Comments Add Comment

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

१५ पुस, दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो ।

१६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन् । निग्मा तामाङले अविजित रहँदै ७ रनको योगदान गरिन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि दिपा जोराले २ तथा कविता कुँवर र कविता जोशीले १-१ विकेट लिएका थिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

सुरुवातदेखि खराब ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कविता जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहँदै १४ रन बनाइन् । रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहँदै ९ रनको योगदान गरिन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन् । यस्तै शवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १-१ विकेट हात पारेका थिए ।

यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो ।  सुदूरपश्चिमको यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment