Comments Add Comment

संसद विघटनबारे साहित्यकारको दुई धार : कोही सत्तामा, कोही सडकमा

सरकारी नियुक्ति पाएका लेखक भन्छन्, ‘हामीले बोल्नै मिल्दैन’

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सिङ्गो देश दुई कित्तामा विभाजित बनेको छ । यो विभाजनले साहित्यकारहरुलाई पनि छोएको छ ।

ओली पक्षधर नेताहरूले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्दै बचाऊ गरेका छन् भने, अर्को पक्षले यसलाई लोकतन्त्रमाथि भएको निर्मम हमलाको संज्ञा दिएको छ । राजनीतिक तरंगले देश तातेका बेला नेपालका साहित्यकारहरू समेत दुई कित्तामा बाँडिएका छन् ।

प्रधानमन्त्रीसँग निकट रहेका केही साहित्यकारले आफ्नो पदीय जिम्मेवारीका कारण संसद विघटनको कदममाथि केही बोल्न नमिल्ने बताएका छन् । तर, अधिकांश चर्चित लेखक–साहित्यकारहरु भने ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै विरोधमा उभिएका छन् ।

सरकार निकट केही साहित्यकारहरू भने संसद विघटनप्रति मौन छन् । उनीहरुका घुमाउरा अभिव्यक्तिले सरकारलाई मौन समर्थन गरेको छनक देखिन्छ ।

केपी ओलीको पक्षमा को–को उभिए ?

प्रगतिशील लेखक संघ (प्रलेस)का महासचिव समीर सिंहले पुस ५ गते जारी गरेको विज्ञप्तिमा अध्यक्ष जीवेन्द्रदेव गिरीको हस्ताक्षर थिएन । संघका ५० जना सदस्य तथा सल्लाहकारको हस्ताक्षर रहेको उक्त विरोध–वक्तव्यमा बहालवाला अध्यक्षकै हस्ताक्षर नहुनु अर्थपूर्ण छ ।

यसबारे बुझ्न खोज्दा प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीले प्रगतिशील लेखक संघ विभिन्न कम्युनिष्ट घटकको साझा संगठन भएकाले आफूले कुनै एक नेताको पक्ष नलिने बताए ।

प्रलेसको अध्यक्षजस्तो मान्छेले राष्ट्रिय महत्वको घटनामा यसरी मौन बस्न मिल्छ भनेर सोध्दा गिरी संसद विघटनलाई ‘अदालतको इस्यु’ बताएर पन्छिन खोजे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव समेत रहेका गिरीले प्रलेसभित्र कुनै कुरामा सहमति हुँदा महासचिव र अध्यक्ष दुवैको हस्ताक्षर भएको विज्ञप्ति आउने र मत बाझिँदा छुट्टाछुट्टै विज्ञप्ति जारी हुने बताए ।

उनले थपे, ‘प्रधानमन्त्रीको संसद विघटनमाथि प्रगतिशील लेखक संघको आधिकारिक धारणा भएको विज्ञप्ति आएको छैन । त्यो त महासचिव र साथीहरूको धारणामात्र हो ।’

उता प्रगतिशील प्राध्यापक एवं साहित्यकार बद्रीविशाल पोखरेल पनि प्रचण्ड–माधव समूहले राष्ट्रघात गरेको भन्दै निरन्तर लेख लेखिरहेका छन् । पोखरेलले वैचारिक लेखका आधारमा प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गरेका छन् ।

सरकारी सञ्चार माध्यमका विभिन्न पदमा बहाल भएका प्रगतिशील साहित्यकारहरू पनि संसद विघटनप्रति मौन बसिरहेका छन् । गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायत संस्थानमा नियुक्त साहित्यकारलाई यसबारे जिज्ञासा राख्दा उनीहरूले आफ्नो नाम र विचार खोल्न नमिल्ने परिस्थिति रहेको बताए ।

यसैवीच, नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्ना सदस्य ता सुविधाभोगीहरूलाई प्रधानमन्त्रीको कदमविरुद्ध नबोल्न सचेत गराएको पाइएको छ । प्रज्ञा प्रतिष्ठान विशुद्ध प्राज्ञिक थलो भएको हुनाले राजनीतिक खिचातानीमा जोडिन नहुने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्याय बताउँछन् ।

‘प्राज्ञिक व्यक्तिहरू प्रतिगमनको सवालमा मौन बस्न मिल्छ त ?’ भन्ने प्रश्नमा सदस्य–सचिव उपाध्यायले भने, ‘राजनीतिले राष्ट्र र जनतालाई सकारात्मक बाटोमा डो¥याउनुपर्छ भनेर सन्देश दिनबाहेक अन्य काम गर्न हामी सक्दैनौं, किनभने हामी आफ्नै सीमामा बाँधिएका छौं ।’

सरकारी सुविधा लिइरहेका संस्कृतिविद सत्यमोहन जोशी र नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य रहेका साहित्यकारहरूले पनि संसद विघटनमाथि बोल्न अस्वीकार गरे । उनीहरूले न्यायपालिकातर्फ संकेत गर्दै यस्तो विषय जनस्तरबाट नभई अदालतबाट निर्णय हुने मत व्यक्त गरे ।

को–को देखिए विपक्षमा ?

पुस ११ गते माइतीघर मण्डलामा भएको संसद विघटन विरोध कार्यक्रममा नागरिक समाजलाई साथ दिन पहिलोपटक लेखक–साहित्यकार उपस्थित भए । पत्रकार एवं उपन्यासकार नारायण वाग्ले, लेखक सञ्जीव उप्रेती, राजु स्याङ्तान, गुरुङ सुशान्त सरकारको कदम असंवैधानिक रहेको भन्दै विरोधमा उत्रिए ।

यस्तै पुस १४ गते भएको सडक कविता वाचनमा दुई दर्जन कविले प्रतिगमनको विरोधमा कविता सुनाए । भूपाल राई, श्रवण मुकारुङ, विमला तुम्खेवा, छम गुरुङ, विनोदविक्रम केसी, संगीत, नवीन प्यासी, विप्लव प्रतीकले प्रतिगमनलाई निशाना बनाएर कविता सुनाए ।

कविता सुनाउँदै संस्कृतिकर्मी तथा कवि भूपाल राईले केपी ओलीको विरोध गर्नु नै आफ्नो एकसूत्रीय अभिष्ट रहेको बताए । राईले भने, ‘पहिचान, धर्म निरपेक्षता र समावेशिताको सबैभन्दा डरलाग्दो दुश्मन केपी ओली भएकाले उनको विरोध गर्नु खराब कर्म हुँदै होइन ।’

कविहरूलाई साथ दिन नागरिक अगुवा, नाट्यकर्मी र संस्कृतिकर्मी सडकमा आएका थिए । माइतीघरमा शनिबार शिल्पी थिएटरद्वारा रवि मिश्रको परिकल्पनामा सडक नाटक ‘प्रतिगमन’ प्रदर्शन भयो ।

विरोध कार्यक्रममा आएका नाट्यकर्मी राजन खतिवडाले प्रधानमन्त्री अत्यन्त स्वेच्छाचारी बन्दै गएको बताए । उनले भने, ‘देश र समाजलाई अगाडि बढाउनुपर्ने बेलामा प्रधानमन्त्रीको सनकले हामी पछाडि धकेलिएका छौं । यसले नागरिक अधिकारमा दूरगामी असर पर्नेछ ।’

यस्तै साहित्यकार एवं प्रगतिशील अभियन्ता विष्णु भण्डारीले प्रधानमन्त्रीको मदम संसदीय व्यस्थाकै उपज भएकाले यो व्यवस्था नै परिवर्तन नभएसम्म यस प्रकारका दुःख आइरहने बताउँछन् । भण्डारी भन्छन्, ‘अँध्यारो चिर्न बालेको आगो पनि ओलीले निभाइदिएका छन् । अब उनकै विरुद्ध आगो बाल्नुपर्छ ।’

प्राध्यापक एवं समीक्षक अभि सुवेदीले सृजनशील मानिसको निम्ति अप्ठेरो चुनौति आएको भन्दै पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गरे । धेरै लेखक–कविहरूलाई समय पछाडि जान्छ कि भन्ने डर लागेको बताउँदै सुवेदी भन्छन्, ‘लोकतन्त्र जोगाउनका लागि भए पनि सबै साहित्यकार प्रधानमन्त्रीको कदमविरुद्ध बोल्नुपर्ने समय आएको छ ।’

समालोचक सुवेदीले विरोध प्रदर्शनसँगै जनतामा चेतना फैलाउने लेख–रचना र बहस गर्नु साहित्यकारको कर्तव्य रहेको सुझाए ।

नेकपा आवद्ध जनसाहित्यिक लेख संघले पनि प्रधानमन्त्रीको कदमको घोर भत्र्सना गरेको छ । संघका सहसंयोजक केशव सिलवालले जारी गरेको विज्ञप्तिमा गणतन्त्र, समावेशीजस्ता उपलब्धि कसैको पेवा नभएको भन्दै यसको रक्षार्थ लेखक तथा साहित्यकार उभिनुपर्ने बताइएको छ ।

प्रगतिशील लेखक संघका अध्यक्ष बाहेक ५० जना साहित्यकारहरू पनि संसद विघटनको विरुद्धमा खरो उभिएका छन् । उनीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ– ‘वर्तमान सरकारको अहिलेको कदमले नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर चोट पुगेको छ । अप्रजातान्त्रिक तथा असंवैधनिक तरिकाले संसद विघटन गरिएको घटनाको हामी जोडदार रूपमा भत्सर्ना गर्दछौँ ।’

प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, सचिव प्रकाश थापामगर र बाबुराम आचार्यसहित ५० जना लेखकहरूले पुस ५ गते नै संयुक्त वक्तव्य जारी गर्दै ओलीको कदमको विरोध गरेका हुन् ।

यद्यपि, प्रलेसका जिल्ला तथा क्षेत्रीय संगठनले जारी गरेको विज्ञप्तिको मत बाझिएको छ । कुनै जिल्ला संगठन केपी ओलीको कदममाथि मौन बसेको पाइएको छ भने, कुनैले आफ्नै केन्द्रीय नेताहरुको निर्णयमा विरोध गरेका छन् ।

नेपाली कांग्रेस समर्थित नेपाली लेखक संघ आबद्ध साहित्यकाहरुले संसद विघटनकै दिनदेखि सरकारको विरोध गरिरहेका छन् । संघका अध्यक्ष कवि श्रवण मुकारुङ आफैं सडकमा आएर कविता सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment