Comments Add Comment

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक बिहीबार अर्थात् फेब्रुअरी ४ मा १७ वर्षको भएको छ । आफ्नो १७औँ जन्मोत्सवमा फेसबुकले मित्रता र समावेशी शब्द अंकित वर्डमार्कको एनिमेसनमार्फत् मित्रता दिवस मनाएको छ ।

उक्त एनिमेसनमा टाउकोमा स्कार्फ लगाएकी महिला र अर्को एकजना युवक बीच फेसबुकबाट विभिन्न खाले मित्रवत इमोजीयुक्त मेसेजहरु आदानप्रदान भैरहेको देखाइएको छ ।

The Facebook को नामबाट सन् २००४ को फेब्रुअरी ४ मा मार्क जुकरबर्ग र हार्वार्ड विश्वविद्यालयका अन्य चारजना साथीहरुले फेसबुकको स्थापना गरेका थिए । फेसबुक स्थापना गर्ने जुकरबर्गका साथीहरु इडुआर्डो साभेरिन, एन्ड्रू म्याककोलुम, डस्टिन मोस्कोभिच र क्रिस ह्यूग्स हुन् ।

स्थापनाकाल देखि नै लोकपि्रयताको सिँढी चढेको फेसबुकले स्थापनाको डिसेम्बर महिना सम्ममा नै १० लाख सक्रिय प्रयोगकर्ता बटुल्न सफल भएको थियो ।
फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमा आइपुग्दा १ अर्ब पुगेको थियो ।

सोही समयमा फेसबुकमा लाइक बटन, टाइमलाइन जस्ता फिचर थप हुनुका साथै कम्पनी स्टक मार्केटमा प्रवेश गरेको थियो ।

गत डिसेम्बर महिनामा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ८४ करोड पुग्यो । जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

सोसल मिडियाको क्षेत्रमा आफ्नो साम्राज्य स्थापित गरिसकेको छ र वर्षेनी अर्बौँ डलर आम्दानी गर्दछ । संस्थापक मार्क जुकरबर्ग फेसबुककै कारण विश्वका टप फाइभ धनाढ्य बन्न सफल भएका छन् ।

फेसबुक अहिले केवल फेसबुकमा मात्र सिमित छैन । यो मेसेजिङ एप ह्वाट्सएप देखि फोटो शेयरिङ एप इन्स्टाग्राम लगायतका एपहरुको परिवारको रुपमा रहेको छ । १७ औँ वाषिर्कोत्सवका अवसरमा फेसबुक बारेका केही उल्लेख्य तथ्यहरु यस्ता छन् :

१. हरेक महिना ३ अर्ब ३० करोड मानिसले फेसबुक तथा यस मातहतका मेसेजिङ एप गरी कम्तिमा एउटा एप चलाउँदछन् । जसमध्ये फेसबुकको मूख्य एपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ८० करोड छ ।

त्यस्तै ह्वाट्सएपका सक्रिय प्रयोगकर्ता २ अर्ब, मेसेन्जरका १ अर्ब ३० करोड, तथा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब रहेको छ । त्यस्तै यी मध्ये कम्तिमा एकवटा एप दैनिकरुपमा चलाउने प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड छ ।

२. सन् २०१२ मा फेसबुकले इन्स्टाग्राम खरिद गरेको थियो । त्यतिबेला इन्स्टाग्राम खरीदका लागि फेसबुकले १ अर्ब डलर खर्चिएको थियो । त्यसको दुई वर्षपछि मार्क जुकरबर्गले ह्वाट्सएप खरीद गरे र त्यसका लागि १९ अर्ब डलर खर्चिए । फेसबुकले खरिद गर्नुअघि सन् २०१२ को अपि्रलमा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ करोड थियो । उक्त संख्या सन् २०१८ को जनवरी सम्म आइपुग्दा १ अर्ब डलर पुगेको थियो।

त्यस्तै फेसबुकले खरीद गर्नुअघि सन् २०१४ को फेब्रुअरीमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ४५ करोड थियो । अहिले उक्त संख्या बढेर ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ ।

३. अहिलेको शीर्ष स्थानसम्म आइपुग्न फेसबुकले तय गरेको बाटो सजिलो भने पक्कै थिएन । पछिल्ला वर्षहरुमा फेसबुक विभिन्न खाले उल्लेखनीय काण्डहरुमा समेत फस्दै आएको छ ।

सन् २०१६ मा रुसले राजनीतिक प्रोपोगाण्डाका लागि फेसबुकको दुरुपयोग गर्यो । सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका काण्डले पनि फेसबुकलाई नराम्रोसँग धक्का लाग्यो । गत वर्ष घृणाजन्य सामग्रीको विषयलाई लिएर विभिन्न विज्ञापनदाताले फेसबुक बहिष्कार गरे ।

साथै यो वर्ष फेसबुक तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत प्रतिबन्ध लगाउने तहसम्म पुग्नुपर्यो । तथापि यावत् धक्काहरुका बाबजुत वित्तिय रुपमा फेसबुक कम्पनीले प्रगति रोकिएन । सन् २०२० को चौथो त्रैमासिकमा फेसबुकको कूल आम्दानी २८ अर्ब १० करोड पुग्यो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढि हो .

नयाँ तथ्यांकअनुसार अहिले विश्वका कूल इन्टरनेट प्रयोगकर्तामध्ये आधाले फेसबुक चलाउँदछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment