२२ पुस, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान लोकेश (केएल) राहुल बोर्डर गावास्कर ट्रफीबाट बाहिरिएका छन् ।
घाइते भएपछि उनले अष्ट्रेलिया विरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका हुन् ।
शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेको र बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।
भारत र अष्ट्रेलियाबीच तेस्रो सिरिज जनवरी ७ देखि सिड्नी क्रिकेट मैदानमा सुरु हुँदैछ । यसअघि भएका दुई खेलमा दुवै टिमले एक एक खेल जितेका छन् ।
पहिलो टेष्ट अष्ट्रेलिया र दोस्रो टेष्ट भारतले समान ८ विकेट जितेको थियो । सुरुवाती दुवै टेष्टमा राहुल भने बेन्चमा थिए ।
यस पटक अष्ट्रेलिया भ्रमणमा भारतलाई चोटले धेरै सतायो । सिमित ओभरको क्रिकेटका नियमित उपकप्तान रोहित शर्मा चोटकै कारण ढिला टिममा सामेल भए ।
फास्टर बलर इशान्त शर्माले चोटकै कारण भ्रमण गरेनन् । टेष्ट सिरिज दौरान दुई फास्ट बलर मोहम्मद शामी र उमेश यादव घाइते भएपछि सिरिजबाटै बाहिरिएका छन् ।
दोस्रो टेष्टका दौरान घाइते भएका उमेशको स्थानमा टी नटराजनलाई टिममा समावेश गरिएको छ । अष्ट्रेलिया भ्रमणमै ओडीआई र टी-२० मा डेब्यु गरेका नटराजनले टेष्टमा समेत डेब्यु गर्ने सम्भावना छ ।
प्रतिक्रिया 4