१० माघ काठमाडौं । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
आर्मी र एपीएफको समान ६ अंक छ, तर रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् । तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए ।
अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि हेमन्त ओलीले सर्वाधिक ५८ रन बनाए । यस्तै हिमांशु शाहीले २० रन बनाए । कप्तान रवीन्द्र शाहीले १४ तथा अभिषेक ठकुरी र राज शाहले समान १२ रन जोडे ।
कर्णालीलाई अलआउट गर्न एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३-३ विकेट लिए । रेग्मीले १० ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै महतोले ८.२ ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे ।
यस्तै भुवन कार्कीले २ तथा कप्तान शरद भेषावकरले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विभनगीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । एपीएफका लागी सन्दिप जोराले सर्वाधिक ६० रन बनाए । उनले ७६ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।
६७ हुँदा ५ विकेट गुमाएको एपीएफको इनिङ्स सन्दीपले अमर राउटेलासँग मिलेर उकासेका थिए । दुबैले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गरे ।
अमरसिंह राउटेलाले ३१, सुबास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले समान १५, बसन्त रेग्मीले १४ र सुमि महर्जनले १० रन बनाए । कमल सिंह ऐरी ९ रन बनाएर आउट भएभने ओपनर रित गौतमले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् । किशोर महतोले अविजित रहँदै १३ रन बनाए ।
बलिङमा कर्णालीका कप्तान ररविन्द्र शाही र अनुज चुनाराले ३-३ विकेट लिए । यस्तै दिवन पुन र राज शाहले समान २ विकेट लिए ।
प्रतिक्रिया 4