Comments Add Comment

ट्रम्प प्रशासनले तालिबानसँग गरेको सम्झौतामा पुनर्विचार गर्दै बाइडन

Photo Credit : EPA

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले अघिल्लो प्रशासनले तालिबानसँग गरेको सम्झौता पुनर्विचार गर्ने भएको छ । बाइडनको प्रशासनले अफगानी चरमपन्थी संगठनले उक्त सम्झौताअनुसारको प्रतिबद्धता पालना गरेको वा नगरेको सम्बन्धमा अध्ययन गरिने बताएको छ । अमेरिकाले तालिबानसँग गरेको सम्झौतामा हिंसा घटाउँदै जानुपर्ने र आतंकवादी संगठनसँगको सम्पर्क बन्द गर्नुपर्नेलगायतका प्रतिबद्धता तालिबानले गरेको थियो ।

बाइडनका प्रमुख सुरक्षा सल्लाहकार जेक सुलिभनले अफगानिस्तानका अधिकारीसँग पनि तालिबानसँगको सम्झौता पुनर्विचार गर्नेबारे छलफल गरेका छन् । तालिबानसँगको सम्झौतापछि अमेरिकाले अफगानिस्तानबाट आफ्ना आधा सैनिक फिर्ता लगिसकेको छ । तर, मुलुकमा हिंसा भने रोकिएको छैन ।

अहिले कतारमा अफगानिस्तान सरकारका प्रतिनिधि र तालिबानबीच वार्ता भइरहेको छ । यो वार्तामा पनि आगामी दिनमा अमेरिकाको नीति कस्तो हुने भन्ने कुरा महत्वपूर्ण हुने समाचार आइरहेको अवस्थामा बाइडनको प्रशासनले तालिबानसँगको सम्झौता पुनर्विचार हुने बताएको हो ।

सन् २०१८ को प्रतिवेलदनअनुसार अफगानिस्तानको दुई तिहाइ भागमा अहिले तालिबान सक्रिय छ । उसले निर्वाचित सरकारलाई निरन्तर चुनौती दिँदै आएको छ । अमेरिकाले आफ्नो सैनिक फिर्ता लैजान सुरु गरेसँगै विश्लेषकहरुले यसले मुलुकको सुरक्षामा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहले अमेरिका धेरै हदसम्म तालिबानतर्फ झुकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment