Comments Add Comment

बच्चाको भावना सुनौं

कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । वा उनले प्रयास गर्दागर्दै पनि सकेनन् । त्यसैले साथीले उछिन्यो ।

यतिबेला तपाईंले उनीहरुलाई ‘तिमी दोस्रो वा तेस्रो मात्र भएको ? किन पहिलो हुन सकेनौ ?’ भनेर प्रश्न गर्दाको असर के हुन्छ ?

के उसले आफ्नो कमजोरी महसुष गरेर दोस्रो पटक राम्रो गर्ने प्रयास गर्छ ? वा आफ्नो कमजोरीले उसलाई निरास तुल्याउँछ ?

बच्चाले जित्ने प्रयास गरेकै थिए । कम्तीमा खेलकुदमा सहभागी भएका थिए । यो पनि एक सकारात्मक कुरा थियो । तपाईंले उसको सकारात्मक पक्ष हेर्नै भएन । यसैगरी उसले परीक्षामा सहभागी भए । लेख्ने प्रयास गरे । कतिपय प्रश्नको हल गर्न सकेनन् । यहाँसम्म पनि उसले प्रयास गरेकै थियो । उसले जुन प्रयास गरेको थियो, त्यसमा तपाईंले खुसी हुनुपर्ने थियो ।

तर, आफ्ना बच्चा परीक्षामा फस्र्ट नभएको वा राम्रो अंक प्राप्त नगरेकोमा तपाईं खिन्न हुनुभयो । तपाईंलाई आफ्नो बच्चा अरुभन्दा कमजोर लाग्यो । र, यो खिन्नता उनीहरुसामु पोख्नुभयो । यसले उनीहरुमा हौसला वा प्रेरणा जाग्दैन । बरु दबाव पैदा हुन्छ ।

अर्थात तपाईंको अपेक्षा बालबालिकाका लागि मानसिक बोझ वा दबाव बन्छ । दबावले कहिलेपनि प्रगति हुँदैन । बरु यसले बच्चाको मनोवल कमजोर बनाइदिन्छ । उनीहरुले रचनात्मक क्षमता गुमाउँछन् । त्यसैले तपाईंले बुझ्नुपर्छ कि, उनीहरुमाथि जे–जस्तो अपेक्षा गर्नुहुन्छ, त्यो केवल दबाव बन्छ ।

तपाईंले बच्चालाई उनीहरुकै मर्जी अनुसार लुगाफाटो लगाउन दिनु भएन । साथीहरुसँग खेल्न जान दिनुभएन । अरुची हुँदा खाना नखान दिनुभएन । यावत् कुराले बच्चामा दबाव पैदा हुन्छ । दबावले उनीहरुलाई जहिले पनि कमजोर र हतोत्साही बनाउँछ ।

तपाईंको बच्चाले परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्न सकेनन् । खेलकुदमा सबैलाई उछिन्न सकेनन् । त्यसो भए के तपाईंको बच्चा कमजोर हुन् ?

तपाईं ठान्नुहुन्छ, ‘हो कमजोर छन् ।’

तपाईंलाई आफ्ना छोराछोरी यसकारण कमजोर लाग्यो कि तपाईंले उनीहरुलाई अरुसँग तुलना गर्नुभयो । यहाँ आइपुगेपछि तपाईंले हेक्का राख्नैपर्छ कि, कुनैपनि बच्चाको अरु कसैसँग तुलना हुन सक्दैन । किनभने बच्चाहरु आ–आफ्नै खुबी, क्षमता लिएर जन्मन्छन् । उनीहरुले जन्मजात कुनै खुवी लिएरै जन्मिएका हुन्छन् । उनीहरु हुर्कने वातावरण, घरको माहौल, साथीसंगत, पारिवारिक संस्कार आदिसँगै उनीहरुको रुची, इच्छा, लक्ष्य तय हुँदै जान्छ । यसले नै उनीहरुको दक्षता पनि निखार्दै जान्छ ।

त्यसैले बच्चालाई बुझ्नुहोस् । उनीहरुको स्वभाव र प्रवृत्तिलाई पढ्नुहोस् । उनीहरु के चाहन्छन् ? के कुरामा रुची राख्छन् ? त्यही अनुसार अनुकुल वातावरण तयार गरिदिनुहोस् ।

तपाईं आफ्ना बच्चालाई रोबोर्ट अर्थात यन्त्र मानव जस्तो नठान्नुहोस्, जो तपाईंको रिमोट अनुसार सबैकुरा ठिकठाक ढंगले गर्छन् । बच्चालाई तपाईं आफ्नो रुची अनुसार बनाउने होइन, बरु बच्चाको रुची अनुसार तपाईंले उपयुक्त वातावरण बनाइदिने हो ।

तपाईंको बच्चा मानव हुन् । उनले आफ्नो जन्ममै केही कमजोरी पनि लिएर आएका छन् । उनले मानविय त्रुटी गर्न सक्छन् । बच्चाको सबै कुरा पर्फेक्ट हुनुपर्छ भन्ने नठान्नुहोस् । संसारमा कोही पनि व्यक्ति पर्फेक्ट हुँदैनन् । संसार जित्न हिँडेका योद्धा पनि सम्पूर्ण रुपमा पोख्त हुँदैनन् । उनीहरुसँग पनि केही कमी, कमजोरी हुन्छन् ।

त्यसैले बच्चाको कमी कमजोरी मात्र खोतल्ने भुल नगर्नुहोस् । बच्चालाई उनीहरुकै रुची र क्षमता अनुसार हुर्कने वातावरण दिनुहोस् । उनीहरुलाई स्वतन्त्रता दिनुहोस् । उनीहरुको रुची, चाहनालाई बुझ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment