+
+
Shares

सवारी साधनमा सुस्तायो बैंकको लगानी

रोयल आचार्य रोयल आचार्य
२०७७ पुष २४ गते २०:१२

२३ पुस, काठमाडौं । सवारी साधनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । यो क्षेत्रमा हरेक महिना कर्जा लगानी बढ्ने गरेकोमा पछिल्लो समय भने उल्टै घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा जाने हायर पर्चेज कर्जा १ खर्ब ६८ अर्ब २४ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो महिनाको तुलनामै हायर पर्चेज कर्जा कम भएको छ ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ६८ अर्ब ३५ करोड ५० लाख रुपैयाँ हायर पर्चेजमा लगानी गरेका थिए । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार यो क्षेत्रमा जाने कर्जा एक महिनामा नै ११ करोड रुपैयाँ भटेको छ ।

कुल कर्जा भने क्रमशः बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले मंसिरमा मात्र ६७ अर्बले कर्जा लगानी बढाएका छन् । बैंकहरुको ३४ कात्तिक मसान्तसम्म खर्ब ३३ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकामा मंसिर मसान्तसम्म यो रकम ६७ अर्ब बढेर ३५ खर्ब ७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

सवारीका लागि लिइएका पुरानो ऋण चुक्ता भएको र नयाँ ऋण नथपिएका कारण ऋण कम भएको देखिएको राष्ट्र बैंकका प्रवक्ता भट्टको अनुमान छ । अन्य शीर्षकमा कर्जा लगानी भएर पनि सवारी साधान खरिद गर्ने भएकाले पनि कम भएको हुन सक्ने उनको तर्क छ ।

‘हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी घटेको देखियो, ठ्याक्कै यही कारणले घट्यो त ल भन्न सकिन्न’, उनले भने, ‘पुरानो ऋण तिरेकाले वा ओभरड्राफ्टमा लगानी भएर पनि कम भएको हुनसक्छ ।’

अन्य क्षेत्रको कर्जाको अवस्था

सवारी साधनमा बाहेकका क्षेत्रमा जाने कर्जा घटेको छैन । कोरोनाका कारण लामो समय ठप्पप्रायः भएको कर्जा लगानी असोजपछि बढ्दै गएको छ । घरजग्गामा पनि बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार १ करोड ५० लाख रुपैयाँसम्मका व्यक्तिगत आवासीय कर्जा लगानी मंसिर मसान्तसम्म २ खर्ब ५९ अर्ब ३० करोड ७० लाख रुपैयाँ छ । अघिल्लो महिना यो शिर्षकमा जाने कर्जा २ खर्ब ५७ अर्ब ६ करोड १० लाख रुपैयाँ थियो ।

डेढ करोड रुपैयाँसम्मका व्यक्तिगत आवास कर्जा लगानी एक महिनामै २ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । उता रियल स्टेट कर्जा पनि मंसिर मसान्तसम्म १ खर्ब ६७ अर्ब ५५ करोड ३० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो महिना यो क्षेत्रमा जाने कर्जा १ खर्ब ६३ अर्ब ९१ करो २० लाख रुपैयाँमात्रै थियो । यो शिर्षकमा कोलोनी, अपार्टमेन्ट, घर बनाउन ल्याण्ड पर्चेजका लागि, कमर्सियल कम्प्लेक्स लगायतमा बैंकहरुले कर्जा लगानी गर्ने गरेका छन् ।

सेयर धितोमा पनि कर्जा लगानी राम्रै बिस्तार हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ५० अर्ब ४१ करोड रुपैयाँमात्र सेयर धितो कर्जा लगानी रहेकोमा चालु आवको पछिल्लो पाँच महिनामा यस्तो कर्जामा १७ अर्ब ४४ करोड वृद्वि भएको छ ।

पछिल्लो एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ६ अर्बभन्दा बढी कर्जा लगानी भएको छ । राष्ट्र बैंकका अनुसार सेयर धितोमा लगानी हुने कर्जा चालु आवको पाँच महिनामा ६७ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरै देखिएको छ ।

कात्तिक मसान्तसम्म ६१ अर्ब ३१ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा एक महिनामा बढेर ६७ अर्ब ८५ करोड रुपैयाँभन्दा धेरै भएको हो । पछिल्लो समय सेयर बजारतर्फ लगानीकर्ता आकषिर्त हुँदा यो क्षेत्रमा जाने कर्जाको मात्रा पनि बढेको हो ।

मंसिरमा सेयर बजार निकै माथि पुग्यो । यो महिनामा सेयर बजारमा एकैदिन ९ अर्ब रुपैयाँ भन्दा धेरैकोसम्म कारोबार भएर नयाँ रेकर्ड समेत कायम भएको थियो । पछिल्लो केही वर्षको तथ्यांक हेर्ने हो भने पनि सेयर धितोमा जाने मार्जिन नेचरको कर्जा निरन्तर उकालो लागेको छ ।

आव ०७४/७५ को असार मसान्तसम्म यस्तो प्रकृतिको कर्जा ४१ अर्ब १३ करोड रुपैयाँ थियो । आव ०७५/७६ को असार मसान्तसम्म आइपुग्दा ४५ अर्ब ४२ करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी भयो ।

विपन्न वर्गमा जाने कर्जा पनि बढेको छ । मंसिरमा मात्र बैंक तथा वित्तीय संस्थाहरुले १३ अर्ब रुपैयाँ विपन्न वर्गमा कर्जा लगानी गरेका छन् । कात्तिक मसान्तसम्म २ खर्ब ९ अर्ब ९५ करोड ६० लाख रहेको यस्तो लगानीको आँकडा मंसिर मसान्तसम्ममा २ खर्ब २४ अर्ब ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले कर्जामा कस्दा समस्या !

हायर पर्चेज कर्जामा राष्ट्र बैंकले केहि वर्षयता कडाई गर्दै आएको छ । सवारी साधन खरिदमा जाने कर्जालाई अनुत्पादक क्षेत्र भनेर राष्ट्र बैंकले अलि कडाई गर्दै आएको हो ।

कुनैबेला १० देखि २० प्रतिशत मात्रै आफूसँग रकम भए गाडि चढ्न समस्या थिएन । अर्थात्, बैंकहरुले सवारी साधनमा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्म फाइनान्स गर्थे । अहिले ५० प्रतिशतमात्रै फाइनान्स हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नाडा अटो मोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल राष्ट्र बैंकको कडाईको असर यता देखिएको बताउछन् । राष्ट्र बैंकले ५० प्रतिशत डाउनपेमेन्टमात्रै होइन आय श्रोत प्रमाणित गर्नुपर्ने प्रावधान लागु गरेको छ । यो व्यवस्थाका कारण पनि अटो लोनमा असर गरेको उनको बुझाई छ ।

अहिले यो क्षेत्रमा कर्जा लगानी कम हुनुको कारण यतिमात्रै होइन । अध्यक्ष दुलाल सवारी साधनको आयातमै कमी आएको बताउँछन् । उनका अनुसार अहिले बिक्री भइरहेका सुवारीसाधन पहिल्यै आयात भएका हुन् ।

‘लकडाउनको अवधीमा बिक्री भएन, अहिले निजी सवारी साधनको आवश्यकता बढेको छ’, उनी भन्छन्, ‘तर पर्याप्त आयात हुन सकेको छैन ।’

दुलालका अनुसार कोरोना महामारीपछि भारतमै पनि सवारी साधनको माग बढेको छ । भारतमै धेरै खपत हुँदा नेपालमा आयात हुन सकेको छैन । ‘अब आयात बढेसँगै बिक्री पनि बढ्छ’, उनी भन्छन्, ‘यो क्षेत्रमा कर्जा लगानी पनि बढ्छ ।’

‘नयाँ लोन कम गयो, पुराना चुक्ता भयो’

कोरोना महामारीका कारण साउनासम्म कर्जा लगानी निकै सुस्त थियो । लकडाउन चलिरहदा त स्वीकृत कर्जा समेत लगानी हुन सकेन । दशैं अघिदेखि भने कर्जाको माग बढ्दै गएको छ ।

कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमै समग्र कर्जा राम्रै बढेको छ । हायर पर्चेज कर्जा चाहिँ कसरी घट्यो त ? नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल यसमा मूख्य दुई कारण देख्छन् ।

‘कर्जा लगानी घटेपनि कर्जा लगानी नै नभएको होइन’ अध्यक्ष दाहाल भन्छन्, ‘गएको कर्जा केही छिटपुटबाहेक सबैले नियमित तिरिरहनु भएको छ, पुरानो कर्जा चुक्ता भएको र नयाँ लगानी कम हुँदा कम भएको देखिएको हुनसक्छ ।’

 

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?