Comments Add Comment

प्रधानमन्त्रीलाई स्वागत गर्न तयार भयो पुनर्निर्मित सिंहदरबार

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका  लागि पुगेका छैनन् । ११ महिनापछि आगामी सोमबार उनी सिंहदरबारको आफ्नो कार्यकक्षमा भित्रिने साइत जुरेको छ ।

तर, कामचलाउ प्रधानमन्त्री ओली यसअघि कार्यालय रहेको भवनमा हैन, सिंहदरबारको मूल भवनस्थित हालसालै तयार भएको भव्य कार्यालयमा रिवन काटेर प्रवेश गर्नेछन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको छ । चन्द्रसमशेरले नै बनाएको पश्चिम मोहोडाको भवनको पुनर्निर्माण चलिरहे पनि २०३० सालमा आगलागीपछि बनाइएको पूर्वी, उत्तर र दक्षिण मोहोडाका भवनहरुको प्रवलीकरणको काम सकिएको छ ।

अब भूकम्पअघिकै स्थानमा प्रधानमन्त्री कार्यालय सार्न अन्तिम तयारीको काम हुँदैछ । यसको निरीक्षण गर्न प्रधानमन्त्री ओली बिहीबार आफैं सिंहदरबार पुगेका थिए । काममा ढिलाइ र कमजोरी हुन नदिन भन्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली आफैं दिनभरजसो सिंहदबारभित्र निरीक्षणमा खटिएका छन् । २ गतेभित्रै सबै काम सकाउनुपर्ने दबावका कारण ज्ञवाली आफैं पनि सिंहदरबारमै बसेर आवश्यक निर्देशन दिँदै आएका छन् ।

पुननिर्मित सिंहदरबारको पूर्वी र उत्तर मोहोडा

शुक्रबार दिँउसो २ सयभन्दा बढी कामदारहरु प्रधानमन्त्री, मुख्यसचिव र सचिवहरुका कार्यकक्ष तथा बैठक कक्ष मिलाउने, सजाउने र चम्काउने काममा व्यस्त थिए ।

सीईओ ज्ञवालीका अनुसार अहिले तयार भएका सिंहदरबारका तीनवटै मोहोडालाई अब ८ रेक्टर स्केलसम्मका भूकम्पले नढल्ने गरी रेट्रोफिट गरिएको छ । भवनको पुनर्निर्माण गर्दा यसको मौलिकतालाई जस्ताको तस्तै संरक्षण गरिएको उनको भनाइ छ ।

प्रवलीकरणपछि यसमा लाइटिङ र एयर कन्डिसनिङ र फायर फाइटिङका लगायतका आधुनिक सिस्टमहरु जडान भएका छन् । आगो लागेमा स्वचालितरुपमा पानी प्रयोग हुने गरी भवन तयार गरिएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षको करिडोर

उनका अनुसार बैठक कक्षदेखि अत्याधुनिक ‘वार रुम’सम्मको निर्माण तथा बनावटलाई आधुनिक र वैज्ञानिक बनाउन प्रयत्न गरिएको छ । ‘आवश्यक पर्दा यहाँबाट नै प्रधानमन्त्रीले प्रत्यक्ष प्रसारण गर्न सक्नेसम्मको पूर्वाधार तयार गरेका छौं,’ उनले भने, ‘यहाँ तयार भएका सबै कक्षहरु अरु देशका प्रधानमन्त्रीको कार्यालयभन्दा कम शानदार र भव्य छैनन् ।’

ज्ञवालीले पुरानो सम्पदालाई जोगाउँदै त्यसलाई आधुनिक प्रविधि जोड्न सहज नभए पनि काम फत्ते गर्न सकिएको भन्दै आत्मसन्तुष्टि जनाए ।

प्रधानमन्त्रीको कार्यकक्ष (फोटो : पुननिर्माण प्राधकिरण)

यसअघि सिंहदरबारको मूल भवनभित्र राष्ट्रय योजना आयोग र विभिन्न मन्त्रालयहरुका कार्यकक्षहरु पनि थिए । तर, अब भने पूर्णरुपमा सिंहदरबारको मूल भवन प्रधानमन्त्री कार्यालयले मात्रै उपयोग गर्ने भएको छ । कार्यालयका सचिवलाई पनि अहिले छुट्टा-छुट्टै बैठक कक्ष दिइएको छ ।

मन्त्रिपरिषद बैठक बस्ने कक्षदेखि प्रधानमन्त्रीले बैठक र भेटघाट गर्नेगरी फरक-फरक आकार र डिजाइनका छुट्टा-छुट्टै कक्षहरु तयार गरिएका छन् । विदेशी पाहुनासँग प्रधानमन्त्री र मुख्यसचिवले भेट गर्ने छुट्टै कक्षहरु पनि तयार छन् ।

मुख्य सचिवको कार्यकक्ष

कुनै ठूलो कार्यक्रम कार्यालयमै गर्न चाहेमा गर्न सकिने गरी सभा हल पनि तयार गरिएको छ । विगतमा साँघुरा भएका केही कक्ष र हललाई यसपटक केही खुला गरेर सरल बनाइएको छ ।

कार्यलयको चारै मोहोडाका बीचभागमा रहेको खाली भागमा बगैँचा बनाउने काम चल्दैछ । गेटहरु र आसपास संरचना सिगांर्ने र सजाउने काम पनि हुँदैछ ।

प्रधानमन्त्रीको बैठक कक्ष

मुख्य मोहोडा असारभित्रै

मुख्य मानिएको चन्द्र समशेरले नै बनाएको पश्चिम मोहोडा निर्माणको काम पनि चलिहरहेको छ । यो पुरातात्विक सम्पदा भएकाले यसमा सिमेन्टको प्रयोग नगर्ने नीति लिइएको छ । पुरानो प्रविधिबाट बलियो संरचना बनाउनुपर्ने भएकाकाले स्टिलका पाताहरु प्रयोग गरेर प्रवलीकरण गरिँदैछ ।

यसको सम्पूर्ण काम पनि आगामी असारसम्म सकाउने सीईओ ज्ञवालीले बताए । सो भवनभित्र निकै कलात्मक बुट्टा र पेन्टिङहरु रहेकाले त्यसलाई बचाएर निर्माण गर्न सहज नभएपनि चुनौती झेलेर काम भइरहेको उनले बताए । सो भवनमा रहेको बेलायती बैठक कक्ष लगायतका महत्वपूर्ण संरचनाको जीर्णोद्वार पनि चलिहरेहको छ ।

निर्माणाधीन सिंहदरबारको मुख्य पश्चिम मोहोडा

‘पश्चिम मोहोडाको भवनभित्र रहेको बेलायती कक्षलाई भविश्यमा विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग प्रधानमन्त्रीले भेट गर्ने कक्षका रुपमा प्रयोग गर्न सकिने गरी बनाउँदैछौं,’ उनले भने,’त्यसपछि प्रधामन्त्रीले अतिविशिष्ट पाहुना भेट्न होटल बुक गर्नुपर्ने बाध्यता हट्ने छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार करिब ८३ करोडमा ३ वटा मोहोडाको प्रवलीकरण र सजावटको काम सकिएको बताउँछन् ।

पश्चिम मोहोडाको काम सक्दासम्म यसको लागत १ अर्ब २९ करोड पुग्नेछ । निर्माण सकिएको तीन मोहोडाहरुको काम शर्मा-माइक्रटेक-न्यु टेक्निकल जेभीले गरेको हो भने पचिश्म मोहोडाको काम गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले गर्दैछ ।

प्रधानमनत्री कार्यालयको फ्रन्ट डेस्क

भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविदलगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो ।

अब सिंहदरबारको मूल (पश्चिम)गेटदेखिकै वाटर फाउन्टेनसहितको पार्कलाई व्यवस्थित गरिने प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्रीको बैठक कक्ष
सिंहदरबारको पुनर्निर्मित भर्याङ
मुख्य सचिवको विदेशी पाहुनासँग बैठक गर्ने कक्ष
मुख्य सचिवले सचिवहरूसँग बैठक गर्ने कक्ष
उद्घाटनको तयारीका लागि दरबारको पूर्वी मोहोडातर्फ काम हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment