Comments Add Comment

साकेला साहित्य महोत्सवको रौनक

साकेला साहित्य महोत्सव, २०७७ सम्पन्न भएको छ । ‘किरात राई लेखक सङ्घ’ले पौष ११ र १२ गते आयोजना गरेको महोत्सव किरातीहरूको महान् चाड साकेलाको सुरुवातसँगै सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत भएको कविता प्रतियोगितामा बिमन किराती प्रथम, सबु किरण दोस्रो, शुकुन आँशु तेस्रो हुन सफल भए भने प्रयास दुमी राई, देव सिमप राई र प्रदिप योङहाङले सान्त्वना पुरस्कार प्राप्त गरे ।

कोभिड–१९का कारण भौतिक रूपमा भेला भएर साकेला मनाउन नमिल्ने भएकाले लेखक सङ्घले साहित्य महोत्सवमार्फत साकेला मनाएको जनाएको छ । साथै साकेलाको महत्वलाई साहित्य जगतमा स्थापित गर्ने र यसको सौन्दर्यलाई सिंगो साहित्यमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सङ्का अध्यक्ष तथा लेखक खुक्सङ खम्बुले बताए ।

कार्यक्रममा बोल्दै लेखक भूपाल राईले साकेला किराती समुदायको केन्द्रविन्दु रहेको बताए । ‘साकेला गुम्यो भने किरातीहरूको आधा पहिचान गुम्न पुग्छ’ राईले भने ‘राजेश पायल राई,मेलिना राई, समृद्धि राईहरूले गाइरहेको र दयाहाङ राई, विल्सन बिक्रम राई र एलिशा राईहरूले गरिरहेको अभिनय किरात प्राज्ञिक सत्ता निर्माणको एउटा इकाई हो ।’

प्रसिद्ध गायक राजेशपायल राईले आफूले पुरस्कार प्रायोजन होइन गरेको नभएर आशिर्वाद मात्रै भएको बताए । ‘भाषा जीवनको सबभन्दा ठूलो ज्ञान हो । पहिले हामी ढिंडो खान लजाउँथ्यौं । तर, अहिले धनीमा मानिसहरूले खोजी खोजी खान थालेका छन् । हाम्रो मातृभाषा पनि त्यस्तै भएको छ’ राईले भने ‘स्यामुना एल्बमको लागि मैले समय खर्च गरेको ७ वर्ष भइसकेको छ । तर मलाई त्यसमा समय र पैसा लगानी भएकोमा ग्लानी भएको छैन, राई हुनुमा गर्व लागेको छ । मातृभाषाहरूको सौन्दर्य यस्तो छ कि त्यसको वर्णन गरेर सकिदैन ।’

महोत्सवको पहिलो दिन ‘किरात प्राज्ञिक सत्ता निर्माणबारे’ शिर्षकमा वरिष्ठ कवि भूपाल राई, ‘साहत्यिमा आदिवासी साहित्यकारहरूको भूमिका’ शिर्षकमा साहित्यकार राजन मुकारूङ र ‘जनगणनामा जनसंख्याको राजनीति’ शीर्षकमा समाजशास्त्री प्रकाश राईले बहस गरेका थिए । त्यसैगरी दोस्रो दिन अनुसन्धाता तथा मुन्दुमविद भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ शिर्षकमा बहस गरेसँगै प्रतियागी कविहरूको कविताको भिडियो प्रदर्शन गरिएको थियो ।

समापन कार्यक्रममा कवि सुष्मा रानहँमाको पहिलो कवितासंग्रह ‘आमाको तासफोटो’संयुक्त रूपमा विमोचन गरिएको थियो । संग्रहमाथि बोल्दै राजन मुकारूङले संग्रहले सुरूमा प्रेमील र जीवनको संघर्ष अर्थात् बोध हुँदै अन्तिममा चेतनालाई आन्दोलित गर्ने बताएका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष खुक्सङ खम्बुले विश्व समुदायलाई साकेलाको शुभकामना व्यक्त गर्दै एकैपटक ‘साकेला’ बिषयमा ५७ कविता लेखिनु इतिहासमै पहिलो र ऐतिहासिक कार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment