Comments Add Comment

घरघरमा पुग्यो कोरोना, जेष्ठ नागरिकले भरिन थाल्यो आईसीयू

२ माघ, बुटवल । पछिल्लो एक साता लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना ल्याबमा ४०६ जनाले कोरोना परीक्षण गराए, जसमध्ये ६९ जनामा संक्रमण देखियो । जबकि दुई महिना पहिला बुटवलमा दिनमै ३०० हाराहारीमा कोरोना परीक्षण हुन्थ्यो । संक्रमण दर पनि २०/२२ प्रतिशतसम्म थियो ।

परीक्षण र संक्रमण घटेपनि मृत्यु दर भने घटेको छैन । बरु बढ्न थालेको चिकित्सकहरु बताउँछन् । पछिल्लो एक साताको अवधिमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भएको मृत्यु दरले त्यही संकेत गर्छ ।

अस्पतालमा आईसीयू बेड भरिभराउ भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । भर्ना हुन आउनेहरु अधिकांश ६० वर्ष माथिका जेष्ठ नागरिक छन् र उनीहरुमा कुनै न कुनै दीर्घरोग छ ।

‘कोरोना जाँच गर्नेको संख्या निकै घटेको छ, तर मृत्यु दर घटेको छैन, बरु बढेको छ’ कोरोना विशेष अस्थायी अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापा भन्छन्, ‘मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याईं बढ्यो । यसले कोरोना समुदायबाट घर–घरमा पुगिसक्यो ।’

डा. थापाको विश्लेषणमा सार्वजनिक यातायात, होटेल रेष्टुरेन्ट, पर्यटकीय र धार्मिक स्थलहरु खुला हुँदा पनि संक्रमण घरघरमै पुगेको छ । दिनभर विभिन्न पेशा, व्यवसायका लागि घर बाहिर निस्कने उमेर समूहका व्यक्तिले घरमै बस्ने उमेर समूहका जेष्ठ नागरिकलाई कोरोना सारिरहेका डा. थापाको ठम्याइ छ । ‘कोरोनाको डर मान्न छाडेर हेलचेक्र्याई गरेका छन्, उनीहरुमा संक्रमण भएपनि जाँच गरेका छैनन्’ डा. थापा भन्छन् ‘तर उनीहरुबाट जेष्ठ नागरिकमा संक्रमण सरेको छ । कोरोना समुदायमा मात्र होइन, घर घरमै पुगिसकेको छ ।’

सामान्य लक्षण देखिँदा कोरोना जांच नगर्ने प्रवृत्ति बढेको र स्वास्थ्यमा गम्भीर समस्या आएपछि मात्रै अस्पताल आउने गर्दा संक्रमितलाई बचाउन नसकिएको डा. थापा स्वीकार गर्छन् । ‘पहिले जस्तो सतर्कता र सुरक्षाका उपाय अवलम्बन गरेको पटक्कै देखिन्न’ थापा भन्छन्, ‘कोरोनाको संक्रमण अझै उस्तै छ । मात्रै जाँच घटेको हो ।’

अन्य मुलुकमा सरकारले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिसकेकाले सरकारको ध्यान भ्याक्सिन ल्याउनेमा हुनुपर्ने डा. थापाको आग्रह छ । सँगसँगै सरकारले सचेतनाका कार्यक्रम फेरि पनि सञ्चालन गर्नुपर्ने र नागरिकले मास्कको प्रयोग र सामाजिक दूरी पालना अनिवार्य गर्नुपर्ने डा. थापाको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment