+
+
Shares

अविनाश श्रेष्ठ : सरल कवि, सुरा सम्पादक

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७७ पुष २५ गते ८:५९

२५ पुस, काठमाडौं । साझा प्रकाशनले निकाल्ने साहित्यिक पत्रिका ‘गरिमा’को नेपाली साहित्यमा विशिष्ट इतिहास छ । कथा, कविता, समालोचनका लागि अग्रपंक्ति मानिने यो पत्रिकाको केही वर्षदेखि स्तर खस्किँदै थियो । २०६७ चैत्रमा अविनाश श्रेष्ठलाई गरिमा मासिकको प्रधान–सम्पादक नियुक्त गरियो । साहित्यिक पत्रिकाकै सम्पादनमा दुई दशक लामो अनुभव बटुलेका अविनाश आएपछि गरिमाले मुहार फेर्यो । साहित्यिक पाठकका लागि गरिमा फेरि ‘एक नम्बर पत्रिका’ दर्ज भयो ।

गरिमामा रहँदा अविनाशले युवा कविहरूको लागि कविता विशेषाङ्क, आख्यानको लागि कथा विशेषाङ्कलगायत शानदार प्याकेज प्रकाशित गरे । युवा पुस्ताका लेखकलाई मूलधारमा स्थान दिन थाले । तर, परिस्थिति अविनाशले सोचेझैं भएन । उनको दुई वर्षे करार अवधि सकिनै लागेको थियो । सधैं राजनीतिक खिचातानी हुने साझा पनि दिन-प्रतिदिन अस्तव्यस्त बन्दै थियो । यही कारणले सम्पादक अविनाशले २४ महिना काम गरी ‘गरिमा’बाट बिदा गए ।

यसअघि १३ वर्ष काम गरेको ‘समकालीन साहित्य’को ५० औं अंक निस्कन तीन अंक बाँकी छँदा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उनको असामयिक बिदाइ भएको थियो ।

****

पुर्ख्यौली थलो पर्वत भए पनि अविनाश श्रेष्ठको जन्म भारत असमस्थित गुवाहाटीमा भएको हो । आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठको जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा जन्मिएका अविनाश पिताको निधन भएपछि आमासँगै हुर्किए ।

पर्वतको मान्छे असम पुगेको रोचक कथा सुनाउँदै अविनाश भन्छन्, ‘हामी खासमा भक्तपुरका रहेछौं । ८ पुस्ता जतिअघि पर्वत पुगेका थियौं । फेरि मेरा बुबा भने पर्वत छोडेर बर्मा हुँदै असम पुगेछन् !’

दुई दशक साहित्यिक सम्पादकको भूमिका निर्वाह गर्दा निकै सुरो स्वभावको देखिएपनि अविनाशका सृजना सरल छन् । नेपाली साहित्यका गहन पाठक र अध्येतामाझ कवि एवं कथाकारका रुपमा प्रशंसित छन्

बर्मा पुगेका बुबाले परिवारसहित १९४२ आसपास असम बस्न थाले । उनले पुर्ख्यौली पर्वतको कुश्मामा केही जमिन जोडेका हुनाले अविनाशले प्राथमिक तहका केही वर्ष पर्वत जिल्लामै बसेर पढे ।

कल्पनाशील स्वभावका अविनाशलाई सानैबाट साहित्यको रस पस्यो । नवौं श्रेणीमा पढ्दा नै आफूले लेखेको नाटक स्कुलमा देखाए उनले । माध्यमिक तहदेखि कविता लेखन अविनाशको जीवनको अभिन्न पाटो बन्यो । औपचारिक अध्ययनबारे उनी सुनाउँछन्–

‘१३ वर्षको उमेरमै माध्यमिक शिक्षा उत्तीर्ण गरें । त्यसपछि साहित्यमा रुचि हुँदाहुँदै पनि विज्ञान विषय लिएर पढे तापनि फेरि मेरो मूलकर्म साहित्य नै बन्यो ।’

आइएस्सी पढ्दै गरेको विज्ञान–विद्यार्थी भएपनि उनले नाटक र कविता लेखिरहे । साहित्यप्रतिको रुचिलाई एकरत्ति कम हुन दिएनन् । कलेजमा आफूले लेखेको नाटक ‘यहाँ जिन्दगी यस्तै छ’ प्रदर्शन गरेर गुरु तथा साथीहरूको चर्चा बटुले ।

अविनाशको साहित्यिक लेखनले आज पाँच दशक टेकिसकेको छ । यसबीचमा उनको नाममा पाँच कवितासंग्रह, एक कथा, दुई नाटक र दर्जनौं सम्पादन कृति प्रकाशित भइसकेका छन् । एक विशिष्ट कवि, कथाकार, नाटककार र साहित्यिक पत्रकारको सम्मानित परिचय बनाएका छन् उनले ।

दुई दशक साहित्यिक सम्पादकको भूमिका निर्वाह गर्दा निकै सुरो स्वभावको देखिएपनि अविनाशका सृजना सरल छन् । नेपाली साहित्यका गहन पाठक र अध्येतामाझ कवि एवं कथाकारका रुपमा प्रशंसित छन् ।

काठमाडौं–कोलाज

असममा छँदा अविनाशले ‘कोलाज कविता आन्दोलन’ चलाएका थिए । झट्ट सुन्दा अनौठो लाग्ने कोलाजको अर्थ पेन्टिङमा बाँकी रहेका सरसामान, रङ, कपडा प्रयोग गरी बनाइने चित्र रहेको उनी बताउँछन् । भन्छन्, ‘पेन्टिङमा जस्तै समाजमा रहेका चित्रकार, कलाकार, संगीतकार, कवि एकैठाउँमा भेला भई कला प्रस्तुत गर्ने आन्दोलनलाई नै कोलाज कविता आन्दोलन भनिएको हो ।’

यही कविता आन्दोलन, नाटक, कथा र कविता बोकेर असमका गाउँगाउँ पुगेका अविनाशको कर्मथलो भने काठमाडौं बन्न पुग्यो । २०३९ सालमा रत्नश्री पदक ग्रहण गर्न काठमाडौं आएका अविनाश सधैंका २०४० देखि यतैका हुन पुगे ।

२०४० मा उनी नेपाली विषयमा स्नात्तकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय भर्ना भए । विश्वविद्यालयपछि काठमाडौंमै बसेर पटकथा लेखन, फिल्म लेखन र अन्य काम गर्न थाले । पछि त्रिभुवन विश्वविद्यालयमै प्राध्यापन सुरु गरे । २६ वर्ष ११ महिना पढाएर लकडाउनअघि विश्वविद्यालयबाट अवकाश प्राप्त गरे ।

काठमाडौं आएको सुरुवाति दिनमा अविनाश होस्टल बस्थे । नेपाल विद्यार्थी संघका तत्कालीन नेता विमलेन्द्र निधि, बालकृष्ण खाँड, प्रकाशशरण महत, जयप्रकाश गुप्ता अविनाशका ‘क्लासमेट’ थिए अविनाश । केही समय आफूले पनि राजनीतितिर मन दिएको स्वीकार्ने श्रेष्ठ आफ्नो धारणा राख्दै भन्छन्, ‘त्यतिबेला पनि झडप, आन्दोलन र कुटाकुट हुने देखेपछि मेरो सृजनशील हृदयले राजनीति पचाउन सकेन ।’

आफ्नो कथासंग्रह र आफूले सम्पादन गरेको विजय मल्लको कथा देखाउँदै अविनाश

पढ्न भनेर काठमाडौं आएका अविनाशको तनमन कविता र कथामा थियो । यसबाहेक नाटक लेख्ने, प्रदर्शन गर्ने काम विद्यालयदेखि नै सिकिसकेका थिए । तर युवाकालमा उनले फिल्म लेखनमा बढी समय दिए ।

चर्चित फिल्म लेखकको परिचय बनाएका श्रेष्ठ आफूले आर्थिक उपार्जनकै लागि फिल्म लेखेको स्वीकार्छन् । भन्छन्, ‘काठमाडौंको बसाइँ यसै पनि महंगो । विवाहपछि त खर्चको कारणले पनि फिल्म लेखिरहनुपर्यो ।’

पछिल्लो एक दशकदेखि भने फिल्म लेख्न छाडेका छन् । तर, आजका अग्रज मानिने सिने–निर्देशक तथा कलाकार अविनाशका दौंतरी हुन् । बम्बईबाट पटकथा लेखाएर काठमाडौं ल्याइने समयमा अविनाशले ‘माया’ भन्ने चलचित्रको पटकथा काटमाडौंमै लेखिदिए । नेपाल टेलिभिजनबाट पहिलोपटक प्रसारण भएको टेलिफिल्म ‘चक्रब्यूह’ पनि अविनाशकै कलमले पूरा गर्यो ।

अहिले तीन छोरी र श्रीमति मन श्रेष्ठसहित काठमाडौं कोटेश्वरस्थित कीर्तिमार्ग ‘मन–मन्दिर निवास’मा बसिरहेका छन् ।

ट्याग सम्पादक

कवि हरिभक्त कटुवाल गुहाटी (गुवाहाटी) जाँदा काठमाडौंबाट साहित्यिक पत्रिकाहरू लिएर जाँदा रहेछन् । उनै कटुवालले प्रकाशन गर्ने ‘बान्की’ पत्रिका देखेपछि अविनाशलाई लागेछ, ‘यति सानो साइजमा पनि निकै स्तरीय साहित्यिक खुराक दिन सकिने रहेछ ।’

बान्की देखेका अविनाश त्यतिबेला भारतीय पत्रपत्रिका खुबै पढ्थे । धर्मयुग, नवनित, सारिका, कादम्बिनीलगायत धेरै पत्रिका किन्थेँ । ती पत्रिकाहरूबाट प्रभावित पनि भएको स्वीकार्दै उनी भन्छन्, ‘साहित्यिक पत्रिकामा मन बसेपछि ‘सलेदो’ निकाल्ने सोच बनाएँ । अन्ततः ४ जनवरी १९७४ मा नेपाली साहित्य परिषद् असम खोलेर त्यसैबाट सलेदो प्रकाशन गर्यौं ।’

‘सलेदो’मा अविनाशले प्रशस्त साहित्यिक खुराक पस्केका थिए । असमका साहित्यकारहरू कृष्णप्रसाद ज्ञवाली, माया ठकुरी, अर्जुन निरौला, पीताम्बर पोखरेललगायत रचना अविनाशले सम्पादन गरेको पत्रिकामा हुन्थ्यो । तर ‘सलेदो’ लामो समय प्रकाशित भएन । त्यसको चार अंकमात्रै निस्कियो । त्यसपछि ‘नेपाली साहित्य परिषद् असम’ले ‘परिषदपत्र’ नामक मुखपत्र निकाल्यो । त्यसको सम्पादन पनि अविनाशकै जिम्मा पर्यो ।

अविनाशले ‘परिषद्पत्र’का अंकहरू ल्याएर नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी)मा बुझाए । तिनै पूर्वप्रकाशित पत्रिकाको सम्पादन-कला देखेर माधव घिमिरे र विजय मल्लले उनलाई ‘समकालीन साहित्य’को सम्पादक हुने मौका दिए । यससँगै अविनाश ‘समकालीन साहित्य’ र ‘कविता’को सम्पादक भए ।

१३ वर्ष ६ महिना काम गरेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट बिदा भएका अविनाशको कन्फेसन छ– ‘यी दुई पत्रिकाले मेरो परिचय नै साहित्यिक सम्पादक बनाइदियो ।’

यसो त आजका चर्चित लेखकको पहिलो रचना छाप्ने सम्पादकको श्रेय अविनाशलाई नै जान्छ । फिक्सन डिजाइनर कुमार नगरकोटीलाई कथा लेखनमा ल्याउने उनी नै हुन् । भीष्म उप्रेती, युवराज नयाँघरे, विनोदविक्रम केसी, विमला तुम्खेवालगायत साहित्यकारको पहिलो रचना उनले नै छापेका थिए ।

यद्यपि, सम्पादन विशुद्ध प्राविधिक विषयमात्रै मान्छन् अविनाश । सम्पादनभन्दा सृजनशील प्रतिभालाई बढी महत्त्व दिन्छन् । आजका साहित्यिक पत्रिका देख्दा उनको मन दुख्छ । धेरैले साहित्यिक पत्रिका भनेपछि कथा–कविता जम्मा पारेर छाप्ने मात्र बुझ्छन् तर साहित्यिक पत्रिकाको सम्पादमा धेरै काम जोडिने उनको निचोड छ ।

अविनाश भन्छन्, ‘पत्रिका कुन साइजमा छाप्ने, चित्र कसरी राख्ने, फोटो कसरी प्रस्तुत गर्ने, सम्पादकीय लेख्ने कुरा ध्यान दिनुपर्छ ।’

जुनसुकै काम गर्दा, जस्तो पदमा रहँदा पनि अविनाशले सबैतिरबाट लेखन कर्म नै गरे । यो कुरा सुनेर सन्तोष मान्दै रहस्य खुलाउँछन्, ‘यसरी जे काम गर्दा पनि लेखन मसँग जोडिएको छ, म लेखनसँग जोडिएको छु ।’

समालोचक डा. गोविन्दराज भट्टराई अविनाश श्रेष्ठलाई भाषामा सबैभन्दा ठूलो शक्ति निहित रहेको सशक्त स्रष्टा मान्छन् । यता कवि अभय श्रेष्ठ अविनाशको ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ कविता बारम्बार उल्लेख गर्दै आफूलाई मन परेको कविता–सूचीमा राख्छन् ।

साथीहरूको आत्मीय प्रशंसामा जोशिलो बन्दै ६४ वर्षीय अविनाश पुनः कथा, कविता लेख्न कलम समात्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?