Comments Add Comment

लुम्बिनी प्रदेशमा ३९ हजारलाई कोरोनाविरुद्धको खोप

११ माघ, बुटवल । भारत सरकारले पहिलो चरणमा दिएको कोरोना विरुद्धको खोपमध्ये लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ भाइल आउँदैछ ।

स्वास्थ्य मन्त्रालयमार्फत आइतबार दिउंसो काठमाडौंबाट पठाइएको खोप सोमबार बिहानसम्म प्रदेश मुकाम बुटवल आइपुग्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

‘आइतबार दिउंसो १ बजे काठमाडौंबाट खोप हिंडेको छ, सोमबार बिहान ९ बजेसम्म बुटवल आइपुग्छ’–समाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले भने–‘यो आपतकालीन प्रयोगका लागि आउन लागेको हो ।’

प्रदेशमा आउने खोप माघ १४ गतेदेखि फ्रन्ट लाइनमा खटिएर काम गरेका डाक्टर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक र ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाई लगाउन शुरु गरिने प्रवक्ता पौडेलले बताए ।

मन्त्रालयले २६ हजार स्वास्थ्यकर्मी र बांकी अन्य फ्रन्टलाइनर गरी ३६ हजार भाइल खोप स्वास्थ्य मन्त्रालयमा माग गरेको थियो । ‘यो खोप अरु जस्तो अनिवार्य होइन, ऐच्छिक हो, त्यसैले हामीले ३६ हजार भाइल माग गरेका थियौं, माग भन्दा तीन हजार बढी नै आउंदैछ’–प्रवक्ता पौडेलले भने, ‘पहिलो चरणमा लगाइसकेपछि मात्रै अर्को चरणका लागि कति माग गर्ने भन्ने थाहा हुन्छ ।’

प्रदेशका चार वटा कोरोना विशेष अस्पताल, सरकारी अस्पताल र स्वास्थ्य संस्था,कोरोनाका विरामी उपचार गरेका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने प्रवक्ता पौडेलले बताए ।

खोप आइसकेपछि बुटवलमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरेर राखिने र १२ वटै जिल्लामा रहेका भण्डारण केन्द्रमार्फत प्रदेशका एक सय ९ वटै स्थानीय तहमा खोप पुर्‍याउन आवश्यक तयारी गरिएको पौडेलले बताए ।

सरोकारवालासंग छलफल

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षसंग छलफल गरेको छ । मन्त्रालयमा भएको छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा आउने खोपको पूर्ण उपयोग गर्नका लागि कर्मचारीहरूलाई आवश्यक तालिम संचालन गर्ने र खोपको भण्डारणमा ध्यान दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment