Comments Add Comment

पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्ष जेल सजाय

२१ माघ, काठमाडौं । रुसको एक अदालतले विपक्षी नेता एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । उनलाई यसअघिको मुद्दामा रिहा गर्दाको शर्त उल्लंघन गरेको आरोपमा साढे तीन वर्ष जेल सजाय सुनाइएको हो । नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् ।

गत महिना जर्मनीबाट रुस फर्किएसँगै नाभाल्नी पक्राउ परेका थिए । गत वर्ष उनलाई दिइएको विषको कारण उनी जीवनमरणको दोसाँधमा पुगेका थिए । उपचारको लागि जर्मनी गएका नाभाल्नी गत महिना स्वदेश फर्किएका थिए । यसअघि नै नाभाल्नीले एक वर्षको जेल सजाय काटिसकेका छन् । यस्तोमा उनलाई सुनाइएको सजायमा उक्त एक वर्ष कम गरिनेछ ।

मस्कोको अदालतमा नाभाल्नीले आफूलाई पुटिनले विष दिएको आरोप लगाएका थिए । नाभाल्नीलाई जेल सजाय सुनाइएसँगै उनका समर्थकहरुले विरोध र्‍याली प्रदर्शन गरेका थिए । यद्यपि केही समयमा नै प्रहरीले पूरा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । सो क्रममा करिब तीनसयभन्दा धेरै नाभाल्नीका समर्थकहरु पक्राउ परेका थिए ।

नाभाल्नीका वकिलले अदालतको यो निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । नाभाल्नीलाई सुनाइएको जेल सजायको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment