Comments Add Comment
सन्दर्भः ओशो महापरिनिर्वाण दिवस :

धर्म र राजनीति अब अनावश्यक भइसके

विभाजन हैन, समन्वय : यही नै ओशोप्रति सच्चा श्रद्धाञ्जली हुनेछ

ओशोको महापरिनिर्माण १९ जनवरी १९९० मा भयो । कुनै पनि बुद्ध पुरुषले यो संसारबाट बिदा लिएको दिनलाई हामी महापरिनिर्माण दिवस भन्छौं किनभने पृथ्वीबाट यो अन्तिम विदाइ हो ।

अन्य व्यक्तिको विदाइ केही समयका लागि हुन्छ र उनीहरु फेरि शरीर लिएर कुनै न कुनै रुपमा आउँछन् । तर, जब आत्मबोध गरेको, पूर्णतः जागृत व्यक्ति पृथ्वीबाट विदा हुन्छ, त्यस्तो विदाइलाई हामी महापरिनिर्वाण भन्छौं । यस्ता पूर्णतः जागृत व्यक्तित्वहरु जब पृथ्वीबाट बिदा हुन्छन् उनीहरु फेरि फर्केर शरीर धारण गर्न यो पृथ्वीलोकमा आउँदैनन् ।

तर, शरीर नलिए पनि त्यस्ता बुद्ध पुरुषको चेतनाले यो पृथ्वीबाट कहिल्यै विदा पनि लिँदैन । किनभने, हामी त्यसलाई बिर्सन सक्दैनौं । त्यस्ता व्यक्तिहरूको चेतना ब्रह्मान्डीय हुन्छ । त्यस्तो चेतना सारा जगत र मनुष्यको स्मृतिमा दीर्घकालीन रुपले रही रहन्छ ।

ओशोको जन्म ११ दिसम्बर १९३१ मा भयो । तर, उहाँको करुणाले कहिलेपनि यो जगतलाई छोडेर जाँदैन । जबसम्म यो पृथ्वी रहन्छ, ओशो कुनै न कुनैरुपमा जीवितै रहनुहुन्छ । त्यस्तो उपस्थिति सबै जागृत व्यक्तिको हुन्छ । समाधि, आत्मबोध र निर्वाण प्राप्त गरेका सबै व्यक्तिहरूको चेतनामा यो क्षमता हुन्छ ।

आत्म जागृति मनुष्यको सबैभन्दा ठूलो सौभाग्य हो । यस्ता सौभाग्यशाली व्यक्तिहरु पृथ्वीमा विगतमा पनि थिए, आज पनि छन् र भविष्यमा पनि हुनेछन् । बुद्धत्वको यो परम्परा चलिरहनेछ । यस्तो कुनै अवस्था छैन जुनबेला पृथ्वीमा आत्म उपलब्ध व्यक्तिहरु नहुन् ।

तर, सम्बुद्ध व्यक्तिहरुमध्ये पनि कोही यस्ता हुन्छन् जसले नयाँ इतिहास बनाउँछन् । जसले मनुष्यको चेतनाको विकास क्रमलाई छुट्टयाउने सीमारेखा कोरिदिन्छन् । समग्र मनुष्यताको चेतनामा छलाङ् पैदा गर्छन् । परिवर्तन र क्रान्तिको बीजारोपण गर्छन् । यस्ता व्यक्तिहरु इतिहास निर्माता हुन् ।

मनुष्यको इतिहासलाई दुई भागमा विभक्त गर्ने जीसस क्राइस्ट अद्वीतिय छन् । जीससको पदार्पणले इतिहासलाई जीसस अघि र जीसस पछिको दुई कालखण्डमा विभक्त गरिदियो – एडी र बीसीमा । उहाँको उपस्थितिको यति ठूलो प्रभाव पर्यो कि हामीले समयलाई दुई खण्डमा बाँडिदियौं । त्यस्तै बुद्धपछिको धर्मले नयाँ भाषामा बोल्न थाल्यो । सम्यक जागरण र आत्मसाधनामा आधारित नयाँ धर्मको आधारशीला बस्यो । धर्मले वैज्ञानिक भाषा बोल्न थाल्यो ।

आज एउटा वैज्ञानिक आध्यात्मको आवश्यकता छ । कर्मकाण्ड र अन्धविश्वासमा आधारित नभएको स्वर्ग नर्क, पाप पुण्यमा आधारित नभएको । ओशोले त यतिसम्म भन्नुभयो कि त्यो धर्ममा ईश्वरको कुनै अनिवार्यता छैन ।

त्यस्तै चीनमा लाउत्सु पैदा भए । लाउत्सुपछि चीनको दर्शन र सोचाइले एउटा शिखर छोयो । लाउत्सु यति अद्भूत व्यक्ति भए कि उनलाई बुझ्न यति समय लाग्यो कि २५ सय वर्षसम्म पनि चीनबाट बाहिर उनीको नाम सुनिएन । बल्ल आएर अहिले ताओ र लाउत्सुको चर्चा सबैतिर शुरु भएको छ ।

वास्तवमा ताओ एक धर्म नभएर यो जगतसँगको सामञ्जस्यमा आधारित एक समग्र जीवनशैली हो । मानिस बौद्धिक हुँदै गएकाले उनको यो शिक्षणलाई बल्ल मानिसहरुले ध्यान दिन थालेका छन्, बुझ्न खोजेका छन् । ताओ शब्द यति प्रख्यात भयो कि यसलाई लिएर अनेक पुस्तकहरु लेखिन थालिए – ताओ फिजिक्स्, ताओ म्यानेजमेण्ट, ताओ बुक अफ लभ ।

पश्चिमी गोलार्धका हरेक देशहरुका पुस्तक पसलहरुमा ताओसँग जोडिएका विविध विषयमा लेखिएका अनेक पुस्तकहरू पाइन थालियो । चिन्तन जति नै गहिरो हुन्छ त्यसलाई बुझ्न समय लाग्छ र लाओत्सु जस्तो त्यति प्रतिभाशाली व्यक्तिलाई चीनभन्दा बाहिर बुझ्न २५ सय वर्ष लाग्यो ।

त्यसैले ओशो बेबुझ रहनुमा कुनै आश्चर्य छैन, किनभने हामीलाई थाहा छ, मनुष्यको बुझ्ने क्षमताको सीमितता । ओशो चेतनाको जगतमा ठूलो क्रान्तिकारी उछाल हो । जतिमाथिको कुरा बुद्ध पुरुषहरुले गर्छन्, सामान्य व्यक्तिले त्यो पचाउला, बुझ्ला र जीवनमा उतार्ला त्यस्तो आशा राख्नु असंभव आशा हो । । तर, ओशोले शरीर छोडेको ३० वर्ष वितिसक्दा उहाँप्रतिको भ्रम कम भएको छ ।

विगत ५२ वर्षदेखि म ओशोको कार्य विस्तार गरिरहेको छु । आज यो कार्य सजिलो हुँदै गएको छ । पत्रपत्रिका, लेखक, चिन्तक, विद्वान प्रतिभाशाली व्यक्तिहरूले ओशोलाई जति सकारात्मक तरिकाले लिएका छन्, त्यस्तो पहिला कहिल्यै भएको थिएन । यो समयको अन्तरालले मनुष्यको चेतनालाई ओशोप्रति सकारात्मक बनाएको छ । यस्तो व्यक्ति, जसले इतिहासलाई बनाउँछ, उसलाई उसकै जीवनकालमा बुझ्न गार्हो हुन्छ । इतिहासको कालखण्डलाई नै विभक्त गर्ने यस्तो प्रतिभालाई बुझ्न अति कठिन हुन्छ ।

तपाईंले इतिहासलाई अध्ययन गर्नुभयो भने त्यस्ता व्यक्तिलाई इतिहासले अपराध पनि गरेको छ । जीसस, जसले इतिहासलाई दुई भागमा विभक्त गरिदिनुभयो उनलाई हामीले के दियौं ? जसले मनुष्यतालाई प्रेमको सन्देश दिए उनलाई यो समाजले के दियो ? मात्र क्रोध र हिंसा दियौं । हामीले बडो बर्बर तरिकाले मार्यौं । जीससलाई जति हिंसक तरिकाले हत्या गरियो, त्यति निर्मम तरिकाले अरु बुद्ध पुरुषहरुप्रति उनीहरुको कालखण्डमा त्यस्तै अपराध गरिएको छ ।

ओशोेलाई पनि आफ्नो समयमा करिब २२ राष्ट्रहरुले अवाञ्छनीय व्यक्तित्व भनेर घोषणा गरे र प्रवेश दिएनन् । अमेरिकाजस्तो मनुष्यताको स्वतन्त्रताको उद्घोष गर्ने राष्ट्रले उहाँलाई पचाउन सकेन । उहाँलाई जेलमा राखियो, अति यातना दिइयो र पछि देश निकाला गरियो । अमेरिकाले पनि उहाँको चिन्तनको मौलिकता र क्रान्तिको धारलाई बुझ्न सकेन । त्यो बुझ्न कठीन नै हुँदो रहेछ ।

आज मनुष्यता अलिकति भए पनि पुरातन स्थितिबाट माथि उठेको छ । मानिसको सोचाइमा अलि उदारता आएको छ । विज्ञानले मनुष्यलाई सत्यको अनुभवका लागि खोज गर्न उदार बनाएको छ । आज पश्चिमका ४० प्रतिशत व्यक्ति कुनै संगठीत धर्ममा संलग्न छैनन् । न उनीहरु चर्च जान्छन्, न मस्जिद, न मन्दिर । उनीहरुलाई साम्प्रदायिक धर्ममा विश्वास रहेन । आज उनीहरु अध्यात्मको नयाँ परिभाषा खोजिरहेका छन् । त्यसैले आज एउटा वैज्ञानिक आध्यात्मको आश्यकता छ । कर्मकाण्ड र अन्धविश्वासमा आधारित नभएको स्वर्ग नर्क, पाप पुण्यमा आधारित नभएको ।

ओशोले त यति सम्म भन्नुभयो कि त्यो धर्ममा ईश्वरको कुनै अनिवार्यता छैन । यस्तो धर्म, जो मनुष्यको आन्तरिक जागरणमा आधारित होस्, मनुष्य चेतनाको विकासमा आधारित होस्, प्रेमपूर्ण सहअस्तित्वमा आधारित होस् ।

मनुष्यको आधारभूत मूल्यहरु सार्वभौमिक छन् । हरेक जाति, देश, राष्ट्र, कालमा तिनमा समानता छ । प्रेम र सद्भाव, दया, दान, करुणा ईख मनुष्यका मौलिक आवश्यकता हुन् । दानले हरेक मनुष्यलाई विशाल बनाउँछ । हरेक व्यक्ति र समाजमा सत्यको त्यति कै मूल्य छ । यस्ता मौलिक मूल्यमा आधारित धर्म समयको माग हो ।

हामीले जीसस, राम, मोहम्मद, कृष्णका नाममा धर्म स्थापना गरेर धेरै लड्यौं । विगत ३५ सय वर्षमा जम्माजम्मी ३ सय वर्षमात्र हामी शान्तिले बसेका छौं । मनुष्यको इतिहास हेर्ने हो भने ८ प्रतिसत समयमात्र यस्तो छ जसमा युद्ध भएको छैन । नत्र कहीँ न कहीँ युद्ध चलिरहेको हुन्छ । यदि तपाईले युद्धको आन्तरिक कारण खोज्नुभयो भने त्यसको जरो कहीँ न कहीँ साम्प्रदायिक धर्म र राजनैतिक विचारधारामा पाउनुहुन्छ ।

आज हिन्दुस्तान र पाकिस्तानबीचको जुन द्वन्द छ, त्यसका पछाडि पनि धर्म नै छ । भारत र पाकिस्तानको सीमारेखाको वरिपरि सबैभन्दा सुन्दर क्षेत्र छ कश्मीर । त्यसको वारपार जनावरहरु स्वतन्त्रतापूर्वक एक देशबाट अर्को देशमा जान्छन् । चराचुरुंगी एक देशबाट अर्को देशमा उड्छन् । तर, एक पाकिस्तानीलाई भारत र भारतीयलाई पाकिस्तान प्रवेश लगभग असम्भव छ । हामीले आज यस्तो समाजको सिर्जना गरेका छौं कि जुन स्वतन्त्रता जनावरलाई प्राप्त छ, त्यसबाट पनि हामीलाई बञ्चित गरिएको छ ।

आज जहाँ पनि लडाइँ छ, चाहे त्यो अरब इजराइलको होस्, त्यो पनि धर्मकै लडाइँ हो । यहुदी र इस्लामको लडाइँ । अफगानिस्तानको लडाइँ पनि धर्म कै आडमा लडिइएको छ । इराक र इरानको युद्ध पनि एउटै धर्मका दुई हाँगाको लडाइँ हो । के यी सबै धर्म लडाउनलाई बनाएको हो ? धर्म त मनुष्यता मात्रको एकताको सन्देश दिन बनाइएको हो ।

मोहम्मद, कृष्ण, जीसस सबैले हामीलाई प्रेम गर्न सिकाए । तर, उहाँहरुका नाममा हामी हजारौं वर्षदेखि लड्दै आइरहेका छौं । उहाँका नाममा जो कथाकथित धर्महरु सृजना गरिएका छन्, ती धर्म नभएर सम्प्रदाय मात्र हुन् । यिनीहरु विदा हुने समय आयो । यसको शंखानाद गर्ने व्यक्तिको आवश्यकता थियो र त्यस्तो व्यक्ति पैदा भयो, जसको नाम ओशो रजनीश हो ।

अब सम्प्रदायको कुनै मूल्य छैन र तिनको कुनै भविष्य छैन । आज प्रविधिले मनुष्यलाई एक बनाएको छ । विज्ञानले यो पृथ्वीलाई गाउँ जस्तो नजिकै ल्याइदिएको छ । हामी आज एक परिवारजस्तो भएका छौं । खाली राजनीति र धर्मले मात्र मानिसलाई विभाजित गरिरहेको छ ।

यो विभाजनको रेखा कोर्ने खाली दुई चिज छन् – धर्म र राजनीति । यिनीहरुले मानिसलाई जवरजस्ती भौतिक र मनोविज्ञानिक सीमाहरु कोरिदिएका छन् । नैसर्गिकरुपले मनुष्य– मनुष्यमा कुनै विभेद छैन, पृथ्वीमा कुनै सीमारेखा छैन । तर, कृत्रिमरुपले सृजना गरिएको विचार र धर्मको दासताले मात्र मनुष्यलाई दुःखी बनाएको छ । आज एक स्थानमा बिहानको खाजा खाएर अर्को महादेशमा हामी दिउँसोको भोजन गर्न पुग्न सक्छौं । धर्म र राजनीति अब अनावश्यक भइसके । यो दुबैलाई हामीले नयाँ परिभाषा दिनुपर्छ ।

एक्काइसौँ शताब्दीको धर्ममा अब विभाजन हैन, समन्वय हुन्छ । यो समन्वयले मात्र विश्वमा शान्ति स्थापित गर्न सक्छ । मेरै धर्म, मेरै राष्ट्र, मेरै जाति ठीक भन्ने मनुष्यको जुन अहंकार छ, त्यसको मूल्य हामीले धेरै चुकारहेका छौं । यो आशान्तिको मुख्य कारण के हो भने असहिष्णुता । अर्काको विचार सुन्ने क्षमता नहुनु । यही गलत संस्कारको कारणले विगतमा हामीले यति युद्धहरु गर्‍यो ।

महावीरको अनेकान्तवादको समय आएको छ । सबै हामी आ–आफ्नै ठाउँमा ठीक हुन सक्छौं, खाली हाम्रो हेर्ने कोणमात्र फरक होला । यो फरक कोणबाट हेरेको हुनाले वास्तविकता फरक–फरक तरिकाले देखिएको होला । यो दृष्टिकोण पैदा गर्नुपर्छ । यो दृष्टिकोण पैदा गर्ने व्यक्ति हुनुभयो ओशो रजनीश । अब ओशोपछिको जुन अध्यात्म पैदा हुन्छ, त्यो समन्वयवादी हुन्छ । ओशोले आफ्नो नाममा कुनै नयाँ धर्म स्थापना गर्न चाहनुभएन ।

ओशोले भन्नुभयो – ‘म कुनै नयाँ सम्प्रदाय बनाउन इच्छुक छैन । साना ठूला गरेर करिब तीनसय धर्म पृथ्वीमा अस्तित्वमा छन् र तिनका अनेक उपधर्म र सम्प्रदायहरु छन् । यिनीहरुले अघि नै धेरै विभाजनका रेखाहरु कोरिसकेका छन् कि म मनुष्यतालाई बाँड्न त्यसमा अर्को विभाजनको रेखा कोर्न चाहान्न । जुन विभाजित मनुष्यता छ, त्यसलाई म एकाकार गरी एक विशाल मनुष्यताको निर्माण गर्न चाहान्छु । हामी सबै माथि एउटै आकाश छ, हामी सबै एउटै पृथ्वीमा छौं । एउटै हावा छ, जल छ । हामी किन विभाजित हुने ? यस्तो हाम्रो समग्र दर्शन हुनुपर्यो । यो दर्शनले मात्र मनुष्यलाई युद्धको विभीषिकाबाट बचाउन सक्छ ।

सामन्तवादी सोचाइ र अर्काको विचारप्रति असहिष्णुताका कारणले आज विश्वको कुनै पनि देशमा केही न केही किसिमको आतंकवाद देखापरेको छ । अरुको दृष्टिकोण पनि सही हुन सक्छ भन्ने हामी मान्न तयार छैनौं । मैले सोचेको मात्रै ठीक, अरुको कोणबाट हेर्न नसक्ने असक्षमताको कारणले मनुष्यले ठूलो मूल्य चुकाउँदै आएको छ ।

यसमा सही चिन्तन आउनासाथ पृथ्वीबाट युद्ध विदा हुन्छ । प्रेम, मित्रता, स्नेह र अहोभावमा आधारित धर्मले मात्र विश्वमा शान्ति ल्याउँछ । यही आस्था र विश्वासमा बाँच्नु नै ओशोप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment