Comments Add Comment

एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन गर्ने, १५ महिनाको सम्झौता

१४ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एडप्याड प्रालिलाई बिक्री गरेको छ । एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गत रहेको एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो ।

जर्सी प्रायोजन सम्बन्धि उक्त सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदिप थापाले सोमबार हस्ताक्षर गरेका छन् । सम्झौता १५ महिनाको लागि रहेन क्यानले जनाएको छ । क्यानले सम्झौताको रकम भने खुलाएको छैन । एडप्याड मिडिया मार्केटिङ कम्पनी हो र उसले स्पोनसरसिप र बिक्री गर्ने सम्बन्धि काम गर्नेछ ।

सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एडप्याडले पाएको छ ।

क्यान आईसीसीको निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजकविहीन थियो । जर्सी प्रायोजनको अधिकार बेचेपछि यसले क्यानलाई केही राहत भएको छ ।

एडप्याडले अब १५ महिनासम्म राष्ट्रिय टिमले प्रतियोगिताका बेला खेल्ने, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजन खोज्नेछ ।

सम्झौतापछि क्यानका अध्यक्ष चतुर बहादुर चन्दले २५ वर्षको अनुभव भएको एएनएस ग्रुपसँग सहकार्य गर्न पाउनु क्यानको लागि उत्कृष्ट दिन रहेको बताए । ‘यस सहकार्यले सकरात्मक सन्देश दिएको छ र क्यान ट्रयाकमा फर्किएको र व्यवसायको लागि खुला भएको छ । ‘ चन्दले यस सहकार्यबाट फण्ड मात्र संकलन हुने नभई क्रिकेटको प्रबर्द्धनमा पनि सहयोग पुग्ने बताए ।

यस्तै एडप्याडका अध्यक्ष सुदिप थापाले क्यानसँग सहकार्य गर्दै राष्ट्रिय क्रिकेट टिमसँग काम गर्ने अवसर पाउँदा खुशी व्यक्त गरे । उनले यो व्यावसायिक यात्रा मात्र नभई क्रिकेट विकासमा सहयोग पुर्‍याउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment