारीरिक हाउभाउ देख्दा उनीहरू घरबाट उचित रूपमा मार्गनिर्देशित छैनन् कि भन्ने भान हुन्थ्यो । अभिभावक नै आफ्ना छोराछारीको जिद्दीअगाडि निरीह छन् कि अथवा आफ्नै बालबच्चालाई घरमा नियन्त्रण गर्न गाह्रो भएको हो कि भन्ने लाग्यो । यस्ता अस्वाभाविक कुराहरू पनि विस्तारै सुधार्नुपर्ने जिम्मेवारी विद्यालयमै थपिएको आभास भयो ।

त्यसो त नियमित अध्ययन–अध्यापनका अतिरिक्त विद्यार्थीको आचरण, व्यवहार, बोलीचाली, सङ्गत, नियमित कार्यजस्ता सामान्य शिष्टाचारका कुराहरू पनि विद्यालयले नै सुधारिदिनुपर्ने अवस्था छ अहिले । अभिभावकहरूको अत्यधिक व्यस्तताका कारण पारिवारिक जिम्मेवारी पनि विद्यालयमाथि नै थपिएको छ कतिपय परिस्थितिमा ।

के सिकाउनुपर्थ्यो ? के सिकाइयो ?

बालबालिकाको पहिलो पाठशाला घर नै हो । तर विद्यालयबाट सिकाइएका कुराहरू नै बढी औपचारिक र प्रभावकारी हुन्छन् । कोरोना कहर वा लकडाउन क्षणिक हो तर निरन्तर अध्ययन र पढाइको महत्व जीवनभरिलाई हो भन्ने कुरा कलिला बालबालिकालाई विद्यालयले सिकाउन पाएन । शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा जुनसुकै बाहिरी रोगसँग पनि लड्न सकिन्छ भन्ने ज्ञान दिन पनि बाँकी नै थियो ।

आजसम्म खास गरी बोर्डिङ स्कुलहरूले विद्यार्थीलाई पुस्तक रटानमै बढीे केन्द्रित गरे । सबैले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिको बारेमा सिकाउनुपर्ने थियो तर उनीहरूलाई गणित वा विज्ञानका सुत्रहरू वा अंग्रेजीका शब्दहरू रटाउन थाल्यौँ । बालबालिकाहरूलाई हाम्रो संस्कार–संस्कृति, पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य–मान्यताका बारेमा जानकारी नै गराएनौँ । यस्ता कुरा बालमष्तिष्कमा हामीले राखिदिन भ्याएकै थिएनौँ ।

आफ्नो विद्यालयको तहगत नतिजा अरू विद्यालयको भन्दा कसरी उत्कृष्ट हुन्छ भन्ने अस्वस्थ प्रतिस्पर्धामै सीमित भए विद्यालयहरू । सामाजिक दायित्व र व्यावहारिक कुरा सिकाउनेतिर खासै पहल भएन । प्राकृतिक प्रकोप र अचानक आइपर्ने विपत्तिबाट व्यावहारिक रूपमा कसरी बच्ने भन्ने शिक्षा कहिल्यै दिइएन । आइपर्ने तमाम संकटका सामना कसरी गर्ने अभ्यास पनि गराइएन । सामाजिक सद्भाव र आपसी मेलमिलाप नै असल मानवीय गुण हुन् भन्ने बोध उनीहरूलाई भएन । मानवीय मूल्य–मान्यता के हुन् ? नैतिकता, आचरण, देशभक्ति र सामाजिक मेलमिलाप र दायित्व के हो ? त्यसबारे न त कहिल्यै पढाइ भयो न त परीक्षा र मूल्याङ्कन नै ।

आडम्बरी तडकभडकपूर्ण आधुनिकता र खोक्रो किताबीय रटानमै विद्यार्थीहरू सीमित गरिए । संस्कारसहितको व्यावहारिक शिक्षालाई जोड गरिएन । ज्ञान, बुद्धि र विवेकको परीक्षा भएन बरू अरूले भन्दा बढी प्रतिशत वा जीपीए ल्याऊ, अरूलाई जित, आफू अगाडि बढ, अरूलाई पछाडि पार भन्ने नितान्त व्यक्तिगत प्रतिस्पर्धाका कुराहरू उनीहरूको कलिलो मस्तिष्कमा भरिरह्यौं । फलस्वरूप आजका विद्यार्थीहरूमा न त परिस्थितिसँग सामना गर्ने क्षमता विकसित भएको छ न व्यावहारिकता र सामाजिक दायित्वबोध नै । न उनीहरू पूर्णतः राष्ट्रप्रेमी बन्न सके न त श्रमप्रतिको सम्मान र लगाव नै । उनीहरूमा पूर्ण सीपको विकास हुन सक्यो न त परिस्थितिको सामना गर्ने क्षमता र बानी । मुलुकको भविष्यका लागि यो चिन्ताको विषय हो ।

पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँथ्यौं । समयक्रमले हामी आफैंलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल र ल्यापटप किनिदिनुपर्ने विवशतामा पुर्‍यायो ।

पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँथ्यौं । समयक्रमले हामी आफैंलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल र ल्यापटप किनिदिनुपर्ने विवशतामा पुर्‍यायो ।

अब विद्यार्थीहरूलाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ । कतिपयले आफ्नो उमेरअनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न थालिसकेका छन् । पब्जी लगायतका गेम र टिकटक जस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ । एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भैसकेका छन् । अब उनीहरूलाई सो रङ्गीन रसातलबाट बाहिर निकाल्न पक्कै पनि केही समय अवश्य लाग्नेछ । अभिभावक र विद्यालयलाई यो ठूलै चुनौती हो ।

सिकाउनुपर्ने धेरै बाँकी रहेछन्

हामी सृष्टिका फगत सञ्चालकमात्रै हो । अनेकौं रोग हामी आफैंले निम्त्याएका कारक तत्त्व हुन् । हाम्रा आफ्नै जीवनशैली र व्यवहारले हाम्रो शरीरलाई कमजोर बनाउँदै लगेको छ भन्नेजस्ता यथार्थ र अपरिहार्य कुरा न कुनै विद्यालयमा पढाइ भयो न त घरमा नै कसैलै सिकायो । कमजोर रोग प्रतिरोधात्मक क्षमता अनि प्रकृतिविरूद्ध आचरणका दण्डस्वरूप अनेकौं रोगव्याधि र महामारीका प्रकोपहरू आउन सक्छन् भन्ने चेतना बालबालिकाहरूलाई यसअघि कतैबाट दिन सकिएन ।

वैज्ञानिक उपकरणीय देखावटीभन्दा हाम्रो प्राकृतिक खानपान र जीवनशैली नै सर्वोत्तम हो भन्ने ज्ञान न विद्यालयले दिए न त अभिभावकले नै । त्यसैले त आज कलिला मस्तिष्कका बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर भएको छ र फलतः यतिखेर एकाङ्गी भएका छन् । अचानक आइपरेका समस्यासँग जुधेर सामना गर्ने हिम्मत हुनुपर्नेमा उल्टै हतास र विचलित भएका छन् ।

हामीले पैसालाई सुख र श्रमलाई दुःख भनेर बुझायौं । कृषि कर्मको महत्त्वबारे ज्ञान दिएनौं । फलस्वरूप भौतिक सुविधा र पैसाका लागि नेपालका अधिकांश युवाहरूको लक्ष्य विदेश हुन पुग्यो । त्यही युवापलायन नै मुलुकले भोग्नुपरेको एउटा जटिल समस्या हो ।

आखिर हामीले हाम्रा सन्तानहरूलाई कस्तो शिक्षा दिइरहेका छौं ? हामी कस्तो संस्कृति विकसित गर्दै छौं ? हाम्रा बालबालिकाहरू कति सुसंस्कृत, व्यावहारिक र देशभक्त बन्न सफल भए ? हाम्रो शैक्षिक प्रणालीले हाम्रा सन्ततिहरूलाई के सिकाउनुपर्ने थियो र के सिकाइँदै छ ? अब गम्भीर चिन्तन गर्नुपर्ने भएको छ । विद्यार्थीलाई सिकाउनुपर्ने प्राकृतिक, व्यावहारिक र सीपयुक्त कुरा धेरै बाँकी रहेछन् । यो कुराले आफैंलाई पनि पटक–पटक झस्काइरहेछ ।

यतिखेर कोरोना प्रभाव कम हुँदै गएको छ । विद्यालयहरू विस्तारै खुल्न थालेका छन् । यो समय अनावश्यक भय र सन्त्रास बढाउने समय होइन, बरू सावधानी अपनाउने बेला हो । श्रमलाई दुःख र पैसालाई मात्र सुख बुझाउने शिक्षा आवश्यक होइन, माटोको मर्यादा सहितको श्रमको सम्मान दिने व्यावहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो । हाम्रो प्राकृतिक खानपान र जीवनशैली नै सर्वोत्तम रहेछ ।

तसर्थ, मुलुकको आवश्यकता अनुरूपको शैक्षिक उद्देश्य, ढाँचा र पाठ्यक्रम परिवर्तन गरिनु जरुरी छ । आजसम्म हामीले मुलुकका कर्णधारलाई दिनुपर्ने वास्तविक शिक्षा र उचित वातावरण दिन सकेनौं कि भन्ने पश्चातापपूर्ण अनुभूति अढाई दशकको लामोे शैक्षिक अनुभवपश्चात् यतिखेर भएको छ ।

(लेखक स्मृति बोर्डिङ स्कुल, रूपन्देहीका प्रिन्सिपल हुन्)

लेखकको बारेमा
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?