Comments Add Comment

प्रचण्डले चुनावपछि नै एकता तोड्न खोजेका थिए : ईश्वर पोखरेल

२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाएका हुन् ।

‘सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा दुई दिनसम्म प्रचण्ड आउनु नै भएन’ उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरुसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।’

चुनावमा तत्कालिन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताए । त्यतिबेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टको मोर्चा टुटन नदिन प्रचण्डसँग सत्ता साझेदारीको सहमति गरेको उनको संकेत थियो । ‘कम्युनिष्टकै सरकार बनाउन ओलीज्यूले प्रचण्डले जे–जे भने ती सबैको हस्ताक्षर गरेर सरकार बनाउनुभयो’ पोखरेलले भने ।

कम्युनिष्ट सरकारबाट नागरिकले गरेको अपेक्षा पूरा हुन प्रचण्डले नै दिएको पोखरेलले बताए । ‘सरकारले कुनै राम्रो निर्णय गर्दा उनले धक्का मात्रै दिइरहे । सरकारलाई चल्नै दिइएन । राजदूत आफ्नो हुनुपर्छ । राजनीतिक नियुक्ति मलाई नै चाहिन्छ भनिरहनुभयो’ पोखरेलले भने ।

प्रचण्डकै कारण पनि नेकपा दुई तिहाई मत ल्याउनबाट चुकेको उनले आरोप लगाए । पार्टी एकता भएको २४ घण्टा बित्न नपाउँदै प्रचण्डले सूर्य चिह्नबाट चुनाव नलड्ने बताएको र त्यसकै परिणाम नेकपाले दुई तिहाई मत नल्याएको उनको जिकिर छ ।

‘प्रचण्डले एकीकृत चिह्न सूर्य नमान्दा एमालेले ३३ लाखभन्दा बढी मत ल्यायो । माओवादीले १३ लाख मत ल्यायो’ उनले भने, ‘१० लाख मत रद्द भयो । त्यसकारण नेकपा दुई तिहाइबाट चुक्यो ।’

नेता पोखरेलल पार्टीमा बिग्रहको कुरा शुरु भइसकेको बताउँदै अहिले पार्टी औपचारिक रुपमा दुई टुक्रा नभएपनि गतिविधिले एउटै नरहेको बताए । ‘यस्तो अवस्थामा पनि हामी एकताकै पक्षमा उभिएका छौं’ उनले भने, ‘एकताविरुद्व जाने जोकोहीलाई पनि मुर्दावाद भन्दै एकताबद्ध भएर अघि बढ्ने हाम्रो योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment