Comments Add Comment

फोरजीमा एनसेलको हिस्सा ६५ प्रतिशत

४ माघ, काठमाडौं । फोरजी मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टका अनुसार फोरजीमा एनसेलको बजार हिस्सा सबैभन्दा बढी रहेको छ ।

कार्तिक महिना सम्ममा फोरजीको कुल ग्राहक संख्या ६३ लाख ३२ हजार १९४ रहेको छ । अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिदै आएका छन् । यो सेवा २१.१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेका छन् ।

चार वर्ष अगाडि यो सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो । एनसेलले टेलिकम भन्दा पाँच महिनापछि यो सेवा संचालनमा ल्याएको थियो । प्राधिकरणका अनुसार एनसेलका ४० लाख ८२ हजार ५१७ ग्राहक रहेका छन् भने नेपाल टेलिकमका २० लाख ४९ हजार ९१६ ग्राहक रहेका छन् ।

त्यसैगरी स्मार्ट टेलिकमका १ लाख ९९ हजार ७६१ ग्राहक छन् । फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको छ । फोरजी सेवा संचालनमा आएपछि मोवाइल डाटाको खपत बढिरहेको छ भने र शुल्कमा भने उलेख्य रुपमा घटेको छ ।

नेपालको कुल ब्रोडब्याण्ड सेवा चलाउने प्रयोगकर्ताको संख्यामा फोरजीको योगदान २६ प्रतिशत रहेको छ । सबैभन्दा बढी योगदान ५६ प्रतिशत थ्रीजी सेवाको रहेको छ भने केबल इन्टरनेट फाइबर टु द होम अर्थात एफटीटीएचको योगदान २२ प्रतिशत रहेको छ । नेपालमा ब्रोडब्याण्ड सेवाको कुल ग्राहक संख्या २ करोड ३९ लाख २१ हजार १८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment