+
+
Shares
कोभिड हिरो :

टिचिङको जब्बर टिम, भव्य डाक्टर

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ पुष २३ गते २०:५३

गएको ८ महिनामा कति दिन बिदा लिनुभयो ?

‘एकदिन पनि लिएको छैन । शनिबार, दसैं, तिहार, छठ सधैं ड्युटीमा । अस्ति दसैंमा चाहिँ एकदम गाह्रो भो । २०४९ सालमा काठमाडौं आएदेखि प्रत्येक दसैंमा घर जान्थेँ, यसपालि जान पाइनँ ।’

किन दशैंमा गाह्रो भयो ?

७० वर्षकी आमा गाउँमा एक्लै हुनुहुन्छ । यसपटक दसैंमा घर जान नपाएर फोन गर्दा मलाई त तिम्रो धेरै याद आएको छ भन्नुभयो । सधैं आमासँग म रुन्थेँ, यसपटक उहाँ रुनुभयो । तत्क्कालै उडेर पुगुँ जस्तो भयो ।’ बोल्दाबोल्दै उनको गला अबरुद्ध भयो, आँखामा आँसु टिल्पिलाए । एकछिनपछि आँसु पुछ्दै बोले, ‘आमासँग फोनमा रुँदै दसैं सकियो ।’

आमालाई कसरी मनाउनु भयो त ?

कोभिड सकिँदैछ, अब छिट्टै एकहप्ता बस्नेगरी आउँछु भनेँ । आमालाई मनाउन जति सजिलो दुनियाँमा अरू के छ र !’

हामी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोभिड संयोजक रहेका छाति रोग विशेषज्ञ सन्त कुमार दाससँग कुरा गर्दैछौं । कोराना संक्रमित राख्ने ११० बेडको वार्ड व्यवस्थापन र क्लिनिकल काम गरिरहेका उनलाई हामीले सोध्यौं– निरन्तर यो काम कसरी गरिरहनुभएको छ ?’

‘यहाँ आएर प्रत्यक्ष देख्नेले मात्र हाम्रो समस्या बुझ्छन्’, सपाट स्वरमा डा. दास बोले, ‘दिक्क मानेर बसे झन् भद्रगोल हुन्छ । अब त सकसमा काम गर्ने सहन बानी नै परिसक्यो ।’

कुराकानीको बीचबीचमा उनको मोबाइल बजिरहन्छ । उनी रिसिभ गर्न पनि छाड्दैनन् । धेरैजसो कलरलाई उनी भन्छन्, ‘प्लिज, प्लिज बिरामी यता नपठाउनुस्, एउटै आईसीयू बेड खाली छैन ।’

प्रश्नोत्तर गर्दै हामी कोभिड वार्ड भएको गणेशमान सिंह भवन पुग्यौं । पहिलो तलामा रिपोर्ट कुर्नेहरुको भिड छ । उनीहरूमध्ये केही अक्सिजन सपोर्टमा छन् । ‘हाइफ्लो अक्सिजन’ पाइप लगाएर छटपटाइरहेका एक वृद्धका आफन्तहरू बेडको लागि अनेक ठाउँमा फोन गरिरहेका छन् ।

ड्युटी डाक्टरले दासलाई ती बिरामीबारे बताए । अक्सिजन लेभल अत्यन्तै कम भएर ‘हाइफ्लो अक्सिजन’ दिइएका ती बिरामी तत्कालै भेन्टिलेटर नपाएर ‘मल्टी अर्गान’ फेल हुने अवस्थामा रहेछन् ।

डा. दास तनावमा आए, ‘न मन्त्रालयले हामीलाई खबर गर्यो, न बिरामीले सोधे । भेन्टिलेटर चाहिने बिरामीलाई आईसीयूमा पनि राख्न नपाएपछि अब कसरी बचाउने ?’

यस्तै हो, हरेक दिन यस्तै तनाव हुन्छ । राति केही घन्टा निदाउने भनेको पनि अर्कोदिन तनाव झेल्नकै लागि हो भने जस्तो अवस्था छ । एउटै दैनिकीमा आठ महिना बिताएका डाक्टरले भने, ‘के गर्नु, आईसीयू र भेन्टिलेटरमा पालैपालो बिरामी राखेर उपचार गर्न मिले त हुने नि !’

यहाँ अहिले १५ जना आईसीयू, ६ जना भेन्टिलेटर र ७० बिरामीलाई ‘हाइफ्लो’ अक्सिजनमा राखेर उपचार गरिँदैछ । कोही विषेश वा ठूलाबडाका बिरामी हुन् भनेर कसैलाई आईसीयू वा भेन्टिलेटरबाट थुतेर उसलाई राख्न नमिल्ने डा. दास बताउँछन् ।

समस्या कति भने शिक्षण अस्पतालमा कोभिड वार्ड बनाउनै समस्या भयो । सुरुमा अस्पतालका स्वास्थकर्मीहरूले नै भने, ‘हामीलाई नै किन ‘रिस्क’मा राख्ने ?’

जोडबल गरेर वार्ड खोलिए पनि स्वास्थ्यकर्मी जुटाउन सकस भयो । १५ जना नर्सिङ स्टाफको विज्ञापन गर्दा भने १७ सय आवेदन पर्यो । तर दुई महिनासम्म छनोट भएन । अति समस्या भएपछि गुनासा मन्त्रालय पुग्दा ढिलो गरी निर्देशन आयो– अन्तिम वर्षको मेरिट लिस्ट हेरेर राख्नु ।

त्यसो गर्दा शिक्षण अस्पतालको नियम विपरीत हुने भएकोले अस्तव्यस्तताका बीच दशैअगाडि ‘इन्ट्रान्स’ लिएर १५ जना नर्सिङ स्टाफ छानियो । चारजना मेडिकल अफिसरको दरखास्त आह्वान गर्दा १२ जनाको आवेदन पर्यो । छानिएका चारमध्ये एकजना कोभिड वार्डमा काम गर्नै डराएर आएनन् ।

त्यसबेला त त्यो अवस्था थियो भने कोभिड वार्डको सुरुवाती चरण अझ कस्तो थियो होला ? डा. दास भन्छन्, ‘तपाईंहरू विश्वासै गर्न सक्नुहुन्न । बुझ्नुपर्ने मान्छे (स्वास्थ्यकर्मी)हरूकै व्यवहार एकाएक खराब भएर आयो ।’

चैत पहिलो हप्ता अस्पतालका तत्कालीन निर्देशक डा. प्रेमसिंह खड्काले डा. दासको संयोजकत्वमा कोभिड–१९ रेस्पोन्स टिम बनाए । कोभिड र ननकोभिड वार्ड छुट्टै भवनमा हुनपर्ने प्रोटोकल अनुसार अर्कै कम्पाउण्डमा रहेको गणेशमान भवनमा कोभिड अस्पताल चलाउने निधो गरियो ।

त्यहाँ नाक, कान, घाटी र अर्थोपेडिक्स विभाग सञ्चालनमा थियो, जसका कर्मचारी लगायतले ‘हाम्रो सेवा अबरुद्ध गरेर कोभिड अस्पताल बनाउन दिन्नौ’ भन्दै अत्तो थापे । ती विभागलाई मुख्य भवनमा सार्ने तयारी बारेका कुरा सुन्दै नसुनी उनीहरु कोभिड रेस्पोन्स टिमको प्रतिकारमा उत्रिए ।

पटक–पटक छलफलबाट निष्कर्ष निस्किनुको साटो कुटाकुट हुने अवस्था आएपछि अस्पतालका तत्कालीन निर्देशक डा. प्रेम खड्काले ‘अस्पतालको सम्पत्तिमा अस्पतालको निर्णय चल्छ’ भन्दै पत्र काटे । त्यसपछि विवाद साम्य नभइकनै कोभिड अस्पतालको संरचना बनाउन थालियो ।

‘त्यो बेला कोभिड लागेपछि बाँचिन्न भन्ने किसिमको बुझाइ भएकाले पनि शिक्षण अस्पतालमा हाम्रो धेरै विरोध भयो’, डा. दास सम्झन्छन्, ‘तनाव कति भयो भने मैले रक्तचापको ‘डबल डोज’ औषधि खान थालेँ ।’

विरोधकाबीच कोभिड अस्पतालको संरचना तयार हुँदै थियो । त्यसबेलासम्म शिक्षण अस्पतालमा कोभिड देखिएको थिएन । वैशाख २९ गते राति ११ बजे डा. दासको मोबाइल बज्यो । फोन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको थियो । भनियो ‘तपाईंको अस्पतालमा भर्ना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’

उनी झसंग भए । कोभिड अस्पतालमा शंकास्पद कोही बिरामी राखिएको थिएन । फोनले उनको निद्रा खल्बल्याइसकेको थियो । एकपछि अर्को फोन गरेर बुझ्दै जाँदा ओपीडीमा आएका एक बिरामीलाई कोभिडको शंका गर्दै त्यहीँका स्वास्थ्यकर्मीले स्वाब पठाएका रहेछन् । कोभिड रेस्पोन्स टिमलाई त्यसबारे जानकारी नगराइकन शंकास्पद बिरामीलाई पनि मुख्य भवनमा नै राखिएको रहेछ ।

त्यो लापरवाही थाहा पाउँदा डा. दाश नराम्रोसँग झस्किए । सूचना आदानप्रदानमा समन्वय नहुँदा पहिलो केसमै गम्भीर गल्ती हुन पुगेको थियो । कोभिडको डर उत्कर्षमा भएको बेला त्यो गल्तीले अस्पतालमा कोकोहोलो मच्चाउन सक्थ्यो ।

भोलिपल्ट बिहान पाँचैबजे अस्पतालका निर्देशकसँग कोभिड रेस्पोन्स टिमले छलफल गर्यो । उता संक्रमित भेटिएको वार्डमा कोही स्वास्थ्यकर्मी पस्न मानिरहेका थिएनन् । त्यहाँ उपचाररत सबैलाई गणेशमान सिंह भवनमा सार्ने तयारी गर्दा कोही मानेनन् । र पनि कोभिड रेस्पोन्स टिमले उक्त वार्ड सिलदेखि स्वाब संकलनसम्मको काम गर्यो । विरोध र तनावका बीच सबैलाई सम्झाउँदै, बुझाउँदै संक्रमित र उनको सम्पर्कमा आएकाहरूलाई कोभिड अस्पतालमा सार्ने काम भयो ।

१४ दिन क्वारेन्टिनमा राखेर पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि त्यहाँ सन्त्रासको माहोल कम भयो । कोभिड लागेको बिरामी भेटिँदैमा सबैलाई संक्रमण नसर्ने रहेछ भन्ने मनोविज्ञान कर्मचारीमा विकास भयो ।

‘पहिलो केसबाट हाम्रो ‘सिस्टम एक्टिभेट’ हुनुको साथै हाम्रो गल्ती पत्ता लाग्यो’, डा. दास भन्छन्, ‘त्यसपछि शंकास्पद बिरामी भेटिँदा सबै वार्डका स्वास्थ्यकर्मीले कोभिड टिमलाई भन्न थाले ।’

जेठ ३ गते धुलिखेल अस्पतालमा २९ वर्षीया सुत्केरीको मृत्यु हुँदा शिक्षण अस्पतालमा हडकम्प मच्चियो । कोरोनाबाट मृत्यु भएको नेपालको त्यो पहिलो केस शिक्षण अस्पतालसँग जोडिएको थियो । ती महिला वैशाख २५ गते शिक्षण अस्पतालको प्रसूति वार्डबाट डिस्चार्ज भएकी थिइन् ।

त्यो खबरसँगै प्रसूति वार्डका सबैले कोभिड रेस्पोन्स टिमलाई घेरेर अत्तालिँदै सोध्यो, ‘के भएको यस्तो ? अब हामी के गर्ने ? बाँचिएला जस्तो छैन ।’

ती महिला शिक्षण अस्पतालबाट डिस्चार्ज भएको समय हेर्दा डराउनुपर्ने अवस्था थिएन । सरकारकै प्रोटोकल अनुसार पनि संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको १० दिन नाघिसक्दा कुनै लक्षण नदेखिए परीक्षण गराउन जरुरी थिएन । अस्पताल सिल र डिसइन्फेक्ट पनि अनिवार्य थिएन ।

प्रसूति वार्डकाहरू भने त्यत्तिकै सेवामा खटिन तयार भएनन् । त्यसपछि सेवाग्राहीलाई नेपाल प्रहरी अस्पताल पठाउने व्यवस्था मिलाएर वार्ड सिल, डिसइन्फेक्टका साथै १५० जना स्टाफ–कर्मचारीको पीसीआर परीक्षण गरियो । सबैको नेगेटिभ रिपोर्ट आएपछि मात्र ठप्प भएको सेवा सुरु भयो ।

धुलिखेलमा सुत्केरीको मृत्यु भएको एक महिनामा शिक्षण अस्पतालमै पहिलो संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापनका कर्मचारीले डराएर लत्तो छाडे । ‘डरको अगाडि नियम, सिद्धान्तले काम नगर्ने रहेछ’, डा. दास भन्छन्, ‘आफैं अगाडि लागेर शव निकाल्न लगाउन पर्यो । त्यसपछि भने उनीहरुको डर कम भयो ।’

त्यो बेला उपत्यकामा भेटिने केही संक्रमितको ट्राभल हिस्ट्री शिक्षण अस्पताल हुन्थ्यो । उपत्यकाबाहिरबाट आउने बिरामीको कारण कोभिड सर्ने डर मानेर मानिसहरू त्यहाँ बिरलै जान्थे । त्यसरी शिक्षण अस्पताल तारो बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (इडीसीडी) कन्ट्याक ट्रेसिङ गर्यो । सम्भावित सबैको जाँच गर्दा कसैको पनि रिपोर्ट पोजेटिभ आएन ।

अनि ईडीसीडीले निष्कर्ष निकाल्यो– शिक्षण अस्पतालमा भेटिएको पहिलो केसको परिवार र गाउँ (दाङ)मा संक्रमण देखिए पनि अस्पतालमा सरेको छैन ।

तैपनि शिक्षण अस्पतालका अधिकांश कर्मचारी ढुक्क हुन सकिरहेका थिएनन् । उनीहरु गणेशमान भवनलाई ‘भाइरसको घर’ भन्थे । त्यो भवनभित्र छिर्न त परै जाओस् गाडी पार्किङ गर्न पनि जादैन’थे । मेडिकल इक्युपमेन्ट बिग्रिँदा बायोमेडिकल इन्जिनियरहरु त्यहाँ जान अनकनाउँथे । अक्सिजन सपोर्टका स्टाफहरू गेटमै सिलिण्डर छाडेर भाग्थे ।

‘यता हाम्रो कार्यस्थल भयंकर अवहेलनामा परेको थियो’, डा. दास भन्छन्, ‘उता घरबेटीहरूले हाम्रा ५० जनाजति स्टाफलाई घर खाली गरिदेऊ भनेर तनाव दिइरहेका थिए ।’

समय नै यस्तो थियो कि कोरोना महामारीविरुद्ध लडिरहेकाहरूलाई मानिसहरू डरको नजरले हेर्थे । समाजमा उनीहरूप्रति दुर्व्यवहारको शृंखला चलिरहेको थियो । उनीहरूले आफ्नै अस्पतालमा समेत अछुतको व्यवहार भोगिरहेका थिए । अनेक हिसाबले मानसिक तनाव सहनुपरेको थियो ।

उनको कथा पनि फरक थिएन

डा. दासले परिवारसँग एउटै टेबलमा खाना नखाएको, सँगै बसेर टिभी नहेरेको आठ महिना लाग्दैछ । संक्रमणको सुरुवाती चरणदेखि नै परिवारबाट अलग भएका उनी अझै त्यही नियम पालना गरिरहेका छन् ।

दुईछोरा र श्रीमतीले बाध्यता बुझेपनि राजविराजमा रहेको पुर्ख्यौली घर छाड्न नमानेकी आमाले बेलाबखत फोन गर्दा ज्यादै गाह्रो पर्ने गरेको डा. दास बताउँछन् ।

डा दास भन्छन्- ज्यान जोखिममा राखेर काम गर्दा सरकारले दिने भनेको जोखिम भत्ता नपाएको ८ महिना बितिसक्दा पनि कोही कर्तव्यबाट भागेका छैनन्, सबै धेरै नै थकान र मानसिक तनावमा छन् । सबैलाई लामो थेरापीको जरुरत छ

‘एकदिन फोन गरेर खै मास्क, पीपीई लगाको, खै टाउको छोपेको ? भन्दै सोधेर अवाक पारिदिनुभयो’, उनी भन्छन्, ‘मैले टिभीका रिपोर्टरसँग कुरा गरेको देख्नासाथ चिन्तित हुँदै आमाले फोन गर्नुभएको रहेछ ।’

अनि आमाछोरा केही बेर फोनमा रोए । आफू आमासँग अझै सजिलै रुने गरेको यी डाक्टर बताउँछन् । आमापछि उनलाई पाँचवर्षे छोराले भावुक बनाउँछ, जो घरमा खबरदारी गर्छ, ‘ड्याडीको रुममा कोही नजाउ, कोरोना सर्न सक्छ ।’

****

महामारी उत्कर्षमा पुग्दै गर्दा अधिकांश कोभिड अस्पताल कर्मचारी नपुगेर हैरान थिए । त्यही बेला शिक्षण अस्पतालमा धेरै स्वास्थ्यकर्मीहरूमा संक्रमण देखियो । कर्मचारीहरु गुणस्तरीय मास्क, पीपीई नदिई काम लगाएको भनेर कराउन थाले । आफ्नै कर्मचारीले गम्भीर आरोप लगाएपछि संक्रमणको कारण खोजी गरियो ।

खोज्दै जाँदा थाहा भयो– ४०० जना संक्रमितको उपचार गरिसक्दा कोभिड वार्डका एकजनामा पनि संक्रमण देखिएको थिएन । उता ननकोभिडको उपचारमा संलग्न १५० जना संक्रमित भएका थिए । निष्कर्ष निस्कियो– समस्या मास्क वा पीपीईमा होइन, लापरबाहीमा छ ।

त्यसपछि कोभिड रेस्पोन्स टिमले ननकोभिड वार्डमा कर्मचारीको रहनसहन हेर्यो । त्यसबाट एउटा कमजोरी थाहा भयो– नर्सिङ र सफाइ कर्मचारीले खाजा खाने र ड्रेस चेञ्ज गर्ने कोठामा हावा वारपार हुने झ्याल रहेनछ । उनीहरु आराम गर्ने ठाउँ समेत त्यही थियो ।

समस्या पत्ता लागेपछि समाधानको पहल भयो र कर्मचारीको संक्रमण दर घट्न थाल्यो । अन्य समस्या भने झन्झन् बढ्न थाले ।

साउन अन्तिमदेखि कडा लक्षण भएका संक्रमितको चाप थेगिनसक्नु भयो । ८०० संक्रमित भर्ना हुँदा २०० सयभन्दा बढीलाई आईसीयूमा राख्नुपर्ने अवस्था आयो । आईसीयू र भेन्टिलेटर भरिभराउ हुँदा सिकिस्त भएर आउने नयाँ बिरामी छट्पटाएको हेरेर बस्नुपर्ने अवस्था भयो । जीवनको आश मारेका सिकिस्त बिरामीहरु बाँचेर फर्किदा भने हरेक पटक पीडाको सोधभर्ना भएजस्तो लाग्ने डा. दास बताउँछन् ।

वीर अस्पतालका डा. ध्रुव गैरे तिनैमध्येका एक हुन् । कोरोना संक्रमणपछि रेमडिसिभिर, प्लाज्माथेरापी गराउनुपर्ने अवस्थामा पुगेका उनी शिक्षण अस्पतालको कोभिड टिमको मेहनतले बाँच्न सफल भएको बताउँछन् । उनी भन्छन्, ‘समयमै त्यहाँ नपुगेको भए अहिले यसरी बोलिरहेको नहुन सक्थेँ ।’

अनेक मृत्युको साक्षी बन्नु चिकित्सकहरूको दैनिकी हो । १४ वर्षदेखि यही भोगिरहेका डा. दासलाई कोरोना कालको मृत्युले दिक्क पारेको छ । विशेषतः युवा उमेरका संक्रमितको मृत्यु हुँदा आफ्नो  नौनाडी गलेर आउने उनी बताउँछन् ।

पहिले कोभिड वार्डतिर फर्केर हेर्न पनि नचाहने सहकर्मीहरू अहिले डराउन छाडेको देख्दा भने डा. दासलाई आनन्द लाग्छ । ढिलै सही, यस्तो वातावरण बनेकोमा उनी खुसी छन् । यहाँसम्म आइपुग्नमा शिक्षण अस्पतालका सफाइ कर्मचारीदेखि डाक्टरसम्मको उत्तिकै भूमिका रहेको उनी बताउँछन् ।

‘ज्यान जोखिममा राखेर काम गर्दा सरकारले दिने भनेको जोखिम भत्ता नपाएको ८ महिना बितिसक्दा पनि कोही कर्तव्यबाट भागेका छैनन्’, डा दास भन्छन्, ‘सबै धेरै नै थकान र मानसिक तनावमा छन् । सबैलाई लामो थेरापीको जरुरत छ ।’

निरन्तर दौडधुप गर्दागर्दा कतिको मानसिक स्थिति बिग्रने अवस्था आएको उनले बताए । ‘म चाहिँ सम्हालिएकै छु है…!’, यसो भन्दै मुस्कुराउँदा डा. सन्त कुमार दास एकदमै भव्य देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?