+
+

गल्लीका चिया पसलमा पनि विद्युतीय भुक्तानी

'क्यासलेस' कारोवार बढाउन राष्ट्रबैंकको नयाँ पहल

रोयल आचार्य रोयल आचार्य
२०७७ पुष १२ गते १९:१२

१२ पुस, काठमाडौं । ‘ल, बसौँ-बसौँ’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुढा तानेर टुसुक्क बस्दै भने । राष्ट्र बैंकका अन्य उच्च अधिकारीहरु तथा नेपाल बैंकर्स संघका पदाधिकारी त्यहाँ थिए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु भुवन कँडेल, देवकुमार ढकाल, मुकुन्द क्षेत्री, बमबहादुर मिश्र, गभर्नर कार्यालयका जनसम्पर्क प्रमुख डा. भागवत आचार्य, बैंकर्स संघका अध्यक्ष भुवन दाहाल लगायतको टोली गभर्नरको छेउमा मुढामै बस्यो । कार्यकारी निर्देशक डा. गुणाकर भट्ट भने कार्यव्यस्तता देखाएर निस्किए ।

गभर्नरले चिया अर्डर गरे । ‘कति कप बनाउँ ?’ चिया साहुनीले सोधिन् । जवाफ नआएपछि उनले आफैं मान्छे गनेर चिया बसाइन् । गभर्नरले चिया पाक्दै गरेको ताप्केसमेत देखिने गरी सेल्फी खिचे ।

‘त्यो त पैसामा सहि गर्ने मान्छे पो हो रे,’ नजिकैको तरकारी पसलमा कानेखुसी पनि चलिरहेको थियो । टोली केहिबेर गफिदैँ गर्दा चिया पाक्यो ।

थालभरि कप ल्याएर साहुनीले बाँडिन् । सबैले चिया मिठो मान्दै खाए । अब समय आयो पैसा तिर्ने । गभर्नरले आफ्नो मोवाइल निकाले । गभर्नरको अगाडिपट्टि ‘क्यूआर कोड’ राखिएको प्ले कार्ड झुण्डाइएको थियो । उनले आफ्नो मोबाइल त्यो प्लेकार्डतिर देखाए । प्रतिकप २० रुपैयाँका दरले क्यूआर कोड अर्थात विद्युतीय माध्यमबाट चियाको पैसा भुक्तानी गरे ।

यो दृश्य नक्सालस्थित तरकारी बजारभित्र एउटा साँघुरो गल्लीमा रहेको चियापसलको हो । यहाँ चिया पिउनुअघि गभर्नर अधिकारीले तरकारी बजारमा ८० रुपैयाँ तिरेर एक किलो अदुवा खरिद गरी क्यूआर पेमेन्टको शुरुवात गरेका थिए ।  केन्द्रीय बैंकले क्यासलेस (नगदरहित) कारोबारलाई शहरका गल्लीहरुमा पुर्याउन यो योजना अघि बढाएको हो ।

गभर्नर अधिकारीले नक्साल तरकारी बजारबाट शुरु भएको यो अभियान देशव्यापी बनाइने बताएका छन् । सानिमा बैंक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा सो बजारमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुआत भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि चाडै क्यूआर पेमेन्टको शुरुवात गर्ने गभर्नर अधिकारीले बताए ।

लकडाउनमा बढेको आकर्षण

केन्द्रीय बैंकले नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नीति लिएको वर्षौ भइसक्यो । १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने नीति ३ वर्ष पहिले नै राष्ट्र बैंकले लागू गरेको छ ।

अब साना कामका लागि पनि नगद बोकेर हिँड्नु नपर्ने अवस्था बनाउन राष्ट्रबैंक प्रयासरत छ । तर, अझै पनि ठूलो संख्यामा सर्वसाधारण नगदमै कारोवार गर्न अभ्यस्त छन् । वित्तीय साक्षरताको कमीका कारण विकट क्षेत्रमा त डिजिटल कारोबार भनेको ‘कुन चराको नाम हो’ भने जस्तै अवस्था छ । तर पछिल्लो समय डिजिटल कारोबारमा आकर्षण बढेको केन्द्रीय बैंक बताउँछ ।

कोरोना भाइरसको त्रास फैलिएपछि सरकारले ११ चैतदेखि लकडाउन गर्यो । लकडाउन अवधिमा पनि बैंकहरुले सेवा भने सुचारु नै राखेका थिए । यद्यपि, राष्ट्र बैंकले सकेसम्म डिजिटल कारोबार नै गर्न आग्रह गरेको थियो । नोटमा कोरोनाको समेत जोखिम हुने भएकाले पनि धेरै उपभोक्ता डिजिटल कारोबारतर्फ मोडिए ।

डिजिटल कारोबारलाई बढावा दिन खोजिरहेको राष्ट्र बैंकलाई लकडाउनले अनुकुलता थपयो । पछिल्लो समय डिजिटल कारोबारमा निकै राम्रो सुधार भइरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । सुरक्षा तथा अन्य हिसाबले पनि डिजिटल कारोबार नै उपयुक्त हुने सर्वसाधारणले बुझ्दै गएको उनको निश्कर्ष छ ।

‘विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, प्रोत्साहन र सर्वसाधारणको बढ्दो आकर्षणका कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

गत कात्तिक महिनामा १० लाख २८ हजार ३७ वटा कारोबारबाट १७ अर्ब ८ करोड १० लाख रुपैयाँ लेनदेन कनेक्ट आईपीएसबाट भएको राष्ट्र बैंकले बताएको छ । असार मसान्तको तथ्यांक हेर्ने हो भने कनेक्ट आईपीएसबाट जम्मा ६ लाख ९६ हजार ४ सय ४७ वटा कारोबारमात्रै भएका थिए ।

इन्टरनेट तथा मोबाइल बैंकिङबाट हुने कारोबारको संख्या पनि निकै बढेको छ । असार महिनामा जम्मा १ लाख ५३ हजार ४५९ वटा कारोबार इन्टरनेट बैंकिङबाट भएका थिए । कात्तिक महिनामा इन्टेरनेटबाट हुने कारोबारको संख्या दोब्बरले बढेर २ लाख २१ हजार ४ सय ५ पुगेको छ । असार महिनामा मोवाइल बैंकिङबाट ५८ लाख १७ हजार ६ सय ८१ वटामात्रै कारोबार भएका थिए । कात्तिक महिनामा बढेर ७८ लाख ५० हजार १ सय ५४ वटा कारोबार मोवाइल बैंकिङका माध्यबाट भएका छन् ।

क्यूआरमार्फत हुने कारोबार त असारसम्म एकदमै न्यून थियो । न्यून भएकै कारण यसलाई राष्ट्र बैंकले छुट्टै तथ्यांकमा समेत समावेश गर्दैनथ्यो । तर अहिले क्यूआरमार्फत २ लाख ४२ हजार ८ सय १८ वटा कारोबार भएको राष्ट्र बैंकले बताएको छ । पीओएस तथा अन्य वालेटहरुबाट हुने कारोबारको संख्या पनि राम्रै बढिरहेको राष्ट्र बैंकले बताएको छ ।

‘अब अभियानकै रुपमा’

गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्न लागिएको बताए । नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी बनाउने उनको भनाइ छ ।

‘नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुआत हो’ उनले भने, ‘अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।’

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवर्द्धनले ठूलो योगदान पुर्‍याउने विश्वास उनको छ ।

‘यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पुर्‍याउनेछ’ गभर्नर अधिकारीले भने ।

क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको उनले बताए । गर्भनर अधिकारीका अनुसार पछिल्लो समय हरेक महिना तीस प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको छ । क्यूआर कोड कारोबारको प्रवर्द्धन र विस्तारको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायतका सरोकारवालाई उनले आग्रहसमेत गरेका छन् ।

के हो ‘क्यूआर कोड’ ?

मोवाइलबाट स्क्यानिङ गरेर कारोबार गर्न सकिने सुविधा क्यूआर (क्वीक रेस्पोन्स) कोड हो । सेतो र कालो फिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर त्यसबारे पहिचान खुलाउन सकिन्छ ।

यो कोड राखिएका ठाउँमा धेरै सूचनाहरु भरिराख्नु पर्दैन । क्यूआर स्क्यानिङ गरेपछि सो बारे सबै सूचना देखाउँछ । जस्तो चिया पसलको क्यूआर स्क्यानिङ गर्नु भयो भने तपाईको मोवाइलमा कति रुपैयाँ तिर्ने हो त्यो देखिन्छ ।

शुरुमा तपाईले आफ्नो मोवाइल बैंकिङ लगइन गरेर पसलमा रहेको क्यूआर स्क्यानिङ गर्न पर्नु पर्ने हुन्छ । त्यसपछि तिर्नुपर्ने रकम उल्लेख गर्नु पर्ने हुन्छ । तपाईले पठाउन चाहेको रकम क्यूआरमार्फत पसलेको खाता वा डिजिटल वालेटमा सहजै जम्मा हुन्छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?